वृषोत्सर्ग
हजुरबाको मासिक
सरातलाई भनेर सोतीपसलबाट बाहुनदाई आउनुभो। चारमाना जति मास र तीनचार डल्ला
हात्तीपाउ पिंडालु कोसेली ल्याउनु भएको थियो दाइले। अघिल्लो महिना भने साहिँला
बाहुनबा आउनुभएको थियो कुन्छाबाट। लुली बाहुनबा भन्थ्यौं हामी। दुब्लो, पातलो, लुरे भएकोले प्यार गरेर राखिदिएको नाम अरे। कविताको
किताबै लेख्नु भएको रहेछ बाहुनबाले। सरातको दिन बिहान तल्लो घरको आँगनमा हात
हल्लाई हल्लाई कबिता सुनाउनु भयो। कविताको एउटा वाक्य अहिले पनि संझन्छु 'मुखमा केटी झुण्ड्याएर' भन्ने थियो। कसरी झुण्ड्याउने होला भनेर अचम्म मान्थें म। सबैले रमाइलो मानेर सुनेको संझिन्छु। हजुरबाको नियास्रोले लखेटिरहेको बेला यसरी
कोही इष्टमित्र आउँदा भित्रैदेखि रमाउँथ्यो मन। बाहुनदाइको आगमनले त झन् रमाइलो
बनायो। दमाली जस्तै भएर पनि होला दाइलाई भेटदा अहिले पनि उस्तै रमाइलो लाग्छ मलाई।
महिना महिना
दिनमा हुन्थ्यो मासिक सरात। सरातका लागि भनेर कहिले कुन्छाबाट बाहुनबा कहिले
सोतीपसलबाट बाहुनदाई कहिले दुवैजना आउनुहुन्थ्यो। घरमा फुरौला पाक्थ्यो। सिकर्नी
बन्थ्यो। मासको दाल र मसिनो चामलको भात पाक्थ्यो। दाल भातसँग कलेजी परेको एकराते
दही मिसाएर 'सरात' खाइन्थ्यो। केरा पाकेको बेला रहेछ भने दूध, केरा र भात खाइन्थ्यो। घीउकेरा र दूधसँग मसिनो चामलको भात साह्रै मीठो
हुन्थ्यो। यस पटकको सरात पनि पहिला पहिला जस्तै दशबजेतिर सकियो। खानपिन गरेर बा
स्कुल जानुभो। सधैं बाको पछि लागेर स्कुल जाने म बाहुन दाइसँग रनवन डूल्ने लोभले आज
भने गइन। दुवैजना बाख्रा चराउन हिँड्यौँ गाउँकोबारीतिर।
चैतको आधाआधी
गइसकेको थिये। बूढा रुखसमेत नयाँ पालुवाले भरिएर झपक्क देखिएका थिए। खर र मुसे खरीका कमला पिपिरा
पलाएका बारीका कान्ला र खरबारी हरिया देखिएका थिए। कान्ला र खोल्सा खाल्सीका
भित्तामा प्ययाउली फूल पहेंलै भएर फूलेका थिए। हेरिरहुँजस्ता मनोरम देखिन्थे ती । एक
बित्ताजति अग्ला भएका थिए मकैका बोट । सिर्सिर हाबा चलेका बेला तिनका पात हावामा
एकैनासले लहराएको देखिन्थे। खेत-बारी, वन-पाखो जता हेर्यो उतै हरियो भएको थियो गाउँघर।
प्याउली दिदी थिई
हाम्रो बाख्रा चराउने साथी। हरियो रङ्को ठूटेबाहुले चोलो र कालो छिटको गून्यू लगाएर
त्यसमाथि पहेंलो पटुका बाँध्थी दिदी। हामी गाउँकोबारीमा बाख्रा लिएर पुग्दा पाखुरीको
पोथ्रामा चढेर लठ्ठीले झ्याम झ्याम हिर्काउँदै हरिया पात झारिरहेकी रहिछ। हाम्रा
बाख्रा कुँद्दै गएर उसका बाख्रासँग मिसिए। हरियो घाँसका लागि आपसमा रिसारिस गर्थे
बाख्रा। पछाडिका दुई खुट्टालेमात्रै टेकेर सिङ नै भाँचौला जसरी जुथ्थे। आज पनि
त्यसै गरे। बलियाले निर्बलियालाई खेदे। आफ्नो गच्छे अनुसारको घाँसमा चित्त बुजाए
तिनले। मिसिएर चर्न थाले।
बाख्रा मिसिएसँगै
हामी पनि मिसियौँ दिदीसँग। चिलाउनेको फेदमुनि खुट्टे खेल्यौँ। खुट्टे खेलेर
अघाएपछि चिलाउनेका गेडालाई गुच्चा बनाएर खेल्यौँ। बाख्राहरु आफ्नो नजरभन्दा पर
हुने बित्तिकै तिनलाई नाम काढेर बोलाउँथी। सान्नानी, कैली, उजेली, गाजली, ल्वाँदे, काले आदि। हाम्रा बाख्रालाई पनि उसैगरी बोलाउँथी। तर तिनको नाम उसका
बाख्राको जस्तो थिएन। करौटी, सेती, झूले यस्तै यस्तै थिए।
तिनको स्वभाव र रङ अनुसारका नाम। दिदीका बाख्राका नाम सुन्दा भने तिनका नाम मान्छेका
जस्ता हुन् कि मान्छेका नाम तिनका जस्ता हुन् अलमलिन्थें म। एउटा पाठाको नाम जुठे
राखेकी थिई। कैलो रङ्को पाठोको दुबै कञ्चटमा एक एकवटा ठाडा सेता धर्सा थिए। त्यसको
नाम कैले या सिंगारे जे राखेपनि मिल्थ्यो। अथवा मान्छेकै जस्तो राख्ने भए सीताराम, सूर्य जे राखेपनि अन्थ्यो। तर परेका बेला मलाई नै गिज्याउन भनेर जूठे
राखेकी रहिछे। उसैले भनेकी। बाख्रा चराउन जाँदा कुनै कुरामा झगडा पर्यो कि पाठालाई
बोलाएको निहुँ पारेर जूठे ला..ला..ला.. गर्दै लठ्ठीले घाँसका पोथ्रामा झटारो हान्न थाली हाल्थी। बररर्र झर्थे
पात। हाम्रा बाख्रा खान आए भने खेद्थी। मलाई
पनि रिस उठ्थ्यो। जूठी ला...ला...ला.....भनिदिन्थें। झगडा र रिस दुवै फच्चे हुन्थ्यो।
'उ तेरो हजुरबाउको साँढे आयो, लखेटन जा' प्याउलीले धनेको आहालतिर
देखाइ। अघि भर्खर झगडा परेकोले उसको बोलीमा रुखोपन थियो। आहलतिर हेरें, निख्खुर कालो रङ्को बाच्छो बडो मायालु अनुहार लगाएर हामीतिरै हेरिरहेको रहेछ। वल्लो डिलमा फेद
र पल्लो पट्टी हाँगा भएको बाङगे चिलाउनेको रुख चढेर दुवै दाजुभाई पारी गयौँ। हाँगाबाट
हामी बुद्रुक्क हामफाल्दा बिच्के जस्तो गर्यो साँढे। जोसुकैले खेद्ने , दुत्कार्ने भएकोले होला मान्छे देख्दा तर्सने भइसकेको थियो उ।
पानीको धमिलो रोहोटो थियो आहालमा। चार-पाँच पाथी पानी हुँदो हो जम्मा। मन नलागी नलागी आहालमा ओर्लियो। र, सुरुरुरुरु गरेर अलक्क पानी खायो। एक्कैछिनपछि साँढी पनि आइपुग्यो। मलाई
देखेर त्यो पनि बिच्केझैँ गर्यो। अनि साँढेतिर हेर्यो। साँढेले तीन चार पटक कान
ठाडा पार्यो। सायद यिनीहरुसँग डराउन पर्दैन भनेछ कि हाम्रो नजिकै आयो साँढी।
त्यसको गर्धन वरिपरि सुमसुम्याइ दिएँ। तनक्क घाँटी तेर्स्यायो। किर्ना परेका
रहेछन्। टिपिदिएँ। एकछिनपछि साँढे पनि उहीँ आयो। दुबैको ढाड र फिलाको घाउ खाटा
बसेको रहेछ। सायद चिलाउँदो हो, बेला बेला बडो सकसले फिलाको घाउ चाटन खोज्थे ती। सुकेको मुसेखरीको बुच्को
उक्कायौँ र त्यसैले बिस्तारै कन्याइदियौँ। सञ्चो मानेर उभिइरहे।
साँढे र साँढी
बीच अपूर्व मिल्ति थियो। जतिबेला पनि सँगै हुन्थे। ती दुई बाहेक तिनको कोही छँदा
पनि थिएन। जहाँ पुग्यो त्यहीँ कुनै ओभानो ठाउँ खोजेर रात काटथे। हाम्रा हजुरबाको
मृतात्माको उद्धारका लागि डामिएर खेदिएका ती मुक बाच्छा बाच्छीका नीला आँखामा अनेकौं
तीखा प्रश्नहरुको समुद्र छचल्किई रहेजस्तो लाग्यो मलाई। एकछिनपछि बाच्छीले मेरा
हत्केला चाटन थाल्यो। मैले जिस्किएर ताकें। उ तर्सियो। जबरजस्ती लडाएर बलपूर्वक
चारैपाउ अँठ्याएर तातो पन्यू र हँसियाको पातोले डामेको दिन कसरी बिर्सेको होला र! सायद त्यही कारणले मान्छेलाई हतपती नपत्याउने भएका थिए ती। बाच्छीको मन
अहिले पनि डराइरहेको थियो। एकैछिनपछि पोखरीको डिल मुन्तिरको ओसिलोमा गएर थचक्क बसे
दुवै।
प्याउली दिदीले
बोलाइ। दुवै दाजुभाइ पारी गयौँ । बाख्रा
भएतिर।
'नलखेटिकन आइस्?' प्याउलीले
हप्काएजसरी सोधी।
' जा न त तैँ लखेट' मैले पनि झर्किएरै जवाफ लगाएँ। उसले आँखा तरी।
घाम ढल्किए। घर
फर्किने तरखर गरेर टटमराउन थाले बाख्रा। सेती बाख्रीले ठूलो आवाज निकालेर कराई। सेतीका
सन्तान माउ वरिपरि आइपुगे। झुले र उसका सन्तानले भने टेरपुच्छर लगाएनन्। सेती अघि
लागी। भित्तेथलाको आहाल कटेपछि भने झूली बाख्रो अघि लाग्यो। दायाँबायाँ कतै नहेरी सोझै
बारितिर हामफाल्यो झूली। उसका पाठापाठी पनि हाम्फाले। सेती अलमलिइ। दायाँबायाँ
हेरी। र, उ पनि उसैगरी हामफाली।
बारीभरी छाप्पिए बाख्रा। दाइ र म आत्तियौं। बाख्रा आए.......ऽऽऽ भनेर कराएँ म। दुवै भाइले न्वारान देखिको बल झिकेर कराईयो। धपाइयो।
प्याउली भन्ने 'बल्ल खाइस्' भन्दै कुम उचालेर खुच्चिङ गर्दै गल्लीबाट हेरिरही। दिउँसोको रिसारिसको रिस
फेरी उसले।
हजुरआमाले घरबाटै
'ला...ला....ला....ला मकै ला' भन्दै बोलाउनुभो।
परेवाले आहारा टिपेभन्दा छिटो टप, टप, टप गरेर मकैका बोट ठूट्याउँदै
बेतोडसँग हुर्रिदै झरे बाख्रा। मकै खान पाउने लोभमा हाम्फाल्दै पुगेका ती हजुरआमाको
नजिक पुगेर सकपकाए।
'एकदिन बाख्रा चराउन के ग'का थिए, पल्कायौ हैन मकैमा ! भोलीदेखि हेर्न सकिदैन अब' 'यही हो नाइके' हजुरआमाले झूलेको
थुतुनो ताकेर एक लपेटा लाउनु भो। झूलीले पनि ठीं.... गरेर टाउको हल्लाएर नाराजी जनाई। अलिअलि हामीसँग अल्लि बेसि बाख्रासँग
नाराज हुनुभो हजुरआमा। सङ्लो पानीमा एकमूठी नुन र बासी मोही मिसाएको पानी साससमेत फेर्न
बिर्सेजसरी तन्काए तिनले। दूधे पाठापाठीले माछो माछो भ्यागुतो खेलमा औंला हल्लाए जसरी
आफ्ना खिरिला पुच्छर हल्लाउँदै माउका दूध चुसे। अल्लि हुर्किएका र बाठा पाठाले त
अर्कै माउको दूधसमेत चोरेर खान भ्याए। पशुमा पनि बाठोटाठो-लाटोसुधो, बलियो-निर्बलियो, चोर-साधुको भेद हुँदो रहेछ भन्ने थाहा पाएँ मैले। स्कुल नगएरै पढें आज।
हजुरआमाले खाजा दिनुभो। भूटेका मकै र मोहीको खाजा।
'आँबोई आज साँढे, साँढी भेटेम नि हामीले' बाहुनदाईले गर्याम गर्याम मकै चपाउँदै भनेका कुरालाई सुनेको नसुन्यै
गर्नुभो हजुरआमाले। अघिपछि पनि साँढे साँढी भेटिएको कुरा सुनाउँदा उति राम्रो
मानेको देखेको थिइन। त्यही संझेर मैले दोहोर्याइन। आमा लामो गरामा मकै बेडाइरहनु भएको
थियो। खाजा खाएपछि हामी पनि उतै गयौं। एकैछिनमा बा पनि आउनुभो। बेडाएका मकैका बोट
बटुलेर तिनका जरा टकटक्यएर घर ओसार्न भन्नुभो बाले । दाइ र म मकै बटुल्न थाल्यौँ।
'उ! साँढे, साँढे' भाइ करायो।
'खै , कहाँ ?' दाइ र मैले लगभग एकै पटकजसो सोध्यौँ।
मैनकाँढाको रुख
सोझै माथि घर्तीकान्छाको बारीमा उही कालो बाच्छो देखियो। घरका बाच्छा, बाच्छी डाम्दा फर्केर घर आइरहलान् भन्ठानेर अन्तैबाट किनेर ल्याएका हुन्
यी। जम्मा तीनचार दिन बसे होलान् घरको गोठमा। यति दिनमै पनि यिनले आफ्नो पछिल्लो थातथलो
बिर्सन सकेका छैनन्। जति पर पुर्याए पनि फर्किइ फर्किइ यतै आइरहन्छन्। हामी
लखेटिरहन्छौँ।
साँढे-साँढी घर आउलान् कि भन्ने भयले तर्सिन्थ्यो मन। ती आउन नहुनुको
कारण थाहा थिएन। अकारण नै डराउन अभ्यस्त भएका थियौँ हामी। फगत तिनलाई घर आउन दिनु
हुँदैन भन्ने बुझाइएको थियो, बस् त्यत्ति हो। त्यत्तिकै भरमा कतै देख्यो कि लखेट्न कुँदी हाल्थ्यौ।
अहिले पनि बाहुनदाइ ,म र भाइ गुरुरु
कुँद्यौँ। चार कान्लाजति उक्लिएपछि बाच्छा, बाच्छीलाई पानी र पीठो लगेर खुवाउन भन्नु भो बाले। घर फर्केर हजुरआमालाई
बेलिबिस्तार लगायौँ। आधा मानाजति भूटेको पिठो अनि चार पाँच ढिका नून एउटा पुरानो मजेत्रोको फेरमा
बाँधिदिनुभो हजुरआमाले । भाइले समात्यो त्यो पोको। दाजुले पित्ले हत्तर भरी पानी
बोक्नुभो। सानो बाल्टीमा मोही बोकें मैले। एक्कै सासमा पुग्यौ हामी।
बाच्छो, बाच्छी दुवै सँगै रहेछन्। हामी गराको डिलमा पुग्दा नपुग्दै बाच्छी लुसुक्क
कुना कुनै भाग्यो र अल्लि पर गएर उभियो। बाच्छो भने जहाँको तहिं टक्क अडिएर
हामीलाई क्वारक्वार्ति हेर्यो। यी मान्छेहरु आफूहरुलाई नै खेद्न आएका हुन् भन्ने
प्रष्ट बुझेका थिए तिनले। साँढेका आँखा किञ्चित राता देखिएका थिए। सायद वेदनाका लप्का बलेका थिए उसका
आँखामा ।
'किन खेद्छौ हामीलाई ? गोठमा बस्न त दिएनौ दिएनौ मान्छेको त नजिकै पर्न नहुने बनाएर छोड्यौ। तातो
पनियो र हँसिया तताएर डामेका बेला पीडाले रन्थनिएँ म तिमी मान्छेहरु रमायौ। डामेको
ठाउँ घाउ पल्टियो। पाक्यो। रगत र पीपका जल्जलाउँदा फोका बोकेर हिँड्यौ हामी। यो त
बाहिरी घाउ भयो, यो वेदनाले हृदयमा कत्रो
घाउ बनाएको छ र त्यो घाउ कति पोलेको छ तिमि मान्छे भनाउँदाहरुले अनुमान पनि गर्न
सक्दैनौ। बैगुनीहरु।' साँढेले बडो
तिरस्कारपूर्ण नजरले हेर्यो र अर्कोतिर मुण्टो बटार्यो।
'तिम्रा बाउबाजेको उद्धारका लागि हामी बाच्छा बाच्छिले डामिनु पर्ने? किरियापुत्रीले आफ्नै छोरा छोरी
डामे मरेका बाउ आमा सोझै बैकुण्ठ जान्छन् भन्ने हो भने डाम्छौ ? धर्म ग्रन्थमा लेखिएकोले गरेको हो भनौला धर्मग्रन्थ मान्छेले लेख्यौ कि हामी
गाइ गोरुले? तिम्रा पुर्खाले लेखेका
ग्रन्थमा तिमीलाई नै सकस हुने कुरा किन लेख्थे! असत्तीहरु!!' ' हाऽ त्यसो नभन्' बाच्छाले संझायो। 'किन नभन्ने? हामीले आफ्नी आमाको दूधसमेत पेटभरी खान पाएनौँ।
लौ, हामीलाई पुगेर उब्रेको उनले लगेका भए ठीकै हो, हामीले त बिरामी हुँदासमेत आमाको दूध खान पाइएन। ढिँडो र दाल कोच्याए। दूध यिनीहरुले चोरे।यिनका सन्तानले दूधभात रछ्यानमा
मिल्काए। हामी भोकै लड्यौँ। चोरहरु!' बाच्छी बोलिरह्यो 'यति साह्रै अन्याय गर्न पाइन्छ? हाम्रो गोबर, गहुँत, दूध, घीउ केही नचल्ने बेकम्मा हुनुपर्ने? बरु कोही
दीनदुःखीलाई दान दिएको भए त लगेर पाल्थ्यो, पोस्थ्यो। जहान केटाकेटीलाई दूध, घीउ ख्वाउँथ्यो। पापीहरु!' बाच्छीले साह्रै चित्त दुखाई।
मसँग ती निरिह
पशुप्रति दया त थियो तर किन तिनलाई त्यसरी डामेका हुन् म बुझ्दिनथें। पुस्तौँ देखि
चलिआएको चलनसँग द्रोह गर्ने आँट र उमेर थिएन मेरो। तर हजुरआमा बित्नु भएकोबेला
वृषोत्सर्ग गर्नुपर्छ भन्ने प्रस्तावलाई ठाडै इन्कारें मैले। तर, त्यो बेलाको कुरा बेग्लै थियो। समाज त्यस्तै थियो। हाम्रा विश्वासमा स्वर्ग
छ र नर्क पनि छ। धर्म गर्ने मान्छे मृत्युपछि देवलोकमा पुगेर आनन्दले देवताको
समीपमा बस्न पाउँछ। पापीहरुलाई नर्क लैजान्छन् र यमराजले कराहीको तातो तेलमा हालेर भकभकी
उमाल्छन्...। स्वर्ग सुरम्य
र नर्क उजाड। हामीमा रहेको विश्वास यही त हो । अनि स्वर्गको यात्रा सहज बनाउने लोभमा
डामिएका त हुन् यिनीहरु। यी कुरा त अहिले बुझेंको हुँ तर यीप्रति माया भने उतिबेलै
लागेको थियो। बाच्छा बाच्छिको जति नै दया-माया लागे पनि म तिनलाई घरको गोठमा ल्याएर राख्न सक्दैनथे। परम्पराले देखाएको
बाटो छोडेर हिँडन सक्दिनथें। मैले बडो लाचारीपूर्वक
उदास अनुहारले हेरें तिनलाई। मोही बोकेको बाल्टी बिसाएँ। खन्द्रङ् बज्यो। केही
खानेकुरा ल्याएका छन् भन्ने तिनले बुझिहाले । दुवैले बडो उत्सुकतासाथ हेरे। नून, पिठो र मोही मिसिएको पानी पालैपालो खान दिएँ। बडो तृप्त आँखाले हेरे हामी
तीनैजनालाई। अघि भर्खर पोखिरहेका पीडा बिर्सएजस्ता देखिए तिनका आँखा। दुवैलाई
पुछारघरेको खरबारीतिर पुर्याएर फर्कियौं हामी।
महिनादिन जतिमा साँढे
मरेको खबर सुनियो। यो खबरले म निकै बेचैन भएँ। भित्रैदेखि माया लागेर आयो। अनयास
आँखा डबडबाए। 'साँढे मरेको हैन, त्यसले चोला फेर्यो। सुख पायो। अब उसको आत्मा र हजुरबाको आत्माको भेट
हुन्छ। उहाँलाई स्वर्ग जान मद्दत गर्छ साँढेले' बाले फकाउनुभो। मैले पत्याएँ। तीन दिनसम्म साँढेको जूठो बार्नुभो बा-आमा र हजुरआमाले।
त्यसपछिका दिनमा बाच्छी पनि कतै देखिएन। कोही अकिञ्चनले लग्यो होला भन्ने अनुमान
भयो घरमा।
दुई वर्षपछि एकदिन, धनेको आहाल भन्दा पश्चिम गामाकुलाको एसेलुको झाङनिर साँढेसँग जम्काभेट भयो।
निकै ठूलो भइसकेछ। मोटो-घाटो। जुरो पनि एक कुरेत अग्लो भएको। पहिलाभन्दा अझ
ठूला र गोला देखिएका थिए त्यसका आँखा। तर तिनमा पहिलाको जस्तो वेदना र आक्रोस
थिएन। बडो निस्फिक्री देखिएको थियो साँढे।
नजिकै गएँ। र , सोधें 'चिनिस् ?'
फूँ...गर्यो। ट्वाल्ल परेर
हेर्यो। एकछिनपछि दुवै कान ठाडा पार्यो।
उसले चिनेको
संकेत थियो यो। भरखर भरखर डामिएताका पनि मसँग भेट हुँदा यसै गर्थ्यो उ। आज यतिका
दिनपछि भेट हुँदा पनि त्यसै गर्यो। उसले सहजै चिनेको देखेर गद्गद् भएँ म।
'तँ मरिस अरे भनेको दिन
कति रोएँ म ऽऽ! तर तँ त ज्यूँदै रहेछस् त। निकै हासी खुसी देखिन्छस् नि काले !' मेरा कुरामा उति ध्यान दिएन उसले। बरु अगाडिको दाहिने खुरले अलिकति भुईं कोतर्यो
त्यही खुट्टाले तीन चार पटक आफ्नै छातिमा हान्यो।
म अल्लि हच्किएँ।
रिसायो कि क्या हो जस्तो पनि लाग्यो। नजिकैको काउरोको पोथ्रोबाट एउटा हाँगो लाछें।
'ल आइज' भन्दै घाँसको डालो हल्लाउँदै आहालतिर आएँ म। उ लुरुलुरु पछि लाग्यो। काउराको डालोलाई चौतारोको पेटीमा राखिदिएँ। पूरै
निखारेर खायो। र, नीला आँखा उठाएर हेर्यो मतिर
। 'बोल्न सक्ने भए म पनि बोल्दो हुँ' भने झैं मतिर हेरिरह्यो। 'तेरो इच्छा पूर्ण होस् काले, तँ म जस्तै बोल्न सक्ने भएस्' म बरद मुद्रामा उभिएँ। नभन्दै काले त बोल्न पो थाल्यो-
'तिमी पनि त ठूलो भएछौ नि!, तिम्रो बाहुनदाई, तिम्रो पछिपछि
दौडिइरहने भाइ र तिमीलाई संझिरहन्छु नि म पनि। यो हृदयमा संझना पनि कति छन् कति।
आमाको संझना। भाइ बहिनीको संझना। आफू हुर्किएको गोठको संझना। तर यी सबै संझनालाई
पन्छाएर निर्दयतापूर्वक डामिएको दिनको नमिठो संझनाले घोचिरहन्छ यो मन।'साँढेले पुराना दिन संझियो। '
'त्यस दिन थलोमा थुप्रै मानिसहरु आएका थिए। पुरेतले गरुड पुराणको प्रसङ्ग
झिके। वृषोत्सर्ग किन गरिन्छ भनेर लामै व्याख्या गरे। 'सक्नेहरुले गर्ने विधि हो यो। जो तहिले गर्दैनन्। आफ्नो किरिया आफैंले गर्दा पनि वृषोत्सर्ग गरिन्छ।
काशीवासमा गएकाहरुले वृषोर्त्सर्ग गर्दा छोडेका साँढे त्यहाँका गल्लि गल्लिमा
भेटिन्छन्। झन् आफ्नो सन्तानले यसरी किरिया गरेका बेला गरिदियो भने त सात पुस्ता
अघि र सातपुस्ता पछिका पितृहरुले दिव्य स्वरुप प्राप्त गर्छन्। 'पण्डितले यो प्रसङ्ग यत्तिमै टुङ्ग्याए र आफू र किरियापुत्रीलाई एघारौँ
दिनका कर्ममा केन्द्रित गराए। मानिसहरुले हलो र जुवाको सानो प्रतीक बनाएका थिए। पहिला
त मेरा जीउमा तीन ठाउँमा डामे। त्यसपछि 'यो जुनीमा तैले जोतेर खानु पर्नेछैन' भन्दै मेरै अघिल्तिर ती हलो जुवाका प्रतीकलाई भाँचे। म
पीडाले रन्थनिएर थर्थराउँदै भागेपछि 'काली' लाई डामे। मेरी साख्खै
बहिनी हो त्यो। डाम्दाखेरि कति नराम्रो सँग रोइ। यो मन अहिले पनि छिया छिया हुन्छ।
तर सहनै पर्यो सही। म टुलुटुलु उ डामिएको हेरेर उभिएँ। डामिसकेपछि सानो ठेकी र
मदानीको प्रतिकलाई 'अब तेरो दूधलाई
दही जमाएर मथिने छैन, तेरो घीउ, गहुँत,गोबर देउता र पितृलाई
चढाइने छैन' भनेर उसकै अगाडि भाँचे। उ
पनि सहारा खोज्दै थर्थराउँदै मेरै नजिक आई। त्यसदिनदेखि हामी खेदियौं। घर न घाटका
जस्ता भयौं।'
'मानिसहरुले 'आरुबोटे कान्छाबूढाका
साँढे-साँढी' भनेर दुत्कारेको क्षण साह्रै चित्त दुख्थ्यो। 'हे भगवान बरु जेठमासाका मुटु फोर्ने घाम खपेर कोइराला फाँटको आँघे खेतमा जोतिन्थें, बीस मुरी धानको दाईंमा मियोमा बाँधिएर हिँडथें तर किन मलाई डामेर निकम्मा
बनायौ ? मान्छेका पितृको उद्धार
गर्न किन हामीलाई यस्तो घोर नरकमा हाल्यौ?' भनेर पुकार्थें म । तर यो अपमान र
पीडा अब पचिसकेको छ। डामिएका दिनदेखि घाँटिमा दाम्लो परेको छैन। फूक्काफाल भएको
छु। भोको पेटमा मान्छे भनाउँदो निर्दयी हलिले पिट्दा उठने सुम्ला बोकेर जोतिन
नपरेकोमा खुसी छु म। काली पनि हराई। केही दिन खोज्दै भैतारिएँ। कराउँदै हिँडे।
मेरो अवस्था देखेर पेटमा हरि भएका मान्छेहरुले टिठ्याए पनि। तर कति चहार्नु ! साँडीको दूध-घ्यू देवकार्य र
पितृकार्यमा पो चल्दैन खान किन हुँदैन ? कोही दरिद्रले
लग्यो होला भन्ने लाग्यो अनि खोज्न छोडिदिएँ। त्यसपछि त झन् एक्लै छु। लक्का न
धक्का।' आफूँ बसेकै ठाउँमा अलिकति
कोल्टिएर ढाड कन्यायो साँढेले। डाँस र माखा धपाउन पूरै जीउ जुर्क्याएर थर्थर्यायो।
र, चिउँडोलाई पूरै भुईंमा पसारेर लामो सास फेर्यो।
लामा र मोटा परेलायुक्त आँखा छडके पारेर मतिर हेर्यो साँढेले । उसको गोलो आँखामा मेरो प्रतिविम्ब देखियो। 'काले!मोरो' घाँटीनिर सुस्तरी सुमसुम्याइदिएँ।
गहिरो सागरजस्ता
नीला थिए उसका आँखा। निकै शान्त। ती आँखामा देखिएको मेरो प्रतिच्छाया सलबलाए झैं
लाग्यो। हेर्दाहेर्दे आफ्नै छायाँमा एकाकार भएर बिलिन भएँ म।
ठूलो चहुर रहेछ।
चहुरको उत्तर कुनामा सानो तलाउ रहेछ। चारै किनारमा सेता, पहेंला र बैजनी रङ्का फूल फूलेका रहेछन्। सानो गोल चौतारोमा कपुरको रुखमुनि
बसिरहनु भएको रहेछ हजुरबा। अचानक हजुरबासँग भेटहुँदा अचम्मित भएँ म । हजुरबा पनि
उसै गरी चकित् पर्नुभो बरा।
'कसरी आयौ? किन आयौ यहाँ ? हजुरबाका आँखा आश्चर्य र भयले ठूल्ठूला देखिए।'...तर तिमीसँग भेट हुन पाएँ। पाथी भात खाएजस्तो भो।'
'किन नि हजुरबा।'
'मर्त्यलोकमा छँदै तिमीलाई केही कुरा भनौँला भन्ने मनसुवा थियो। कहिल्यै
जुरेन। मनको वह नपोख्दै अचानक हिँडें म। दैव संयोग फेरि भेट भयो। मनका कुरा भन्न
पाउने भएँ भनेर रमाएको छ मेरो मन।' म पनि हजुरबाको नजिकै बसें। सानो तलाउमा राजहाँसका चार पाँच जोडी
पौडिरहेका थिए सरररररर। हजुरबाले भन्नु भो-
'सोझो चित्तले, सजिलो बाटो हिँडन खोज्दा दुर्भाग्यवस अँध्यारो सुरुङमा लुक्दै हिडेको दुखी
मनुवा हुँ म। जीवनसँग गुनासो त छैन तर मनभरी विरह र वेदनाका घाउ भने पत्रैपत्र भएर
बसेका छन् बाबु। विधाताले
किन सधैँ गोतामात्र दिन जान्यो ? त्यसको उत्तर कहिल्यै पाइन मैले। आफ्ना वेदना आफ्नै सन्तानलाई भन्ने हिम्मत
भएन। हिम्मत जुटाएका बेला मौका मिलेन। आखिरिमा ती सबैलाई यहीँ पोको पारेर ल्याएँ
मैले।'हजुरबाले दाहिने हातको पञ्जा फिजारेर छातिमाथि
राख्नु भो। 'कति बोकेर हिँडौ यो पोको? आज आफैले अक्षर चिनाएको नाति भेटियो। आफ्नै कलेजाको टुकुरो जसरी माया
खन्याएको नाति। एकलासमा, एकान्तमा। अब म
मर्त्यलोकको जीव हैन। त्यसैले केही लुकाउनु, छिपाउनु छैन। त्यहाँका कुरा त्यहीँ बिसाउने चौतारो पाएँ आज' हजुरबाले हाते रुमालले ओठका दुवै कुना पुछ्नुभो।
'कापि, कलम छ त?' हजुरबाले बडो मायालु आँखाले हेर्नुभो।
'छ।'
'त्यसो भए म भन्दै जान्छु, तिमी उतार्दै जाउ है त।'
'हस्।' आज्ञासूचक टाउको हल्लाएँ।
हजुरबा थोते गिजा देखाएर मुसुक्क मुस्कुराउनुभो।
No comments:
Post a Comment