धुवाँउने ठाँटीबारे यी पङ्ति लेखिरहदा मेरा हात कामिरहेका छन्, कतै गए राति नै यो ढली त सकेन ? वास्तवमा कसैको ‘सत्’ का कारणले मात्रै यो उभ्भिइरहेको छ जस्तो देखिन्छ अहिले ।
‘दुराडाँडाको द्यौराली पँधेरानिर यौटा ऐतिहासिक ठाँटीघर छ जुन ठाउँमा नाग देवताको पूजा गरिन्छ । लमजुङका शाही राजाले अधिकारीहरूलाई डाँडा बिर्ता दिएको शुभ–मुहूर्तमा ठाँटीको निर्माण गरिएको थियो’ भनेर लेखेका छन् धर्मराज थापाले (लोक संस्कृतिको घेरामा लमजुङ, धर्मराज थापा, प्रकाशक साझा प्रकाशन, २०४१ पेज नं.४२०)। लमजुङको लोक संस्कृतिको अध्ययन अनुसन्धान गर्न गाउँ–गाउँ चहार्दै हिँडेका उनले दुराडाँडा पुगेका बेला लेप्टेन शेषकान्त अधिकारीको निवासस्थानमा रात बिताएको उल्लेख गरेका छन् । तसर्थ उनले यो जानकारी लेप्टेनबा वा समकालिन पाका पुरानाहरूबाट पाएका हुन् भन्ने स्पष्ट छ ।
दुराडाँडामा अधिकारीहरू वि.सं. १५५० मा कास्कीबाट आएका हुन् । खजेदुरा सहितका लमजुङे भारदारले यशोब्रह्म शाहलाई कास्कीको नुवाकोट दरबारबाट लमजुङ ल्याउँदा उनको संरक्षकको रूपमा दुराडाँडा आएका भारदार समन्त दुराडाँडे अधिकारीहरूका आदिपुर्खा हुन् । डाँडा बिर्ता पाउने पनि उनै हुन् । डाँडा बिर्ता पाएको शुभमुहूर्तमा बनेको हो भने धुवाँउने ठाँटीको निर्माण समन्तले नै गरेका हुन् । र, यो ठाँटी ५३० वर्ष पुरानो सम्पदा हो । तर अरु कतिपय ग्रन्थमा यो ठाँटी शिव शर्माले बनाएको उल्लेख छ । वंशावली अनुसार शिव शर्माको जन्म विसं १८१० वरपर भएको देखिन्छ । सामान्य खुट्टे ठाँटी वि.सं. १५५० वरपर नै बनाइएको र अहिलेको स्वरूपको ठाँटी शिव शर्माले वि.सं. १८४० वरपर बनाएको हुनसक्छ । खुट्टे ठाँटीमा प्रयोग भएका अग्राखका बाक्ला फल्याकहरू पक्कै पनि अहिलेको ठाँटीमा प्रयोग भएका होलान् । तिनको कार्बन परीक्षण गर्ने हो भने यसको निर्माण काल सहजै खुट्टिने छ ।
अतिथिलाई देवतातुल्य मान्ने संस्कारबाट अनुप्राणित शिव शर्माले ‘अतिथि देवहरू’ ठाँटीमा पनि आफ्नो घरमा झैं सुविस्तापूर्वक बास बस्न पाउन् भन्ने कामना राखेर बनाएका थिए । यो कीर्तिलाई आफ्ना सन्ततिले जिजुको जिउसरी देखुन र मर्मत सम्भार गरुन भन्ने कामना गरेका छन् । यस्तै भाव उल्लेख भएको एउटा कविता पङ्ति पनि फेला परेको छ । झण्डै एकसय वर्ष पुग्न लाग्नु भएका कवि यदुनाथ सरललाई यी पङ्ति कण्ठ रहेछन् । तर रचयिता को हो उहाँलाई पनि थाहा छैन । उहाँको गर्नुभएको सस्वर बाचन सुरक्षित छ । कविता पङ्तिले भनेको छ–
यो हो लमजुङको तख्ता, शिव शर्मा थिए जिजु
उनकै कीर्ति हो ठाँटी, ठाँटीमा उनकै जिउ
देखेर नाति सन्तान, यसको सम्भार गर्दछन्
देवता अतिथि यसमा, घरझैं बास गर्दछन् ।
यसको नामबारे प्रा.डा. इन्द्रविलास अधिकारीले आफ्नो पुस्तक प्रस्थानले उघारेका आँखामा लेख्नुभएको छ ‘बूढापाकाहरूले मलाई सुनाए अनुसार त्यस पाटीको नजिकैको एक दुलोबाट अहोरात्र धुवाँ निस्कने गर्दथ्यो रे । मैले वा मेरो उमेरका मानिसहरूले चाहिँ दुलोबाट धुवाँ निस्केको देख्न पाएनौँ। कालान्तरमा त्यस ठाउँको नाम नै धुवाँउने ठाँटी रहन गएछ । तर अहिले भने धुवाँ आएको देखिदैन।’ हो, उहाँले भनेजस्तै अहिले धुवाँ आएको देखिदैन। तर त्यहाँ नजिकै कतै सुषुप्त ज्वालामुखी रहेको कारण उतिबेला धुवाँ आउँथ्यो कि ? दैलेखको दुल्लुमा, मुक्तिनाथको मन्दिर नजिक जसरी अखण्ड ज्वाला प्रज्ज्वलित भइरहेका छन् , त्यसैगरी ठाँटी नजिकको नागको थाननिरको प्वालबाट पनि धुवाँ आइरहन्थ्यो होला। ‘धुवाँ आउँथ्यो भनिएको प्वालमा हात घुसार्दा अहिले पनि तातो महसुस हुने गरेको’ बताउँछन् स्वाँराका रविकान्त अधिकारी ।
राणाकाल र प्रजातन्त्रको अभ्यूदयपछिको एक दशकसम्म यो ठाँटी दुराडाँडा मौजाको केन्द्र थियो। पण्डित कोमलनाथ अधिकारीको सक्रियतामा वि.सं. १९७९ सालमा स्थापित जिल्लाकै पहिलो भाषा पाठशाला यही ठाँटीमा सञ्चालन भएको थियो। कविता वाचन लगायतका साहित्यिक कार्यक्रम, जनचेतना र राजनीतिक जागरणका लागि प्रहसन, नाटकको मञ्चन गर्ने र जनभेला गर्ने मुख्य थलो पनि थियो यो। मास्टर रामदत्तले पाँच पैसा ढ्याकको टिकट काटेर नाटक देखाउनुहुन्थ्यो । वि.सं २००८ सालमा खुलेको यस भेगकै पहिलो पुस्तकालय ‘प्रभात पुस्तकालय’ यही भवनमा सञ्चालन गरिएको थियो। (लमजुङको साहित्यिक इतिहास, विजयराज न्यौपाने, प्रकाशक ईश्वरीदेवी न्यौपाने, काठमाडौँ, २०६८) ।
वि.सं २००६ सालको हलो क्रान्तिका लागि पृष्ठभूमि निर्माण गर्ने अभिष्टले २००३ साल र २००५ सालमा लगाइएको महाभारत पुराण यही धुवाँउने ठाँटी र चिहानपाटाको गङ्गा चौतारी नजिकको ठाँटीमा लगाइएको थियो (सांस्कृतिक परिवेशमा नेपालको हलोक्रान्ति, लेखक तथा प्रकाशक हंसपुरे सुवेदी,२०५९)। मु.हरिभक्त पौडेलकी बुहारी लक्ष्मीदेवी पौडेलका अनुसार सर्वोदय स्कुलको पश्चिमपट्टि अहिले खजेदुराको सालिक भएको ठाउँको ठीक तल खेलमैदानको छेउमा रहेको चौतारो नै गङ्गा चौतारो हो । यो चौतारो गङ्गाधर पौडेलको स्मृतिमा उनकी पत्नी वेदमाया र पौडेल बन्धुहरुले बनाएका हुन् । यसैबेला चिहानपाटादेखि धुवाँउने ठाँटीसम्मको बाटो मर्मत गरी आवश्यक ठाउँमा सिंढीसमेत लगाइयो र यो बाटोलाई गङ्गापथ नामकरण गरियो । २००३ सालको हरिशयनी एकादशीदेखि २००४ सालको हरिशयनी एकादशीका अघिल्लो दिनसम्म महाभारत पुराण लगाइएको पाटी यही चौतारोको पश्चिमतिर अहिले स्कुलको खेलमैदान भएको ग्राउण्डमा थियो । यो पाटीमा कहिले काहीं पढाइ पनि हुन्थ्यो । कहिलेकाहीं चौतारोमै पनि पुराण भनिन्थ्यो। २००४ सालको हरिशयनी एकादशीदेखि धुवाउँने ठाँटीमा पुराण भनियो। पुराणवाचन नित्य हुने गर्थ्यो। (अमृतमणि पौडेलको सहयोगमा २०८० असार २४ गते लक्ष्मीदेवी पौडेलसँग कुराकानी गरी प्राप्त गरेको जानकारी। दामोदर अधिकारीबाटसमेत यही जानकारी पाएको)। धुवाँउने ठाँटी स्थानीय धर्मशाला र न्याय निसाफ छिन्ने अड्डा समेत थियो (श्रीकान्त अधिकारी स्मृति ग्रन्थ, श्रीकान्त अधिकारी स्मृति ग्रन्थ प्रकाशन समिति, काठमाडौँ, २०७० पेज नं २ र ३)। यहाँ केही समय शिक्षा सदन प्रा.वि.समेत सञ्चालन गरिएको थियो।
धुवाँउने ठाँटी यस क्षेत्रको प्रमुख व्यापारिक केन्द्रसमेत थियो। मनाङबाट बेसीशहर हुँदै काठमाडौँ जाने बाटो चलन चल्तीमा आउनु पहिले मनाङ भोट र उत्तरी लमजुङका व्यापारीहरू दुराडाँडा हुँदै मानेचौकामा पुगेर टिस्टा–काँगडा मूलबाटोमा जोडिन्थे। व्यापारको सिलसिलामा देश देशावर डुल्ने मनाङेहरू ओहोर दोहोर गर्ने क्रममा यही ठाँटीमा बास बस्थे। मानेचौकामा औलो लाग्ने भएकोले केही दिन यतै बसेर नुन, उन र जरीबुटीको व्यापार गर्थे । आठ दशक आयु भोग्नुभएका हाम्रा काका सोमनाथ अधिकारी (आरुबोटे) संझनुहुन्छ ‘भोटेहरूका साथमा बडेमानका भोटे कुकुर हुन्थे । खस्रा रौं भएका र देख्दै गठरिएका जस्ता घोडामा सामान बोकाएर ल्याउँथे । पाँच सातवटा घोडा टिङ्ग्रीङ टिङ्ग्रीङ घण्टी बजाउँदै आएपछि भोटे आए भन्ने थाहा भइहाल्थ्यो । तिनलाई हेर्न भनेर दगुर्दै ठाँटीमा पुग्थ्यौं हामी।
विभिन्न कालखण्डका मानिसहरूको शैक्षिक, सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक जीवनसँग जोडिएको हुनाले धुवाँउने ठाँटीसँग यहाँका सबै मानिसहरूको भावना जोडिएको छ । चिहानपाटाको ऐतिहासिक ठाँटी पुनरुद्धार हुन नसक्दा धुलिसात भइसकेको छ । तर समय समयमा शिव शर्माका सन्तति र स्थानीयहरूबाट पुनरुद्धार हुँदै आएकाले यो धरोहरको अस्तित्व अहिलेसम्म जोगिएको छ । स्वर्गीय श्रीकान्त अधिकारीले कुराकानीको सिलसिलामा बताए अनुसार – ठाँटी अहिले जस्तै जीर्ण भएको रहेछ । घनपोखराका व्यापारी गर्भे सुब्बा काठमाडौँ जान आउँदा यसको टीठलाग्दो अवस्था देखेर ‘ हैन, यो ठाँटी बनाउनेको सन्तान मास्सिएछ कि क्या हो’ भनेछन् । यो कुरा मुखिया हरिदासलाई कसैले सुनाइदियो । चित्त दुख्यो । उनले वीरगञ्जमा जागिरे रहेका आफ्ना काहिंला भाइ शेषकान्तलाई यो कुरा लेखी पठाए । दाजुले पठाएको चिठी पाएपछि यसको जिर्णोद्धारको बन्दोबस्त मिलाउन खबर पठाएछन् शेषकान्तले । त्यसपछि हरिदासको अगुवाईमा शेषकान्तको आर्थिक योगदान र स्थानीय समुदायको श्रमबाट यसको पुनरुद्धार गरियो । डा.ऋषिकान्तका अनुसार विसं १९७२ तिरको कुरा हो यो। १९९० को भूकम्पबाट ठाँटीघर फेरि भत्कियो। त्यो बेला पनि सबै मिलेर जिर्णोद्धार गरियो । र, पछिल्लो पटक २०१८ सालमा आफैँ अग्रसर भई यसको जिर्णोद्धार गरेको कुरा आफ्ना पिता ले.शेषकान्तले बताएको संझिनु हुन्छ डा.ऋषिकान्त।
पूर्वाभिमुख यो ठाँटी उच्च स्थानमा छ । सूर्योदय र सूर्यास्तको मोहक दृश्य देखिन्छ यहाँबाट । यसको आँगनबाट गोरखा र तनहुँका थुप्रै गाउँहरूसमेत देख्न सकिन्छ । राणाकालमै शिक्षा र राजनीतिक एवम् सामाजिक जागरणको चेतनाको बीउ रोपिएको यो आँगन मुलुककै ऐतिहासिक आँगन हो । तर गाउँ–गाउँमा मोटरबाटो खनिएपछि मूलबाटाहरू हराएका छन् । ठाँटीको बाटो भएर एका–दुई स्थानीय बाहेक कोही बटुवा हिडदैन आजकल। यसको काखमा सुस्ताउने कुरा त परै रह्यो कसैले टुलुक्क नहेरेको वर्षौं भयो होला । यतिबेला निकै जीर्ण अवस्थामा छ यो धरोहर । गारो र छानो भत्किएको छ । झ्यालहरू मक्किएका छन्। तलो छापेका फल्याकहरू उप्किएका छन् । विसं २०७२ सालको भूकम्पको कारण जगैसम्म चर्किएको छ । यसकै आँगनबाट मोटरबाटो खनिएपछि त झन् जोखिममा परेको छ । यसको नाममा दर्ता कायम रहेको तेह्र आना जग्गामध्ये करिब एक तिहाइ जग्गा बाटोमा परेको अनुमान छ । ठाँटीघर यति जीर्ण भइसकेको छ कि यो वर्षा अगावै संरक्षण गर्न सकिएन भने कुनै पनि बेला भत्किएर पाताल हुनसक्ने डर छ ।
यो ठाँटी, ठाँटी घरमात्रै हैन, त्यस वरपरको ठाउँको परिचय समेत हो । ठेगाना हा । दुराडाँडेहरूको साझा सम्पत्ति र पहिचानको पर्याय बनेको यसप्रति सारा दुराडाँडाबासीको मनमा विपुल श्रद्धा र माया छ । चिन्ता र चासो छ । ठाँटीको स्कुलमा अक्षर चिनेको र त्यसकै आँगनमा खेलेर हुर्किएको पुस्ता अहिले देश विदेशमा छरिएर भाग्य अजमाइरहेको छ । हामीसँग प्रशस्त स्रोत साधन पनि छ । केवल त्यसको संयोजन र समन्वय हुन नसकेको मात्रै हो ।
गतवर्षदेखि यसको पुनरुद्धारका लागि प्रयास सुरु भएको छ । यस सिलसिलामा केही चरणमा छलफल गरियो । नक्सा कोरियो । लागत अनुमान तयार गरियो । डा.ऋषिकान्त अधिकारीको संयोजकत्वमा एक समिति र स्थानीयस्तरमा विन्दुराज अधिकारीको संयोजकत्वमा उपसमिति गठन गरेर प्रयासलाई अझ सङ्ठित र बलियो बनाउने प्रयास गरियो । सम्बन्धित वडाका वडा अध्यक्ष र सुन्दरबजार नगरपालिकाका प्रमुखलाई भेटेर संरक्षणको लागि अनुरोध गरियो । प्राचीन सम्पदा भएकोले आवश्यक कागजात र पुष्ट्याईं सहित सम्पदाको सूचीमा सूचीकृत गरिदिन र पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिदिन स्थानीय वडाको सिफारिस सहित नगरपालिकामा र नगरपालिकाको सिफारिस सहित पुरातात्व विभागमा अनुरोध गरियो । पछ्याईयो । ‘हुन्छ, भइहाल्छ नि’ भन्ने गुलियो वचन पनि पाइयो। तर बजेट परेन। हाम्रो पहुँच पुगेन। तर हिम्मत हारेको छैन। पछ्याउन छोडेको छैन। 'हाम्रा पूर्वजहरूले छोडेर गएका धरोहरलाई हामीले नै जोगाउनु पर्छ' भन्ने हेक्का रहेको भए पनि पुरातात्विक महत्वका (निर्माणको १०० वर्ष पुगेका) सम्पदाको पहिचान र संरक्षणको दायित्व नेपाल सरकारको हुने भएकोले हामीले मात्र ‘मनखुस’ गर्न नसकेको कारणले हामी अलमलिई रहेका छौँ।
ठाँटीको हविगतबारे स्थानीय वडा र सुन्दरबजार नगरपालिका भलिभाँती जानकार छन् । तसर्थ वडा र नगरपालिकाले हाम्रो चासोलाई पक्कै पनि गम्भीरतासाथ लिएका छन् भन्ने ठानेका छौं । कथम्, कतैबाट पनि सहयोग भएन भने? यसको एउटाामात्र उपाय छ ‘हाम्रो साझा प्रयास’ । हाम्रै प्रयासले यो ठाँटी पुरानै स्वरूपमा उभ्भिने छ । हाम्रो डाँडाको धरोहर हामीले नै जोगाउने छौँ।