कथाको श्रीगणेश
झोलाबाट कापी र सिसाकलम झिकें।
'तिमीहरु भाग्यमानी छौ। दैलोमा स्कुल आएको छ। चिहानपाटा गए पनि भो, पाणिनि झरे पनि भो। यति राम्रा छापा पुस्तक छन्। लेख्न कापी, कलम छन् ।' हजुरबाले कापिका
पाना फरररर्र पार्नुभो। र, नाक नजिकै लगेर
सुँघ्नुभो। 'काँचो कागतको बास्ना साह्रै
मीठो लाग्छ क्या मलाई' मुसुक्क
हाँस्नुभो हजुरबा।
हजुरबाले मेरो हातको सिसाकलम मागेझैं गरेर दाहिने हात लम्काउनु भो। सरक्क दिएँ।
'हाम्रो पालामा त कापी भनेको धुलौटो, कलम भनेको कि हाडे उनियो कि निगालोको सरो थियो।' सिसाकलमको बीच ढाडमा बूढी औंला र चोरी औंलाले च्यापेर अगाडि पछाडि गर्दै खिरखिर
पारेर घुमाउनुभो। अनि, लेख्नलागेझैं
गरेर अलक्क समात्नुभो।
'हाम्रो जमानामा पढेका मान्छे साह्रै थोरै थिए। चामलमा बियाँ जस्ता।' हजुरबाले पुराना दिन संझिनुभो।' चिठी, तमसुक लेख्न र पढन जाने पुग्यो। खेति- किसानी, गाम-बेसी, बस्तु-भाउमै रमाएका थिए मान्छे। गुरु पुरोहितहरु पनि आफ्ना छोराहरु पूजापाठ, रुद्री, सरात गराउन सक्ने भए भने
सन्तुष्ट हुन्थे। अझ धेरै भाइ छोरा छन् भने त अल्लि चलाख खालको छोरोलाई पढन पठाउने
बाँकीलाई खेतिपाती घर गृशस्थीमै लगाउने चलन थियो। एकादुई धनीमानीका सन्तान काशी
बसेर पढेका थिए। त्यसैले भागवत भन्न सक्ने पण्डित त कताकति थिए। स्वाँरा देवीदासका
माहिला छोराको खुब बइन चल्थ्यो गाउँमा। काशीमा बसेर आचार्य गरेका अरे, श्री ३ खुसी भएर उनले भाषामा लेखेको गीताको किताब नै आफ्ना खर्चले
छपाइदिएका अरे भन्थे' हजुरबाले मेरो अनुहारतिर
पुलुक्क हेर्नुभो।
'हजुरबाले कति कक्षा पढ्नु भो त ?'
मेरो जिज्ञासा सुनेर हजुरबा फिस्स हाँस्नुभो। अनि बडो शान्त र धीर भएर बोल्नुभो हजुरबा-
' के को कक्षा थियो र हाम्रो पालामा !, हुन त हुँदो हो नि। नेपालमा हाम्राबा जन्मेताका नै रानीपोखरी संस्कृत पाठशाला
खुलेको रहेछ। म जन्मेको चार वर्षमा त कलेज नै खुलेको रहेछ। तर त्यो उज्यालो
गाउँगाउँमा पस्न समय लाग्यो बाबु।' हजुरबा एकछिन रोकिनु भो र फेरि बोल्न थाल्नुभो ' तर यो हृदयमा पढने तिर्सना भने थियो। जीवे दाईले उमारिदिएको तिर्खा। तर त्यो तिर्खा धित मर्ने गरी
मेटाउन पाइन। अथवा पितृहरुलाई किन दोष दिनु म आफैँले मेटाउन सकिन। यही नमेटिएको
तिर्सनाको कथाबाट आफ्नो कथा भन्न मन लागेको छ मलाई । ल लेख...'
हजुरबाले कथाको श्रीगणेश गर्नुभो-
श्रीपञ्चमीको दिन पारेर अक्षर चिनाउनु भएको हो बाले। नित्यपूजा सकेपछि एक
हातमा धुलौटो र अर्को हातमा सरो च्यापेर पिंढिमा आउनुभो बा । पूजाको थाली र
फूलपाती लिएर आमा पनि पछिपछि आइन्।
'ए साना! लौ यता आएर बस्' बाले आफू नजिकै
बस्न अह्राउनु भो। मसिनोसँग पिनेर छिन्किएको रातोमाटोको मिहिन धुलोलाई धुलौटो माथि छर्किनुभो
बाले।
'ल फूलपाती लिएर नमस्कार गर्' बाले स्वस्थानी पाठ गर्ने बेला भन्ने गरेको तोत्र भन्नुभो, यं ब्रह्म वरुणेन्द्र रुद्र मरुत स्तुवन्ती देव्येस्तवै..' तोत्र सकियो। 'ल सरस्वतीलाई
संझिएर फूल चढा।' धुलौटोको एक छेउमा फूलको
थुँगो चढाएर ढोगें मैले।
बाले सरो समात्न सिकाउनु भयो। समाउन त खोजें तर औंलाहरु चिप्लिइरहे। 'सक्दिन कि क्या हो' मन डरायो। 'मैले जसरी बूढी उम्लो र चोर उम्लोले चपक्क समातेर तलपट्टिबाट माझी उम्लाको आड दे न अनि पो चिप्लिदैन।' बाले सिकाउनु भो। नभन्दै यसपटक सरो चिप्लिएन। फुरुङ्ग परें म।
'लौ, अब ओम लेख्न पर्च।' मेरो दाहिने हातको नाडीलाई आफ्नो हातले चपक्क समात्नुभो बाले। सरोलाई
धुलौटौमा बिस्तारै हिँडाउन खोज्नु भो । तर मेरो हात भने हिडन मानेन, अररियो।
'हात अररो नपार् न, हलुङ्गोसित छोडिदे।'
बाले भनेझैँ गरिदिएँ। यस पटक भने बाका हातसँग नारिदै मेरो हात निगालोको सरो
च्यापेर धुलौटोमाथि दौडिइरह्यो। धुलौटोमा छरेको माटोलाई पन्छाएर मसिनो डोब बनाउँदै
हिडिरह्यो सराको टुप्पो। त्यसले पारेको डोबमा बडेमानको अक्षर देखियो। बाले
लेख्ने भनेको ॐ अक्षर। 'स्याबास्।' बाले मेरो कपाल सुमसुम्याउनु भो।स्यावासीले फुर्किएर लामो सास फेरें।
'ब्रम्हा, विष्णु, महेश्वर तीनै थोक यही ओम् हो। मान्छेले ओमको अर्थ जान्यो भने त्योभन्दा पर
जान पर्दैन भन्छन् पण्डितहरु। मसँग धेरै ज्ञान त छैन, त्यसैले धेरै सिकाउन सक्दिन। तर अब अज्ञानबाट ज्ञानतिरको बाटो हिड्न शुरु
भयो तेरो' बाले यस्तै यस्तै केही
भन्नु भो।
'लौ अब यो धुलौटो र सरो लगेर थन्क्याउनु।आजलाई यतिभए पुग्यो, भोलिदेखि सिकम्ला अरु। दिन दिनै अलिअलि गरेर फोर्दै जानपर्च अक्षर' धुलौटो उठाउनु अघि त्यसमा लेखिएको अक्षरलाई फेरि एकपटक नियालेर हेर्नुभो
बाले।
श्रीपञ्चमीको दिनबाट शुरु भएको मेरो पढने मेलो चिफ्लेकिरो हिंडे जसरी सुस्तरी
घस्रिदै अघि बढ्यो। पढेर के हुन्छ र नपढेर के गुम्छ थाहा नभएको उमेरको मलाई पढाइ
लेखाइमा खासै रस थिएन। सिकौँ सिकौँ भन्ने खालको जाँगर पनि थिएन। दाजु रुद्री घोक्न
थाल्नु भएको थियो। दाजुले राम्रोसँग फड्कारेर रुद्री पढेको देख्दा बाको अनुहार
खुसीले उज्यालिएको देख्थें । तर मलाई भने सबै पुस्तकका अक्षर उस्तै लाग्थ्यो, एकैनासले गुजुल्टिएका। यस्ता गुजुल्टिएका अक्षर दाजैले कसरी फोरेका होलान्
भनेर अचम्म लाग्थ्यो ।
दाजै र तिनका दमालीहरु हिउँदका चिसा बिहानमा काखीमुनी रुद्री, चण्डीका पुस्तक च्यापेर पुरेतबाका घरतिर कूँद्थे । खरबारी र बारीका डिलैडिल
हिँडदा तिनका दौरा शीतले लफ्रक्क भिज्थे। पैताला शीतले चाउरी पर्थे। नीला भइसकेका
ओठहरु थर्थराइरहेका हुन्थे। मधुरा घाममा मच्चिइ मच्चिइ पाठ घोकेर भात खानेबेलामा
तिनै भिजेका दौराका फेर लफ्रक लफ्रक पार्दै घर फर्कन्थे। दाजुको त्यस्तो गति देखेर
नरमाइलो लाग्थ्यो। पढन नपरे पनि कति मज्जा हुँदो हो भन्थ्यो मनले।
साउँ अक्षर चिन्न तीन महिनाजति लाग्यो मलाई। बाका अनुसार अल्लि ढिलै चिनें
मैले अक्षरहरु। बर्खाले छोप्यो। अनि सुरुभो बाह्रखरी र काटेमारेका अक्षर। यसका
लागि अर्को दुई महिना लाग्यो। अब भने बर्खा बर्खा लाग्यो। मानो खाएर मुरी उब्जाउने
याम शुरु भो। आफूसक्य लग गर्नुपर्ने भएपछि धुलोटो र सरो थन्किए। बर्खा सकिएर
हिउँदको पोयो लागेपछि फेरि सुरुभो पढाई। दुई वर्षमा कपाली तमसुकका अक्षर फुटाल्न
सक्नें भएँ म।
छोराले कति जान्यो भनेर परख गर्न मन लागेछ बालाई। भाषामा लेखेको रामायणको
किताब झिकेर ल्याउनु भो।
'लौ यसको चारपाउ सिलोक भाका हालेर पढ् त।'
'एक दिन नारदजी सत्यलोक…' भाका हालेर पढन खोजेँ तर भाका आएन। ब्रह्मा ताहिं थिया भन्ने सिलोक उच्चारण गर्न सकिन। दाजु खितित्त
हाँस्नु भो। आमा पनि मुसुमुसु हाँसिन्। लाजले रातो पिरो भएँ म । आफ्नै आमा र
दाजैका अगाडि पनि शर्म लागे जस्तो भो।
'जीउरो फड्कारिन बाँकी छ, अब श्रीपञ्चमीदेखि पुरेतबाकोमा गएर कौमुदी पढन पर्छ साना। दाजुले पनि त्यसै गरेको हो।' बाले मेरो टाउको मुसार्नु भो। बाको
अनुहारतिर नहेरिकनै टाउको हल्लाएँ मैले।
दाजुको साथ लागेर पुरेतबाकोमा जान थालें म पनि। पुरेतबाको पिंढी, आँगन भरिभराउ हुन्थ्यो। पाठेहरु दिएको पाठ घोक्थे र भातखाने बेला अडकलेर घर
फर्किन्थे। बर्खा लागेपछि भने पुस्तकहरु थन्क्याएर कुटो, कोदालो, स्याखु, छत्रीहरु झिकिन्थे। मैले पनि एक हिउँद छिचोलें। पढिएन भनौँ भने पढें। तर
पढें भनौँ भने पहिल्यै जानेकोमा केही थपिए जस्तो लागेन। बर्खाभरी गाइ, बाख्राको गोठालो लागेर बिते दिन।
त्यही वर्षको हिउँदमा धुवाउँने ठाँटी घरमा सरकारी पाठशाला खुल्यो। देवीदास
मुखियाबाका छोरा कोमलनाथ दाजुले श्री ३ लाई रिझाएर खुलाएका अरे। लमजुङ राज्यमै
पहिलो पाठशाला हो यो भन्थे। ७९ सालको कुरा हो यो। हामी जन्मेताका नै बनारसमा पढेर
पण्डित भएका रहेछन् माहिला दाजु। छुट्टीमा घर आएकोबेला पारेर आफ्नै आँगनको बेलको
चौकोमा केटाकेटीह बटुलेर पढएका रहेछन्। हाम्रा जेठाबाका छोरा यदुनाथले पनि पढेका
हुन् अरे माहिलाबासँग। आफ्नै घर दैलामा पाठशाला खुल्दा गाउँघर, छरछिमेकका बूढापाका, तन्नेरी सबै रमाएका थिए। हामी मावल जाँदा पनि दुराडाँडामा खुलेको पाठशालाकै
चर्चा गर्नुहुन्थ्यो हजुरबा, मामाहरु।
'भोली ठूला एकादशी भइहाल्यो। पर्सी द्वादशीका दिनदेखि पाठशाला जानपर्च
तिमिहरु। अब पुरेतबाको घर हैन पाठशाला जाने हो।' बा निकै खुसी देखिनु भएको थियो।
'पढाउँनी पण्डित को रहेछ नि!' आमाले सोधिन्।
'देवतापानी काशिदत्त भतिजको छोरो, चिरिञ्जीवी' बाले छोटो उत्तर
दिनुभो। एकछिन्पछि बा आफैँले थप्नुभो। 'नेपालको रानीपोखरी पाठशालामा पढन पठाएका हुन् बाउले। चार वर्षमै पण्डित भएर
आयो। ठिटो चलाख पनि रच। भाग्यमानी पनि रच।'
भोलिपल्ट बिहान भातखाइवरी पाठशाला हिड्यौं हामी। बा अघि अघि हिडनु भो। दाजु
र म एक-एकवटा थर्कटी बोकेर बालाई
पछ्यायौँ । पुरानो घरनिर पुगेपछि काँहिलाबालाई बोलाएर 'ठूलालाई पठाइदे खेमु' भन्नुभो बाले। कुश्माकर पनि हामीसँगै थपियो ।
हामी पुग्दा तीन चारजना भोटेहरु ठाँटीको आँगनमा काम्लोमाथि नून, जिम्बु, सियो, धागो र जडिबूटि फिँजाएर बसेका थिए। मैलो र धुलोले जरक्क परेको कपाल
आइमाइलेझैँ चुल्ठी पारेर डोरीले बाटेका थिए तिनले। झट्ट हेर्दा कुन छोरो मान्छे
कुन आइमाइ छुट्याउन अलमल हुने खालका थिए ती। दुईवटा बडेमानका भोटे कुकुर चिउँडो
भुईंमा टेकाएर सुतिरहेका थिए। दोहोरो ज्यान परेकी एउटी भोटिनी ताउके भरी काठे
दाविलोले ढिँडो ओडालिरहेकी थिई। दुईजना भोटेनीहरु घाममा बसेर जुम्रा मारिरहेका
थिए। मैलोले कटकटिएका तिनका लुगाको असली रङ कस्तो थियो खुट्याउन सकिने अवस्था
थिएन। नजिकै चौरमा पाँच छवटा घोडाहरु चरिरहेका थिए। भोटे घोडा। हाम्रोतिरका घोडा
अल्लि पातला, छरिता र मसिना रौँ भएका
थिए। तर भोटे घोडाहरु अल्लि होचा, देख्दै बलिया थिए। जगरका रौँ पनि खस्रा खस्रा । देख्दै डर लाग्दा। मलाई त
डर लाग्दैन भन्दै एउटा घोडाको नजिकै गयो कुश्माकर । घोडाले आफूलाई हेपेको मन पराएन, चरिरहेको थुतुनो उचालेर थुरुरुरुरुर्र गर्यो। चिहिरिदै कुँद्दै आयो र
बासँग लिपक्क टाँस्सियो कुश्माकर।
चारैजना ठाँटीको तलामा उक्लियौँ। पाठेहरु हल्लिइ हल्लिइ पढिरहेका थिए।
निगालोको लामो छडी लिएका गुरु काम्लमा पलेंटी मारेर बसेका रहेछन्। हामी पुग्नेबित्तिकै उठे र 'जीबा दर्शन गरें' भन्दै निहुरिए। दुवै हात
गुरुको शीरमा राखेर 'भाग्यमानी भएस्
बाबु' भन्नु भो बाले । अल्लि होचो कदका रहेछन् गुरु। अनुहार गोरो र आँखा
निला थिए। दारपात पनि मझौलो खालको। घरबुनाका सेता दौरा, सुरुवाल लगाएका थिए। दोसल्लालाई छड्के भिरेर त्यसमाथि सपक्क ठूलोधोतीको
पटुका बाँधेका। मखिबुट्टे टोपी खुब सुहाएको थियो गुरुलाई।
'लौ, तिम्रा चेला हुन् यी। नाताले
काका भए पनि तिमीलाई जिम्मा लाउन ल्याको छु बाबु।' बाले हामीलाई चिनाइदिनुभो। गुरु
मुसुक्क हाँसे। हामीलाई पाठेहरुसँग मिसिएर पढन भने। एकैछिन गुरुसँग कुराकानी गरेर फर्किनुभो बा। खाजा खानेबेला तिर छुट्टी भयो
पाठशाला। बिहान लगेका पुस्तक र थर्कटी बोकेर घर फर्कियौँ हामी।
भोटेहरु बसुञ्जेल सबै विद्यार्थी माथिल्लै तलामा खाँदिएर पढियो। उनिहरु
गएपछि भने कखरा र बाह्रखरी सिक्नेहरु भुइ तलामा झरे। रुद्री, चण्डी, कौमुदी पढनेहरु माथिल्लो
तलामै बसियो। पाठशालामा दुई वर्ष पढदा रुद्री र चण्डि शुद्धसँग पाठ गर्न सक्ने भएँ
म। अमरकोश पनि घोकें। कौमुदी भने गाह्रो लाग्यो।
पाठशाला र पुरेतका पिंढीमा खासै अन्तर थिएन। पढने कुरा तिनै थिए। तरिका पनि
उस्तै थियो। हल्लिइ हल्लिइ कराएर घोक्ने। जो घाँटीका नसा फूलाई फूलाई चर्किएर
घोक्थ्यो उसैलाई स्यावास् भन्थे गुरु। पढने मान्छे जतिजना भए पनि पढाउने गुरु
एकजनामात्रै थिए। पुरेतकोमा हिँउदभर पढिन्थ्यो बर्खा छुट्टि हुन्थ्यो। पाठशालामा भने
एकादशी एकादशीमा र बर्खा दुई महिना छुट्टी हुन्थ्यो। फरक भनेको त्यत्ति थियो।
'बा, म अब ठाँटीको पाठशाला
जान्न।' एकदिन बा घुमाउने चौकोमा
बसेर तमाखु खाइरहेका बेला डराइ डराई नजिकै गएर भनें।
'किन जाँदैनस्?'
'एउटै कुरो कति पढनें, अरु पढ्न पाए पो!'
'यहाँको पढाई यत्ति हो, अरु पढ्न कहाँ जान्छस् त?'
'मट्या…..मट्यानी जान्छु।' मैले अलिअलि डर मिसिएको आवाजमा अक्मकिदै भने।
'गइस् मट्यानी, कहाँ हो मट्यानी
भन्या ? बाले तानिरहेको हुक्का पर सार्नुभो। 'ए बूढी, बाहिर आइज त, तेरो छोरालाई पनि जीवेले उकेरा
लाएछ।' बाको अनुहार वर्षिन लागेको बादल जस्तो
गह्रुङ्गो देखियो। मैले थाहा पाएँ बालाई मैले भनेको कुरा मन परेन।
आमा जर्फराउँदै बाहिर आइन्। बा-आमाका चार आँखा मेरा दुई आँखामा ठोक्किए। आँखाका ढकनी घोप्ट्याएर
उभ्भिइरहेँ म।
साँहिलाबाका छोरा जीवनाथ तिनताका मटिहानीमा पढ्दा रहेछन्। मभन्दा सात आठ वर्षले जेठा हुँदाहुन्। छुट्टीमा
घर आएका थिए दाई। हामी तियारीथोकबाट आरुबोट सरेको भरखर दुई वर्ष भएको थियो। 'मलाई त माझबारी नै रमाइलो लाग्छ' भन्दै हाम्रो घरमा बरोबर आइरहन्थे दाइ। बा,आमासँग शास्त्रका र ज्ञानगुनका कुरा गर्थे। सबैका प्यारा थिए जीवेदाई।
'भाईहरुलाई त पढाउनु पर्छ है माहिलाबा, मसँग पठाउनुहुन्छ भने साथै राखेर पढाउँछु क्यारे!' दाईले यसो भन्दा म पनि सँगै थिएँ। बाले केही उत्तर दिनु भएन। मैले 'पढन जान्छु' भन्दा बा, आमा नाराज भएको र त्यसमा जिवेदाईलाई दोष दिएको देखेपछि बल्ल थाहा पाएँ कि
बा त्यो दिन किन नबोल्नु भएको रहेछ।
'बूढेसकालमा जन्मिएका छोरा हौ तिमरु। छयालिस वर्षको भएँ। अब एक किसिमले
बूढेस काल लाग्ने बेला भो। बाउआमालाई सन्तानको सूर्ता सहन कति गाह्रो हुन्छ भोली तिमरुका सन्तान भएपछि थाहा पाउँछौ। मट्यानी
भनेको औल ठाम हो। पहाडका मान्छेले पचाउन सक्दैनन्। त्यही जीवेलाई हेर् त अनुहारमा
रगत् छ ? औल र पढाइले खँगारेर हाड, छालामात्रै बाँकी छ। बाउलाई केही भनौँ भने भने मेरो छोरो पण्डित हुन आँट्यो
भनेर रिस गरेका हुन् भन्छ, मति हराएको छ त्यो!' बोल्दाबोल्दै बाको बोली फेरियो। आँखा डबडबाए। निकैबेरसम्म भित्तातिर फर्केर
बस्नुभो बा। दुबै हर्थुङ्गेले आँखा पुछ्नु भो। मैले बुझें, बा रुनुभो।
एकछिनपछि बा फेरि बोल्न थाल्नुभो-'रुद्री, चण्डी पाठ गर्न जानी
हालिस्। तमसुक लेख्न र पढ्न सक्ने भइस्। यति भए पुगिहाल्यो नि!
बाले भनेको कुरो मान् कान्छा । ठूलाबाले, बाले नपढेर पनि भएकै छ क्यारे। सबैले मानेकै छन्। आफ्ना हात पाखुरा खेलाउने
हो भने आफूलाई पुग्ने झिटी छँदैछ। नगइ नछोड्ने भए बरु मामासँग कुरा गरम्ला, काशी नै जालास्।' आमा पनि पिलपिल
गर्न थालिन्।
'पुरेत भएर खानेभए बेग्लै कुरो, तर यो काम पनि सजिलो काम हैन। भनेको सबैको अमर्ख बोक्नुपर्छ। अलिकति पनि
विधि पुगेन भने त्यसको दोष पुरेतलाई लाग्छ। पुराण बाचेर मात्रै पनि निर्वाह
हुँदैन। सुकिला मुकिला देखिन्छन्, मीठो मसिनो खाएका छन् । तर तिनको पनि घर व्यवहार सजिलोसँग चलेको देखिदैन।
वेद पढेर अर्थ लाउन जान्ने हुनलाई मट्यानीको पढाइले पुग्दैन उतै काशी जानपर्च।
काशीमा हाम्रो कोही छैन। त्यहाँ पनि सुविस्ता छैन। कसले भण्डारा लगाउला र पेटभरी
खान पाइएला भनेर ढुकेर खानपर्छ भन्चन्। ढुँडीले ओसिएका चिसा कोठामा बस्नपर्छ अरे भन्ने सुन्छु।' बाले लामो सास फेर्नुभो।
'राणाको जागिर खान झन् सजिलो छैन।' बाले मुखियाको कुरा झिक्नुभो- 'उ देवीदासका छोरालाई त
मुद्दा लाग्यो। लप्टन भइसकेको मान्छे। हाम्रालागि त सरकारको जागीर भिरको चिण्डो
जस्तो हो। निल्नु न ओकल्नु।'
आमा मलिन अनुहार लगाएर बाको नजिकै बसेकी थिइन्। कैले मेरा मुखमा हेर्थिन्
कहिले दाजुको मुखमा हेर्थिन्। 'दाजुलाई यहीं पढेर भयो, यो चल्लोलाई मट्यानी!' आमाले ओठ लेप्राइन् । उभ्भिइरहेको मलाई पाखुरामा समातेर तानिन् र आफ्नै छेउमा
थचक्क बसाइन्।
'बाउले यसो भने नभनेस् कान्छा,
आँखा देखीहालिस्। जिन्दगीमा सुख, दुख पीर सन्तोष सबै आ-आफ्नो भाग, भोग हो। शास्त्र अलग्गै
हो, ज्ञान र विवेक भन्ने कुरो अलग्गै हो।' बाका कुरा खँदिला हुँदै आए। प्रयागराज जस्ता कहलाएका पण्डित तिहुनमा नुन
चर्को हाली भनेर स्वास्नीलाई घिसार्दै आँगनमा पछार्छन् भन्ने सुन्छु। खुइले
पण्डितले केही नभको बाउलाई कोर लाग्याछ भनेर बारीको डिलमा लगेर छाप्रो हालेर
राख्याछ। शमसेरे सार्कीले सासु ससुरासमेत यतै ल्याएर त्यति जतनले पालेको छ। त्यसो
भएर पढेर मात्रै हुदो रहेनछ् भन्ने बुझ्याछु मैले त। निर्वाह गर्न चाहिने ज्ञान
पाएकै छस्। पुग्च । बरु अब विवेक बढा। दीन दुःखीमाथि दया राख। बाँडेर खान र मिलेर
बस्न सिकओ। कसैको होचो अर्घेलोमा आँखा नचिम्लिनु। यति गर्न कतै जान पर्दैन न
मट्यानी न काशी ।' बाले पुलुक्क मेरो र
आमाको मुखमा पालै पालो हेर्नु भो। मैले पनि आमातिर पुलुक्क हेरें। आमा फिस्स रुन्चे हाँसो हाँसिन्।
बाका कुरा अर्घेला थिएनन्। जीवनाथ दाईका कुरा झन् कति राम्रा थिए। दाईका
कुरा घत लाग्दा हुन्थे। उदाहरण दिइ दिइ बताउँथे। मीठो बोल्थे। तर यी दुइथरी कुराले
रन्थन्याउँथ्यो मलाई। झन् अलमलिन्थें। जीवनाथ दाईको एउटा कुरा अहिले पनि संझिन्छु -
एक दिन, दाईले 'देवीको प्रसाद' भनेर गुँडको
टुकुरो र पोलेको अमला राखिदिए हातमा।
'पहिला अमला चाख् त कान्छा, अघ्घोर गुलियो छ यो।'
'हैन, यो त अमिलो छ।' अमिलै थियो। दाईलाई त्यही भनें।
'त्यसो भए अब गुँड खा, गुँड पनि अमिलै हुनपर्च आज।'
'गुँड त गुलियो छ।' दाईको मुखतिर पुलुक्क हेरेंर हासेँ म। उ पनि हाँसे।
'दाई किन उल्टा कुरा
गरिरहेका छन् आज?' मनमनै गमें। अलमलिएँ
म।
'हेर कान्छा तैले यो अमला र गुँड आफैँले चाखिस्। मैले अमला गुलियो छ भने पनि
त्यो अमिलो छ भन्न सकिस् अनि गुँड अमिलो छ भन्दा गुलियो छ भन्न सकिस्। आफैँले परख
गरेर आर्जन गरेको साँचो ज्ञान हो यो। वेद, पुराणका किताब पढने, माथि माथि पढदै जाने भनेको पनि यिनै अमला र गुँड चाखे जस्तै हो । आफैले
चाखियो भने असली स्वाद थाहा पाइन्च। नत्र अरुले जे भन्दिन्चन् त्यसैका भरमा टाउको
हल्लाउनु पर्छ। त्यसैले पढनु भनेको ज्ञान पाउनु हो। नपढनु भनेको अज्ञानमै रहनु हो।
पढनु भनेको उज्यालो हो नपढनुको भनेको अध्यारो हो। तेरा हाम्रा देउता राखेको
अँध्यारो खोपामा बत्ती नबालेसम्म ती देउता पनि देखिदैनन् । देउता त बत्ती नबाल्दा
पनि त्यहीँ थिए नि, तर देखिएनन् । बत्ती बालेपछि देखिए। पढनेसँग
मात्रै ज्ञान हुन्छ भन्दिन तर पढनेको ज्ञान फराकिलो हुन्छ। पढेकाले अरुलाई पनि
पढाउन सक्छन् । नपढेकासँग त्यो खुपी हुँदैन।'
दाईका कुरा साह्रै गहिरा तर उत्तिकै सरल थिए। आफूले भन्न खोजेको कुरा
साह्रै सजिलोसँग बुझाउने क्षमता थियो दाइको। बुझेँ भन्ने भाव जनिने गरी टाउको
हल्लाएँ मैले । दाईले अमला र
गुँड अनि अँध्यारो र उज्यालोको उदाहरण दिएर कति फराकिलो ज्ञान दिएका रहेछन्
उतिबेला भन्ने संझन्छु अनि दाइ बाँचिरहेका भए कस्ता हुन्थे होलान् भन्ने कल्पनाले
साह्रै द्रवित हुन्छु म।
भरखर नौ पुगेर दश वर्षमा हिडिरहेको थिएँ म। दाईका कुरा पनि हो जस्तो
लाग्थ्यो बा का कुरा पनि उस्तै लाग्थे। पढन जान मन लागे पनि बा, आमासँग जिद्धी गर्न सक्ने बुद्धि र आँट दुवै थिएन। उसमाथि बा, आमाका आँसुले डबडबाएका आँखा देखेपछि मैले त अर्घेलो पो गर्न लागेछु कि
भन्ने लाग्यो।
दाजु मटियानी फर्किए। त्यहाँको पढाइ सकेर उतैबाट काशी गए ठूलै पण्डित भएर आए। सप्ताह पुराण भने। नाम
कमाए । तर पुराण भनेरमात्र धन आर्जन हुँदैनथ्यो। छोराले आर्जन गर्न सकेन भनेर
साँहिलाबा कचकच गरिरहन्थे अरे। बालखी छोरी र भाउजुलाई छोडेर बर्मा गए दाई । सबै
उतै जान्थे दाई पनि गए। उता गएको तीन वर्षमै बिते भन्ने खबर आयो। रातभर चम्किएर
सबैलाई उज्यालो बाँडनु पर्ने हाम्रो कुलको नक्षत्र साँझ पर्दा नपर्दै झरेर गयो।
दाई बिते पनि उनले रोपिदिएको पढ्ने भोक ज्यूँका त्यूँ थियो। तर दाईले मलाई
जसरी संझाए त्यसरी मैले मेरा बा,आमालाई संझाउन सकिन। बा,आमालाई पनि दोष छैन बिचरा मेरै मायाको जालोमा लटपटिएका कारण आफ्नो आँखाबाट
ओझेल नपरे हुन्थ्यो भन्ने चाहेका हुन्। छोडन नसकेका हुन् । पुत्रस्नेहको जालो, मेरो बालखा छोरो म भन्दा टाढा गएर कसरी बाँच्ला ? भन्ने मायाको जालो।
बा गीता पढनु हुन्थ्यो। टीका सहितको गीता। मोह नै दुख हो भन्नुहुन्थ्यो । दुःख
र सुखलाई समान देख्नेहरु नै सुखी हुन्छन् भन्नु हुन्थ्यो। तर ज्ञान आफ्ना लागि
भन्दा अरुका लागि काम लाग्ने कुरो रहेछ जस्तो लाग्छ आजकल। मोहपासमा बाँधिएर घर
छोडन नसक्दा जीवे दाईले जगाइदिएको विद्या आर्जनको भोक मेटाउने मेसो जुरेन।
'त्यसोभए म ठाँटमा पढन जान्न।' बा आमासँग घुर्की लगाएँ।
'न जा त नि!' बा आमाको अनुहार
उज्यालो भयो।
मेरो पढने धोकोको बिट मारियो।
No comments:
Post a Comment