Monday, November 7, 2022

अन्तिम विदाई (स्मृति कथा)


अन्तिम विदाई (स्मृति कथा)

अनिरुद्ध चितामा चिरनिद्रामा थियो । सात वर्षे छोरोलाई काका बाउले हात समाएर चिताको परिक्रमा गरायो । दाहिने हातमा दागबत्ती समातेर चिता घुमिरहेको अवोध बालकले जब बलिरहेको बत्ती बाबुको मुख नजिकै लगेर राख्यो र एक पटक चिता घुमेर बाबुको गोडा ढोग्यो त्यो भन्दा बढी हेरिरहने साहस भएन । आँखा चिम्म गरेँ । हृदय थरर्र काम्यो । उकुस मुकुस भएजस्तो भयो । निधारबाट चिटचिट पसिना आए । घाटमा बसिरहने हिम्मत हराएपछि एकान्त खोज्दै एक्लै राजराजेश्वरी घाटतिर झरेँ । ‘पूर्वजन्म देखिने कुण्ड’ छोपिएको कोल्टे शिवलिङ्गनिर पुगेर थुचुक्क बसेँ । आँखामा झल्झली उही अनिरुद्धको छोराको अनुहार नाचिरह्यो ।

                    *                                                            *                                                                       *

‘देशबन्धु भाइ...!’  एउटा सुमधुर नारी आवाज सुनियो । यता उता हेरेँ । कोही थिएन । भ्रम भए जस्तो लाग्यो । पूर्ववत् आँखा चिम्लेर बसेँ । 

‘देख्नु भएन भाइ ? म रश्मि दिदी !’ म बसेको ठाउँभन्दा दुई हातजति पर भुईंमा थुचक्क बसिरहनु भएको रहेछ दिदी । सानी पुतली जस्तै । उही अनुहार, उही जीउडालको प्रतिकृति । तर लगभग हातको बूढी औँला जति मात्रै अग्लो । 

गाजल लगाएका जस्ता देखिने दिदीका गोला आँखा छिटो छिटो झिम्झिम् गरिरहेका थिए । मेरो प्रतिक्रिया पर्खिए झैँ उहाँ मुसुक्क हाँसेर मेरै अनुहार हेरिरहनु भएको थियो । दिवङ्गत भइसकेको मान्छेको सूक्ष्म प्रतिरूप देखेर हडबडाएँ म । मुख सुक्यो । डरले अनुहार सोहोरियो । केही बोल्न खोजेँ तर आवाज आएन ।

‘भाइ !, डराउनु भयो ?’

डराउन त डराएकै हो । तर किन हो त्यसो भन्न सकिन । दिदीको अनुहारतिर पुलुक्क हेरेँ मात्र ।

‘मलाई थाहा छ भाइ, मृत्यु भइसकेकी मलाई यो रुपमा देख्दा तपाईं डराउनु भएको छ । वास्तवमा मृत्यु भयको प्रतीक हो । मृत्युसँग सबै डराउँछन्, सकेसम्म भाग्न खोज्छन् । जीवनबाट थाकेर मृत्युको पुकार गर्नेहरू पनि मृत्युसँग जम्काभेट होला कि भनेर डराउँछन् । मसानघाटमा एक्लै दुक्लै जान पर्यो भने जीउ सिरिङ्ग हुन्छ । जतिसुकै सुन्दर स्थानमा रहेको भएपनि सामान्यतः मान्छेहरू घाटमा रमाउँदैनन् । तर भाइसँग भेट हुन पाउँदा घाटमै भए पनि रमाइलो लागिरहेको छ  ।’ दिदी मुसुक्क हाँस्नु भयो । मलाई आफूँ नजिकै बस्न सङ्केत गर्दै भुईंतिर थपथपाउनु भयो । आज्ञाकारी बालक झैँ उहाँको नजिकै बसेँ म । 

‘तपाईंलाई मेरो रूप देखेर अचम्म लागेको होला, हैन ?’

‘कसरी थाहा पाउनु भयो र दिदी ?’ 

‘अनुमान गरेको नि’  दिदीले मेरो अनुहारतिर पुलुक्क हेर्नुभो । मेरो आवाज अझै स्वाभाविक भइसकेको  थिएन । अनुहार पनि सायद भावशून्य हुँदो हो । मेरो मनोदशा बुझेर होला दिदी आफैँले कुराको सिलसिलालाई निरन्तरता दिनुभो –

‘जीवन अनुमान र यथार्थको अन्तरमा च्यापिएर सकिदो रहेछ । अनुमानको जोड, घटाउमा कहिले सुखको अडकल काट्यो दङ्ग प¥यो । कहिले दुःखको शङ्का ग¥यो, आत्तियो । अरूकोबारे एउटा मनचिन्ते धारणा बनायो अनि त्यही आँखाले हे¥यो । ऊ त आफ्नै मान्छे हो भनेर विश्वास ग¥योे लात हान्छ, सह्यो । पराई ठानेर दुत्कारेको मान्छे इष्ट ठहरिन्छ, आपैmसँग लजायो । यस्तै अडकलै अडकलमा जीवन सिद्धिदो रहेछ । अरूलाई चिन्ने कुरा त परको भयो आपैmलाई नचिन्दै उठने रहेछ चोला ।

‘उ तिनै हुन् मेरा साथी, साथी त के भन्नु र मलाई लिन आएका यमदूत हुन् ती । यात्राभर यिनैसँग रहनुपर्ने भएकोले साथी भनेकी हुँ ।’ दिदीले राजराजेश्वरी मन्दिको पेटितिर देखाउनुभो । दुईजना यमदूतहरू विश्राम गरिरहेका रहेछन् । मझौला आकारको मकैको खोयाजत्रा थिए ती । दुई अङ्गुल जति गज भएको कालो रङ्को कपडाको धरो कछाड झैँ बेरेका थिए । तिनका पिँडौलाहरू भित्रपट्टि घुमेका बाङ्गा देखिन्थे । पाखुरामा यमराजको आकृति कुँदेको स्फटिकको दाना धागोमा उनेर बाँधेका थिए । दुवै कनपटको सोझै माथि आधा इञ्चजति लामा सिङ उम्रिएका थिए । आकारमा साना भए पनि यमदूत भनेपछि मनभित्र कता कता डर लागे जस्तो भयो । तर मेरो मनोदशा बुझेकी दिदीले संझाउन थाल्नु भयो–, 

‘हामी फरक फरक लोकका जीवात छौँ यहाँ । भाइ, म अनि यी यमदूतहरू । लोक नै भिन्दा भिन्दै भएकोले हामी सँगसँगै रहेको भए पनि एउटा पातलो भेद छ यहाँ । कस्तो भेद भने यहाँ मानिसहरुले तपाईंलाई मात्र देख्छन् मलाई र यमदूतलाई देख्दैनन् । यमदूतले मलाई मात्र देख्छन् तपाई लगायत अरु कसैंलाई देख्दैनन् । मैले तपाईंहरू र यमदूत सबैलाई देख्छु । अनि तपाईंले म र यमदूत लगायत यहाँका सबैलाई देख्नु हुन्छ, तर मसँग छउञ्जेल मात्र ।’ दिदीले पुलुक्क यमदूतहरूतिर हेर्नु भयो ।

पुराण र साहित्यमा स्थूल शरीर र सूक्ष्म शरीरबारे पढेको भए पनि आफ्नै अगाडि सूक्ष्म शरीरधारी दिदीलाई देख्दा अवाक भइरहेको थिएँ म । कुराको सिलसिला कहाँबाट सुरु गर्ने ? बिलखबन्दमा परेको थिएँ  । भित्र भित्र उकुस मुकुस भइरहेको थियो । मेरो सकस थाहा पाएकी दिदीले आफै कुराको पोयो फुकाउन थाल्नु भयो – 

‘मर्नु भनेको खासमा स्थूल शरीरको त्याग र सूक्ष्म शरीरको धारण गर्ने प्रक्रिया मात्र रहेछ भाइ । यही त होला नि चोला फेर्ने भनेको ! मरेपछि कर्महरूको डोरो चुँडियो । शरीरको रूप फेरियो । तर चैतन्य भने यथावत छ । गरेका कर्महरूको संझना अहिले पनि दुरुस्त छ । आफन्तहरूसँगको सोझो सम्पर्क विच्छेद भए पनि तिनको संझना र मोहबाट मुक्त हुन सकेको छैन । तिनको मुहार उज्यालो देख्दा यो चित्त पनि खुसी हुन्छ । अँध्यारो देख्दा दुःखी हुन्छ । चोला फेरिए पनि चित्त फेरिन समय लाग्दो रहेछ ।’  

दिदीका आँखा डबडबाएका थिए । दुवै आँखालाई हर्थुङ्गोले हलुकासँग  पुछेपछि उहाँ फेरि पुरानै लयमा फर्किनु भयो – 

‘यमलोकको यात्रापूर्व मत्र्यलोकमा कतै जाने इच्छा बाँकी छ कि भनेर सोध्दा रहेछन् ।’ 

‘दिदीलाई पनि त सोधे होलान् नि ? ’

‘अँ, सोधे ।’ 

‘कहाँ कहाँ जाने इच्छा राख्नु भो त हजुरले ?’ 

‘इच्छा भनेको लोभ हो भाइ । कहिल्यै तृप्त नहुने । जीवात्माको साधारण स्वभाव हो यो । त्यही भएर महापुरुषहरू इच्छा तृप्तिको भन्दा इच्छा समनको मार्ग रुचाउँछन् । तर हामी सांसारिकहरू भने इच्छाको जालोमा लटपटिदा लटपटिदै सिद्धिन्छौँ । जब यो चेत खुल्छ ढिलो भइसकेको हुन्छ । हामीलाई पनि त्यस्तै भयो । पाँच छ महनिा जति अघि होला कुरै कुरामा हामी बूढाबूढीले जीवनको बाँकी समय नाप्यौँ ‘अब कति बाँचिएला ? बीस वर्ष ! ’ आफ्नो जीवन रेखा टुङ्गिने समय आफैले अडकल काट्यौँ । जीवनमा भोगेका एक एक पलहरू सिनेमाको रिल झैं घुमे । पढाइ, लेखाइ, रोजगारी, व्यवशाय, घर–परिवारको व्यवस्थापनमा घोटिदा घोटिदा जीवन सधैं सङ्घर्षपूर्ण रह्यो । तर जुन निष्ठा र आदर्श कायम राखेर बाँच्न सकियो त्यसबाट हामी सन्तुष्ट थियौँ । बाँकी जीवन एक वानप्रास्थीले जस्तै लोककल्याणको क्षेत्रमा संलग्न रहेर शान्त सरिता झैँ बगिरहने सल्लाह ग¥यौँ । हृदयको कुनामा केही अतृप्त रहरहरू बाँकी रहेकै भए पनि तिनलाई समन गरेका थियौँ । अचानक चोला बदलियो । लोक नै छोडेर हिड्न लागेको बेला कहाँ कहाँ मात्रै जान्छु भन्ने ! छोरो युरोप छ, छोरी अमेरिका छे । भाइ–बहिनी, मावली त्यसैगरी छरिएका छन् । कहाँ कहाँ मात्रै  चहार्नु ? तर जन्मघरको मोह भने मार्न सकिन । हृदयमा रहेको यो सुषुप्त चाहना एका एक जाग्रत भएर आयो । अनि थुम्काघर जाने इच्छा प्रकट गरेँ । मेरो जन्मघर ।’

‘कहिले जानुभयो नि थुम्काघर?’ 

‘बाह्र दिनसम्मका कर्म सबै किरिञ्चेमै सम्पन्न भए । प्रेत योनीबाट मेरो मुक्तिको कामना गर्दै गरुड पूराण वाचन भयो घरमा । सैते फूल्नुभएका ऋषिसदृश ससुराबाको अनुहारमा जतिबेला पनि विशादको कालो छायाँ घुमिरहन्थ्यो । भेटघाटमा आएका मान्छेले सञ्चो बिसञ्चो सोद्धा ‘ खै, यस्तो उल्टो देख्न प¥यो’ भन्नु हुन्थ्यो । उदास आँखामा आँसुको पातलो पर्दा भरिन्थ्यो । जब मेरो चर्चा हुन्थ्यो सबै टिठ्याउँथे । कृष्णजीका आँखा जतिबेला पनि वर्षिन लागेको बादल झैँ डबडबाएका हुन्थे । यो देखेर हृदय चह¥याउँथ्यो । तर मेरा सुस्केरा उहाँसम्म नपुग्दै बिलाएर जान्थे । प्रेत योनी भोगेर एक्लै भौतारिन्थेँ म । किरिञ्चेमा बिताएका पुराना दिनहरू ताजा भएर आउँथे । तिनमै हराउथेँ । हाम्रो पहिलो सन्तान दीपालाई यही घरमा जन्म दिएको हुँ मैले । दसैँको पूर्णिमाको दिन जन्मेकी हो छोरी । पूर्णिमाको जून जस्तै गोलो अनुहारकी उज्याली थिई । पनातिनीको मुख देख्न पाइयो भनेर हजुरआमा कम्ती खुसी हुनु भएको थिएन । ‘खाने मुख त उसकै बाउको टाँसेर आएकी छ’ भनेर हजुरआमाले नातितिर हेरेर हाँस्दा कृष्णजी लजाउँदै लुसुक्क घरभित्र पसेको अहिल्यै जस्तो लाग्छ ।,

परिवारमा म भन्दा ज्येष्ठ सदस्यहरू रहनु भएकोले शुद्धिकर्म बाहौँ दिनमा नै सकियो । म दुलही भएर भित्रिदा जुन आँगनमा डोली अड्याएर आरति भएको थियो त्यही आँगनमा मेरो मानव चोलाको बिदाइका लागि हवन लगायतका कर्महरू सम्पन्न भए । यससँगै किरिञ्चेको मेरो भोग पनि सकियो । हिडने बेला भयो । पाहुनाहरू लाखापाखा नलाग्दै यिनै दूतहरुको साथ लागेर चिहानपाटा निस्केँ । मैले पढेको सर्वोदय हाइस्कुल पहिलेभन्दा अझ भव्य देखिएको थियो । स्कुलमा बिताएका क्षणहरू संझिएर मन पुलकित भयो  । तर जता हे¥यो उतै नौलो लाग्ने भएछ स्कुल । आँखाले हामी पढेताकाका अग्ला मसलाका रूख खोजे तर ती थिएनन् । भवनहरू प्रशस्त थिए तर तिनमा जीवनको उमङ्ग भरिए जस्तो लाग्दैनथ्यो । काउरोको चौतारोसँगै विष्णुभक्तको शालिक एक्लै टोलाइरहेको थियो । मलाइ भने कतिबेला घर पुगौँ जस्तो भइरहेको थियो । त्यही भएर होला धेरैबेर त्यहाँ बस्न मन लागेन’ । बोल्दा बोल्दै दिदीको गला भरिएर आयो । धेरै बेरसम्म बोल्नु भएन । स्वाभाविक अवस्थामा फर्किएपछि बल्ल सुस्तरी बोल्न थाल्नु भो दिदीे–,

‘संसारको सबैभन्दा प्रिय ठाउँ ‘थुम्काघर’ नै हो भाइ मेरो लागि । जहिले त्यहाँबाट अन्मिएँ त्यसपछि त्यो ठाउँको माया झन् खिल झैँ गढेर बस्यो मुटुमा । म जन्मे हुर्केको घर खरले छाएको, बङ्गाले थियो । कमेरो र रातो माटोले पोतेको । खोटो लगाएर चम्काएका आँखीझ्यालहरू मान्छेका आँखा जस्तै चम्किला देखिन्थे । पछि पुरानो घर भत्काएर त्यही ठाउँमा नयाँ घर बन्यो । अल्लि आधुनिक खालको । अलग्गै भान्सा कोठा भएको, सुत्ने कोठाहरू पनि फराकिला थिए नयाँ घरमा । तर घर भन्ने बित्तिकै मनमा भने सधैं उही पुरानै घरको संझना आइरह्यो । सपनामा पनि उही घर देखिने । म उही पुरानै घरको मोहमा हराएँ... ।

म सानी छँदा बा गाउँशहरमा पढाउनुहुन्थ्यो । प्रायः शुक्रबार बेलुका बा घर आउनुहुन्थ्यो र आइतबार बिहान फर्किनु हुन्थ्यो । बा आएको बेला हाम्रो खुसीले आकाश छुन्थ्यो । यसको जडी थियो बाको काँधमा झुण्डिएर आउने रेडियो । चिनीमा कमिला झुम्मिए जसरी झुम्मिन्थ्यौँ हामी रेडियो वरिपरि । वासुदेव मुनालको बाल कार्यक्रम अनि जेटीए र बूढी आँबैको गन्थन सुनिरहुँ जस्तो लाग्थ्यो । गन्थन सकिए पछि पनि दीपक त रेडियोकी बूढीआँबैको स्वर नक्कल गरेर ‘हरि शरणम् !’  भन्दै यता  र उता गर्दथ्यो । जे पनि टपक्कै टिपिहाल्ने चरा जस्तो छरितो र चलाख थियो दीपक । यस बाहेक कृष्णा ताम्राकारको समाचार भन्ने शैली र आवाजले साह्रै छुन्थ्यो मलाई । म पनि यसरी नै बोल्न पाए ! भन्ने इच्छाले तरङ्गित बनाउँथ्यो । रेडियोमा त म कहिल्यै बोलिन तर सार्वजनिक कार्यक्रमहरुमा उदघोषण भने प्रशस्त गरेँ । मेरो यो सिपको बिउ त्यही आवाजले रोपिदिएको हो । हृदयमा गीत, सङ्गीत र नाटकको रस रेडियो नेपालले भरेको हो । 

बा घरमा आएको बेलामा छिमेकका बा, दाजुहरूको जमघट हुन्थ्यो । रेडियोबाट आउने समाचार सुनेपछि त्यसकै सेरोफेरोमा बातमार्नु हुन्थ्यो । देश विदेशका कुरा हुन्थे । खेतीपाती बस्तुभाउदेखि राजनीतिसम्मका कुरा हुन्थे । कहिले सिलोक, कविता पाठ हुन्थ्यो । बाको स्वर अचम्म मीठो थियो । सुनिरहुँ जस्तो । लय हालेर कविता भन्ने बाको त्यो शैली हृदयमा अमिट भएर बसेको छ । उहाँका कतिपय साथीभाइसँग कवितामै चिठी आदान प्रदान हुन्थ्यो । उहाँका एकजना साथी पाल्पाका पद्मनाभ शर्माले मलाई पनि कवितामा चिठी लेखेर पठाउनु भएको थियो । चिठी लामै थियो । अरू त बिर्सिइसकेँ तर यी चार पङ्ति भने संझिरहेको छु –

जन्मेकी छ्यौ तिमी कुमुदिनी तीर्थको पोखरीमा

हुर्केकी छ्यौ तिमी लहलही पद्मको पाखुरीमा

लस्केकी छ्यौ चतुर कविका काव्यको माधुरीमा

मस्केकीछ्यौ विनय लतिका कृष्णका बाँसुरीमा ।।


यो कवितामा कविले मेरा बा र आमाको नाम लक्षणा भेदमा उल्लेख गर्नु भएको छ । अनि अर्को नाम पनि छ ‘कृष्ण’ । कविले कथे जस्तै भयो । मैले ‘कृष्ण’ कै बाँसुरीमा लठ्ठिएर जीवन जीउन पाएँ । तर अचानक बीच बाटोमा यसरी छोडेर हिडनुपर्दा साह्रै चित्त कुँडिएको छ भाइ । सायद कुनै पल छैन उहाँलाई बिर्सिएको । जतिबेला पनि सियोको टुप्पोले घोचे झैँ घोचिरहन्छ ।’ दिदी निकैबेर बोल्न सक्नु भएन । हातेरुमाल जस्तो कपडाको सानो टुक्रोले पालैपालो दुवै आँखा पुछ्नु भयो । साथमा बोकेको कमण्डलु जस्तो सानो जलपात्रबाट पानी पिउनु भयो । अनि कुराको सिलसिलालाई निरन्तरता दिनुभयो–

‘हामी दुवैजना अध्यात्ममा रमाएका मान्छे । दैव हुन्छ र त्यो दयालु हुन्छ भन्ने विश्वासमा सधैँ देव प्रार्थनामा रमायौँ हामी । अनेक पन्थहरुको दर्शनबारे अध्ययन गर्यौँ । सत्य साईको दर्शन पछ्याएर पुट्टपर्ती पुगियो । ॐ शान्तिको मुरली सुनेर माउण्टआबु गइयो । पतञ्जली योगपीठ हरिद्वार हेरियो । सबै दर्शनको सार ‘सेवा’ नै रहेछ । बोक्रो मात्रै भिन्दै । मूलतः हृदयको कल्मश पखाल, शान्त जीवन बाँच भन्छन् सबैले । मात्रै कल्मश पखाल्न र शान्ति पाउन सुझाएका उपाय भने फरक फरक   छन् । अध्यात्म अभ्यासको क्रममा ओशो दर्शनबाट अल्लि बढी नै प्रभावित भयौँ हामी  । जीवनलाई शान्त र सुखमय बनाउने ओशोसूत्रहरू अतीव व्यावहारिक र प्रभावकारी लागे । जीवनलाई शान्तिमय बनाउ,  प्रेममय बनाउ र उत्सवमय बनाएर बाँच भन्ने ओशो दर्शनबाट निकै प्रभावित भयौँ दुवैजना । सबैभन्दा सुन्दर पक्ष ध्यान योग लाग्यो । ध्यानको गहिरो सागरमा घण्टौँसम्म गोता मार्न  सिकेँ । एकाग्र भएर कुनै कुरामा समर्पित रहनुलाई ध्यान भनेर बुझेको मैले यसको व्यापकता त्यो भन्दा भिन्दै रहेको पाएँ ।  मनमा कुनै कामना नराखी,  कुनै विचारको पछाडि नकँुदी सिर्फ आफ्नै श्वासको ओहोर दोहोर प्रक्रियालाई द्रष्टा भावले हेर्दै जाने हो भने त्यस्तो क्षणमा पुगिन्छ जतिबेला निर्विचार र निर्विकार साक्षी भावलाई समात्न सकिन्छ । अनि बल्ल शुरु हुँदोरहेछ ध्यानको यात्रा । जब ध्यान यात्रा प्रारम्भ हुन्छ हाम्रो हृदयमा श्रेष्ठ कामनाहरू अङ्कुरित हुन थाल्छन् । ध्यानमा निमग्न हुँदै जादा ती अङ्कुरहरू वृक्षमा परिणत हुन्छन् । आनन्दको असीम छहारी प्राप्त हुन्छ । बाहिर खोज्दै हिडेको आनन्दको मुहान आफूभित्रै  भेटिन्छ । अध्यात्म जगतसँगको नाता जति गहिरिदै गयो हृदयतलमा उति दया र करुणा भरिएको महसुस हुँदो रहेछ । मैले यही अनुभूत गरेँ । बूढाबूढी दुवैजनाले सन्यास उत्सवमा ओशो धामका स्वामीबाट दीक्षा ग्रहण ग¥यौँ । उत्सवमा स्वामीबाट शक्ति ग्रहण गर्ने बेलामा मानिसहरू हर्षविभोर भएर चिच्याउँछन्,रुन्छन् तर मलाई भने त्यस्तो केही भएन । गुरुले भृकुटीमा बूढीऔँलाले विस्तारै थिचेपछि अपूर्व शक्ति सञ्चार भएको महसुस भयो । बस् त्यत्ति हो । हामी दुवैले ओशो मार्ग रोज्यौँ । त्यसमै रमायौँ । तर अध्यात्मको अभ्यास गर्दा वा नगर्दा पनि सांसारिक दुःख, पीडामा परेको जो सुकैलाई देख्दा द्रवित हुन्थ्यौँ । हृदय बिझाउँथ्यो ।  सकेको सहयोग गथ्र्यौँ । सद्भाव राख्थ्यौँ । मान्छेको के कुरा पशुपंक्षी, कीट पतङ्ग कसैप्रति निर्दयी हुन सकिएन । तर हामीलाई नै दैवले यसरी छुटाइदियो । छुट्टिने बेलामा एक अर्काको अनुहार समेत हेर्न पाएनौँ हामीले ।’ 

दिदी भित्रैदेखि भक्कानिएर रुनु भो । आँखाबाट बरररर्र झरेका आँसुका ढिका दुवै गालाबाट गुडुल्किदै भुईंमा झरेर बिलाए । मलाई के गरुँ कसो गरुँ भयो । एक मन त दिदी भैगो नरुनुहोस् भनौँ जस्तो लाग्यो तर अर्को मनले भन्यो, ‘पीडाले भतभति पोलेको मनको घाउ आँसुले धोएर सफा गर्ने त हो मान्छेले, भो रुन दे !’ मैले नरुनुहोस् भन्न सकिन । दिदी सुकसुकाइञ्जेल एक्लै टोलाएर बसिरहेँ । विस्तारै सम्हालिदै आउनु भयो दिदीे । मेरा आँखा यमदूतहरुमाथि पुगेछन् । दुईजनामध्ये एउटा चाहीँ सुतिरहेको थियो । अर्कोभने पाखुरामा बाँधेको स्फटिकको दाना जस्तै तर मसिनाखालका दानाहरूको माला जपिरहेको थियो । दिदी फेरि थुम्काघरकै संझनामा फर्किनु भयो–

बा लेखपढ गरिरहनुहुन्थ्यो । लेख्ने बेलामा काखमा दुइ तीनवटा सिरानी राखेर टेबुल जस्तो बनाउनु हुन्थ्यो । बाले लेखेका किताब छापिएका थिए । भूगोल–सूत्र भन्ने किताब त म नजन्मिदै छापिएको रहेछ । किताबको अगाडिको पानामा छापा अक्षरमा बाको नाम देख्दा संसारमा हाम्रो बा जत्तिको जान्ने ,सुन्ने कोही छैन भन्ने लाग्थ्यो । एक दिन भूगोल–सूत्र हातमा लिएको बेला ‘तेरो दाजु हो यो’ भन्नु भयो बाले । म भन्दा पहिला जन्मिएको मेरो दाजु भूगोल–सूत्र मलाई अक्षर चिनाउने गुरु पनि हो । पहिलो दिन स्कुल जाँदा ठूलो वर्णमालासँगै यो किताब पनि लिएर गएको थिएँ मैले ।

स्मृतिमा उही पुरानो घर उभिन आइपुग्यो । घरका मझेरी, सिकुवा, भान्सा, भँडार सबै चहारेँ । दलिन र भरनाहरूबाट पुरानो माटोको बास्ना आइरहेको थियो । जीवनको सुगन्ध । हाम्रो परिवारका सबै सन्ततिहरूको व्यक्तित्व निर्माणको गुरुकुल हो यो घर, सरस्वतीको मन्दिर । बा–आमा हाम्रो गुरु–गुरुआमा । तर अहिले हाम्रो घरमा हामी बस्दैनौँ । अरु नै कोही बस्छन् । आँगनमा बाका पैतालाका डोब छैनन् । जाँतो चलाउँदा आमाका हातका चुरा बज्दैनन् । संझिदैमा मन कोक्याएर आयो । बारीमा गएँ । बाले रोपेका कागति, बेलौंती, अमला, केराका बोटलाई म्वाईं खाएँ । मैले रोपेको बाह्रमासे कागतीको बोटमा लटरम्म चिचिला लागेका रहेछन् । नाकलाई नजिकै लगेर चिचिलाको बास्ना सुँघ्न खोजेँ । बास्ना त खासै आएन तर नाकको टुप्पोमा भने काँडाले घोच्यो । आफ्नो बुद्धि संझेर आफैसँग हाँसो उठ्यो  । मोटरबाटो घर नजिकैबाट पारी गएको रहेछ । फेरि झलक्क बालाई संझिएँ । बित्नुभन्दा दुई वर्ष अगाडि होला ‘अम्बोटेसम्म मोटर जान्छ नि बा अहिले’ भन्दा घर जान सकिने भयो भनेर बा कति खुसी हुनुभएको थियो । तर अनुकुल मिलेन । यो घरमा फर्केर आउने तृष्णा जीवितै राखेर जानुभयो बा ।

एउटा यमदूत बगैंचामै आयो । मुखले त केही भनेन तर उसले हातको सानले गरेको सङ्केत अनुसार अब यो ठाउँ छोडनुपर्ने बेला भएको थियो । मैले खोल्सीको कुवामा जाने इच्छा दर्शाएँ र जाने बाटोतिर इशारा गरेँ । उत्तिबेलै खोल्सीमा पु¥यए तिनले । सानो छँदा लुगा धुने गरेको छपनी अलिकति खिइएछ । मेरो बालसखा सुरेश र मैले यही छपनीमा लुगा पछार्दै बाह्रखरी घोकेको संझनाले मन भरियो । सानैदेखि निकै मेधावी थियो सुरेशमान । हाम्रो कक्षाको फस्र्टब्वाई थियो ऊ । नजिक रहेको राहुले पँधेरो गएँ । मसिनो धारो कलकल बगिरहेको थियो । ठूलो होस वा सानो पानीको अविरल गतिबाट म निकै प्रेरित हुन्छु । जमेको ठूलो तलाउ भन्दा किन किन बगेको सानो धारो मनपर्छ मलाई । तर अब फेरि कहिल्यै यो धारोमा फर्किएर आउन पाउँदिन भन्ने संझेर मन अमिलो भयो ।

मैले जाउँ भन्ने इशारा गरेपछि दुवै दूतले एक–एक वटा पाखुरामा हलुकासँग समातेर उडाउन थाले भूरुरु । म जता जान चाहन्थेँ उतै उडथे उनीहरू । चारघरे, पन्थे, बरबोट, अर्चल्यानीको फन्को मारेर धारापानीबाट उपल्ला गाउँको आकास चहारें । त्यस्तो हराभरा रहने खेतबारी जताततै बाँझो रहेछन् । मोटर चल्ने बाटो दैलो दैलोमा पु¥याउन भत्काएका पखेराले पुरेका खेतबारी कांश र खरले छपक्क छोपेको रहेछ । विकासको उल्टो गतिमा च्याम्पटी झैँ घुमेको दुराडाँडा देख्दा नरमाइलो लाग्यो । तर अब मलाई लागेको नरमाइलोको के अर्थ ! आफ्नो मनलाई आफैले संझाएँ । उपल्लागाउँमा हरिप्रसादको घरको ठूलो आँगन देखियो । खचाखच भरिएको आँगनमा कसरी मैले सत्यनारायणको कथा वाचन गरेको थिएँ झलक्क संझिएँ । म नौ कक्षामा पढथेँ त्यतिबेला । हरिप्रसादको घरमा सत्यनारायणको पूजा लगाउने कार्यक्रम तय भएछ । बासँग सल्लाह हुँदा ‘पूजा पुरोहितलाई गराउन लगाउनु, कथा रश्मिले भन्छे’ भन्नु भएछ । बाले नेपाली भाषामा लेखेको सत्यनारायणको कथा पढेको त थिएँ । तर त्यतिका मान्छे सामु कथा भन्नुपर्ने कुरा सुनेर म अल्लि हडबडाएँ । बाले ढाडस दिनुभयो । पिँढीमा बनाइएको भव्य चौकामा बसेर कथा वाचन गरेँ मैले । सबैले आहा ! भन्दै तारिफ गर्नुभयो । स्याबासी दिनुभयो । यो घटनाले मेरो आत्मविश्वासको घडा भरिदियो । म कमजोर छैन, मैले आटेँ भने जे परिआउँछ त्यही गर्न सक्छु भन्ने हिम्मतको बिरुवा यही आँगनबाट झ्याङिगएको हो म भित्र । 

दूतहरू ठाँटीको स्कुलमाथि थिए । मैले ओर्लिन चाहेको सङ्केत गरेँ । स्कुलको लामो आँगनमा टेक्ने बित्तिकै खुसीले चिच्याउन मन लाग्यो । मेरो जीवनको पहिलो औपचारिक पाठशाला हो यो । काठका होचा बेन्चमा बसेर हल्लिइ हल्लिइ कपुरी क, भित्र बाटुलो ख भनेर पढथ्यौं हामीहरू । स्कुल वरिपरि बस्तु चराउन आएका पाका मान्छेहरू स्कुलको ढोकामा उभिएर हामी चिरबिराएको हेरेर दङ्ग पर्थे । त्यसरी ढोकामा उभिन कोही आयो कि हामी झन् मच्चिइ मच्चिइ पढिदिन्थ्यौँ । चकचक गर्दा वा पाठ बुझाउन नसक्दा जगन्नाथ पण्डितबाले कन्सिरीका रौँ तानेका ती दिन कति रोमाञ्चक थिए ! संझनाको चर्खा घुम्यो । त्यसैमा बत्तिदै ठाँटीघर गएँ । खेलछुट्टीमा लुकामारी खेलेको त्यो रमाइलो ठाँटीघर धराप भईसकेछ । सबैले दुत्कारेको दुःखी जस्तो । 

मनाङ भोटबाट मानेचौका ओहोर दोहोर गर्ने व्यापारिक मार्गमा पर्ने भएकोले रात बिरात दुराडाँडामा आइपुग्ने व्यापारी र बटुवालाई बास बस्न सहज होस् भनेर झण्डै दुइ सय वर्ष अघि शिव शर्मा जीजुले बनाइदिएका हुन् यो ठाँटी । टिस्टादेखि काँगडा जाने मूलबाटो मानेचौका हुँदै जाने भएकोले भोट–मानेचौका बाटो पनि निकै चल्तिको बाटो थियो त्यो बेला । भोटेहरू मानेचौकामा भन्दा दुराडाँडामा रात बिताउन रुचाउने भएकोले आवत जावतको क्रममा कम्तीमा तीन चार दिनसम्म यहीँ बसेर व्यापार गर्थे उनीहरू । घोडा, खच्चरका ताँती यही बाटो ओहोर दोहोर गर्थे । मैले सुनेको कुरा हो यो । कति चल्ति फिर्ति हुँदो हो त्यतिबेला यो ठाँटीको ! तर अहिले परदेशिएका सन्तानको बाटो हेर्दै पिँढी कुरेर बसेका बूढाबूढीको जस्तो साह्रै टिठ लाग्दो अवस्थामा रहेछ ठाँटी । ढल्ने दिन पर्खेर बसेको ।’ दिदीले नरमाइलो मान्नु भो । 

साँझ छिप्पइसकेको थियो । ठूला ठूला बत्ती जोडिएको हुनाले घाट भने उज्यालो थियो । पवित्र वागमती माथि हामी मान्छे भन्नेहरूले गरेको चरम अन्यायको कारण बेला बेलामा नाकै फोर्ला जस्तो हरक चल्थ्यो । यमदूतहरू अनुहार खुम्च्याउँथे । नाक थुन्थे । रक्सीले चुर भएको एकजना अधवैंशे ढुन्मुनिदै आयो र दूतहरू बसिरहेकै  पेटिमा लम्पसार प¥यो । ‘यी यस्ताको पालो आउँदैन,  त्यस्तालाई लिएर जान प¥या छ, हाम्रा बूढाको नियम पनि के हो के हो ?’ अल्लारे दूतले चित्त दुखायो । पाको चाहीँले दिदीतिर पुलुक्क हे¥यो मात्र केही बोलेन । आफूहरू बसिरहेको पेटि जँड्याहाले कब्जा जमाएपछि उनीहरू दश पन्ध्र हातजति दक्षिण सरेर बसे । हामी दिदी–भाइ फेरि कुरा गर्न थाल्यौँ –

‘जन्मभूमिसँग जोडिएका संझनाको सागर छ भाइ यो हृदयमा । यहीँको आँगनमा ताते ताते गर्दै हिडन सिकियो, पापा, नाना भनेर बोल्न सिकियो । कुँदन उफ्रिन यहीँ जानियो । ज्ञानी र झेलीको भेद देखियो, भोगियो । ठूलो कुरा चाहिदो रहेनछ सिक्न । केटाकेटीमा चराका बचरा सुमसुम्याउने मान्छे कहिल्यै निर्दयी हुन सक्दो रहेनछ । अनि तिनलाई निमोठने मान्छेको हृदयमा दया भन्ने चिज कहिल्यै पलाउँदो रहेनछ । केटाकेटीमा गुच्चा खेल्दाको झेली जीवनभर झेली खेलमै रमाउँदो रहेछ अनि ज्ञानी चाहीँ कसैलाई घच्च नलगाई आफ्नै बाटोमा लुरुलुरु हिडदो रहेछ । बालमन र किशोर वयले आर्जन गरेका यही ज्ञानको गोरेटोमा हिडने रहेछ जीवन । पछि त त्यही गोरेटोलाई अल्लि फराकिलो, अल्लि सजिलो बनाउने मात्रै रहेछ ।’ दिदीका कुरा ज्ञानी महापुरुषका जस्ता घतिला थिए । मैले सहमतिमा टाउको हल्लाएँ । मुखले बोल्नु पर्ने केही थिएन बोलिन ।

दिदी त्यहाँबाट पाणिनि जानुभएछ । आफूले पढाएको स्कुल । किशोर वयमा आफ्नै पिताको पछिपछि लागेर पढाउन गएका दिनहरू संझिनु भयो दिदीले –

‘पाणिनिसँग मेरो नाता भावनाको हैन हृदयको छ भाइ । यो स्कूल मेरो जीवन यात्राको कोशे ढुङ्गा हो । एसएलसी पास गरेपछि बाको साथ लागेर काठमाडौ गएँ । होस्टेलमा बसेर पढन पाइने अवसरका कारण नर्सिङमा भर्ना गराएर घर फर्किनु भयो बा । तर यो विषयसँग रमाउन सकिन । अस्पतालको बेडमा छटपटाइरहेका बिरामीको अर्तनादले द्रवित हुन्थेँ । नर्सले थमाइदिएको पूर्जा बोकेर औषधी किन्न रित्तो खल्ती पसल पसल चहारेका दुःखी मान्छेहरू देख्दा चित्त कुँडिन्थ्यो । मेरो स्वभाव सुहाउँदो पेशा हैन यो भन्ने लाग्न थाल्यो । तर मसँग अरू विकल्प थिएन । जेनतेन पढदै गएँ । पढाइकै सिलिसलामा एक दिन मुर्दाघरमा लगियो हामीलाई । सात आठवटा बेवारिस शव थिए त्यहाँ । तीन चार घण्टाअघि सडक दूर्घटनामा परेर ज्यान गुमाएको पच्चीस तीस वर्षे लक्का जवानको आलो शव छेउ पुगेछु । जीवन हेर्ने धोको नपुगे झैँ ट्वाल्ल थिए उसका आँखा । मन झसक्क भयो । त्यो दृश्यले बिथोलिएँ म । मन बिझाइरह्यो । यो पढाइ र पेशाले म खुसी हुन सक्दिन भन्ने आत्मवोध भएपछि करिब एक वर्ष पढिसकेको नर्सिङ छोडेर कसैलाई नसोधी घर फर्किएँ म । 

बा पाणिनिमा हेड मास्टर हुनुहुन्थ्यो । मैले पनि त्यहीँ पढाउन थालेँ । स्कूल जाँदा आउँदा हामी बाबु छोरी प्रायः सँगै हुन्थ्यौं । बाको पछि पछि हिँडथें । विषयवस्तुलाई गम्भिरतासाथ बुझ्नसक्ने भईसकेको थिएँ । अनुभवले खारिएका बिचारहरू सूत्रबद्ध रुपमा बोल्नुहुन्थ्यो बा । आदेश कम अनि उपदेश धेरै हुन्थे । बाले देखाएको मार्गमा खुरुखुरु हिडिरहेँ म । पाणिनिले मलाई बालबालिकाको मनोभाव छाम्न सिकायो, तिनको प्रतिभा चिन्न सिकायो । दुःख दर्दसँग साक्षात्कार गरायो । सबै भन्दा बढी व्यक्तिको जीवन निजी भए पनि त्यसको उपयोग भने सामाजिक हुनुपर्छ भन्ने आदर्श सिकायो । यसैलाई पछ्याएर हिडेँ म । फलतः पाणिनिबाट शुरु गरेको मास्टरी वृत्तिलाई जीवनपर्यन्त अङ्गालिरहेँ । हृदयले रोजेको पेशा हुनाले त्यसमै रमाएँ । विद्याको सागरमा नाउ चढाएर हजारौँलाई वल्लो किनारबाट पल्लो किनार पु¥याएँ । जसले नाउ चढन आनाकानी गरे तिनलाई मनाएर चढाएँ । नाउ चढने रहर भएर पनि सामथ्र्य नभएकालाई सकेको साथ दिएँ । सहयोग गरेँ । सबैकी गुरुआमा बन्ने सौभाग्य पाएँ । कतिपयले त ‘आमा’  भनेर सम्बोधन गर्छन् । आमाकै  रूपमा श्रद्धा गर्छन् । छाति गर्वले फुल्छ । मन तृप्त हुन्छ । मान्छेले अन्तिममा साथमा लैजाने भनेको आर्जित तृप्ति त रहेछ । यमलोकको यात्रामा यही तृप्तिको पोको च्यापेर हिडेको छु भाइ ।’ दिदीको अनुहार उज्यालो आभाले भरियो ।

‘तर...’ 

‘तर किन दिदी ?’

‘केही सपना भने अधुरै छोडेर हिड्नु प¥यो 

‘कस्ता सपना दिदी ?’

‘सपना भन्दा पनि केही योजना थिए । संस्कृत र संस्कृतिको उन्नयनको लागि पूर्वजहरूले खन्याएको परिरश्रमको प्रतिमूर्ति पाणिनि अहिले अधमरो भएको छ । पूर्वजहरूका सपना खण्डित हुने हुन् कि भन्ने भयले गाँजेको छ सबैलाई । हिजो अग्रज बाहरूले बालेको ज्ञानको दीयोमा आमाहरूले तेल थपेर जगाएका हुन् । रित्तै पोल्टो हुँदा पनि आमाहरूले एकसय आठ रुपैयाँ यो मन्दिरमा समर्पण गरेका  हुन् । ती सबै आमाहरूलाई एकसय आठ आमा भनेर संझिन्छौं हामी । पाणिनिको पुनरोद्धारको लागि हामीले एक हजार आठ आमाको खाका कोरेका थियौँ । तर दियोमा तेल नथप्दै हिडनु प¥यो । यो सपनाले साह्रै बिझाएको छ । अरु धेरै सामाजिक संस्थासँग पनि जोडिएको थिएँ । मातृभूमि र मातृशक्तिको उन्नतिको लागि सबैसँग हातेमालो गर्दा गर्दै अचानक चङ्गा जस्तै चुँडिएँ म ।’ हातमा समातिरहेको बाँसको मसिनो छेस्को मिल्काएर लामो सास फेर्नुभो दिदीले । 

‘...यमलोकको यात्रामा छँदा जीवनमा आपूmले हिडेको गोरेटो नियालिरहेको छु । एक पटक ज्योतिषले ‘नानी भाग्यमानी छौ । आफ्ना सबैलाई हाँसी खुसी देख्दा देख्दै जान पाउँछ्यौ’ भनेका थिए । खास कुरो चाहीँ तिम्रो आयु छोटो छ भनेका रहेछन् । अलिअलि अडकल त उतिबेलै काटेको भए पनि यथार्थ चाहीँ अहिले बुझिरहेको छु । जे भयो, भइसक्यो । अब कति दिन खिन्न भएर बस्ने । आफैँले आफूलाई भाग्यमानी ठानेको छु मैले त । ऋषि–ऋषिपत्नी तुल्य पितामाताको वात्सल्य पाएँ । देवताजस्तो जीवन साथी पाएँ । जीवनका प्रत्येक क्षणमा उहाँको साथ, सहयोग र आँटको कारण सार्थक जीवन जिउन सकेँ । आज्ञाकारी र सुयोग्य सन्तान पाएँ । मायालु घर–परिवार, माइति–मावली पाएँ । सबैको माया र सद्भाव पाएँ । तसर्थ जीवनसँग कुनै गुनासो छैन ।’ दिदी म तिर हेरेर मुसुक्क हाँस्नु भो । 

*                                             *                                                             *

मोबाइलमा घण्टि बज्यो । अनिरुद्धको सालोको फोन रहेछ । 

‘म आइहालेँ रञ्जित’ फोन खल्तीमा राखेँ । 

‘दिदी, पापी कोरोनाको कारण तपाईंलाई अचानक र असमययै गुमायौं हामीले । महामारीका कारण पूरै शहरमा मुर्दाशान्ति छाएको थियो । त्यसमै हराएका थियौं हामी । तपाईं अस्पतालमा मृत्युसँग जुधिरहँदा हामी छौँ है दिदी भनेर ढाढस दिनसमेत पाइएन । श्रद्धाको एक थुँगो पूmल चढाएर अन्तिम बिदाइ गर्न पनि पाइएन । ठूलो पछुतो छ मनमा । सबैको हृदय विदीर्ण छ । दुःखेको छ । कालको क्रुरताको अगाडि हामी सबै निरिह भएका थियौं । दिदीको भौतिक शरीर नरहे पनि आफ्नो समयको एक आदर्श नारी अगुवाको रुपमा हाम्रो हृदयमा हुनुहुन्छ तपाईं । तपाईंका योगदान र आदर्शले दिदीलाई जीवन्त राखेका छन् । दर्जनौँ संघ संस्थामा आबद्ध रहेर गरेका सुकर्महरूले तपाईंलाई अमर बनाएका छन् । भावी पुस्तालाई प्रेरित गरेका छन् । हजुरसँग अनयास यो रूपमा भेट भयो । यो अलौकिक भेट मेरो निम्ति चिरस्मरणीय रहनेछ ।’ दिदीले सुनिरहनु भयो । केही बोल्नु भएन । मात्रै मुस्कुराउनु  भयो ।

मोबाइलमा फेरि घण्टी बज्यो । 

’दिदी म जाउँ है, दिदीसँग बिदा मागेँ । उहाँको आत्माको चिरशान्ति र बैकुण्ठ यात्राको सहजताको कामना गरेँ ।’ दिदीले नरमाइलो मान्नु भो । केही बोल्नु भएन । बोल्न सक्नु भएन । बिदाइको सङ्केत स्वरूप हातमात्रै उठाउनु भयो । दिदीको खिरिलो हातको सानो हत्केलो दायाँ बायाँ हल्लिई रह्यो ।



दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानबाट २०७९ जेठमा प्रकाशित रश्मि स्मृति ग्रन्थमा प्रकाशित




No comments:

Post a Comment