संझनाका फूल
हजुरबाको काज
किरिया सकियो। ज्वाईं चेला भाञ्जा भाञ्जी लाखापाखा लागे। परिवारको दिनचर्या विस्तारै
पुरानै लयमा फर्कियो। तर, मेरो बालामन भने निकै दिनसम्म बिथोलिइरह्यो। हजुरबाले देह छोडदै गरेको
कारुणिक क्षण आफ्नै आँखाले देखेको हुँ। 'नातिहरुका हातबाट लाबा फूल पाउने मान्छे त भाग्यमानी हो' भनेपछि पार्थिव शरिरमा अबिर, लाबा, छरेर फूलको माला चढाएर
बिदाई गरेको हुँ। तर यथार्थलाई आत्सात् गर्न भने सकस भइरहेको थियो मनलाई। निकै
दिनसम्म पनि हजुरबा रातामाटा डाँडातिर टहलिन जानुभएको छ, र घाम अस्ताउने बेलातिर टक टक बेतको लठ्ठि टेकेर घर फर्किनुहुन्छ जस्तो
लागिरह्यो। एक मीठो प्रकल्पना।
बेलुका साँझ
परेपछि हामी दुबैघरका केटाकेटी हजुरबाको वरिपरि झुम्मिन्थ्यौँ। मीठा कथा
सुनाउनुहुन्थ्यो हजुरबा । कहिले पञ्चतन्त्रको स्यालको कथा। कहिले गाउँखाने कथा । र, कहिले दन्तेकथा। बेला बेलामा बर्मा पल्टनमा छँदाका कुरा पनि सुनाउनु
हुन्थ्यो। लडाईंमा भोगेका क्षणलाई बडो रोचक ढङ्गले कथाकै शैलीमा भन्नुहुन्थ्यो। पल्टनका
कुरा गर्न थाल्यो कि हजुरबाको जोश ह्वात्तै बढथ्यो। आँखाहरु चम्किला र ठूला
देखिन्थे। एक दिन हजुरबाले बर्माबाट भागेर मणिपुर आएको कथा सुनाउनु भो-
'…रमनमा गएका बेला वनको मुखमा गाउँलेको घेरामा पर्यो हाम्रो टोली। एकैपटक
गोली नहान्नु सकभर संझाउनु भन्ने आदेश थियो कमाण्डरको। संझाउन खोजियो। के मान्थ्यो। झ्याप्पै झम्टिइ हाल्यो नि' हजुरबाले दुवै हातलाई झ्याप्प पारेर एकै ठाउँमा ल्याउनु भो। जीउ जुरुङ्ग
भो। हजुरबाको नजिक नजिक सर्यौं हामी।
'अनि त्यसलाई के गर्नु भो त...?
'हामीले के गर्नु, गर्नु नगर्नु त
उसैले गरिहाल्यो नि!' हजुरबाले बेलिविस्तार
लगाउनुभो-
'एकजना फौजीको हतियार
खोसिहाल्यो छातिमा दागीहाल्यो। त्यो बर्मेली ठिटोले गति छिटो हतियार चलायो कि
हाम्रो कमाण्डरले पत्तै पाएन। खुब रिसायो र उसले पनि दागी हाल्यो। केटाहरुले धमाधम
हतियार खोस्न थालेपछि हामी आत्तियौं। हतियार खोसिए। भागदौड भो। पल्टन तितरबितर
भयो। म र एकजना लिम्बु एक्लै पर्यौँ।' हजुरबाका आँखा ठूल्ठूला देखिए।
'अनि?
'जङ्गलै जङ्गल भागियो। निकै पर पिलपिल बत्ति बलेजस्तो देखिन्थ्यो। त्यतै
ताकेर हिँडियो। गोठ रहेछ। फौजी लुगा लगाएका मान्छे देख्दा त्यो बर्मेली डरायो। कुरो
बुझाइयो। खान दियो। मूढा जोतेर रात काटियो। हामीसँग उ डरायो। उ सँग हामी डरायौं। तै
पनि परदेशमा आमाकै काख जस्तो भो हामीलाई। उसका लुँगी र डेउडि माग्यौँ। एकजोर उसैले
दियो। अर्कोजोर उसैको साथीसँग मागेर ल्याइदियो। लुँगी र डेउडीको भरमा मणिपुर आइयो।'
'फर्केर जानु भएन?'
'गइएन त्यो टाटीमा।' हजुरबाको आवाजमा आक्रोस थियो।
लडाईंका कुरा
सुन्दा होस् वा कथा सुन्दा होस् हामी ट्वाल्ल पर्थ्यौँ। कथाका पात्रले भोगेका
अवस्था अनुसार बेलाबेलामा रौँ ठाडा हुन्थे। जीउ जिरिङ्ग गर्थ्यो। कहिले भने डरले
आपसमा लुपुक्क टाँस्सिन्थ्यौँ हामी। तर अब हजुरबा हुनुहुन्थेन। हामीलाई मीठा मीठा
कथा सुनाउने हजुरबा विस्तारै आफैँ कथा बन्दै जानुभो।
हजुरबाले सुनाउने
गरेका कथा हजुरआमाले सुनाउन थाल्नुभो। हजुरआमासँग लोककथा, गाउँखाने कथाका अलावा मानिसहरुका जीवन कथाको अक्षय भण्डार थियो। कति सुनेका
कथा थिए। कति भोगेका कथा थिए। तिनमा हजुरबाका कथा थिए। आफ्ना कथा, उपकथाहरु थिए। जीवनमा आइलागेका आपद विपदका विद्रुप रुप थिए। तीसँग जुध्दा
भोग्नु परेका पीडाका शुल थिए। कथामा कतै माया भेटिन्थ्यो कतै घृणा । कहिँ क्षोभ थियो। कहिँ प्रतिशोधको
झिल्को। तर ती कथा, उपकथाको सारांशमा
भने आदर्श जीवनको उज्यालो रेखा भेटिन्थ्यो। घोर निशालाई चिरेर चम्किएको बिजुली
जस्तो।
मसँग आफैँले देखे
भोगेको हजुरबाका कथा र हजुरआमाबाट सुनेको हजुरबाका कथा गरी दुईथरी कथा छन्। मैले
हजुरबालाई देख्दा उहाँ करिब पचपन्न छपन्न
वर्षको हुनुहुँदो हो। म अहिले ठीक त्यही उमेरको छु। उमेरका हिसावले मानिसमा
आउने परिवर्तनको तहलाई आत्मसात् गरिरहेको छु। जीवन र जगतकाप्रति अहिले म जे
सोचिरहेको छु सायद हजुरबा पनि त्यही सोच्नुहुँदो हो। जीवन यात्रामा पोलिदा र
पिटिदा पिटिदै मानिस कठोर हुँदै जान्छ की दयालु अझै भेउ पाएको छैन मैले। तर हजुरबा
भने साह्रै मायालु हुनुहुन्थ्यो ।मसिनो आवाजमा बोल्ने। सिलसिला मिलाएर सुनिरहुँझैँ
लाग्ने शैलीमा गफ गर्ने। घतपर्ने कुरा आयो भने अरुभन्दा पहिला आफैँ खिकखिक गर्दै
हाँस्ने।र, 'कुरो बुझ्नु भो नि' टुङ्ग्याउने। बेलाबेलामा ठट्टा
गरेर बोल्नुहुन्थ्यो हजुरबा। कहिले काहीं त आफैँमाथि ठट्टा गर्नुहुन्थ्यो। परेका बेला
आफैंमाथि ठट्टा गरेर अरुलाई हँसाउन सक्ने मानिस बिरलै हुन्छन् संसारमा।
सूर्ती, सिगरेटको अम्मल थियो हजुरबाको। बत्तीसवटा दाँतमध्ये एकतिहाइ बाँकी हुँदा
हुन्। ती पनि खिया लागे जस्ता रातो र कालो रङ् मिसिएका थिए। दुवै गाला किञ्चित
खोपिल्टा परेका थिए। कालो वर्णको हुनुहुन्थ्यो। अनुहार बान्की परेको थियो। मगमग
बास्ना आउने देशी तेल लगाउनुहुन्थ्यो र लरक्क जुल्फी लर्काएर कोर्नुहुन्थ्यो। चिटिक्क
मिलेका सफा कुर्ता, पाइजामा र ज्वारीकोट
लगाउनु हुन्थ्यो। पिँढीबाट आँगनमा ओर्लियो कि चप्पल उनिहाल्नु हुन्थ्यो। वल्लोपल्लो
गाउँ जानुपर्दा भने क्यानभास जुत्ता र मोजा लगाएरमात्रै जानुहुन्थ्यो।
सुनेको हजुरबा
भने धेरै भिन्न हुनुहुन्थ्यो। तन्नेरी वयको। बीस एक्काइसको उमेरमा पनि पढछु,जागिर खान्छु भनेर घरबाट हिंडेको। हिंडेको भन्दा पनि सुटुक्क भागेको। भागेर
नेपाल पसेको भए पनि परिस्थिथितिले बर्मा पुर्याएछ हजुरबालाई । एक डेढवर्ष 'फाल्टु नोकरी' गरेपछि बर्मेली
पल्टनमा भर्ति हुनुभएछ । बर्माबाट भागेर मणिपुर निस्केपछि घर आउनुभो हजुरबा।
परदेशको आदत बसिसकेको थियो। घर गाउँको ढुङ्गोमाटोसँगको सम्बन्ध छुटिसकेको थियो।
हजुरबा कालेबुङ पुग्नुभो।
करिब साठी वर्षको जीवनयात्रामा आधाभन्दा
बढी समय परदेशमै बिताउनु भयो हजुरबाले। पछिल्लो पटक म डेढ बर्षको छँदा आउनु भएको
रहेछ घरमा। आउनु भएकोभन्दा पनि बा गएर ल्याउनु भएको। ९६ सालमा बा
जन्मिदा नै हजुरबा कालेबुङ हुनुहुन्थ्यो अरे। भारतीय खाद्य निगमको चौकिदार। सायद
बर्मेली पल्टनमा काम गरेको अनुभवले चौकिदारको जागिर मिलेको हुँदो हो। कहाँ हो कहाँ
पश्चिम पहाडको ठिटो अनि उति परको जागिर। आउजाउ गर्नै महिना दिन लाग्ने बाटो। तीन
चार वर्षमा एकपटक आयो अनि केहीदिन बसेर उतै फर्कियो गर्ने भएकोले आफ्नै सन्तानका
लागि बिरानो हुनुहुन्थ्यो हजुरबा। जेठाहजुरबालाई बा भन्नुहुन्थ्यो अरे बा र
फुपुहरुले।
एकपटक, तेह्र सालको
हिउँदमा हजुरबा घर आउनु भएछ-
घाम भर्खर डुबेका थिए। गोठाला खेताला घर
फर्कने बेला भएको थियो। हात्तीगाडेमा दुईचार जना गोठाला खेतला भेटिए। परदेशी मान्छे
एक्लै सरासर घर जान हुँदैन भनेर तिनै मध्येका कसैले 'आरुबोटे कान्छाबा' आएका छन् भन्ने
खबर ल्याइदियो घरमा। दुवै घरका ठूलामान्छे, केटाकेटी
तल्लोघरमा जुटे।केटाकेटी त ठूलो गराको डिलमा निस्केर पधेरातिर बाटो हेरेर बसे।
न भरिया। न साथी। सानो झोला भिरेको मान्छे
एक्लै लुखुर लुखुर उकालो लागेको देखे केटाकेटीले। झोलामा केही सामान हुँदा हुन्।
झोलाको मुखलाई सानो तौलियाले छोपेर त्यसलाई खस्न नदिन गलेबन्दीले बाँध्नुभएको
रहेछ। झोलासमेत नबिसाई जेठा हजुरबालाई ढोग्न भनेर निहुरिनु भएको मान्छे दाजुकै
गोडामा निधार अड्याएर निकैबेर रुनुभएछ हजुरबा।
'नरो कान्छा, चित्त बुझाउनु
पर्छ। के गर्छस् त ? बालाई मैले
राखेको रहेनछु। आमालाई तैंले राखेको रहेनछस् । म त घरमै बसेको थिएँ नि, तर काफलडाँडा गएको बेला झुक्याएर जानुभो बा। बाको प्राण तेरो काखमा गयो। आमा मेरो काखमा
गइन्। तर तँलाई देख्ने घिडघिडो साँचेर गइन् आमा।' यति भनी सक्दा नसक्दै जेठा हजुरबासमेत सुकसुकाउनु भो। घरमा एकखालको
सन्नाटा छायो। एक छिनपछि दुबै दाजुभाई आफैँ सम्हालिनु भो। क्षेम कुशलका कुरा भए।
'उता केटाकेटीहरु सञ्चै होलान् त! तीनोटा छन् भनेको हैन?'
'तीनोटा हुन् दाजै। म आउँदासम्म सबै सञ्चै थिए।'
'छोरी चाहिँ जेठी भन्या हो कि? कति वर्षकि भई ?'
'सातकी भइ। चैतमा आठ लाग्छे।'
'उऽऽत्यसलाई चिन्यौ त?' जेठाहजुरबाले पालीको
खाँबो समातेर उभिइरहेकी सानी केटीतिर देखाउनु भो। दुई चुल्ठि बाटेर रातो फूर्के
धागो बाँधेकी एघार बाह्रवर्षकि त्यो केटी कोल्टिएर खाँवाको छेल परी।
'चिनिन दाजै। सात वर्ष भएछ घर नआएको। यी केटाकेटी कुन तपाईंका हुन् कुन मेरा हुन् म छुट्याउन
सक्दिन' हजुरबाले सबै केटाकेटीको
मुखमा पालैपालो हेर्नुभो।
'तिम्री छोरी हो,सानी छोरी।' सानीछोरीलाई जेठाहजुरबाले आफू नजिकै बोलाउनु भो। 'बा आएका छन् अरे' भन्ने सुनेर
बाउलाई हेर्न हत्तारिदै ठूलाबाको घरमा झरेकी सानी केटी थपक्क ठूलाबाको छेउमा गएर
बसी। उसले बा भनेर चिनेकै ठूलाबालाई हो। आफ्नो बालाई देखेको त बल्ल आजै हो भनेपनि
भो।
'तिम्रो सानो छोरो खस्यो, थाहा पायौ होला!'
'सुनें। न्यौपाने माहिलाले भनेका थिए।'
'छोटो दिनको रहेछ। एक्कै रातको बेथाले गयो।' जेठाहजुरबाको बोली अनयास गह्रुङ्गो सुनियो। मिर्लुङको डाँडातिर हेरेर
चुपचाप बसिरहनु भयो हजुरबा।
आमाको काज किरिया
सकेर कालेबुङ फर्किनुभो हजुरबा। चौध सालको हिउँदमा सानीफूपु र हजुरआमा उता जानुभो।
बा उतै हुनुहुन्थ्यो त्यतिबेला। त्यहिँको एउटा स्कुलमा पढाउने र आफू पनि पढने
गर्नु भएको रहेछ। फुपु र हजुरआमा चार महिना बसेर फर्किनु भो। हजुरबा आफैँ आउनुभो
पुर्याउन। बा केही वर्ष उतै बस्नुभो र फर्किनुभो। सोह्र सालमा सानीफूपुको बिहे भो।
उन्नाइस सालमा बाको बिहे भो। दुबै छोराछोरीको बिहेमा आउन सक्नु भएन हजुरबा। बाउको
भूमिका जेठाहजुरबाले नै पूरा गर्नुभो। चिठी भने आइजाइ भइरहन्थ्यो। भेडे पण्डितका
भाइ माहिला उतै थिए। अर्का एकजना परेवाडाँडाका नेवार थिए। हजुरबाका मिल्ने साथि।
उनीसँग सँगै बसेर खिचेको फोटो पनि छ । तिनै नेवारमार्फत चिठीपत्र आउजाउ हुन्थ्यो। बीस-एक्काइस सालतिरबाट हजुरबालाई दमको सिकायत देखिएछ। चिठीपत्रबाट थाहा भएको
हैन तिनै नेवारको मुखबाट सुनेको कुरा। पहाडको हावापानीमा ल्याउन पाए निको हुन्थ्यो
कि भन्ने लागेछ बालाई। हजुरबालाई लिन भनेर चौवीस सालको दशैं लगत्तै कालेबुङ
जानुभयो बा।
'नाति जन्मिएको छ बा, हेर्न जानुहुन्न ?' एकसाताजति बसेपछि
बाले हजुरबाको मन छाम्नुभो।
'साउँभन्दा ब्याज
प्यारो भन्छन्, जान त मन लाग्या छ नि बाबु!, कसरी जाने? यो आइमाइले राम्रो
मुखले जा भन्दिन।' हजुरबाले बालखाका जस्ता निर्दोष र निरिह आँखाले
बाको मुखमा हेर्नुभयो।
'आमालाई म पनि
भनुँला, अहिले जाम, दुईचार महिना बसम्।
बेथा घटेनछ भने यतै फर्किनु होला नि बरु।' बाका कुराको कुनै
जवाफ नदिइ धेरैबेरसम्म चुपचाप बसिरहनु भयो हजुरबा।
'भो, आमालाई केही
नभन्नु।' हजुरबाले लामो सुस्केरा
तान्नुभो र मनको वहको पोयो फुन थाल्नुभो 'उसै त बाउलाई लिन
आएको होला क्यारे भाने भन्दै दिनदिनै घोचेकी छ मलाई। झन् मुखै फोरेर भनेपछि यसले
बसिखानु गर्दिन।' हजुरबाले खल्तीबाट दालचिनीको
सानो लोप्रो झिक्नुभो र त्यसलाई पिट्ट पारेर दुई टुकुरा पार्नुभो। एक टुकुरा मलाई
दिनुभो अनि अर्को टुकुरा मुखमा च्याप्नु भो।
'न आमा खस्दा जान
पाएँ,
न कुनै छोरा छोरीको न्वारन, ब्रतवन्ध, बिहे-दानमा सामेल हुन
पाएँ। बित्ताभर छोडदिन यो आईमाई। अचेल त मेरै मायाले पनि हो, पहाड जाने कुरा
गर्यो कि 'तिमीलाई दम छ। यहाँको जस्तो औषधी उता मिल्दैन । पहाड गएको बेला केही भयो
भने के हुन्छ ?' भनेर झर्किन्छे। उसलाई जितेर हिडने साहस हराउँछ।' हजुरबाले बाबुछोरा कुरा गरेको अरु कसैले देखेको छ कि भनेझैँ पछाडि फर्केर
पुलुक्क हेर्नुभो।
झर्किने फर्किने त उसको सोवासै हो। मान्छे
भने दिलदार छ। नदिम नखाम भन्दिन। अब त भाई बहिनी पनि बुझ्ने भएका छन् । 'बाउलाई पहाड जान
दिनहुँदैन, उता औषधि पाईंदैन। गए भने उतै मर्छन् यी बाहुन' भनेर तिनलाई पनि
घोकाएकी छ। बाउ पहाड जाला कि भन्ने ठूलो पीर छ बिचराहरुलाई। झन् बहिनी त अति
गर्छे।' हजुरबाले लामो सास तान्नु भो र बाको मुखमा हेर्नुभो।
कालेबुङको हजुरआमा चिया कमानसँगैको
अस्पतालमा नर्स हुँनुहुँदो रहेछ। सिलगढीको डाक्टरलाई देखाएर देशी औषधी नै चलाएको
रहेछ हजुरबालाई । तर बेथा खासै सुधार भएको थिएन।मोटर गाडीको धुँवा परुञ्जेल दम
निको हुँदैन भन्ने सुनाएको रहेछ डाक्टरले। पहाड जान पाए केही कम हुन्थ्योकी भन्ने
हजुरबालाई पनि लागेको रहेछ। तर सल्लाहले जान पाइने अवस्था नरहेपछि बेसल्लाहले नै
हिंडनु भो बाबुछोरा।
एकदिन बिहान झिसमिसेमै 'ड्यूटी जान्छु' भनेर हिँड्नु भयो
रे हजुरबा। झोला अघिल्लै दिन राती ठिक्क पारेर गाइको गोठमा राख्नु भएको रहेछ। झोला
टपक्क टिपेर चोकमा पुग्नुभो हजुरबा। प्रधान बूढाको लरी चिराइतोको बोरा लादेर सिलिगुडी झर्न ठिक्क परेको रहेछ।
' डेनीबाबू, मलाई पनि लग्दे ल, अफिसको कामले सिलगुडी झर्नुछ कि ।'
'अगाडि त छैननी हाउ काका, कमानेको आमा र जहान यसमै जाने भनेको छ कि। उनीहरु चढनेबेला पिछाडि बस्नु
नि ल' डेनीले चियाको अन्तिम घुटको सुरुप्प पार्यो।
कालिम्पोङबाट सकभर छिटो ओझेल पर्नुथियो हजुरबालाई। भेटिएको लरी छोडने कुरा थिएन। 'पिछाडि न अगाडि जान पाए भैगो नि' एक्लै
गुनगुनाउँदै लरीमा उक्लिनु भो हजुरबा। झोला फ्यात्त मिल्काएर सबैभन्दा कुनाको
बोरामाथि घ्याच्च बस्नु भो। र, त्रिपाल अड्याएको
डण्डीलाई दाहिने हातले चपक्क समात्नु भो।
डेनी चिया पिउँदै
थियो। प्रधानबूढासँग एकछिन गलफत्ती पनि गर्यो। 'यो कन्जुस बूढाले आज भरे पैसा दिएन भने यसको लरी टिस्टामा पो हुत्याइदिन्छु
त' चिया
खाइसकेपछि मटकालाई दाहिने गोडाले करप्प पारेर धुलोपीठो बनायो र लरीमा चढ्यो। सिगरेट सल्कायो। ओठले सिगरेट च्यापि च्यापि लरी स्टार्ट
गर्यो घ्यारररररर्र…।
घन्द्रयाङ् घुन्द्रुङ गर्दै अगाडि बढ्यो लरी। मेन लाइनका
घरमा झुण्डिएका बत्तीका गुलुपहरु एकपछि अर्को गर्दै फुत्त फुत्त छोडिदै गए। बजार
सकियो। वन वनै ओरालो झर्न थाल्यो। भुईं कुहिरो फूरुरु माथि उक्लिदा त्यसैमा हराउँथ्यो लरी। 'अब कसैले देख्दैन' भनेर ढुक्क
हुन्थ्यो हजुरबाको मन। जब कुहिरो अझ उकालो लाग्थ्यो र छयाङ्ग उघ्रिन्थ्यो अनि हजुरबा चिराइतोको बोराले
छेकिएर बस्नुहुन्थ्यो।
हजुरबा ड्यूटी जान निस्केको पन्ध्र बीस
मिनेटपछि बा पनि दूध लिन भनेर निस्कनुभो।
डेरी चोकमा पुग्दा खारेको घीउका कण्टर बोकेर सिलगुडी झर्न ठिक्क परेको रहेछ दाह्रे
बङ्गालीको गाडी। ड्राइभर पनि बङ्गाली नै थियो। 'अमाके सिलिगुरी निए यावेना भाइ!' बाले बंङ्गालीमै अनुरोध गर्नुभो। उ पनि एक्लै रहेछ। साथी भेटिएकोमा खुसी
भयो। गोर्खा भाषा मजाले बोल्दो रहेछ बङ्गाली। कहिले ड्राइभरसँग गफिदै कहिले आफ्नै
मनसँग बातमार्दै बा सिलिगुडी आइपुग्नु भो। बाटोमा गफ्फिदा बासँग राम्रै रत्तिएको
बंगालीले बाले भने बमोजिम सिधै डूँडे गुप्ताको 'चाय दुकान' छेउ पुर्याइदियो।
स्टेशन उत्तरको
गुप्ता चाय दुकान निकै चल्तीको थियो त्यतिबेला। स्टेशन वरिपरि डूँडे गुप्ताको चाय
दुकान नचिन्ने कोही थिएन। मट्टितेलको टिन काटेर छाएको छाप्रो जिलेवी, चप, समोसा, कचौडी,केराउ र आलुको झोल तरकारी
र 'मटका चाय' खानेको भिडले भरिभराउ हुन्थ्यो। छाप्रो बाहिरको खुइलिएको हाते कुर्सीमा
बसेर बालाई कुरिरहनु भएको रहेछ हजुरबा। बिहान ढल्किइसक्को थियो। भात खाने बेला
टरिसकेको थियो। तर भोक टरेको थिएन। बाबु छोरा दुबैले झोल तरकारी, समोसा अनि एक-एक कप चिया
खानुभो। र, हजुरबालाई त्यहीँ बस्न
भनेर स्टेशन जानुभो बा टिकट काटन ।
सिलिगुडी बजारलाई
हुस्सुले भर्खर छोडदै थियो। प्रायः एघार बजेसम्म पनि टसको मस नगर्ने हुस्सु आजभने
दश बज्दा नबज्दै पातलिएर उठन थाल्यो। एक्कै छिनमा घामको गोलो टाटो देखियो। हुस्सु
पहाडतिर उक्लिन थाल्यो। हुस्सुसँगै हजुरबाको मन पनि उक्लियो र कमानको क्वाटरमा
पुग्यो। यताउति हेर्यो-
आमा, छोरी पिंढीको बेञ्चीमा बसिरहेका रहेछन्। दुवैजनाको अनुहार फुङ् उँडेको थियो। छोरी भलभल रोइरहेकी रहिछ।
'यिनका बाउ-छोरा कुन दिन भाग्छन् त
भनेकै हो नि! बाउलाई लिनु भनेरै आएको
हो भाने' आमा चाहींको स्वर अलिअलि
कामिरहेको थियो। छोरी केही बोलिन। 'हन, बोल्दिनस् तँ, कि तँलाई बाउ पहाड जाने कुरा थाहा थियो?'
छोरी केही बोलिन।
धारो छेउको भाँडा
सुकाउने टाँड रित्तै थियो। यसको मतलब अहिले बिहान यिनले भात पकाएनछन् । सायद छोराहरु
भोकै स्कुल गए हुनन्। स्कुल छोडन पटक्क नमान्ने छोरी भने आज गइनछ बिचरा। मन कटक्क
भो। गोठतिर पुगे आँखा। गाइका माउ बाच्छि पाहुर काडेर बसिरहेका रहेछन्। आसामी जातको
गाइ साह्रै सद्धे छ। गोठभन्दा
पश्चिमपट्टि सासुबूढी घाम तापेर बसेकी रहिछन्। उनलाई हामी पहाड गएको थाहा भए जस्तो
लागेन। अनुहारमा न शोक न सुर्ता केही थिएन।
'आजै जाने कुरा त थाहा थिएन हौ माँ, तर पहाड गएर आउँछु भनेर त दादा आएको भोलिपल्ट देखिनै भनेको हो नि बाबाले ।' एक छिनमा फेरि छोरीले नै थपी 'सुर्ता नगर्नु न,आइहाल्नु होला नि।' छोरीले आमाको मन बुझाउन खोजी। तर आफ्नै मन भने बुझाउन सकिन। हत्तपत्त
भित्र पसी र घुँक्क घुँक्क गरेर रोइ।
'हन किन रोको यो केटी!' छोरीलाई हकारी आमाले। एकछिन पछि एक्लै बोलीरही आमा 'के आउला र खै त्यस्तो गतिको मान्छे। एक्लै आउनु सक्दैन, दाइ पुर्याउनु आउँदैन। पहाडमा न डाक्टर, न दबाइ । खोक्दा खोक्दा हुरुक्क भयो भने सक्कि गो त...हन कस्तो खुनी मान्छे छ हौ यो कालेबूढा ! जान्छु भनेर जाँदा हुन्थेन!' आमाले लामो सास फेरी।
छोरीले मनमनै भनी
'कति पटक 'जान्छु' भनेको हो नि बाबाले, तर आमाले कहिल्यै खुसी मन बनाइनन्। राम्रो मुखले जानु भनिनन्। पहाडको दादाले पनि एक वर्ष बसेपछि आफैँ पुर्याउन
आउँछु भनेको हो । तर आमाले 'बरु उताको सब जना लिएर आइज, बाबालाई लैजाने कुरा नगर' भनेर पर्नै दिएन। अहिले आखिरमा लुसुक्क भागेर पहाड जानुभो बाबा।'
'अनि पैसा पनि थिएन त हौ बाउसित, के गरी जान्छ तिनीहरु!'
आमाका कुराले
जानकी झल्यास्स भई।
उसले संझिइ, गएको शनिबार बाबा डिउटी गएनन्। घरमै बसे। दिनभरी कोठा सफा गरे। आफ्ना लुगा र
छोराछोरीहरुका लुगामा इस्त्री लगाए। सबैका जुत्तामा काली लगाएर टल्काए। दिउँसो
दाहाल काका आएका थिए। उमेरमा निकै अन्तर भएपनि दुबैजनाको निकै मिल्ति थियो। एकै
टोलमा बस्ने हुनाले बराबर कमानको क्वाटरमा आइरहन्थे काका। गोरखा सञ्चार नामको अखबार
निकाल्थे। कथा, कविता पनि लेख्थे। आएपिच्छे
पुराना अखवारहरुको मुठै लिएर आउँथे। 'अखबार पढन पर्छ है अखवार' भनेर हामीलाई संझाइरहन्थे।
बाबा र काका
निकैबेर गफिए। देश देशावरका कुरा गरे। कुराकानीको बेला बाबाले प्याट्ट 'एकपटक पहाड जानुछ' भनेको सुनेकी थिइ उसले। आफ्नो मन मिल्ने मान्छेहरुसँग बेलाबेलामा त्यसो
भनिरहने भएकोले उति चासो दिइन। बाबालाई मनपर्ने खाजा बनाइ। आलुको भूजिया, भाण्टाको तरुवा, सुख्खा रोटी र
बर्मेली धनियोको चट्नी तयार पारी। घरेलु पत्तीको फिक्का चिया बनाई। 'कति सिपालु छ मेरो छोरो!' छोरीको अनुहारतिर हुरेर मुसुक्क हाँसे बाबा। छोरी मख्ख परी । उसलाई थाहा
थियो बाबा खुसी भएको बेला आफूलाई छोरो भन्थे।
खाजा खाएपछि
नरबहादुर काका फर्किए। राशन, पानीको मासिक खर्च र दूधको हिसाव राख्ने कापी थियो बाबाको। त्यसलाई झिके।
हातका औंला भाँची भाँची हिसाब गरे। कतै लेखे। कतै मेटे। निकै बेरसम्म कापिमै घोरिए
बाबा।
'बाबाको हिसाब सकिएन!' छोरीले गिज्याएझैं सोधी।
'सकियो।' बाँकी कुरा मनमनै भने 'बिचरीलाई के थाहा । कक्षामा पढदा ठूलो ठूलो पैसाको हिसाब निकाल्न गाह्रो
हुन्छ ।तर जिन्दगीमा सानो सानो पैसाको हिसाब मिलाउन त्योभन्दा झन् गाह्रो हुन्छ।'
'छोरो! डेरीको प्रधान बूढासँग
कम्पनी दुईहजार लिनु पर्नेछ। यसमा चढाएको छैन। तिमी संझ है । त्यो पैसा प्रधानसँग
मागेर तिमी नै लिनु। आमालाई दिन पर्दैन' बाबाले पिंढीबाटै टाउको तन्काएर मझेरीतिर हेरे। छोरी स्कूलको पाठ लेखिरहेकी
रहिछ । 'के गर्नु त्यत्रो पैसा?' उसले टाउको नउठाइकनै सोधी।
'मेरो चिनो नि!' बूढाले छोरी भएतिर
पुलुक्क हेरी।
अहिले आमाले
पैसाको कुरा गर्दा पो बाबासँग भएका कुरा झल्याँस्स संझिई। आफैसँग पैसा नभएको भए
मलाई किन लिनु भन्नुहुन्थ्यो होला र बाबाले! बाबासँग पहाड जाने खर्च थियो
भन्नेमा ढुक्क भइ छोरी। तर आमालाई भने केही भनिन।
'अरे बाजे! कहाँ हराउनु भएछ, चाय पिउनुस्!' डुँडे गुप्ताले चिया ल्याएर राखिदियो। निमेषभरमा गुप्ताको चाय दुकानको खुइलिएको
कुर्सीमा फर्किनु भो हजुरबा। स्टेशन छिर्ने फराकिलो ढोकामा मानिसहरुको भिडभाड
थियो। थाप्लोमा बोरिया बोकेका बङ्गालीहरुको एक हुल स्टेशनबाट बाहिरिदै थियो।
भिडलाई दाहिने पारेर बा भित्र छिर्नु भो। भिडको देव्रेतिरबाट एघार-बाह्र वर्षका जस्ता देखिने दुईजना केटा फूत्त बाहिर निस्किए। 'हाम्रै रामु र दुर्गा जस्तै रहेछन् ठ्याक्कै' तिनलाई देखेर एक्लै फिस्स हाँस्नु
भो हजुरबा। छोराहरुको झल्कोले मात्रै पनि निकै रोमाञ्चित बनायो । मन पुलकित भयो। तर
एक्कै छिनमा हजुरबाको मुख कालोनिलो भएर सोहोरियो। ती त छोराहरु नै रहेछन्। बाउ र
पहाडको दाजु कालेबुङबाट सुटुक्क हिँडेको सुईंको पाउनासाथ खोज्दै सिलिगुढी
आइपुगेका। अघिसम्म तिनको झल्कोले मात्रै पनि रमाएको मुटु अचानक ढक्क गरेर फूल्यो।
जुरुक्क उठेर हतार हतार छाप्रोभित्र छिर्नुभो हजुरबा। अँध्यारो कुनो खोजेर काठको बेञ्चीमा
टुसुक्क बस्नुभो।
बाँसको टाटीले
बारेर माटोको लिउन लगाएको छाप्रोमा जताततै स-साना चेप थिए। तिनै चेपबाट बाहिर हेर्नुभो। छोराहरु छाप्रोतिरै आए।
हजुरबाका हातगोडा फतक्क गले। पैताला र हत्केलामा बिरिरिर्र पसिना आए। मुख सुक्यो।
केटाहरु गुप्ताको छाप्रोतिरै सोझिएपछि
हजुरबा लुसुक्क पाइखानातिर जानुभो र दाउराको खलियोको आड लागेर छोराहरुलाई
हेर्नुभो। दुवै दाजुभाइ छाप्रोभित्रै छिरे। चारैतिर हेरे तर कसैसँग केही सोधेनन्।
खोजेको अनुहार नभेटिएपछि चुपचाप बाहिर निस्किए दुवैजना। हजुरबाले लामो सास फेर्नुभो। 'थुक्क तेरो कर्म कति भाग्न लेखेको छ तँलाई हँ।' आफैले आफैलाई गाली गर्नुभो हजुरबाले। बा काउण्टरबाट टिकट लिएर आउँदा हजुरबा
रुझेको बिरालो जस्तो निन्याउरो भएर बस्नु भएको रहेछ।
'के भो र बा! सञ्चो भएन?'
'हैन सञ्चै छु। केही भएको छैन। '
'नरमाइलो लाग्याछ?'
'रामु र दुर्गा खोज्दै आएका रहेछन्।' हजुरबाको बोली गह्रुङ्गो सुनियो। आँखा डबडबाउँदै आए। बा केही नबोली
उभ्भिइरहनु भयो। एकछिनमा रेलले लामो सिठी लगायो। विरक्त लाग्दो। दुवै झोला बा
आफैले बोक्नुभो । हतार हतार स्टेशन रेल छिर्नुभो बाबुछोरा । स्टेशन छोडनुपूर्व लामो
सीठ्ठी मार्यो र छुक छुक छुक छुक गर्दै अघिबढ्यो रेल। हजुरबाको मन कहिले पहाड, कहिले कालिम्पोङ ओहोर दोहोर गरिरह्यो। भागलपुर, पटना, गोरखपुर हुँदै भोलिपल्ट बेलुका खाजाखाने बेलातिर नौतनवा उत्रियो रेल। भैरहवा, पाल्पा, पोखरा हुँदै नौतनवाबाट
हिँडेको तीन दिनको दिन राती हजुरबालाई साथमा लिएर घर आइपुग्नुभयो बा।
चौबीस सालको हिँउदमा यता आएपछि हजुरबा उता
फर्किनु भएन। फर्किन्छु भन्दा भन्दै र फर्किने भाका सार्दा सार्दै उनन्तीस सालको
हिउँदमा परलोक हुनु भो। स-साना लालाबाला छोडेर बेसल्लाहले हिँडेकोमा
हजुरबाको हृदयमा ठूलो पछुतो थियो।
एकदिन आमालाई आफू नजिकै बोलाउनु भएछ
हजुरबाले
'दुलही, म पापीको परान सजिलोसँग जाँदैन
क्यारे!' हजुरबाले बडो
निरिह आँखाले हेर्नुभो बुहारीलाई। ससुराले किन यसो भनिरहनु भएको छ भन्ने भेउ पाउन
आमालाई गाह्रो भएन। ससुराका सन्तान यता र उता दुईतिर थिए। जायजेथा भने जे थियो यतै थियो। ती साना लालाबालाले भोली कहाँ बस्लान् र के
खालान् भन्ने पीरले हजुरबाको हृदयलाई
कोपरिरहन्थ्यो। पोलिरहन्थ्यो। तर सुनाउने कसलाई ? जो अंशको धनी हो उसैलाई सुनाउँछु भन्ने लागेर होला घरमा कोही नभएको मौका
छोपेर आमासँग बिरह पोख्नु भएको थियो हजुरबाले।
'किन पीर मान्नुभा, उताका बाबुहरु आउनु भयो भने जति छ बाँडेर खाउँला नि!' आमाका कुराले हजुरबाको अनुहार
उज्यालो भयो। बादल फाटेपछि
देखिने उज्यालो जस्तो।
'तिमी ज्ञानी छौ। यति भए पुग्यो मलाई। सजिलोसँग प्राण जानेभो अब।' हजुरबाका आँखा डबडबाए। काँधको गम्छाले नाक पुछे झैँ गरेर आँखासमेत पुछनुभो
हजुरबाले ।
दुई गुँडका
सन्तान दुईतिर बाँडिएर बसेका परिवार प्रशस्तै थिए गाउँमा। तर हाम्रो परिवार जसरी
काली र माली थिएनन्। गाउँमै थिए ती । चुलो छुट्टिए पनि बाउबाजेको थलोमा थिए। त्यही
जेथा बाँडेर खाएका थिए। दुवैतिरका परिवारले आफूलाई यताको भन्थे अर्को परिवारलाई
उताको भन्थे। हजुरबा साझा हुनुहुन्थ्यो तर जीवनको उत्तरार्धमा यताको न उताको जस्तो
हुनुभएको थियो हजुरबा। हृदयमा बोकेर हिँडेको पीडाको भारीलाई जेठी बुहारीको
जिम्मामा टेको लगाउन पाउँदा हजुरबाको मन केही हलुङ्गो त भएको हुँदो हो तर त्यो पीडा र
पछुतोको भारी पूर्णरुपमा बिसाउन नभ्याउँदै जानुभयो हजुरबा।
अलिअलि जान्ने बुझ्ने भएपछिको उमेरलाई
हिसाब गर्ने हो भने मेरो र हजुरबासँगको सान्निध्य तीन-चार वर्षको मात्रै
हो। तर हजुरबाको बार्धक्य र मेरो बालापनको अपूर्व सङ्गम थियो त्यो समय। हजुरबाका
खोपिल्टे गाला र लरक्क पारेर कोरेको कपाल सुमसुम्याउँदै खेलें म। थोते हाँसो हाँस्दै
म माथि खनिने गरेको अपरिमीत वात्सल्य पाएँ। उहाँसँगै साउँ अक्षर चिनें। हजुरबाले 'कोदालीपाते त' भनेर चिनाएको
अक्षरलाई बाले चिनाउँदा 'तमाली त' भन्नुहुन्थ्यो। म अचम्म मानेर सोध्थेँ हजुरबालाई।
'हाम्रो उतातिर
कोदालीपाते त भन्छन् क्या' छोटो उत्तर दिनु हुन्थ्यो हजुरबा। हजुरबाको
उत्तरले अर्को प्रश्न जन्माउँथ्यो 'कहाँ हो उता भनेको?' कति पटक सोधें तर
हजुरबाले कहिल्यै भन्नु भएन। एक दिन हजुरआमालाई सोधें 'देश' होला नि भन्नु भो
। के हो फेरि यो 'देश' भनेको? म झन् अलमलिन्थें।
हजुरबाले खेत बारीमा गएर काम गरेको देखिन मैले।
तर घाँस भने काटनु हुन्थ्यो। खरबारी या दौरो परेको ओभानो ठाउँमा बसेर मसिनोसँग
खुर्केर काटनु हुन्थ्यो। स-साना मूठा बाँधिदिनुहुन्थ्यो। खुरुखुरु ओसार्थें
म। हजुरबा बारीमा पसेर मकै भाँचिदिनुहुन्थ्यो। सानो पानीडोकोमा राखेर रमाइ रमाइ ओसार्थें म। एकदिन मकैको डोको
बिसाउँदा साह्रै डिलमा बिसाएछु क्यारे भक्लक्क भत्कियो। कालो निलो भएँ म। 'नडराउ, नडराउ।
उछिल्ल्याईं गर्न हुँदैन, काम गर्दा
भत्किएकोमा किन डराउने ? बिग्रिन्छ कि, भत्किन्छ कि भनेर
डराइयो भने त काम गर्नै सकिदैन नि!' हजुरबाले सम्झाउनुभो र मुसुक्क हाँस्नु भो।
अहिले पनि आँखामा जस्ताको तस्तै छ त्यो मीठो मुस्कान। हजुरबाका उतिबेलाका कुरा धेरैपछिमात्र
बुझें मैले। अहिले पनि कुनै काम गर्नुपर्दा बिग्रिन्छ कि भनेर मन डरायो भने झट्ट
हजुरबालाई संझिन्छु। ढाडस मिले झैँ लाग्छ। मनको डर बेपत्ता हुन्छ। हजुरबासँग
जोडिएका यस्ता कैयौं मसिना क्षणहरु मेरो मानसपटलमा अमिट भएर बसेका छन्। यस्ता क्षण
धेरै छैनन् तर जति छन् साजी फूलजस्तै तरोताजा छन्।
No comments:
Post a Comment