Monday, November 7, 2022
विद्युतीय मतदान प्रणाली र नेपालमा यसको प्रयोग
अन्तिम विदाई (स्मृति कथा)
अन्तिम विदाई (स्मृति कथा)
अनिरुद्ध चितामा चिरनिद्रामा थियो । सात वर्षे छोरोलाई काका बाउले हात समाएर चिताको परिक्रमा गरायो । दाहिने हातमा दागबत्ती समातेर चिता घुमिरहेको अवोध बालकले जब बलिरहेको बत्ती बाबुको मुख नजिकै लगेर राख्यो र एक पटक चिता घुमेर बाबुको गोडा ढोग्यो त्यो भन्दा बढी हेरिरहने साहस भएन । आँखा चिम्म गरेँ । हृदय थरर्र काम्यो । उकुस मुकुस भएजस्तो भयो । निधारबाट चिटचिट पसिना आए । घाटमा बसिरहने हिम्मत हराएपछि एकान्त खोज्दै एक्लै राजराजेश्वरी घाटतिर झरेँ । ‘पूर्वजन्म देखिने कुण्ड’ छोपिएको कोल्टे शिवलिङ्गनिर पुगेर थुचुक्क बसेँ । आँखामा झल्झली उही अनिरुद्धको छोराको अनुहार नाचिरह्यो ।
* * *
‘देशबन्धु भाइ...!’ एउटा सुमधुर नारी आवाज सुनियो । यता उता हेरेँ । कोही थिएन । भ्रम भए जस्तो लाग्यो । पूर्ववत् आँखा चिम्लेर बसेँ ।
‘देख्नु भएन भाइ ? म रश्मि दिदी !’ म बसेको ठाउँभन्दा दुई हातजति पर भुईंमा थुचक्क बसिरहनु भएको रहेछ दिदी । सानी पुतली जस्तै । उही अनुहार, उही जीउडालको प्रतिकृति । तर लगभग हातको बूढी औँला जति मात्रै अग्लो ।
गाजल लगाएका जस्ता देखिने दिदीका गोला आँखा छिटो छिटो झिम्झिम् गरिरहेका थिए । मेरो प्रतिक्रिया पर्खिए झैँ उहाँ मुसुक्क हाँसेर मेरै अनुहार हेरिरहनु भएको थियो । दिवङ्गत भइसकेको मान्छेको सूक्ष्म प्रतिरूप देखेर हडबडाएँ म । मुख सुक्यो । डरले अनुहार सोहोरियो । केही बोल्न खोजेँ तर आवाज आएन ।
‘भाइ !, डराउनु भयो ?’
डराउन त डराएकै हो । तर किन हो त्यसो भन्न सकिन । दिदीको अनुहारतिर पुलुक्क हेरेँ मात्र ।
‘मलाई थाहा छ भाइ, मृत्यु भइसकेकी मलाई यो रुपमा देख्दा तपाईं डराउनु भएको छ । वास्तवमा मृत्यु भयको प्रतीक हो । मृत्युसँग सबै डराउँछन्, सकेसम्म भाग्न खोज्छन् । जीवनबाट थाकेर मृत्युको पुकार गर्नेहरू पनि मृत्युसँग जम्काभेट होला कि भनेर डराउँछन् । मसानघाटमा एक्लै दुक्लै जान पर्यो भने जीउ सिरिङ्ग हुन्छ । जतिसुकै सुन्दर स्थानमा रहेको भएपनि सामान्यतः मान्छेहरू घाटमा रमाउँदैनन् । तर भाइसँग भेट हुन पाउँदा घाटमै भए पनि रमाइलो लागिरहेको छ ।’ दिदी मुसुक्क हाँस्नु भयो । मलाई आफूँ नजिकै बस्न सङ्केत गर्दै भुईंतिर थपथपाउनु भयो । आज्ञाकारी बालक झैँ उहाँको नजिकै बसेँ म ।
‘तपाईंलाई मेरो रूप देखेर अचम्म लागेको होला, हैन ?’
‘कसरी थाहा पाउनु भयो र दिदी ?’
‘अनुमान गरेको नि’ दिदीले मेरो अनुहारतिर पुलुक्क हेर्नुभो । मेरो आवाज अझै स्वाभाविक भइसकेको थिएन । अनुहार पनि सायद भावशून्य हुँदो हो । मेरो मनोदशा बुझेर होला दिदी आफैँले कुराको सिलसिलालाई निरन्तरता दिनुभो –
‘जीवन अनुमान र यथार्थको अन्तरमा च्यापिएर सकिदो रहेछ । अनुमानको जोड, घटाउमा कहिले सुखको अडकल काट्यो दङ्ग प¥यो । कहिले दुःखको शङ्का ग¥यो, आत्तियो । अरूकोबारे एउटा मनचिन्ते धारणा बनायो अनि त्यही आँखाले हे¥यो । ऊ त आफ्नै मान्छे हो भनेर विश्वास ग¥योे लात हान्छ, सह्यो । पराई ठानेर दुत्कारेको मान्छे इष्ट ठहरिन्छ, आपैmसँग लजायो । यस्तै अडकलै अडकलमा जीवन सिद्धिदो रहेछ । अरूलाई चिन्ने कुरा त परको भयो आपैmलाई नचिन्दै उठने रहेछ चोला ।
‘उ तिनै हुन् मेरा साथी, साथी त के भन्नु र मलाई लिन आएका यमदूत हुन् ती । यात्राभर यिनैसँग रहनुपर्ने भएकोले साथी भनेकी हुँ ।’ दिदीले राजराजेश्वरी मन्दिको पेटितिर देखाउनुभो । दुईजना यमदूतहरू विश्राम गरिरहेका रहेछन् । मझौला आकारको मकैको खोयाजत्रा थिए ती । दुई अङ्गुल जति गज भएको कालो रङ्को कपडाको धरो कछाड झैँ बेरेका थिए । तिनका पिँडौलाहरू भित्रपट्टि घुमेका बाङ्गा देखिन्थे । पाखुरामा यमराजको आकृति कुँदेको स्फटिकको दाना धागोमा उनेर बाँधेका थिए । दुवै कनपटको सोझै माथि आधा इञ्चजति लामा सिङ उम्रिएका थिए । आकारमा साना भए पनि यमदूत भनेपछि मनभित्र कता कता डर लागे जस्तो भयो । तर मेरो मनोदशा बुझेकी दिदीले संझाउन थाल्नु भयो–,
‘हामी फरक फरक लोकका जीवात छौँ यहाँ । भाइ, म अनि यी यमदूतहरू । लोक नै भिन्दा भिन्दै भएकोले हामी सँगसँगै रहेको भए पनि एउटा पातलो भेद छ यहाँ । कस्तो भेद भने यहाँ मानिसहरुले तपाईंलाई मात्र देख्छन् मलाई र यमदूतलाई देख्दैनन् । यमदूतले मलाई मात्र देख्छन् तपाई लगायत अरु कसैंलाई देख्दैनन् । मैले तपाईंहरू र यमदूत सबैलाई देख्छु । अनि तपाईंले म र यमदूत लगायत यहाँका सबैलाई देख्नु हुन्छ, तर मसँग छउञ्जेल मात्र ।’ दिदीले पुलुक्क यमदूतहरूतिर हेर्नु भयो ।
पुराण र साहित्यमा स्थूल शरीर र सूक्ष्म शरीरबारे पढेको भए पनि आफ्नै अगाडि सूक्ष्म शरीरधारी दिदीलाई देख्दा अवाक भइरहेको थिएँ म । कुराको सिलसिला कहाँबाट सुरु गर्ने ? बिलखबन्दमा परेको थिएँ । भित्र भित्र उकुस मुकुस भइरहेको थियो । मेरो सकस थाहा पाएकी दिदीले आफै कुराको पोयो फुकाउन थाल्नु भयो –
‘मर्नु भनेको खासमा स्थूल शरीरको त्याग र सूक्ष्म शरीरको धारण गर्ने प्रक्रिया मात्र रहेछ भाइ । यही त होला नि चोला फेर्ने भनेको ! मरेपछि कर्महरूको डोरो चुँडियो । शरीरको रूप फेरियो । तर चैतन्य भने यथावत छ । गरेका कर्महरूको संझना अहिले पनि दुरुस्त छ । आफन्तहरूसँगको सोझो सम्पर्क विच्छेद भए पनि तिनको संझना र मोहबाट मुक्त हुन सकेको छैन । तिनको मुहार उज्यालो देख्दा यो चित्त पनि खुसी हुन्छ । अँध्यारो देख्दा दुःखी हुन्छ । चोला फेरिए पनि चित्त फेरिन समय लाग्दो रहेछ ।’
दिदीका आँखा डबडबाएका थिए । दुवै आँखालाई हर्थुङ्गोले हलुकासँग पुछेपछि उहाँ फेरि पुरानै लयमा फर्किनु भयो –
‘यमलोकको यात्रापूर्व मत्र्यलोकमा कतै जाने इच्छा बाँकी छ कि भनेर सोध्दा रहेछन् ।’
‘दिदीलाई पनि त सोधे होलान् नि ? ’
‘अँ, सोधे ।’
‘कहाँ कहाँ जाने इच्छा राख्नु भो त हजुरले ?’
‘इच्छा भनेको लोभ हो भाइ । कहिल्यै तृप्त नहुने । जीवात्माको साधारण स्वभाव हो यो । त्यही भएर महापुरुषहरू इच्छा तृप्तिको भन्दा इच्छा समनको मार्ग रुचाउँछन् । तर हामी सांसारिकहरू भने इच्छाको जालोमा लटपटिदा लटपटिदै सिद्धिन्छौँ । जब यो चेत खुल्छ ढिलो भइसकेको हुन्छ । हामीलाई पनि त्यस्तै भयो । पाँच छ महनिा जति अघि होला कुरै कुरामा हामी बूढाबूढीले जीवनको बाँकी समय नाप्यौँ ‘अब कति बाँचिएला ? बीस वर्ष ! ’ आफ्नो जीवन रेखा टुङ्गिने समय आफैले अडकल काट्यौँ । जीवनमा भोगेका एक एक पलहरू सिनेमाको रिल झैं घुमे । पढाइ, लेखाइ, रोजगारी, व्यवशाय, घर–परिवारको व्यवस्थापनमा घोटिदा घोटिदा जीवन सधैं सङ्घर्षपूर्ण रह्यो । तर जुन निष्ठा र आदर्श कायम राखेर बाँच्न सकियो त्यसबाट हामी सन्तुष्ट थियौँ । बाँकी जीवन एक वानप्रास्थीले जस्तै लोककल्याणको क्षेत्रमा संलग्न रहेर शान्त सरिता झैँ बगिरहने सल्लाह ग¥यौँ । हृदयको कुनामा केही अतृप्त रहरहरू बाँकी रहेकै भए पनि तिनलाई समन गरेका थियौँ । अचानक चोला बदलियो । लोक नै छोडेर हिड्न लागेको बेला कहाँ कहाँ मात्रै जान्छु भन्ने ! छोरो युरोप छ, छोरी अमेरिका छे । भाइ–बहिनी, मावली त्यसैगरी छरिएका छन् । कहाँ कहाँ मात्रै चहार्नु ? तर जन्मघरको मोह भने मार्न सकिन । हृदयमा रहेको यो सुषुप्त चाहना एका एक जाग्रत भएर आयो । अनि थुम्काघर जाने इच्छा प्रकट गरेँ । मेरो जन्मघर ।’
‘कहिले जानुभयो नि थुम्काघर?’
‘बाह्र दिनसम्मका कर्म सबै किरिञ्चेमै सम्पन्न भए । प्रेत योनीबाट मेरो मुक्तिको कामना गर्दै गरुड पूराण वाचन भयो घरमा । सैते फूल्नुभएका ऋषिसदृश ससुराबाको अनुहारमा जतिबेला पनि विशादको कालो छायाँ घुमिरहन्थ्यो । भेटघाटमा आएका मान्छेले सञ्चो बिसञ्चो सोद्धा ‘ खै, यस्तो उल्टो देख्न प¥यो’ भन्नु हुन्थ्यो । उदास आँखामा आँसुको पातलो पर्दा भरिन्थ्यो । जब मेरो चर्चा हुन्थ्यो सबै टिठ्याउँथे । कृष्णजीका आँखा जतिबेला पनि वर्षिन लागेको बादल झैँ डबडबाएका हुन्थे । यो देखेर हृदय चह¥याउँथ्यो । तर मेरा सुस्केरा उहाँसम्म नपुग्दै बिलाएर जान्थे । प्रेत योनी भोगेर एक्लै भौतारिन्थेँ म । किरिञ्चेमा बिताएका पुराना दिनहरू ताजा भएर आउँथे । तिनमै हराउथेँ । हाम्रो पहिलो सन्तान दीपालाई यही घरमा जन्म दिएको हुँ मैले । दसैँको पूर्णिमाको दिन जन्मेकी हो छोरी । पूर्णिमाको जून जस्तै गोलो अनुहारकी उज्याली थिई । पनातिनीको मुख देख्न पाइयो भनेर हजुरआमा कम्ती खुसी हुनु भएको थिएन । ‘खाने मुख त उसकै बाउको टाँसेर आएकी छ’ भनेर हजुरआमाले नातितिर हेरेर हाँस्दा कृष्णजी लजाउँदै लुसुक्क घरभित्र पसेको अहिल्यै जस्तो लाग्छ ।,
परिवारमा म भन्दा ज्येष्ठ सदस्यहरू रहनु भएकोले शुद्धिकर्म बाहौँ दिनमा नै सकियो । म दुलही भएर भित्रिदा जुन आँगनमा डोली अड्याएर आरति भएको थियो त्यही आँगनमा मेरो मानव चोलाको बिदाइका लागि हवन लगायतका कर्महरू सम्पन्न भए । यससँगै किरिञ्चेको मेरो भोग पनि सकियो । हिडने बेला भयो । पाहुनाहरू लाखापाखा नलाग्दै यिनै दूतहरुको साथ लागेर चिहानपाटा निस्केँ । मैले पढेको सर्वोदय हाइस्कुल पहिलेभन्दा अझ भव्य देखिएको थियो । स्कुलमा बिताएका क्षणहरू संझिएर मन पुलकित भयो । तर जता हे¥यो उतै नौलो लाग्ने भएछ स्कुल । आँखाले हामी पढेताकाका अग्ला मसलाका रूख खोजे तर ती थिएनन् । भवनहरू प्रशस्त थिए तर तिनमा जीवनको उमङ्ग भरिए जस्तो लाग्दैनथ्यो । काउरोको चौतारोसँगै विष्णुभक्तको शालिक एक्लै टोलाइरहेको थियो । मलाइ भने कतिबेला घर पुगौँ जस्तो भइरहेको थियो । त्यही भएर होला धेरैबेर त्यहाँ बस्न मन लागेन’ । बोल्दा बोल्दै दिदीको गला भरिएर आयो । धेरै बेरसम्म बोल्नु भएन । स्वाभाविक अवस्थामा फर्किएपछि बल्ल सुस्तरी बोल्न थाल्नु भो दिदीे–,
‘संसारको सबैभन्दा प्रिय ठाउँ ‘थुम्काघर’ नै हो भाइ मेरो लागि । जहिले त्यहाँबाट अन्मिएँ त्यसपछि त्यो ठाउँको माया झन् खिल झैँ गढेर बस्यो मुटुमा । म जन्मे हुर्केको घर खरले छाएको, बङ्गाले थियो । कमेरो र रातो माटोले पोतेको । खोटो लगाएर चम्काएका आँखीझ्यालहरू मान्छेका आँखा जस्तै चम्किला देखिन्थे । पछि पुरानो घर भत्काएर त्यही ठाउँमा नयाँ घर बन्यो । अल्लि आधुनिक खालको । अलग्गै भान्सा कोठा भएको, सुत्ने कोठाहरू पनि फराकिला थिए नयाँ घरमा । तर घर भन्ने बित्तिकै मनमा भने सधैं उही पुरानै घरको संझना आइरह्यो । सपनामा पनि उही घर देखिने । म उही पुरानै घरको मोहमा हराएँ... ।
म सानी छँदा बा गाउँशहरमा पढाउनुहुन्थ्यो । प्रायः शुक्रबार बेलुका बा घर आउनुहुन्थ्यो र आइतबार बिहान फर्किनु हुन्थ्यो । बा आएको बेला हाम्रो खुसीले आकाश छुन्थ्यो । यसको जडी थियो बाको काँधमा झुण्डिएर आउने रेडियो । चिनीमा कमिला झुम्मिए जसरी झुम्मिन्थ्यौँ हामी रेडियो वरिपरि । वासुदेव मुनालको बाल कार्यक्रम अनि जेटीए र बूढी आँबैको गन्थन सुनिरहुँ जस्तो लाग्थ्यो । गन्थन सकिए पछि पनि दीपक त रेडियोकी बूढीआँबैको स्वर नक्कल गरेर ‘हरि शरणम् !’ भन्दै यता र उता गर्दथ्यो । जे पनि टपक्कै टिपिहाल्ने चरा जस्तो छरितो र चलाख थियो दीपक । यस बाहेक कृष्णा ताम्राकारको समाचार भन्ने शैली र आवाजले साह्रै छुन्थ्यो मलाई । म पनि यसरी नै बोल्न पाए ! भन्ने इच्छाले तरङ्गित बनाउँथ्यो । रेडियोमा त म कहिल्यै बोलिन तर सार्वजनिक कार्यक्रमहरुमा उदघोषण भने प्रशस्त गरेँ । मेरो यो सिपको बिउ त्यही आवाजले रोपिदिएको हो । हृदयमा गीत, सङ्गीत र नाटकको रस रेडियो नेपालले भरेको हो ।
बा घरमा आएको बेलामा छिमेकका बा, दाजुहरूको जमघट हुन्थ्यो । रेडियोबाट आउने समाचार सुनेपछि त्यसकै सेरोफेरोमा बातमार्नु हुन्थ्यो । देश विदेशका कुरा हुन्थे । खेतीपाती बस्तुभाउदेखि राजनीतिसम्मका कुरा हुन्थे । कहिले सिलोक, कविता पाठ हुन्थ्यो । बाको स्वर अचम्म मीठो थियो । सुनिरहुँ जस्तो । लय हालेर कविता भन्ने बाको त्यो शैली हृदयमा अमिट भएर बसेको छ । उहाँका कतिपय साथीभाइसँग कवितामै चिठी आदान प्रदान हुन्थ्यो । उहाँका एकजना साथी पाल्पाका पद्मनाभ शर्माले मलाई पनि कवितामा चिठी लेखेर पठाउनु भएको थियो । चिठी लामै थियो । अरू त बिर्सिइसकेँ तर यी चार पङ्ति भने संझिरहेको छु –
जन्मेकी छ्यौ तिमी कुमुदिनी तीर्थको पोखरीमा
हुर्केकी छ्यौ तिमी लहलही पद्मको पाखुरीमा
लस्केकी छ्यौ चतुर कविका काव्यको माधुरीमा
मस्केकीछ्यौ विनय लतिका कृष्णका बाँसुरीमा ।।
यो कवितामा कविले मेरा बा र आमाको नाम लक्षणा भेदमा उल्लेख गर्नु भएको छ । अनि अर्को नाम पनि छ ‘कृष्ण’ । कविले कथे जस्तै भयो । मैले ‘कृष्ण’ कै बाँसुरीमा लठ्ठिएर जीवन जीउन पाएँ । तर अचानक बीच बाटोमा यसरी छोडेर हिडनुपर्दा साह्रै चित्त कुँडिएको छ भाइ । सायद कुनै पल छैन उहाँलाई बिर्सिएको । जतिबेला पनि सियोको टुप्पोले घोचे झैँ घोचिरहन्छ ।’ दिदी निकैबेर बोल्न सक्नु भएन । हातेरुमाल जस्तो कपडाको सानो टुक्रोले पालैपालो दुवै आँखा पुछ्नु भयो । साथमा बोकेको कमण्डलु जस्तो सानो जलपात्रबाट पानी पिउनु भयो । अनि कुराको सिलसिलालाई निरन्तरता दिनुभयो–
‘हामी दुवैजना अध्यात्ममा रमाएका मान्छे । दैव हुन्छ र त्यो दयालु हुन्छ भन्ने विश्वासमा सधैँ देव प्रार्थनामा रमायौँ हामी । अनेक पन्थहरुको दर्शनबारे अध्ययन गर्यौँ । सत्य साईको दर्शन पछ्याएर पुट्टपर्ती पुगियो । ॐ शान्तिको मुरली सुनेर माउण्टआबु गइयो । पतञ्जली योगपीठ हरिद्वार हेरियो । सबै दर्शनको सार ‘सेवा’ नै रहेछ । बोक्रो मात्रै भिन्दै । मूलतः हृदयको कल्मश पखाल, शान्त जीवन बाँच भन्छन् सबैले । मात्रै कल्मश पखाल्न र शान्ति पाउन सुझाएका उपाय भने फरक फरक छन् । अध्यात्म अभ्यासको क्रममा ओशो दर्शनबाट अल्लि बढी नै प्रभावित भयौँ हामी । जीवनलाई शान्त र सुखमय बनाउने ओशोसूत्रहरू अतीव व्यावहारिक र प्रभावकारी लागे । जीवनलाई शान्तिमय बनाउ, प्रेममय बनाउ र उत्सवमय बनाएर बाँच भन्ने ओशो दर्शनबाट निकै प्रभावित भयौँ दुवैजना । सबैभन्दा सुन्दर पक्ष ध्यान योग लाग्यो । ध्यानको गहिरो सागरमा घण्टौँसम्म गोता मार्न सिकेँ । एकाग्र भएर कुनै कुरामा समर्पित रहनुलाई ध्यान भनेर बुझेको मैले यसको व्यापकता त्यो भन्दा भिन्दै रहेको पाएँ । मनमा कुनै कामना नराखी, कुनै विचारको पछाडि नकँुदी सिर्फ आफ्नै श्वासको ओहोर दोहोर प्रक्रियालाई द्रष्टा भावले हेर्दै जाने हो भने त्यस्तो क्षणमा पुगिन्छ जतिबेला निर्विचार र निर्विकार साक्षी भावलाई समात्न सकिन्छ । अनि बल्ल शुरु हुँदोरहेछ ध्यानको यात्रा । जब ध्यान यात्रा प्रारम्भ हुन्छ हाम्रो हृदयमा श्रेष्ठ कामनाहरू अङ्कुरित हुन थाल्छन् । ध्यानमा निमग्न हुँदै जादा ती अङ्कुरहरू वृक्षमा परिणत हुन्छन् । आनन्दको असीम छहारी प्राप्त हुन्छ । बाहिर खोज्दै हिडेको आनन्दको मुहान आफूभित्रै भेटिन्छ । अध्यात्म जगतसँगको नाता जति गहिरिदै गयो हृदयतलमा उति दया र करुणा भरिएको महसुस हुँदो रहेछ । मैले यही अनुभूत गरेँ । बूढाबूढी दुवैजनाले सन्यास उत्सवमा ओशो धामका स्वामीबाट दीक्षा ग्रहण ग¥यौँ । उत्सवमा स्वामीबाट शक्ति ग्रहण गर्ने बेलामा मानिसहरू हर्षविभोर भएर चिच्याउँछन्,रुन्छन् तर मलाई भने त्यस्तो केही भएन । गुरुले भृकुटीमा बूढीऔँलाले विस्तारै थिचेपछि अपूर्व शक्ति सञ्चार भएको महसुस भयो । बस् त्यत्ति हो । हामी दुवैले ओशो मार्ग रोज्यौँ । त्यसमै रमायौँ । तर अध्यात्मको अभ्यास गर्दा वा नगर्दा पनि सांसारिक दुःख, पीडामा परेको जो सुकैलाई देख्दा द्रवित हुन्थ्यौँ । हृदय बिझाउँथ्यो । सकेको सहयोग गथ्र्यौँ । सद्भाव राख्थ्यौँ । मान्छेको के कुरा पशुपंक्षी, कीट पतङ्ग कसैप्रति निर्दयी हुन सकिएन । तर हामीलाई नै दैवले यसरी छुटाइदियो । छुट्टिने बेलामा एक अर्काको अनुहार समेत हेर्न पाएनौँ हामीले ।’
दिदी भित्रैदेखि भक्कानिएर रुनु भो । आँखाबाट बरररर्र झरेका आँसुका ढिका दुवै गालाबाट गुडुल्किदै भुईंमा झरेर बिलाए । मलाई के गरुँ कसो गरुँ भयो । एक मन त दिदी भैगो नरुनुहोस् भनौँ जस्तो लाग्यो तर अर्को मनले भन्यो, ‘पीडाले भतभति पोलेको मनको घाउ आँसुले धोएर सफा गर्ने त हो मान्छेले, भो रुन दे !’ मैले नरुनुहोस् भन्न सकिन । दिदी सुकसुकाइञ्जेल एक्लै टोलाएर बसिरहेँ । विस्तारै सम्हालिदै आउनु भयो दिदीे । मेरा आँखा यमदूतहरुमाथि पुगेछन् । दुईजनामध्ये एउटा चाहीँ सुतिरहेको थियो । अर्कोभने पाखुरामा बाँधेको स्फटिकको दाना जस्तै तर मसिनाखालका दानाहरूको माला जपिरहेको थियो । दिदी फेरि थुम्काघरकै संझनामा फर्किनु भयो–
बा लेखपढ गरिरहनुहुन्थ्यो । लेख्ने बेलामा काखमा दुइ तीनवटा सिरानी राखेर टेबुल जस्तो बनाउनु हुन्थ्यो । बाले लेखेका किताब छापिएका थिए । भूगोल–सूत्र भन्ने किताब त म नजन्मिदै छापिएको रहेछ । किताबको अगाडिको पानामा छापा अक्षरमा बाको नाम देख्दा संसारमा हाम्रो बा जत्तिको जान्ने ,सुन्ने कोही छैन भन्ने लाग्थ्यो । एक दिन भूगोल–सूत्र हातमा लिएको बेला ‘तेरो दाजु हो यो’ भन्नु भयो बाले । म भन्दा पहिला जन्मिएको मेरो दाजु भूगोल–सूत्र मलाई अक्षर चिनाउने गुरु पनि हो । पहिलो दिन स्कुल जाँदा ठूलो वर्णमालासँगै यो किताब पनि लिएर गएको थिएँ मैले ।
स्मृतिमा उही पुरानो घर उभिन आइपुग्यो । घरका मझेरी, सिकुवा, भान्सा, भँडार सबै चहारेँ । दलिन र भरनाहरूबाट पुरानो माटोको बास्ना आइरहेको थियो । जीवनको सुगन्ध । हाम्रो परिवारका सबै सन्ततिहरूको व्यक्तित्व निर्माणको गुरुकुल हो यो घर, सरस्वतीको मन्दिर । बा–आमा हाम्रो गुरु–गुरुआमा । तर अहिले हाम्रो घरमा हामी बस्दैनौँ । अरु नै कोही बस्छन् । आँगनमा बाका पैतालाका डोब छैनन् । जाँतो चलाउँदा आमाका हातका चुरा बज्दैनन् । संझिदैमा मन कोक्याएर आयो । बारीमा गएँ । बाले रोपेका कागति, बेलौंती, अमला, केराका बोटलाई म्वाईं खाएँ । मैले रोपेको बाह्रमासे कागतीको बोटमा लटरम्म चिचिला लागेका रहेछन् । नाकलाई नजिकै लगेर चिचिलाको बास्ना सुँघ्न खोजेँ । बास्ना त खासै आएन तर नाकको टुप्पोमा भने काँडाले घोच्यो । आफ्नो बुद्धि संझेर आफैसँग हाँसो उठ्यो । मोटरबाटो घर नजिकैबाट पारी गएको रहेछ । फेरि झलक्क बालाई संझिएँ । बित्नुभन्दा दुई वर्ष अगाडि होला ‘अम्बोटेसम्म मोटर जान्छ नि बा अहिले’ भन्दा घर जान सकिने भयो भनेर बा कति खुसी हुनुभएको थियो । तर अनुकुल मिलेन । यो घरमा फर्केर आउने तृष्णा जीवितै राखेर जानुभयो बा ।
एउटा यमदूत बगैंचामै आयो । मुखले त केही भनेन तर उसले हातको सानले गरेको सङ्केत अनुसार अब यो ठाउँ छोडनुपर्ने बेला भएको थियो । मैले खोल्सीको कुवामा जाने इच्छा दर्शाएँ र जाने बाटोतिर इशारा गरेँ । उत्तिबेलै खोल्सीमा पु¥यए तिनले । सानो छँदा लुगा धुने गरेको छपनी अलिकति खिइएछ । मेरो बालसखा सुरेश र मैले यही छपनीमा लुगा पछार्दै बाह्रखरी घोकेको संझनाले मन भरियो । सानैदेखि निकै मेधावी थियो सुरेशमान । हाम्रो कक्षाको फस्र्टब्वाई थियो ऊ । नजिक रहेको राहुले पँधेरो गएँ । मसिनो धारो कलकल बगिरहेको थियो । ठूलो होस वा सानो पानीको अविरल गतिबाट म निकै प्रेरित हुन्छु । जमेको ठूलो तलाउ भन्दा किन किन बगेको सानो धारो मनपर्छ मलाई । तर अब फेरि कहिल्यै यो धारोमा फर्किएर आउन पाउँदिन भन्ने संझेर मन अमिलो भयो ।
मैले जाउँ भन्ने इशारा गरेपछि दुवै दूतले एक–एक वटा पाखुरामा हलुकासँग समातेर उडाउन थाले भूरुरु । म जता जान चाहन्थेँ उतै उडथे उनीहरू । चारघरे, पन्थे, बरबोट, अर्चल्यानीको फन्को मारेर धारापानीबाट उपल्ला गाउँको आकास चहारें । त्यस्तो हराभरा रहने खेतबारी जताततै बाँझो रहेछन् । मोटर चल्ने बाटो दैलो दैलोमा पु¥याउन भत्काएका पखेराले पुरेका खेतबारी कांश र खरले छपक्क छोपेको रहेछ । विकासको उल्टो गतिमा च्याम्पटी झैँ घुमेको दुराडाँडा देख्दा नरमाइलो लाग्यो । तर अब मलाई लागेको नरमाइलोको के अर्थ ! आफ्नो मनलाई आफैले संझाएँ । उपल्लागाउँमा हरिप्रसादको घरको ठूलो आँगन देखियो । खचाखच भरिएको आँगनमा कसरी मैले सत्यनारायणको कथा वाचन गरेको थिएँ झलक्क संझिएँ । म नौ कक्षामा पढथेँ त्यतिबेला । हरिप्रसादको घरमा सत्यनारायणको पूजा लगाउने कार्यक्रम तय भएछ । बासँग सल्लाह हुँदा ‘पूजा पुरोहितलाई गराउन लगाउनु, कथा रश्मिले भन्छे’ भन्नु भएछ । बाले नेपाली भाषामा लेखेको सत्यनारायणको कथा पढेको त थिएँ । तर त्यतिका मान्छे सामु कथा भन्नुपर्ने कुरा सुनेर म अल्लि हडबडाएँ । बाले ढाडस दिनुभयो । पिँढीमा बनाइएको भव्य चौकामा बसेर कथा वाचन गरेँ मैले । सबैले आहा ! भन्दै तारिफ गर्नुभयो । स्याबासी दिनुभयो । यो घटनाले मेरो आत्मविश्वासको घडा भरिदियो । म कमजोर छैन, मैले आटेँ भने जे परिआउँछ त्यही गर्न सक्छु भन्ने हिम्मतको बिरुवा यही आँगनबाट झ्याङिगएको हो म भित्र ।
दूतहरू ठाँटीको स्कुलमाथि थिए । मैले ओर्लिन चाहेको सङ्केत गरेँ । स्कुलको लामो आँगनमा टेक्ने बित्तिकै खुसीले चिच्याउन मन लाग्यो । मेरो जीवनको पहिलो औपचारिक पाठशाला हो यो । काठका होचा बेन्चमा बसेर हल्लिइ हल्लिइ कपुरी क, भित्र बाटुलो ख भनेर पढथ्यौं हामीहरू । स्कुल वरिपरि बस्तु चराउन आएका पाका मान्छेहरू स्कुलको ढोकामा उभिएर हामी चिरबिराएको हेरेर दङ्ग पर्थे । त्यसरी ढोकामा उभिन कोही आयो कि हामी झन् मच्चिइ मच्चिइ पढिदिन्थ्यौँ । चकचक गर्दा वा पाठ बुझाउन नसक्दा जगन्नाथ पण्डितबाले कन्सिरीका रौँ तानेका ती दिन कति रोमाञ्चक थिए ! संझनाको चर्खा घुम्यो । त्यसैमा बत्तिदै ठाँटीघर गएँ । खेलछुट्टीमा लुकामारी खेलेको त्यो रमाइलो ठाँटीघर धराप भईसकेछ । सबैले दुत्कारेको दुःखी जस्तो ।
मनाङ भोटबाट मानेचौका ओहोर दोहोर गर्ने व्यापारिक मार्गमा पर्ने भएकोले रात बिरात दुराडाँडामा आइपुग्ने व्यापारी र बटुवालाई बास बस्न सहज होस् भनेर झण्डै दुइ सय वर्ष अघि शिव शर्मा जीजुले बनाइदिएका हुन् यो ठाँटी । टिस्टादेखि काँगडा जाने मूलबाटो मानेचौका हुँदै जाने भएकोले भोट–मानेचौका बाटो पनि निकै चल्तिको बाटो थियो त्यो बेला । भोटेहरू मानेचौकामा भन्दा दुराडाँडामा रात बिताउन रुचाउने भएकोले आवत जावतको क्रममा कम्तीमा तीन चार दिनसम्म यहीँ बसेर व्यापार गर्थे उनीहरू । घोडा, खच्चरका ताँती यही बाटो ओहोर दोहोर गर्थे । मैले सुनेको कुरा हो यो । कति चल्ति फिर्ति हुँदो हो त्यतिबेला यो ठाँटीको ! तर अहिले परदेशिएका सन्तानको बाटो हेर्दै पिँढी कुरेर बसेका बूढाबूढीको जस्तो साह्रै टिठ लाग्दो अवस्थामा रहेछ ठाँटी । ढल्ने दिन पर्खेर बसेको ।’ दिदीले नरमाइलो मान्नु भो ।
साँझ छिप्पइसकेको थियो । ठूला ठूला बत्ती जोडिएको हुनाले घाट भने उज्यालो थियो । पवित्र वागमती माथि हामी मान्छे भन्नेहरूले गरेको चरम अन्यायको कारण बेला बेलामा नाकै फोर्ला जस्तो हरक चल्थ्यो । यमदूतहरू अनुहार खुम्च्याउँथे । नाक थुन्थे । रक्सीले चुर भएको एकजना अधवैंशे ढुन्मुनिदै आयो र दूतहरू बसिरहेकै पेटिमा लम्पसार प¥यो । ‘यी यस्ताको पालो आउँदैन, त्यस्तालाई लिएर जान प¥या छ, हाम्रा बूढाको नियम पनि के हो के हो ?’ अल्लारे दूतले चित्त दुखायो । पाको चाहीँले दिदीतिर पुलुक्क हे¥यो मात्र केही बोलेन । आफूहरू बसिरहेको पेटि जँड्याहाले कब्जा जमाएपछि उनीहरू दश पन्ध्र हातजति दक्षिण सरेर बसे । हामी दिदी–भाइ फेरि कुरा गर्न थाल्यौँ –
‘जन्मभूमिसँग जोडिएका संझनाको सागर छ भाइ यो हृदयमा । यहीँको आँगनमा ताते ताते गर्दै हिडन सिकियो, पापा, नाना भनेर बोल्न सिकियो । कुँदन उफ्रिन यहीँ जानियो । ज्ञानी र झेलीको भेद देखियो, भोगियो । ठूलो कुरा चाहिदो रहेनछ सिक्न । केटाकेटीमा चराका बचरा सुमसुम्याउने मान्छे कहिल्यै निर्दयी हुन सक्दो रहेनछ । अनि तिनलाई निमोठने मान्छेको हृदयमा दया भन्ने चिज कहिल्यै पलाउँदो रहेनछ । केटाकेटीमा गुच्चा खेल्दाको झेली जीवनभर झेली खेलमै रमाउँदो रहेछ अनि ज्ञानी चाहीँ कसैलाई घच्च नलगाई आफ्नै बाटोमा लुरुलुरु हिडदो रहेछ । बालमन र किशोर वयले आर्जन गरेका यही ज्ञानको गोरेटोमा हिडने रहेछ जीवन । पछि त त्यही गोरेटोलाई अल्लि फराकिलो, अल्लि सजिलो बनाउने मात्रै रहेछ ।’ दिदीका कुरा ज्ञानी महापुरुषका जस्ता घतिला थिए । मैले सहमतिमा टाउको हल्लाएँ । मुखले बोल्नु पर्ने केही थिएन बोलिन ।
दिदी त्यहाँबाट पाणिनि जानुभएछ । आफूले पढाएको स्कुल । किशोर वयमा आफ्नै पिताको पछिपछि लागेर पढाउन गएका दिनहरू संझिनु भयो दिदीले –
‘पाणिनिसँग मेरो नाता भावनाको हैन हृदयको छ भाइ । यो स्कूल मेरो जीवन यात्राको कोशे ढुङ्गा हो । एसएलसी पास गरेपछि बाको साथ लागेर काठमाडौ गएँ । होस्टेलमा बसेर पढन पाइने अवसरका कारण नर्सिङमा भर्ना गराएर घर फर्किनु भयो बा । तर यो विषयसँग रमाउन सकिन । अस्पतालको बेडमा छटपटाइरहेका बिरामीको अर्तनादले द्रवित हुन्थेँ । नर्सले थमाइदिएको पूर्जा बोकेर औषधी किन्न रित्तो खल्ती पसल पसल चहारेका दुःखी मान्छेहरू देख्दा चित्त कुँडिन्थ्यो । मेरो स्वभाव सुहाउँदो पेशा हैन यो भन्ने लाग्न थाल्यो । तर मसँग अरू विकल्प थिएन । जेनतेन पढदै गएँ । पढाइकै सिलिसलामा एक दिन मुर्दाघरमा लगियो हामीलाई । सात आठवटा बेवारिस शव थिए त्यहाँ । तीन चार घण्टाअघि सडक दूर्घटनामा परेर ज्यान गुमाएको पच्चीस तीस वर्षे लक्का जवानको आलो शव छेउ पुगेछु । जीवन हेर्ने धोको नपुगे झैँ ट्वाल्ल थिए उसका आँखा । मन झसक्क भयो । त्यो दृश्यले बिथोलिएँ म । मन बिझाइरह्यो । यो पढाइ र पेशाले म खुसी हुन सक्दिन भन्ने आत्मवोध भएपछि करिब एक वर्ष पढिसकेको नर्सिङ छोडेर कसैलाई नसोधी घर फर्किएँ म ।
बा पाणिनिमा हेड मास्टर हुनुहुन्थ्यो । मैले पनि त्यहीँ पढाउन थालेँ । स्कूल जाँदा आउँदा हामी बाबु छोरी प्रायः सँगै हुन्थ्यौं । बाको पछि पछि हिँडथें । विषयवस्तुलाई गम्भिरतासाथ बुझ्नसक्ने भईसकेको थिएँ । अनुभवले खारिएका बिचारहरू सूत्रबद्ध रुपमा बोल्नुहुन्थ्यो बा । आदेश कम अनि उपदेश धेरै हुन्थे । बाले देखाएको मार्गमा खुरुखुरु हिडिरहेँ म । पाणिनिले मलाई बालबालिकाको मनोभाव छाम्न सिकायो, तिनको प्रतिभा चिन्न सिकायो । दुःख दर्दसँग साक्षात्कार गरायो । सबै भन्दा बढी व्यक्तिको जीवन निजी भए पनि त्यसको उपयोग भने सामाजिक हुनुपर्छ भन्ने आदर्श सिकायो । यसैलाई पछ्याएर हिडेँ म । फलतः पाणिनिबाट शुरु गरेको मास्टरी वृत्तिलाई जीवनपर्यन्त अङ्गालिरहेँ । हृदयले रोजेको पेशा हुनाले त्यसमै रमाएँ । विद्याको सागरमा नाउ चढाएर हजारौँलाई वल्लो किनारबाट पल्लो किनार पु¥याएँ । जसले नाउ चढन आनाकानी गरे तिनलाई मनाएर चढाएँ । नाउ चढने रहर भएर पनि सामथ्र्य नभएकालाई सकेको साथ दिएँ । सहयोग गरेँ । सबैकी गुरुआमा बन्ने सौभाग्य पाएँ । कतिपयले त ‘आमा’ भनेर सम्बोधन गर्छन् । आमाकै रूपमा श्रद्धा गर्छन् । छाति गर्वले फुल्छ । मन तृप्त हुन्छ । मान्छेले अन्तिममा साथमा लैजाने भनेको आर्जित तृप्ति त रहेछ । यमलोकको यात्रामा यही तृप्तिको पोको च्यापेर हिडेको छु भाइ ।’ दिदीको अनुहार उज्यालो आभाले भरियो ।
‘तर...’
‘तर किन दिदी ?’
‘केही सपना भने अधुरै छोडेर हिड्नु प¥यो
‘कस्ता सपना दिदी ?’
‘सपना भन्दा पनि केही योजना थिए । संस्कृत र संस्कृतिको उन्नयनको लागि पूर्वजहरूले खन्याएको परिरश्रमको प्रतिमूर्ति पाणिनि अहिले अधमरो भएको छ । पूर्वजहरूका सपना खण्डित हुने हुन् कि भन्ने भयले गाँजेको छ सबैलाई । हिजो अग्रज बाहरूले बालेको ज्ञानको दीयोमा आमाहरूले तेल थपेर जगाएका हुन् । रित्तै पोल्टो हुँदा पनि आमाहरूले एकसय आठ रुपैयाँ यो मन्दिरमा समर्पण गरेका हुन् । ती सबै आमाहरूलाई एकसय आठ आमा भनेर संझिन्छौं हामी । पाणिनिको पुनरोद्धारको लागि हामीले एक हजार आठ आमाको खाका कोरेका थियौँ । तर दियोमा तेल नथप्दै हिडनु प¥यो । यो सपनाले साह्रै बिझाएको छ । अरु धेरै सामाजिक संस्थासँग पनि जोडिएको थिएँ । मातृभूमि र मातृशक्तिको उन्नतिको लागि सबैसँग हातेमालो गर्दा गर्दै अचानक चङ्गा जस्तै चुँडिएँ म ।’ हातमा समातिरहेको बाँसको मसिनो छेस्को मिल्काएर लामो सास फेर्नुभो दिदीले ।
‘...यमलोकको यात्रामा छँदा जीवनमा आपूmले हिडेको गोरेटो नियालिरहेको छु । एक पटक ज्योतिषले ‘नानी भाग्यमानी छौ । आफ्ना सबैलाई हाँसी खुसी देख्दा देख्दै जान पाउँछ्यौ’ भनेका थिए । खास कुरो चाहीँ तिम्रो आयु छोटो छ भनेका रहेछन् । अलिअलि अडकल त उतिबेलै काटेको भए पनि यथार्थ चाहीँ अहिले बुझिरहेको छु । जे भयो, भइसक्यो । अब कति दिन खिन्न भएर बस्ने । आफैँले आफूलाई भाग्यमानी ठानेको छु मैले त । ऋषि–ऋषिपत्नी तुल्य पितामाताको वात्सल्य पाएँ । देवताजस्तो जीवन साथी पाएँ । जीवनका प्रत्येक क्षणमा उहाँको साथ, सहयोग र आँटको कारण सार्थक जीवन जिउन सकेँ । आज्ञाकारी र सुयोग्य सन्तान पाएँ । मायालु घर–परिवार, माइति–मावली पाएँ । सबैको माया र सद्भाव पाएँ । तसर्थ जीवनसँग कुनै गुनासो छैन ।’ दिदी म तिर हेरेर मुसुक्क हाँस्नु भो ।
* * *
मोबाइलमा घण्टि बज्यो । अनिरुद्धको सालोको फोन रहेछ ।
‘म आइहालेँ रञ्जित’ फोन खल्तीमा राखेँ ।
‘दिदी, पापी कोरोनाको कारण तपाईंलाई अचानक र असमययै गुमायौं हामीले । महामारीका कारण पूरै शहरमा मुर्दाशान्ति छाएको थियो । त्यसमै हराएका थियौं हामी । तपाईं अस्पतालमा मृत्युसँग जुधिरहँदा हामी छौँ है दिदी भनेर ढाढस दिनसमेत पाइएन । श्रद्धाको एक थुँगो पूmल चढाएर अन्तिम बिदाइ गर्न पनि पाइएन । ठूलो पछुतो छ मनमा । सबैको हृदय विदीर्ण छ । दुःखेको छ । कालको क्रुरताको अगाडि हामी सबै निरिह भएका थियौं । दिदीको भौतिक शरीर नरहे पनि आफ्नो समयको एक आदर्श नारी अगुवाको रुपमा हाम्रो हृदयमा हुनुहुन्छ तपाईं । तपाईंका योगदान र आदर्शले दिदीलाई जीवन्त राखेका छन् । दर्जनौँ संघ संस्थामा आबद्ध रहेर गरेका सुकर्महरूले तपाईंलाई अमर बनाएका छन् । भावी पुस्तालाई प्रेरित गरेका छन् । हजुरसँग अनयास यो रूपमा भेट भयो । यो अलौकिक भेट मेरो निम्ति चिरस्मरणीय रहनेछ ।’ दिदीले सुनिरहनु भयो । केही बोल्नु भएन । मात्रै मुस्कुराउनु भयो ।
मोबाइलमा फेरि घण्टी बज्यो ।
’दिदी म जाउँ है, दिदीसँग बिदा मागेँ । उहाँको आत्माको चिरशान्ति र बैकुण्ठ यात्राको सहजताको कामना गरेँ ।’ दिदीले नरमाइलो मान्नु भो । केही बोल्नु भएन । बोल्न सक्नु भएन । बिदाइको सङ्केत स्वरूप हातमात्रै उठाउनु भयो । दिदीको खिरिलो हातको सानो हत्केलो दायाँ बायाँ हल्लिई रह्यो ।
दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानबाट २०७९ जेठमा प्रकाशित रश्मि स्मृति ग्रन्थमा प्रकाशित
Tuesday, November 1, 2022
पुनर्जागरणको प्रतीक्षामा रहेको दुराडाँडा
१. सारांश
जागरणको
शाब्दिक अर्थ मानिसमा हुनुपर्ने आफ्नो कर्तव्य तथा अधिकारको बोध, उदवोधन, जागृति, सचेतता
हो भने पुनर्जागरण शब्दले साहित्य, संस्कृति, कला कौशल आदिको पुनरुत्थान
वा त्यस्तो समयलाई जनाउँछ । संसारका विकसित भनिने वा पछाडि परेका मानिने देश वा
समाजको जीवनमा यही जागरण र पुनर्जागरणको चक्र घुमिरहेको हुन्छ । जहाँ यो चक्रको
घुमाइ तीव्र हुन्छ त्यो समाज बढी गतिशील र उन्नत हुन्छ भने सुस्त भएको ठाउँको समाज
स्वभावतः निकै पछाडि छोडिएको हुन्छ । यो हामी सबैले देखे, भोगेको विषय हो ।
दुराडाँडाले
पनि यो चक्र भोग्दै आएको छ । कहिले जागरणका मूल फुटेका छन्, कहिले छिपछिपेमै हराएका छन् । समाज कहिले लामो निद्रामा
परेझैँ सुस्ताएको छ कहिले 'अब त भएन' भन्दै
जुर्मुराएर उठेको छ ।
जागरण
र पुनर्जागरणको यो चक्रलाई कालखण्डमा विभाजन गरेर हेर्दा दुराडाँडामा जागरणको
पहिलो भुल्को आजभन्दा करिब पाँच शताब्दीअघि फुटेको देखिन्छ । जतिबेला यहाँका
पुर्खाले लोकमतमा आधारित शासन प्रणाली स्थापना गर्न मौजुदा राजवंशको विकल्प खोजेका
थिए । समृद्ध राज्य निर्माणको लागि अदम्य साहस देखाएका थिए । अतुलनीय योगदान गरेका
थिए । यो सामान्य सत्ता परिवर्तन मात्र थिएन, वंशसमेतको परिवर्तन थियो । हाम्रा पुर्खाको सोच र बलमा
स्थापित राजवंश लमजुङ राज्यमा झण्डै तीनसय वर्षसम्म अकण्टक चल्यो र वि.सं. १८३९ मा
राज्यनै एकीकृत नेपालमा विलय भयो।
लमजुङ
राज्यको स्वतन्त्र अस्तित्व समाप्त भएपछि यो डाँडो सुस्तायो। निदायो। सम्भवतः
पराजयको आत्मग्लानिले थलियो । यहाँ अर्को जागरण अर्थात पुनर्जागरणको बिहान उदाउन
झण्डै एकसय तीस वर्ष लाग्यो । वि.सं. १९७० वरपरमात्र शैक्षिक तथा सांस्कृतिक
जागरणको दोस्रो झिल्को देखापर्यो । यो झिल्को ज्योतिपूञ्ज भएर फैलियो र
वि.सं.२०१५ सालसम्म बडो तेजोमय भएर झल्झलाईरह्यो । शिक्षा, सामाजिक सुधार र राजनीति तीनवटै क्षेत्रमा चेतनाका अपार
लहरहरू सृजना भए । परम्परागत गीति एवम् नाट्य परम्परा थप समृद्ध हुनुको साथै
नितान्त नवीन लोकभाका ‘ठाडोभाका’ जन्मियो । दुराडाँडाको समग्र परिचय र पहिचान स्थापित भएको
मुख्य कालखण्ड यही हो ।
मुलुकमा
निर्दलीय पञ्चायती व्यवस्थाको सूत्रपात भएसँगै मनहरू बाँडिए । भाँडिए । जागरणको
दीयोमा तेल सकिदै गयो । तर वि.सं.२०२५ देखि २०३५ को अवधिमा भने यो दीयोमा केही तेल
थप्ने काम भयो । सनातन धर्मको संरक्षण र संस्कृत वाङ्मयको उन्नयनको लागि स्थानीय
बासिन्दाहरूको मुठी दानबाट गुरुकुल आश्रम र यसका संरचनाहरू उभिए । दुराडाँडाको मान
र शानको प्रतीक बनेका बाह्र सदन प्राइमरी स्कुल र सर्वोदय हाइस्कुलको रजत
महोत्सवका अवसरमा कैयौँ अग्रजका योगदानको स्मरण र कदर गरियो । प्रमुख ऐतिहासिक
पात्र र स्थलहरूको परिचय स्थापित भयो । तिनको पुनरुत्थान भयो । मानिसहरूले गर्वको
वोध गरे ।
मुलुकमा
व्याप्त राजनीतिक असहमति, अस्थिरता र
त्यसबाट उत्पन्न अकर्मण्यताको कारण लामो कालखण्डभर सामाजिक परिवर्तनका मुद्दाहरू
गौण भए । अन्ततः २०४६ सालमा प्रजातन्त्रको नयाँ बिहानी उदायो । राजनीतिक
परिवर्तनको कारण नागरिकहरूमा चौतर्फी उत्साह छायो । तर यो उत्साह लामो समय टिक्न
पाएन । राजनीतिक परिवर्तनको आधा दशकमा नै मुलुक माओवादी सशस्त्र द्वन्द्वको
चपेटामा पर्यो । हामीले पनि यसको तीव्र प्रभाव र तीतो परिणाम भोग्यौं ।
जागरण र उन्नतिका मुद्दाहरू पाखा परे । हुन त द्वन्द्वकालमै र त्यसपछिको गणतन्त्र
कालमा पनि केही न केही काम त भएकै छन् । तिनको आफ्नै महत्व छ । तर ती मौरीले गोलो
लाएझैँ,
चराले गुँड लाएझैँ वा किसानले गोठ बनाएझैँ आफ्नै लय र गतिमा
भएका छन्
। तिनले मान्छेहरूका मनलाई उद्वेलित गर्न सकेका छैनन् । विश्वास उमार्न
सकेका छैनन् । समय चेतनाको लहर सृजना गर्न सकेका छैनन् । कुनै समय वरपरकालाई समेत
जागरणको तातो राप बाँडन कहलिएको यो डाँडो आजकल पानी खन्याएको अगेनो जस्तो चिसो
हुँदै गएको छ । प्रशासनिक र राजनीतिक एकाइका हिसावमा तीनतिर बाँडेर दुराडाँडाको
सग्लो स्वरूपलाई नामेट पारिएको छ । हाम्रो प्रिय नाम हाम्रो जिब्रो र मन बाहेक
अन्यत्रबाट उखेलिएको छ । दुराडाँडा बडो मलिन मुद्रामा पुनर्जागरणको प्रतीक्षामा
बसेको छ । आफूले वात्सल्य खन्याएर हुर्काएका सन्ततिको बाटो हेरेर
बसिरहेको छ । ऐतरेय ब्राह्मणमा उल्लिखित प्रज्ञामन्त्ररूपी श्लोकमा प्रयुक्त “चरैवेति चरैवेति” भन्ने आदर्श मन्त्रलाई आत्मसात गर्दै हाम्रो गौरवमय इतिहास, कला, संस्कृति, शिक्षा, साहित्यको
पुनरुत्थानबाट दुराडाँडाको शान र मानको पुनरोदय एवं समृद्ध समाजको निर्माणमा हामी
सबैले आग्रह, पूर्वाग्रहभन्दा माथि
उठेर इमान्दारीपूर्वक हातेमालो गर्न सक्यौं भने दुराडाँडामा पुनर्जागरणको सुनौलो
बिहान उदाउने निश्चित छ ।
२. विषय प्रवेश
दक्षिणपूर्व
फर्किएको यो सुन्दर घमाइलो डाँडोलाई कहिलेदेखि दुराडाँडा भन्न थालियो ठ्याक्कै
भन्न त सकिदैन, तर यो डाँडामा जब दुरा
जातिको बसोबास सुरु भयो तब यो ‘अनाम’ डाँडोलाई वरपरका छिमेकिले दुराडाँडा भनेर नामकरण गरिदिए ।
यो मेरो अनुमान हो । ऐतिहासिक प्रमाण खोज्दा लमजुङका राजा रिपुमर्दन शाह (राज्यकाल
वि.सं.१७९८–१८०२) को पालामा लमजुङ
राज्यमा कायम गरिएका सत्ताइस मौजामध्ये दुराडाँडा एउटा मौजाकोरूपमा (डा.बमबहादुर
अधिकारी:२०७६) उल्लेख भएको छ । यद्यपि योभन्दा
पुराना लिखतहरूमा पनि दुराडाँडाको नाम परेको हुनसक्छ ।
दुरा
जाति लमजुङ राज्य र यो डाँडामा कहिले आइपुगे भन्नेबारे फरक फरक मत छन् । कोही
विद्वानहरूले उनीहरू चौधौं शताब्दीपूर्व
नै दुराडाँडा आएको (गोकुल दुरा : २०६२)
उल्लेख गरेका छन् भने कोहीले सोह्रौं शताब्दीतिर प्रवेश गरेको (भूवन दुराः२०६२)
उल्लेख गरेका छन् । इतिहास अनुसार सोह्रौं शताब्दीको मध्यमा लमजुङ राज्यमा
घलेराजको अन्त गरी शाह राजवंशको स्थापना भएको हो । यो कार्यमा दुरा जातिका पुर्खा
खजे दुराले समन्वय, नेतृत्व
गरेको तथ्यलाई दृष्टिगत गर्दा सरासर कतैबाट आइपुगेको नवआगन्तुक जातिको मानिसले
चलिरहेको राजवंशको अन्त्य गरी नयाँ राजवंशको स्थापना गर्ने अभियानको नेतृत्व गर्न
सके होलान भन्ने लाग्दैन । तसर्थ दुराहरू चौधौं, पन्ध्रौं शताब्दीतिर नै लमजुङ राज्यमा आइसकेको हुनुपर्छ ।
यसबारे थप अध्ययन आवश्यक छ ।
३. पहिलो जागरणकाल
ठकुरीहरू
राजा भएका छिमेकी राज्यहरूको शासनशैली र रैतीहरूको सुख, शान्ति र समृद्धि देखेका दुराहरूले लमजुङमा पनि शाहवंशीय
राजा ल्याई स्थापना गर्ने योजना बनाए (डा.बमबहादुर अधिकारीः २०७६) । दुरा जातिका
पुखाहरू दधिराम दुरा, माघे दुरा, चामु धिङ्गल, सुकराज क्याप्छा मादी नदीको तिरमा भेला भई सल्लाह गरे । घले
शासकबाट पीडित कुसुमाखर घिमिरे (पुस्तुन, बाहुनडाँडामा रहेको यिनको सालिकमा कुश्माखर उपाध्याय उल्लेख
छ)लाईसमेत आफ्नो सभामा मिसाए (किशोर दुराः२०६२) । यी पाँचजना कास्की नुवाकोटका
राजा कुलमण्डन शाहको दरबारमा गए र उनका माहिला छोरा कालु शाहलाई मागेर ल्याई
लमजुङमा राजा थापे । तुर्लुङकोटमा राजदरबार बन्यो । गढीहरू बने । लामजुङमा घलेराज
र शाहराजको द्वैध शासन चल्यो । बागलुङपानी माथिको सिसिढुङ्गा भन्ने जङ्गलमा
घलेराजका सिपाहीबाट कालु शाहको हत्या भयो । उनीसँगै भारदार नारायण दुरा पनि मारिए
।
पुर्खाहरूले
हार खाएनन । नारायण दुराका छोरा लक्षिमन दुरा आफ्ना पिताको हत्याबाट क्रुद्ध थिए ।
घले राजा मासेर शाह राजा नथापी नछोडने प्रण गरेका थिए यिनले । यही समयमा साहसी, निडर र चतुर खजे दुराले सङ्गठनात्मक शक्तिलाई एकत्रित पारे
। उनकै नेतृत्वमा दधिराम दुरा, माघे
दुरा,
चामु धिङ्गल, सुकराज क्याप्छा र कुसुमाकर घिमिरे (किशोर दुराः२०६२) अर्का
युवराज माग्न भनी पुनः कास्की दरबार गए । कालु शाहको हत्या हुनुमा आफुहरू निर्दोष रहेको प्रमाणित गरी राजाका कान्छा छोरा
यशोब्रह्म शाहलाई लिएर आई रानीवडारमा लुकाइ रखो । घलेहरूलाई सन्धि गर्न भनी बालुवा
बेसीमा बोलाई त्यहीं निर्णायक युद्ध गरी घलेराजलाई पराजित गरे । घलेराजको
पतनपश्चात यशोब्रह्म शाहलाई रानीवडारबाट भाँगुमा ल्याई त्यहीं एक ठूलो ढुङ्गामाथि
राखेर सिन्दूर जात्रा गरियो । वि.सं. १५५० असार १५ गते यशोब्रह्म शाहलाई लमजुङको
राज गद्दीमा राखियो । उनीपछि जेठा छोरा नरहरि शाह लमजुङको राजगद्दीमा बसे । माहिला
छोरा द्रव्य शाह वि.सं. १६१६ मा गोरखाका राजा बने । यशोब्रह्मकै रक्तवंशका
पृथ्वीनारायण शाह नेपाल राष्ट्रका निर्माता बने । कालु शाह र यशोब्रह्म शाहको
सिन्दूर जात्रा गरिएको ‘सिन्दूरे ढुङ्गो’ नेपाल एकीकरणको जगको आधारशिला बन्यो
।
अपयशको
भय या लोकलाजलाई त्यागेको भए खजे दुरा आफै राजा हुन सक्थे । आफ्नो
पिताको हत्याको बदला लिने प्रण गरेका लक्षिमन दुरा वा यो अभियानमा सरिक अरू जो
सुकै अगुवा पनि राजा हुन सक्थे होलान् । तर उनीहरूले त्यसो गरेनन् । लोकमत र
लोकहितको अगाडि राजगद्दीसमेत महत्वहीन ठाने यी पुर्खाहरूले । के असल हो र के खराब
हो भन्ने खुट्याउन सक्ने विवेक भएका यी पुर्खाले तुलनात्मकरूपमा असल शासन व्यवस्था
स्थापना गर्ने कार्यको नेतृत्व गरे । आत्मबोध र युगीन सोच एवम् दृष्टि नहुनेहरूबाट
यो तहको उदात्त सोच, चरित्र र
व्यवहार सम्भव छैन । हाम्रा पुर्खासँग
औपचारिक पढाइ, लेखाइ थिएन । देश–विदेशका घटना, परिघटनामा पहुँच थिएन । तर उनीहरूमा के ठीक हो र के बेठीक
हो भनेर पर्गेल्न सक्ने अद्भूत क्षमता थियो । जस्तोसुकै काम फत्ते गर्नसक्ने
आत्मविश्वास थियो । अरुले औंला ठड्याउन नसक्ने तहको उच्च नैतिकता थियो । यो
इतिहाससिद्ध कुरा हो । यसकै आधारमा विश्लेषण गर्ने हो भने उनीहरूको मन सफा थियो ।
देखाउने र चपाउने दाँत एकै थिए । छुल्याईं, फट्याईं थिएन । यसकै कारण उनीहरूप्रति सर्वसाधारणको भरोसा
थियो । पुखाहरू उदाहरणीय थिए । राजा बन्नेभन्दा बनाउने मान्छे सबै दृष्टिले बलिया
मान्छे हुन् । आफू राजा भएर अस्थिर राज्य भुक्तान गर्नुभन्दा छिमेकी राज्यको
ठकुरी राजपुत्रलाई राजा बनाएर आफू बलियो र समृद्ध राज्यको भारदार, रैती भएर बस्न उनीहरूको मन राजी भयो । तसर्थ असीम नेतृत्व
क्षमताका खजे दुरा र उनका सहकर्मी पञ्च पुर्खाहरू नेपालको इतिहासका विर्सन नहुने
पात्र हुन् ।
दुराडाँडाका
वीर पुर्खाले शाह वंशको स्थापना गरेपछि लमजुङमा पनि लोकमतमा आधारित शासन व्यवस्था
बलियो हुँदै आयो । चौबीसे राज्यमध्येको उम्दा र बलियो राज्यमा दरियो । बाइसे, चौबीसे राजाहरूलाई अधीन गरी एकीकृत नेपाल राज्य निर्माण
गर्ने मनशायले राज्यकालभर एकीकरण अभियानमै संलग्न रहेका पृथ्वीनारायण जस्ता
प्रतापी राजालेसमेत लमजुङ सर गर्न सकेनन् । तर समय सधैं उस्तै रहेन । गोरखा र
लमजुङ राज्यबिच रहदै आएको शत्रुतापूर्ण व्यवहारका कारण जति जति गोरखा बलियो हुँदै
जान्थ्यो उति उति लमजुङ युद्धको तयारी र बन्दोबस्तिमै लागिरहनुपर्ने अवस्था
पर्दथ्यो । यस्तै भयो । निरन्तर युद्ध वा यसको तयारीकै कारण राज्य कमजोर हुँदै गयो
। अन्ततः वि.सं १८३९ कार्तिक १९ गते नेपाल राज्यका सैनिक र लमजुङे सैनिकबिच भएको
निर्णायक युद्धमा लमजुङ पराजित भयो । राजा वीरमर्दन शाह पलायन भई मनाङको बाटो
हुँदै पर्वत राज्यमा पुगे । सरदार भक्ति थापालाई युद्धबन्दीको रूपमा गोरखा दाखिल
गरियो । लमजुङ राज्यको स्वतन्त्र अस्तित्व सधैंको लागि समाप्त भयो । एकीकृत
नेपालरूपी मालामा गमक्क परेको एक थुँगो फूल भएर सजियो लमजुङ । आफ्नो शीरको फूल जुन
मालामा सजियो त्यसकै संरक्षणमा आफूलाई समर्पित गरे लमजुङे सरदार भक्ति थापाले र
राज्य राज्यबिचको शत्रुता भुलेर नेपाली सेनामा संलग्न भए । यो उनको महानताको परिचय
हो । उनकै नेतृत्वमा पश्चिम काँगडासम्म सर भयो । जीवनको उत्तरार्धमा समेत मुलुककै
सेवामा समर्पित भइरहे । वि.सं.१८७२ बैशाख ५ गते मलाउको युद्धमा ७२ वर्षको उमेरमा
उनले वीरगति प्राप्त गरे । शत्रु सेनालेसमेत ‘वीरहरूका वीर’ भनेर सम्मान गर्यो। यी वीर भर्खरै (२०७८ असार १४) मात्र
मुलुकको सत्रौं राष्ट्रिय विभूति घोषित भएका छन् ।
लमजुङ
राज्यमा शाहवंशको जग हाम्रा पुर्खाहरूले राखेका हुन् । आफूलाई निरङ्कुशताको
विरुद्ध उभ्याएका हुन् । लोकमतको आधारमा चल्ने शासन प्रणालीको खोजी गरेका हुन् ।
तसर्थ लोकतान्त्रिक आदर्शका प्रतीक हुन् हाम्रा पुर्खाहरू ।
पहाडी कुनाको गाउँमा हलो, कोदालो गरेर
समान्य जीवनवृत्ति धानिरहेका मानिसहरूमा समेत शासकहरू लोकमत अनुरूप हिँडनु पर्छ भन्ने कति उन्नत चेत
रहेछ !,
चलिरहेको राजवंशलाई विस्थापित गरेर नयाँ राजवंश स्थापना गर्ने
कति दह्रो साहस रहेछ ! र राज्यका अरू मानिसलाई आफ्नो मतोमा हिँडाउन सक्ने कति भरस लाग्दो नेतृत्व
कौशल रहेछ ! हो, यही चेतनाले ओतप्रोत
भएको करिब ५२८ वर्ष अगाडि वरपरको समय दुराडाँडामा जागरणको प्रथम युग थियो ।
शाहवंशको
जग सिन्दूरे ढुङ्गामाथि हालिएको हो । तिनताका तुर्लुङकोट रजस्थल थियो । राज्यको
शासन,
प्रशासन त्यहींबाट चल्थ्यो । तर सामरिक कारणले गर्दा
यशोब्रह्म शाहकै पालामा तुर्लुङबाट पुरानकोट हुँदै अहिलेको गाउँशहरमा सर्यो रजस्थल । भौगोलिक रूपमा रजस्थलभन्दा अल्लि टाढै रहेपनि
लमजुङ स्वतन्त्र राज्यकोरूपमा रहुञ्जेल दुराडाँडाको शान र मान उँचो थियो । तर जब
युद्धमा पराजित भई राज्यको स्वतन्त्र अस्तित्व नै समाप्त भयो स्वभावतः जित्नेहरूका
तापले हार्नेहरूका प्रताप छोपिए । जसको विजय पताका फहरायो उसकै विजय गाथा गाइयो ।
लेखियो । कर्खा कथियो । समयको गतिमा हामी पछाडि धकेलियौं । छोपियौं । पराजयको पीडा
देखे भोगेको पुस्तालाई आफ्नो राज्य जोगाउन नसकेको आत्मग्लानीबाट उम्किन पनि समय
लाग्यो होला । जागरणको अर्को बिहानको लागि दुराडाँडाले झण्डै एकसय तीस वर्ष
कुर्नुपर्यो ।
४. दोस्रो जागरणकाल
'चेतना' 'जागरण' को बीउ हो ।
चेतनाले नै मानिसको सोचलाई फराकिलो बनाउँछ । भावलाई उदार र उदात्त बनाइदिन्छ । फलतः यसकै कारण
जागरणका नयाँ नयाँ ढोका खुल्दै जान्छन् । यसमा जब शिक्षाको पुट दिन पाइन्छ अनि
सुनमा सुगन्ध थपिन्छ । चेतना अझ तेजस्वी हुन्छ । जागरणको आयाम फराकिलो बन्छ ।
परिवर्तनको गतिलाई समय सापेक्ष र तीव्र बनाउँछ । यस दृष्टिकोणले हेर्ने हो भने
वि.सं. १९७० को दशकदेखि दुराडाँडामा अर्को जागरणको सुरुआत भएको हो र यो वि.सं.२०१५
साल वरपरसम्म सशक्त रूपमा रह्यो । चन्द्रशमशेरकै पालामा जिल्लामै पहिलो भाषा
पाठशाला खुल्यो । राणाकालको चरमोत्कर्षको बेला जतिबेला उनीहरू आफ्नो सत्तामाथि
देखा पर्ने जुनसुकै चुनौती उपर बडो कठोर ढङ्गले प्रस्तुत हुन्थे, सानातिना सुधारका कुरालाईसमेत गाथ, गादी ताकेको फतुर लगाउँथे र मान्छेहरूको सर्वस्वहरण
हुन्थ्यो । ज्यान लिइन्थ्यो । त्यही बेला दुराडाँडामा बाहुनहरूले हलो जोते ।
यहाँका मानिसहरू प्रजातान्त्रिक आन्दोलनमा सरिक भए । प्रजातन्त्र प्राप्त हुनासाथ
एकैपटक दर्जनौं स्कुलहरू खुले । दलित र महिलाहरूकै लागि भनेर अलग अलग स्कुल खोलियो
। शिक्षा,
साहित्य र समाज सुधारका क्षेत्रमा भएका गर्व गर्न लायक
कामहरूकै कारण दुराडाँडाको परिचय बृहत् र व्यापक बन्यो ।
४.१. शिक्षा: हाम्रो पहिचान र गौरव
पूर्वीय
सभ्यतामा शिक्षाको प्रसार गुरुकुल पद्धतिमा आधारित रहेर भएको पाइन्छ । यसकै
प्रभावको कारण सुदूर गाउँ बस्तीमासमेत शिक्षादान वा आर्जनमा गुरु–शिष्य परम्परा चल्दै आयो । गुरुहरूका आँगन र पिढी नै
शिक्षालयको रूपमा रहे । स्वाँराका कृष्णानन्द घिमिरे, जलुकेनीका विष्णुप्रसाद अधिकारी, कोइरालाफाँटका वासुदेव कोइराला, वेद शर्मा आदि पण्डितहरूको पालामा उनीहरूका घर, पिंढी नै शिक्षादान र आर्जन गर्ने शिक्षालय थिए ।
शिक्षादानको यो परम्परा २००७ सालसम्म नै प्रचलित र सम्मानित थियो । आफ्नै
अन्तर्मनबाट प्रेरित कतिपय जिज्ञासुहरू मटिहानी, काशी, वृन्दावनसम्म
पुगी पण्डित भएर फर्किन्थे । पढाइ लेखाइको महत्त्व बुझेका र आर्थिकरूपले समेत सबल
केही अगुवाहरू जस्तै मुखिया देवीदास अधिकारी, लेप्टेन शेषकान्त अधिकारी, डिठ्ठा यज्ञप्रसाद वास्तोला, खगेश्वर अधिकारी (खेमु पण्डित) लगायतले आफ्ना छोराहरूलाई
काठमाडौं,
बनारस, नैनितालमा
राखेरसमेत पढाएका थिए । उतिबेला यसरी पढने मौका पाएका सबै प्रतिभा होनहार निस्केको
देखिएको छ ।
मुखिया
देवीदास अधिकारीका छोरा कोमलनाथ अधिकारी काशीको क्वीन्स कलेजबाट मध्यमा उत्तीर्ण
गरी साहित्याचार्य अध्ययन गर्दै गरेको बेला बिरामी भई आराम गर्न भनी वि.सं. १९७२
फागुनमा आफ्नो घर (दुराडाँडा) आए । उनी करिब चौध महिना बसे दुराडाँडा (कोमलनाथ
अधिकारीः २०१८) । आराम गर्न भनेर घर आएका भए पनि कोमलनाथ आराममात्रै गरेर भने
बसेनन् । गाउँघरका विद्यार्थीहरूलाई बटुलेर आफ्नै आँगनमा
रहेको बेलको चौतारीमा पाठशालाकै शैलीमा (बिहान भात खाएर पढन आउने, दिनभरि पढेर बेलुका तीन–चार बजेतिर छुट्टी भएपछि घर फर्किने नियम बाँधेर) पढाए ।
१९७३ वैशाखमा उनी काठमाडौं फर्किएपछि भने पाठशाला शैलीमा पढने बानी परेका
विद्याथीहरू फेरि गुरुहरूकै पिंढीमा पुगे । शिक्षाको महत्त्व बुझेका कोमलनाथ
काठमाडौंमा रहे पनि दुराडाँडामा सरकारी पाठशाला खोल्ने काममा लागिरहे । उनकै
सक्रियतामा वि.सं १९७९ सालमा धुवाँ आउने (धुवाउँने) ठाँटीमा सरकारी भाषा पाठशाला
खुल्यो । बेलचौतारीमा उनीसँग पढेका र त्यतिबेला रानीपोखरी संस्कृत पाठशालामा पढदै
गरेका देवतापानीका चिरञ्जीवी अधिकारी शिक्षक नियुक्त भएर आए । धुवाउने ठाँटीको
पाठशाला लमजुङ जिल्लामै पहिलो सरकारी पाठशाला थियो (विजयराज न्यौपानेः२०६८) ।
भाषा
पाठशालाको स्थापनापछि शिक्षादानको परम्पराले विस्तारै संस्थागत स्वरूप ग्रहण गर्यो।
वरपरका गाउँबाटसमेत विद्याथीहरू आएर आफन्तका घरमा बसेर पढन थाले । दुराडाँडाको नाम
थप फराकिलो बन्दै गयो । साहु भवदत्त खनियाको आमन्त्रणमा गुरु टीकाराम पौडेलको आगमन
र विद्या दान, एकैसाथ बाह्रवटा
प्राइमरी स्कुलको स्थापना, सर्वोदय
मिडिल स्कुल र हाइस्कुलको स्थापना, गुरुकुल आश्रम र पाणिनि संस्कृत मा.वि.को स्थापना
दुराडाँडामा शैक्षिक जागरणका कोशेढुङ्गा हुन् । दुराडाँडाको शैक्षिक उन्नयनबारे
बृहत् चर्चा गरिएको छुट्टै आलेख रहेकोले यसबारे अहिलेलाई यत्ति नै ।
४.२.भाषा, साहित्यको सेवाले थपिएको सुकीर्ति
यो
कालखण्ड भाषा, साहित्यको उन्नयनको
हिसाबलेसमेत उम्दा देखिएको छ । दुराडाँडा क्षेत्रका धेरै प्रतिभाले भाषा, सहित्यको सेवामा आफ्नो ज्ञान, शीप र दक्षता प्रमाणित गरेका छन् । यस क्षेत्रमा सबैभन्दा
अगाडि देखिएका छन् पण्डित कोमलनाथ अधिकारी (१९५०–२०२३) । उनी लोकप्रसिद्ध कवि व्यक्तित्व थिए । संस्कृत, नेपाली लगायत अंग्रेजी, हिन्दी, मराठी, गुजराती, बङ्गाली
भाषाकासमेत ज्ञाता थिए । आफ्ना पिता देवीदासको ‘...गीताको प्रतिश्लोकबद्ध गरी हाम्रो भाषामा लेख, मलाई श्लोक पाठ गर्न आनन्द लाग्दछ । मलाईमात्र हैन कि
संस्कृत नजान्ने सबैले अर्थ जानी पाठ गर्न पाउने छन्, उनीहरूकोसमेत कल्याण हुनेछ’ भन्ने आज्ञालाई शिरोपर गरी कविप्रतिभा सम्पन्न कोमलनाथले
हिन्दुहरूको पवित्र ग्रन्थ भगवद्गीतालाई प्रथम पटक नेपाली भाषामा अनुवाद
(छायानुवाद र भाषा टीका सहित) गरेका थिए । यो पुस्तक वि.सं.१९८९सालको विजयादशमीमा प्रकाशित
भयो । कोमलनाथले श्री ३ जुद्धशमशेरको सिन्दूरयात्राको दिन उनलाई टक्र्याए । उनको
कवित्व र विद्वताबाट प्रभावित जुद्धशमशेरले कृति र कृतिकारको खुब तारिफ गरे ।
दोसल्ला ओढाए । कोमलनाथलाई नम्बरी पण्डितमा नियुक्त गरे । श्री ३ कै खर्चमा किताब छापियो (कोमलनाथ
अधिकारीः२०१८) । श्री ३ को मन जित्न सफल उनको नाम देश, देशावरमा पुग्यो । यसबाट पण्डितको नाम त चल्यो नै साथसाथै
यसले उनको जन्मभूमि दुराडाँडाको गरिमा पनि बढायो ।
कोमलनाथ
त्यसपछि निरन्तर साहित्य सृजनामा लागिरहे । वि.सं. १९९५ मा राणाकुलचन्द्रिका
प्रकाशित भयो । यो उनको मौलिक कृति थियो । यसको प्रकाशनपश्चात कोमलनाथले आफूलाई
संस्कृत भाषाका धर्मग्रन्थ एवम् प्रसिद्ध काव्य, महाकाव्यहरूको अनुवादमा समर्पित गरे । समश्लोकी छायानुवादमा
विशेष दखल रहेका उनका अनुवादित कृतिहरूमा कोमल–चण्डी (२०१३), नैषधीय चरित (२०२०), मेघदूतको अनुवाद कोमल छायाँ (२०२०),साहित्य दर्पण (२०२३) कुमारसंभव (२०२५), पृथ्वीनारायण शाहको दिव्योपदेशको पद्यानुवाद (२०५९) रहेका
छन् (विजयराज न्यौपानेः२०६८) । कोमलनाथ २०२० सालमा प्रकाशित कृति नैषधीय
चरितकोलागि सो वर्षको मदन पुरस्कारबाट सम्मानित भएका छन् (मदन पुरस्कार गुठी) ।
यो
कालखण्डको वि.सं.२००० सालपूर्व जन्मिएका अरू साहित्यिक प्रतिभाहरूमा ठाकुरप्रसाद
अधिकारी (१९५०–२०१६), पूण्यशील अधिकारी (१९५३–२०२७),जगन्नाथ
ढुङ्गाना (१९६८–२०५६), कृष्णविलास उपाध्याय (१९७१–२०४२), शोभाकर उपाध्याय (१९७१–२०४८), नरकान्त अधिकारी (१९७७–२०७८), कृष्ण
कुमारी अधिकारी (१९७९–२०७५), कृष्णकान्त अधिकारी (१९७९–२०७२), तीर्थराज
शर्मा अधिकारी (१९८२–२०७२), श्रीकान्त अधिकारी (१९८४–२०६९), यदुनाथ
‘सरल’ (१९८८),गुणराज कोइराला(१९८८), तपोनिधि अधिकारी (१९९०–२०७८), कोमलनाथ
कोइराला (१९९२–२०४७), इन्द्रविलास अधिकारी (१९९५–२०७८), मुक्तिनाथ
शर्मा नेउपाने (१९९६), आदि प्रमुख
छन् । यी सर्जकहरूका मौलिक र अनुदित कृतिले नेपाली भाषा र साहित्यको क्षेत्रमा
उल्लेख्य योगदान त पुर्याएका छन् नै दुराडाँडालाई नेपाली साहित्यको अक्षय
भण्डारसँग जोडेर धन्य बनाएका छन् । यसैगरी रामदत्त अधिकारी (१९५६–२०२८), खेमकर्ण
कोइराला (१९५८–२०५१), तोयनाथ अधिकारी (१९६५–२०२२), लक्ष्मीदेवी
पौडेल (१९९३) आदि प्रतिभाका प्रकाशित साहित्यिक कृति फेला नपरेको भएपनि आफ्ना
गहकिला फूटकर रचना मार्फत भाषा, साहित्यको सेवामा उल्लेख्य योगदान पुर्याएका छन् । अनुदित
साहित्यमा नरकान्त अधिकारीका कृतिहरू विषयवस्तुको गहिराई एवं प्रस्तुतिको शैली
अत्यन्त उच्च कोटीको रहेको भनी विद्वानहरूबाट मुक्त कण्ठले प्रशंसा गरिएको छ ।
विद्या
आर्जनको व्यवस्थित परम्परा नै नबसेको बेलामा यी पूर्वजहरूले आ–आफ्ना अवस्था अनुकुल विद्या आर्जन गरे । आर्जित ज्ञानलाई
स्वकल्याणको साथसाथै परकल्याणमासमेत उपयोग गरे । आफूलाई भाषा, साहित्यको सेवामा आफूसक्य समर्पित गरे । जन्मभूमिको नामलाई
उजिल्याए । पछिल्लो समय (वि.सं.२०००
पछि) पनि धेरै साहित्यिक प्रतिभाका गहकिला कृतिहरू प्रकाशित भएका छन् । तन्नेरी
पुस्ताका प्रज्वल अधिकारीले नेपाल प्रज्ञा प्रतिष्ठानबाट आयोजित ६२ औं कविता
महोत्सवमा तृतीय स्थान प्राप्त गरेर उपलब्धिको अर्को इँटा थपेका छन् ।
४.३. समृद्ध लोक संस्कृति: पहिचानको अर्को सूत्र
लोक
संस्कृतिलाई लोक सभ्यताको प्रतीक मानिन्छ । हाम्रो सभ्यताले ‘कला’ लाई विभिन्न
चौसठ्ठी विधामा वर्गीकरण गरेको छ । समाजमा प्रचलित गीत, संगीत, नृत्य, साहित्य, रीतिथिति, वेशभूषा, चाडपर्व
सबै यसै अन्तर्गत समेटिएका हुन्छन् । यी जति परिष्कृत र उन्नत छन् मानव सभ्यताको
उचाइ र समृद्धिलाई त्यहीस्तरमा प्रतिविम्बित गरिरहेका हुन्छन् ।
हाम्रा
लोक परम्पराहरू मूलतः धर्मबाट निर्देशित छन् । आ–आफ्नो आस्था अनुसारका देवी, देउताको पूजा–आजा, भजन–किर्तन, नृत्य–गायन जस्ता विविधताको जगमा हाम्रो संस्कृति उठेको देखिन्छ ।
बालन,
भजन, कृष्णचरित्र, रामचरित्र, सोरठी,घाटु सबै यही जगमा उभिएका छन् । विशुद्ध मनोरञ्जनको लागि
नाच्दा,
गाउँदा या बाजागाजा बजाउँदा समेत पहिलो चरण देवी, देतालाई नै अर्पण गर्ने चलन छ । यो हाम्रो सभ्यता र सुसंस्कारको द्योतक हो
। नेपाली संस्कृतिको जगकोरूपमा रहेका लोकगीत, लोकनृत्य, लोकबाजा, लोक साहित्य लगायत लोक परम्पराका विविध पाटोमा दुराडाँडा
क्षेत्र साँच्चिकै सुसम्पन्न देखिन्छ ।
दोस्रो
जागरणकालमा लोक संस्कृतिको उन्नयनमात्र हैन जागरणको लागि तिनको प्रयोग समेत भएको छ
। धार्मिक प्रवचनको आयोजना गरेर या बालन, विभिन्न ऐतिहासिक पात्रका जीवनीमा आधारित नाटकहरू खेलेर, खेलाएर लोक संस्कृतिको जगेर्नाको साथै सामाजिक, शैक्षिक, राजनीतिक
जागरणमा यसको उपयोग गरेको देखिन्छ । यही कालखण्डमा अर्को एक अपूर्व सम्पदाको जन्म
भएको छ । वि.सं. १९५३ वरपर बर्धनमा जन्मिएका (यमबहादुर दुरासँगको कुराकानी अनुसार)
देउबहादुर दुराले नितान्त मौलिक भाका जन्माएर करापुटार लगायतका ठाउँठाउँका
जात्रामा घन्काएका छन् । ठाडोभाका या दुरा भाकासमेत भनिने यो भाका हाम्रो डाँडोको
मौलिक सृजना र पहिचान बनेको छ ।
देउबहादुरले
जन्माएको यो भाकालाई उनकै साथी मनिराम दुरा (१९५९ वरपर) र दुराडाँडा क्षेत्रमै
जन्मिई पछि परेवाडाँडा झरेका दीर्घराज अधिकारी (भेडिखर्के साहिंला), चिजामाया दुरा (मकैस्वाँरा), नन्दमाया दुरा (ठूलोस्वाँरा), मीनमाया गुरूङ (ठूलोस्वाँरा हर्राबोट), ले थप समृद्ध बनाए । पुरुष र महिलाबिच दोहोरी शैलीमा गाइने
यो भाका भेडिखर्केको पालामा त यति लोकप्रिय भयो कि स्थानीय पर्व, जात्रा, मेलापात, पूजा–आजामा समेत
घन्किन थाल्यो । गाउँ गाउँमा धेरै तन्नेरी, तरुनीले यसमा पाइन थपे । पछिल्लो पुस्तामा बुद्धिमान दुरा, सीता दुरा लगायतले यसलाई अझ उजिल्याउँदै आएका छन् ।
ठाडोभाका गाउने र सुन्ने पारखीहरू यो भाकामा अलौकिक मोहनी लुकेको अनुभूत गर्छन् ।
लमजुङ,
तनहुँ, गोरखा, कास्कीका गाउँ गाउँमा यो भाकाका विभिन्न संस्करण निरन्तर
घन्किदै आइरहेका छन् । ठाडो भाकाले हाम्रो परिचयलाई थप फराकिलो बनाइरहेको छ ।
यो
भयो पुरानो भाकाको कुरा, अहिलेको
पुस्ताका कृष्ण सुधा ढुङ्गाना (पूर्व प्राज्ञसभा सदस्य, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान),लोक गायनको पर्याय बनेकी बिमाकुमारी दुरा, गायक एवम् कलाकार कृष्ण गुरूङ, बलबहादुर जैरु (सनई वादन) ले मुलुककै नवीन धारको लोक
संस्कृतिको संवर्धनमा गर्व गर्न लायक योगदान पुर्याएका छन् ।
जन्मभूमि दुराडाँडाको शान र मानलाई उज्यालो बनाएका छन् । यसैगरी एक समय यो
क्षेत्रमा संलग्न रहेका प्रवीण खनिया (मोडलिङ), केशव ढुङ्गाना, बमबहादुर दुरा (गायन) र पछिल्लो समयमा स्थापित धुपा दुरा
(नृत्य),
रमेश परियार (गायन), सतीश अधिकारी (गायन र मोडलिङ) लगायतका प्रतिभाको योगदानले
लोक संस्कृतिको जगेर्नाका साथै मातृभूमि दुराडाँडाको पहिचानलाई अझ चौडा बनाएको छ ।
४.४. हलो क्रान्तिः समग्र जागरणको जननी
दुराडाँडालाई
जागरूक मानिसहरूको जल्दो बल्दो थलोकोरूपमा परिचित गराउने प्रमुख ऐतिहासिक घटना ‘हलो पर्व’ अर्थात
’हलो क्रान्ति’ हो । वि.सं.२००६ साल साउन ११ गते शुभारम्भ भएको यो क्रान्ति
अतुलनीय सामाजिक क्रान्ति हो । दुराडाँडाको सुकीर्तिलाई आलोकित गरेका शैक्षिक, सामाजिक क्रान्तिहरू हलो क्रान्तिकै राप र तापमा सम्पन्न
भएका हुन् । तसर्थ हलो क्रान्ति दुराडाँडाको समग्र जागरणको जननी हो ।
सत्तरी
वर्षअघिको समय, राणा शासनको
निरङ्कुशताले समाज अधमरो जस्तो थियो । अधिकांश मानिसहरू निमुखा थिए । समाज धार्मिक
र सामाजिक रूढिवादमा जकडिएको थियो । ‘भित्ताका पनि कान हुन्छन्’ भनेर मानिसहरू ‘तोलाको जीब्रो फट्कार्न भन्दा धार्नीको टाउको हल्लाउन जाती’ मान्थे ।
मान्छेहरूको बोली हराएको थियो । शासकका स्थानीय प्रतिनिधिको रूपमा रहेका जिम्मल, मुखियाहरूको शोषणको तह र तरिका राणालाईसमेत माथ गर्ने खालको
हुन्थ्यो । समाज अन्धविश्वास र अन्धकारमै हराइरहेको थियो । सामान्य गरिखानेहरू
उपल्लो जातको भनिएकै कारण आफ्नो खेत आफैँ
जोत्न पाउँदैनथे । मजुरी भरेर हली लगाउनु पर्थ्यो । तर पनि
भनेको बेला हली पाइदैन्थ्यो । भल छोपेर रोप्नु पर्ने खेत भएका किसानहरू हली खेज्दा
खोज्दै भल सुकेपछि खिस्रिक्क पर्दथे । हलो क्रान्ति यही जातभातको नाममा जमेको चपरी
पल्टाएर समाजमा चेतनाको उज्यालो छर्न भएको थियो ।
हलो
क्रान्तिका जनक थिए पण्डित तोयनाथ अधिकारी । अरू सहयोद्धा, सहयात्रीमा मुख्यतः लेप्टेन शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, साहिंला मुखियाका नामले परिचित हरिदास अधिकारी थिए । यी
परिपक्व अभिभावकहरूले श्रीकान्त अधिकारी जस्ता क्रान्तिकारी चेत भएका युवाको काँध पाएका थिए । अरू
धेरै अनुयायीहरूको दह्रो साथ र सहयोग पाएका थिए । हलो क्रान्तिको पृष्ठभूमि, पात्र र घटना, क्रान्तिका अगुवाहरूले मात्र हैन सामान्य नागरिक र तिनका
छोरी,
बुहारीले भोग्नुपरेका लाञ्छना, पिडाका यावत घटना विवरण उल्लेख भएका पुस्तक नै प्रकाशित छन्
। तसर्थ यसबारे पुनर्उल्लेख गरिरहनु आवश्यक ठान्दिन ।
पहिलो
पटक हलो जोत्ने कार्यक्रम आयोजना हुँदा कति जनाले जोतेका थिए ? क–कसले जोतेका
थिए भन्नबारे फरक–फरक
विवरणहरू सार्वजनिक भएका छन् । उही पुस्तकमा एकै व्यक्तिकोबारे कतै यो अभियानको
समर्थक र कतै विरोधी रहेको भनाई उल्लेख भएको पाइएको छ । बाहुनहरूले हलो जोतेको
घटनाबाट उत्पन्न तीव्र तरङ्गको कारण बाहुन बाहेक हलो जोत्न नहुने जातभित्र पर्ने
नेवारले जोतेको कुरा छोपिन पुगेको कुराहरू सार्वजनिक भएका छन् । यस सन्दर्भमा
बुद्धिमान श्रेष्ठ,१९९७ सँग
२०७८ साउन १० गते कुराकानी गर्दा दुराडाँडामा श्रीकान्त अधिकारीसँग हरबखत साथसाथै
रही राजनीतिक गतिविधिमा सक्रिय शिवलाल श्रेष्ठ (जसलाई परिवारमा माया गरेर हाकु
भनिन्थ्यो र आममानिसका माझ उनी शिवलाल नेपालीको नामले परिचित थिए) ले पनि हलो
जोतेका थिए । बुद्धिमानका पिता हर्कबहादुर श्रेष्ठले आफ्नी आमा (बुद्धिमानकी
हजुरआमा) सँग ‘हाकुले हलो जोतेछ, अब उसको हातको भात खान पो गाह्रो भो’ भनेर कुरा गरेको आफूले सुनेको बताउनु भयो । शिवलालले हलो
नजोतेको भए आमा–छोराबिच यो संवाद निश्चय
पनि हुने थिएन । यसैगरी श्रीकान्तका भाइ चन्द्रकान्त अधिकारीसँग कुराकानी गर्दा
पनि श्रीकान्तको अत्यन्त निकट रहेर सबै गतिविधिमा सधैं साथ साथै रहने शिवलाल
श्रेष्ठले उक्त कार्यक्रममा हलो जोतेनन् होला भन्ने आफूलाई नलागेको बताउनु भएको छ
। यसबाट के देखिन्छ भने हलो क्रान्तिको समग्र इतिहास अझ यथार्थरूपमा उजागर हुने
गरी थप अध्ययन, अन्वेषण गर्न आवश्यक
देखिएको छ ।
हलो, कोदालोकै भरमा जहान परिवार पाल्नु पर्ने कृषक समाजमा हलो
जोत्ने विषय सामान्य कुरा हो । तर दुराडाँडामा हलो जोतिएको घटना भने ‘असामान्य’ थियो
। सातसय दुराडाँडाभित्रका ब्राह्मणहरूमा पनि अग्र ब्राह्मण पण्डित तोयनाथ अधिकारीले
भारतीय उपमहाद्वीपको ब्राह्मण समाजलाई नै खलबल्याइदिने गरेर पहिलो पटक हलो जोत्ने
अनौ समातेका थिए (हरिभक्त अधिकारीः२०५६) । त्यस लगत्तै एकपछि अर्को बाहुनले अनौ
समाते । अर्चल्यानीमा हलो जोतेको छ महिनापछि उपल्लागाउँको ठूलो गरामा केही पहिल्यै
जोतेकाहरू र केही नयाँ मानिसहरू संलग्न भएर हलो जोते । यसपछि हलो जोत्ने कामले
दुराडाँडामा अविश्रान्त आन्दोलनको रूप लियो ।
हलो
क्रान्तिले रूढिले जमेको समाजलाई पिंधसम्म नै हल्लाइदियो । जातभातले जकडिएको
समाजमा आफन्त, कुटुम्ब र दाजुभाइबिच
पनि पानी बाराबार, भात
बाराबारको अवस्था सृजना भयो । छोरी, बुहारी, दिदी, बहिनी, आमाहरूले
समेत घर,
माइत गर्न पाएनन् । जानेहरू पनि अपमानित गरिए । विबाह हुने
उमेरका युवा युवतिको विबाहसमेत हुन नसक्ने अवस्था पर्यो । कतिपय
विद्वान पण्डितहरूले यसका अगुवाहरूलाई लाञ्छित गरी अपमानजनक शब्द संयोजन गरेर
कविताहरू लेखे । गीत, सिलोक कथे ।
तर हलो जोत्नेहरू आफ्नो कदममा अडिग रहे । पण्डित तोयनाथको व्यक्तित्व नै यति
उचाईको थियो कि उनको अगाडि उभिएर उनको विरोधमा बोल्ने ताकत प्रायःसँग थिएन ।
त्यसैले कोही, कसैसँग प्रत्यक्ष सवाल, जवाफ त भएन (सोमकान्त शर्माः२०६७)।तर राणाका वफादार
ठालुहरूको उजुरीको कारण हलो जोतेको ठीक एक वर्षपछि पण्डित तोयनाथ, ले.शेषकान्त र श्रीकान्त पक्राउ परे । रातारात पोखरा पुर्याएर
बडाहाकिमको अगाडि उभ्याइए । तर जोताहाहरू लत्रिएनन् । झन् जोधाहा भएर निस्के ।
शास्त्र,
नियम, कानुन
र व्यवहार कतै पनि ब्राह्मणले हलो जोत्न हुँदैन भन्ने उल्लेख नभएको बताएर कडा
प्रतिकार गरे । मुद्दा खेपे । तारिख बोके । तर शिर झुकाएनन । २००७ सालको राजनीतिक
क्रान्तिपछि यो मुद्दा आफै सेलाएर गयो ।
हलो
क्रान्तिपश्चात आउनसक्ने सामाजिक लाञ्छना र प्रशासनिक झै झमेलाबारे यी अगुवाहरूलाई
पूर्वआंकलन थियो । हलो जोतेर जात जाने भए जाओस, भात–पानी काढे
काढियोस,
राणाको जेल, नेल, सर्वस्वहरण
भोग्न परे परोस भनेर अत्यन्त उच्च सुझ, बुझ र आँटका साथ यो कदम उठाएका थिए । जेल, नेल, सर्वस्वहरण
जे परिआउँछ त्यसको सामना गर्न तयार भएर नै जानाजान यो भुङ्ग्रोमा हात हालेका थिए ।
तसर्थ समाजमा देखिएका उल्लिखित क्रिया, प्रतिक्रियाहरू उनीहरूको
लागि सामान्य र स्वाभाविक थिए । क्रान्तिका प्रणेताहरूले देखेको क्षितिज त योभन्दा
निकै फराकिलो थियो । हलो जोत्ने दिन बिहान उक्त अभियानमा सरिक हुन र ‘रमिता हेर्न’ वरपरका गाउँबाट जम्मा भएका मानिसहरूबिच पण्डित तोयनाथले
दिएको सारगर्भित प्रवचनबाट यो स्पष्ट हुन्छ । उनले हलो क्रान्तिको आवश्यकता र अन्य
सामाजिक सुधारबारे स्पष्ट पार्दै आफूहरूको अन्तिम लक्ष्य प्रजातान्त्रिक समाजवाद
रहेको हुनाले सामाजिक, आर्थिक
समानताको लागि हलो जोत्ने कार्यक्रम तर्जुमा गरिएको उल्लेख गरी हलो जोत्ने काममा
सरिक हुन,
राणा शासनको समाप्तिको निमित्त एक हुन र अहिंस्रक
जनआन्दोलनमा सक्रिय साथ सहभागी हुन विद्वत समुदायलाई अपील गरेका थिए (सोमकान्त
शर्माः २०६७) ।
४.५. हलो क्रान्तिले पारेको बहुआयामिक प्रभाव
हलो
क्रान्तिले पारेको सबैभन्दा ठूलो प्रभाव चेतनाको विस्तार हो । अर्चल्यानीको
बाटेगरोबाट सुरु भएको यो अभियान दुराडाँडाकै अरू गाउँ, लमजुङका विभिन्न गाउँहरू, छिमेकी जिल्ला
हुँदै अर्घाखाँची सम्म फैलिएको हो । यस क्रममा २००६ साल पुषमा तनहुँ, फागुनमा कास्की र धादिङ, २००७ साल बैशाखमा अर्घाखाँची र गोरखा र २००८ सालमा
स्याङ्जामा हलो जोतियो (श्रीकान्त अधिकारीः२०६१) । धर्मान्धतामा जकडिएको समाजमा
जातकै आधारमा कोरिएको सीमालाई यो क्रान्तिले भत्काइदिएको थियो। हुन त हलो
क्रान्तिपूर्व नै पण्डित तोयनाथले छुवाछुत र जातपातको आधारमा गरिने सामाजिक भेदभाव विरूद्ध आफूलाई उभ्याइसकेका थिए
। हलो जोत्ने दिन बिहान उनले गरेको संवोधनमा ‘तल्लो जातका मानिने सार्की, कामी र दमैका छोराछोरीलाई हाम्रा छोराछोरीसँगै राखेर पढाउन
थाल्यौं ।’ भनेर उल्लेख गरेका छन्
(सोमकान्त शर्माः२०६७) । भागवत पाठ गर्ने पण्डितले अनौ समातेपछि सबै जातलाई हलो
फुकेको थियो । जातलेमात्रै मान्छे ठूलो हुने होइन रहेछ भन्ने कुरा व्यावहारिक
रूपमै प्रदर्शन र पुष्टि गरेर चेतनाको विस्तार गरेको थियो । दुराडाँडाको समाजलाई
जातभातप्रति थप उदार बनाएको थियो ।
किसानको
लागि हलो जोत्नु जति महत्त्वपूर्ण कर्म के होला ? तर यही काम जातको आधारमा छुटट्याउँदा हली लगाउनु पर्ने
अवस्था सृजना भई विस्तारै प्रथामा रूपान्तर भएको थियो । आफैले गर्न
सक्ने थोरै खेतबारी भएका परिवार पनि आफूले जोत्न नहुने चलनको कारण हली लगाउन बाध्य
थिए । हुन त हलीहरूका पनि आफ्नै दलन र सास्ती थिए । त्यसको अलग्गै पाटो छ । तर हलो
जोत्न नहुने जातमा दरिएका गरिबहरू पनि उकुस मुकुसमा थिए । आफ्नो उब्जनीले आफैँलाई खान
नपुग्ने अवस्था रहे पनि हलीलाई मजुरी भर्नुपर्ने अवस्थाबाट पीडित थिए । हलो
क्रान्तिले यी गरिब किसानलाई हली प्रथाबाट मुक्ति दियो । हलीहरूलाई जातीय दलनबाट
मुक्ति दियो । आफ्नो खेतबारी आफैँले जोत्न पाएपछि किसानहरूले समयमै खेती लगाउन पाए । उब्जनी
बढ्यो । हलीलाई भर्नुपर्ने मजुरी बच्यो । खान नपुग्नेहरूको अवस्था सुध्रियो ।
श्रमको मूल्य वोध गरायो । कामको सम्मान बढायो । जाती भेदलाई निस्तेज पार्यो । कामकै
आधारमा मानिसहरू हेपिन छोडे । अनौ समाउँदा जात नजाने भयो । यो घटनाको सन्दर्भमा
राष्ट्रकवि माधव घिमिरे दुराडाँडालाई कृषि सभ्यताको तीर्थस्थल (सोमकान्त
शर्माः२०६७) भनेका छन् ।
हलो
क्रान्तिले दुराडाँडाको समाज पक्ष, विपक्षमा बाँडिएको थियो । तर दुराडाँडा बाहिर भने हलो
जोत्ने र नजोत्ने दुवैथरी दुराडाँडेहरूलाई गर्ने व्यवहार एकै खालको थियो । हलो
जोत्ने घटना हुँदा दुराडाँडामै नभएकाहरू समेत आफन्तकोमा जाँदा उपेक्षित र तिरस्कृत
भएका थिए (चन्द्रकान्त शर्माः२०५६)। माइती पक्षकाले हलो जोतेको निहुँमा
छोरीचेलीहरू तिनको घरको चुलो, चौकोबाट
ओरालिएका थिए । ‘दुराडाँडामा
आफ्ना सम्धीले हलो जोतेकोले छोरी घर पठाउन नपाएको’ भनी पोखरा अड्डामा मुद्दासमेत परेका थिए । तर यो नकारात्मक
व्यवहारले पनि दुराडाँडामा भने सकारात्मक प्रभाव पारेको थियो । सकारात्मक यस
अर्थमा कि हलो जोत्नेहरू त एकजुट हुने नै भए नजोत्नेहरू पनि आफ्नो डाँडोलाई नै
लाञ्छित गर्नेहरूप्रति असन्तुष्ट भएका थिए । प्रकारान्तरले बाध्यात्मक रूपमै भए
पनि यो घटनाले दुराडाँडाको आपसी एकतालाई बलियो नै बनाएको थियो ।
दुराडाँडामा
हलो जोतिएको डेढ वर्षमै मुलुकमा प्रजातन्त्रको लागि राजनीतिक क्रान्ति भयो । राणा
शासन विरुद्ध क्रान्तिको पूर्वआंकलन गरेका पण्डित तोयनाथ, ले.शेषकान्त, हरिदास लगायतका अगुवाले हलो क्रान्तिको पृष्ठभूमि तयार
पार्ने सिलिसलामा २००३ सालदेखि २००५ सालसम्म धुवाउने ठाँटी र चिहानपाटामा महाभारत
पुराण वाचनको आयोजना गरेका थिए । पं.तोयनाथ अधिकारी मूलवाचक र अरु वाचकमा पण्डित
प्रेमराज अधिकारी, पण्डित
नरहरि अधिकारी, पण्डित चिरिञ्जीवी
अधिकारी थिए भने गुरुप्रसाद घिमिरे गणेश थिए । पुराणको अर्थ लगाउदा तोयनाथ विभिन्न
उपमा र प्रसङ्ग मार्फत राजनीतिक र सामाजिक जागरणका सूत्र पनि बताउँथे । पराशर स्मृतिको
प्रसङ्ग उल्लेख गरी बाहुनले हलो जोत्न हुन्छ भन्ने सावर्जनिक जिकिर त्यही धार्मिक
सभामा लिईएको थियो । प्रकटमा हलो जोत्ने
तयारीको लागि देखिए पनि यो अभियान राजनीतिक क्रान्तिको पनि तयारी थियो । त्यसको
लागि सार्वजनिक आह्वान थियो । हलो जोत्ने दिन बिहान पण्डित तोयनाथले गरेको
सम्बोधनबाट यो स्पष्ट हुन्छ ।
पण्डित
तोयनाथले वि.सं.२००४ सालमा नै वनारसबाट काँग्रेसको सदस्यता रसिद अनेकौं जुक्तिसाथ
लुकाएर ल्याई आफ्ना विश्वासपात्र मित्रहरूलाई प्रजातन्त्रमा समर्पित हुन तयार
पारेका थिए (हरिभक्त अधिकारीः२०५६) । हलो क्रान्तिले पार्टीको सङ्गठनलाई अझ
सङ्गठित र तीव्र बनाएको थियो । जब मुलुकमा प्रजातन्त्रको लागि राजनीतिक आन्दोलन
सुरु भयो हलो पर्वको निन्दा गर्नेहरू
क्रमशः सेलाउँदै गए । राजनीतिक क्रान्तिको लहरले दुराडाँडालाई जुरुक्क उचाल्यो । सदरमुकाम
कुन्छा कब्जा गर्ने आन्दोलनमा पण्डित तोयनाथ अधिकारी, श्रीकान्त अधिकारी, भिष्मकान्त अधिकारी सहित (अन्नपूर्णको काख:२०१५) कैयौँ दुराडाँडेहरू सरिक भए ।
प्रजातन्त्रपश्चात दुराडाँडाको राजनीतिक बींडालाई श्रीकान्त अधिकारीले
कुशलतापूर्वक उठाए । हलो क्रान्तिदेखि नै प्रखर युवा नेताको पहिचान बनाएका श्रीकान्त
लमजुङका भरसलाग्दो नेताकोरूपमा उदाइसकेका थिए । उनलाई पितातुल्य अभिभावकहरूको आड, भरोसा र आशिर्वाद त थियो नै जतिसुकै बेला जुनसुकै सहयोग
गर्न तत्पर युवाहरूको साथ र सहयोग थियो । २००७ सालको क्रान्तिपश्चात जागिर छोडेर
राजनीति एवम् समाजसेवामा संलग्न रहन आइपुगेका कृष्णप्रसाद न्यौपाने श्रीकान्तका
प्रत्येक कदममा साथदिन तत्पर थिए । लमजुङको इतिहासबारे विशेष दखल राख्ने
कृष्णप्रसादले दुराडाँडाको इतिहासको खोज र अन्वेषणमा उल्लेख्य योगदान गरेका छन्
(चन्द्रकान्त अधिकारीसँगको कुराकानी) ।
प्रजातन्त्र
स्थापनापश्चात श्रीकान्त राजनीति र शैक्षिक जागरणको अभियानमा सक्रिय रहे ।
पं.तोयनाथ, ले. शेषकान्त, मु. हरिभक्त पौडेलहरूको साथ, सहयोगमा उनकै सक्रियतामा २००८ सालमा बाह्र सदन प्राइमरी
स्कुलहरू सञ्चालन गरिए । २००९ सालमा दुराडाँडामा राजनीतिक सम्मेलनको आयोजना गरियो
। २०१० साल बैशाख १८ देखि २० गतेसम्म नेपालका प्रमुख राजनीतिक एवम् विद्वानहरूलाई
निम्त्याई एक बृहत् राष्ट्रिय शिक्षा सम्मेलन आयोजना गरी राष्ट्रिय शिक्षा
पद्धतिको जग राख्नेबारे नेपाल सरकारलाई विभिन्न सुझाव दिइयो (अन्नपूर्णको
काखः२०१५) । शासकीय स्वरूपको जग नै नभएको समयमा स्थानीय सरकारको अभ्यास
दुराडाँडाबाटै थालनी भयो । मौजाभित्रका सबै गाउँलाई समेटी पार्लियामेण्टको रूपमा
ग्राम सुधार सभा, ग्राम
कार्यपालिकाको रूपमा ग्राम सुधार समिति, न्यायपालिकाको रूपमा ग्रामीण न्यायालय, योजना तर्जुमा गर्न योजना कमिटी र लेखा परीक्षणको लागि हिसाब
जाँच्ने कमिटी रहने व्यवस्था गरियो (अन्नपूर्णको काख:२०१५) । मुलुक संघीयतामा प्रवेश गरेपछिमात्र
अनुभूत गरिएको स्थानीय सरकारको संरचना (तर अहिले पनि योजना कमिटी र हिसाब जाँच्ने
कमिटीको अलग व्यवस्था छैन) दुराडाँडामा भने २०१३ सालमै यी संरचना खडा गरिएका रहेछन् । यसबाट हाम्रा पुर्खाहरू स्थानीय
शासकीय स्वरूपबारे कति जागरुक र कति स्पष्ट रहेछन् भन्ने बोध हुन्छ ।
प्रजातान्त्रिक
संस्कार र आचरणको सम्मान एवम् पालनामा पनि दुराडाँडाले उम्दा नमुना प्रस्तुत गरेको
देखिन्छ । २०१५ सालको आमनिर्वाचनपूर्व नेताहरूगाउँ गाउँमा पुग्ने सन्दर्भमा नेपाली
काँग्रेसका विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, तुलसी गिरी, विश्वबन्धु थापा लगायतका नेताहरू एवम् नेपाली राष्ट्रिय
काँग्रेसका डा.डिल्लिरमण रेग्मी आदि नेताले दुराडाँडाको मञ्चबाट आफ्ना राजनीतिक
बिचारहरू राखेका थिए । नेपाली काँग्रेसको कार्यक्रम अतिवादीहरूबाट विथोलिएको थियो
। आफ्नो दलको कार्यक्रम विथोलिए पनि डिल्लिरमणको भाषण सुन्न भने नेपाली काँग्रेसका
समर्थकहरुलाई नै बोलाई बोलाई जम्मा गरिदिइएको थियो। राजनीतिक सहिष्णुता र विचारको
सम्मानको सन्देश दिन सफल भएको उदाहरण हो यो घटना । तर उग्र अतिवादीहरू, जो मारपिटमा उत्रिन्थे अरूका सभा, समारोह विथोल्थे तिनलाई भने दुराडाँडा प्रवेश नै गर्न नदिई
लखेटेको पनि छ दुराडाँडाले (चन्द्रकान्त अधिकारीः२०७०) । दह्रो सङ्गठन र उच्च
राजनीतिक संस्कारबाट दीक्षित दुराडाँडेहरूको आपसी एकताको कारण २०१५ सालमा सम्पन्न
प्रथम आमनिर्वाचनमा पश्चिम ३ नं अन्तर्गतको निर्वाचन क्षेत्र नं. १०० बाट नेपाली
काँग्रेसका श्रीकान्त अधिकारी विजयी भए । दुराडाँडाले आफ्नो सन्तानलाई जिल्लाकै
प्रथम जनप्रतिनिधिको रूपमा प्रतिनिधि सभामा पायो । यो उपलब्धिको जग उही हलो
क्रान्ति थियो । रूढि र निरङ्कुशता विरुद्ध जोतिएको हलोले उधिनेको सियोमा खसालिएको
प्रजातन्त्रको बीज यतिबेला अङ्कुराएको थियो ।
५.जागरणको अर्को भुल्को
दुराडाँडामा
जागरणको अर्को भुल्को वि.सं.२०२५ देखि २०३५ को दशकमा देखा पर्यो । यो
समयमा मुख्यतः गुरुकुल आश्रम र यस अन्तर्गत पाणिनि संस्कृत हाइस्कुलको स्थापना भयो
भने बाह्र सदन प्राइमरी स्कुलहरू र सर्वोदय हाइस्कुलको रजत महोत्सव सम्पन्न भयो ।
यी दुईवटा घटनाले लामो समयदेखि सुस्ताइरहेको दुराडाँडालाई ब्युँझाएको थियो ।
दुराडाँडा एकपटक फेरि जुर्मुराएर उठेको
थियो ।
दुराडाँडामा
एक संस्कृत उच्च पाठशाला खोल्नुपर्छ भन्ने बोध यहाँका अगुवाहरूलाई वि.सं.२०१४
सालमै भएको थियो । श्रीकान्त अधिकारीको अध्यक्षतामा रहेको स्कुल सञ्चालक समिति
लमजुङले जिल्लामा सञ्चालनमा रहेका विभिन्न विद्यालयलाई पुनर्गठन गरी कहाँ कहाँ
विस्तार गर्न आवश्यक छ भन्ने खुलाई धुवाउने ठाँटीमा संस्कृत उच्च पाठशालाको
स्थापनाको लागि स्कुल पुनर्गठन जाँच समितिका सदस्यलाई सुझाव दिएको थियो ।
(अन्नपूर्णको काखः२०१५) । तर त्यतिबेला यो सम्भव
भएन ।
संस्कृतज्ञ, विद्वान गुरु पं.बद्रीनाथ सुवेदी आफूले अध्यापन गर्ने आफ्नै
गाउँ खुदीको भाषा पाठशालालाई संस्कृत मा.वि.बनाउन आजीवन संघर्षरत रहे । तर उनको
प्रयास सफल भएन । त्यहाँ सफल हुन नसके पनि उनी मौन भने बसेनन् । उक्त कार्यको
निरन्तरताको लागि उनले शिक्षाको ऊर्वर भूमि दुराडाँडालाई रोजे (पण्डित बद्रीनाथ
सुवेदी स्मृति ग्रन्थः२०७२) । शिक्षासेवी एवम् राजनीतिज्ञ श्रीकान्त अधिकारीलाई
पत्र नै लेखेर दुराडाँडामा संस्कृत पाठशालाको स्थापनार्थ अगुवाई गर्न अनुरोध गरी आफू
स्वयंसेवक शिक्षक भई दुराडाँडा आउने वचनसमेत दिए ।
संस्कृत
वाङ्मयको महत्त्व बुझेका शिक्षासेवी श्रीकान्तलाई बद्री गुरुको यो पुकारले
भित्रैसम्म छोयो । यो पुकारपत्रलाई दुराडाँडाको बृहत् जनभेलामा राखियो । संस्कृत र
संस्कृतिको लागि एउटा जबर्जस्त अभियान सुरु गर्नुपर्छ भन्नेमा सहमत भई एक बृहत्
योजना बन्यो । आश्रम अन्तर्गत संस्कृत मा.वि., गौशाला, उद्यान, हवन कुण्ड, पुराण
वाचन मञ्च, वाचनालय सञ्चालनमा आए ।
कुटीहरू निर्माण गरिए । नित्य पूजा, पुराण वाचन, हवनको प्रवन्ध गरियो । आश्रम सञ्चालनको लागि सातजना
ऋषितुल्य अग्रजहरूको समिति ‘सप्तर्षि
मण्डल’
रहने व्यवस्था भयो। स्रोतको दिगो व्यवस्थापनको निम्ति स्थानीय आमाहरूले
रु.१०८।०० को दरले नगद दान गरे । ती सयौं आमाहरूको समूहलाई आजभोलि
जनबोलीमा ‘एकसय आठ आमाहरू’ भनिन्छ । विख्यात पण्डित बद्रिनाथ सुवेदीले आफ्नो वचन
अनुरूप दुराडाँडामा आई बटुकहरूलाई विद्यादान गर्नुभयो । २०२६ साल मंसिरमा ऐतिहासिक
थलो कीर्तिपुरमा गुरुकुल आश्रम र पाणिनि संस्कृत माध्यमिक विद्यालयको आरम्भ भयो
(श्रीकान्त अधिकारीः२०७२) । दुराडाँडाका प्रत्येक घर दैलोबाट मुठी दान उठाएर र
भैलो खेलेर सङ्कलन गरिएको नगद र जिन्सी सहयोगबाट आश्रम सञ्चालन हुन थाल्यो ।
संस्कृत भाषाको अध्ययन, अध्यापन
एवम् सनातन धर्मको संवर्धन हेतु तत्कालिन सरकारको असहयोग रहदा रहदै पनि
दुराडाँडेहरुले आफ्नै गास काटेर गुरुकुल आश्रम र विद्यालयको स्थापना गरे ।
ऐतिहासिक भूमि कीर्तिपुरमा गुरुकुल आश्रम दुराडाँडाको अर्को एक कीर्तिस्तम्भको
रूपमा उभियो ।
नयाँ
शिक्षा योजना मुताविक २०३१ सालमा पाणिनि संस्कृत मा.वि.ले सरकारबाट स्वीकृति
प्राप्त गरेपछि विद्यालय सञ्चालन गर्न केही सहज त भयो तर विद्यार्थी सङ्ख्याको
न्यूनताको कारण अनेक झण्झटहरू व्यहोरी रह्यो (विद्यालयका पूर्व शिक्षक गणेशप्रसाद
न्यौपानेसँगको कुराकानी) । सधैँ अपहेलित भएको अनुभव गरिरह्यो । जे जस्ता सङ्कट परेपनि, आफू कृशकाय गौमाता जस्तै रहेर पनि सयौं मेधावी छात्रछात्रालाई
गोरसरूपी अमृतमय विद्यादान मार्फत जीवनको विशाल राजमार्गमा पुर्याइदिएको छ पाणिनिले। संस्कृत वाङ्मयको
सक्दो सेवा गर्दै आएको छ । सनातन धर्म, परम्पराको प्रचलन र रक्षामा आफूलाई समर्पित गरेको छ ।
मानिसहरूका हृदयमा अध्यात्मको उज्यालो ज्योति बालेको छ । तर माओवादी सशस्त्र
द्वन्द्वको त्रासदीपूर्ण समयमा संस्कृत भाषा पढाएको आरोपमा माओवादीद्वारा
विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीको २०५८ साल माघमा नृशंस एवम् पाशविक
हत्या गरिएपछि पाणिनि र गुरुकुल आश्रम
निरन्तर ओरालो हिंडिरहेका छन् । केही पूर्वाधार निर्माणका काम त भएका छन्
तर ती पर्याप्त र उत्साहजनक छैनन् । यसका प्रथम गुरु (प्रधानाध्यापक) बद्रीनाथको
स्मृतिमा निर्माण गर्ने जमर्को गरिएको बद्री छात्रावास जमर्कोमै सीमित छ । कतिपय
पूर्वाधारको अवस्था बडो टिठ लाग्दो छ । संस्कृत वाङ्मयको संवर्धन र सनातन
धर्म,
परम्पराको रक्षार्थ अग्रजहरूले जुन सपना देखेर यो धरोहर
उभ्याए अहिलेको पुस्ताले त्यसलाई आत्मसात् गर्न नसक्दा निभ्न निभ्न लागेको
बत्तीझैँ पिलपिलाउँदै बाँचेका छन् गुरुकुल आश्रम र पाणिनि ।
एक
अर्को प्रसङ्ग, वि.सं २०३३ साल
कार्तिकमा बाह्र सदन प्राइमरी स्कुलहरू र सर्वोदय हाइस्कुलको रजत महोत्सव बडो
भव्यताको साथ सप्ताहव्यापि रूपमा मनाइएको थियो । हरेक मानिसको मनमा म र मेरो
दुराडाँडाको भावना जब्बररूपले उठाउन सफल भएको यो महोत्सवले शिक्षा मन्दिरहरूको
पूजा,
अर्चनाको अतिरिक्त दुराडाँडाको मान र शानसँग जोडिएका कैयौँ
ऐतिहासिक स्थल र पात्रको परिचय र योगदानलाई स्थापित गरिदिएको थियो । हामी को हौं
भन्ने गर्व वोध गराएको थियो । दुराडाँडाको सामाजिक आन्दोलनको पुनर्जागरण जस्तै
भएको थियो यो महोत्सव । यस अवसरमा भएका केही प्रमुख कार्यमा ऐतिहासिक स्थल
सिन्दूरे ढुङ्गाको अनावरण, आदिपुर्खा
खजे दुराको स्मृतिमा खजे पार्कको निर्माण र पूर्णकदको सालिक
स्थापना, लमजुङे भाका, दुरा भाकासमेत भनिने ठाडो भाकाका प्रख्यात गायक देउबहादुर
दुराको स्मृतिमा देउ बहादुर कला केन्द्रको स्थापना, हलो क्रान्तिका जनक एवम् शैक्षिक, सामाजिक अभियन्ता पण्डित तोयनाथ अधिकारीको सम्मानमा
अर्चल्यानीमा शिक्षाद्वारको निर्माण, गुरु पण्डित टीकाराम पौडेलको स्मृतिमा बरबोटमा टीका
चौतारीको निर्माण, सामाजिक
एवम् राजनीतिक व्यक्तित्व कृष्णप्रसाद नेउपानेको स्मृतिमा वाचनालयको स्थापना, कोमल गीताका रचयिता कोमलनाथ अधिकारीको स्मृतिमा कोमल पुस्तकालयको
स्थापना,
प्रथम हेडमास्टर भिष्मकान्त अधिकारीको सम्मानमा रथयात्रा
आदि प्रमुख छन् । रजत महोत्सव विख्यात शिक्षाविद, प्रशासक एवम् कुटनीतिज्ञ सरदार यदुनाथ खनालको प्रमुख आतिथ्य
र श्रीकान्त अधिकारीको संयोजकत्वमा सम्पन्न भएको थियो ।
६.कछुवा गतिमा घिस्रिइरहेको दुराडाँडा
राणा
कालमा जुर्मुराएको दुराडाँडा पञ्चायतकालमा भने सुस्तायो भनेपनि हुन्छ । पञ्चायतको
धेरैजसो समय राजनीतिक खिचातानीमै बित्यो । राजनीतिक विमति नै सबैभन्दा जब्बर भएको
बेला अरू गतिविधि उति प्रभावकारी हुन सकेनन् । यो कालमा पनि हामी पूरै क्षमता
विहिन भएका भने हैनौं । श्रीकान्त अधिकारी, हरिप्रसाद अधिकारीलाई जिल्ला पञ्चायतको सभापति र श्रीकान्त
अधिकारीलाई राष्ट्रिय पञ्चायतको सदस्यमा पाएको हो । तर यो शक्ति र क्षमतालाई
डाँडाको श्रीवृद्धिमा जुन तहमा उपयोग गर्न सकिन्थ्यो त्यो तहमा गर्न सकेको देखिदैन
। अरूको बक्रदृष्टि त स्वाभाविकै भयो आपसी एकता र सहिष्णुताको अभावको कारणले पनि
हामी सधैं पछाडि धकेलिएका छौं । राजनीतिले जन्माएको तुषले भित्रभित्रै हुँडलिएका छौं
। सामाजिक सेवा एवम् विकासको उद्देश्यले खोलिएको र दुराडाँडा भेकमा कृषि, पशुपालन, वृक्षरोपण, लोकसंस्कृतिको संवर्धनलगायतको क्षेत्रमा संलग्न रही
आसलाग्दो काम गरेको गैर सरकारी संस्था समाज कल्याण केन्द्र र यसका अगुवाहरूले
राजनीतिक प्रतिशोधबाट प्रताडित हुनुपरेका तीता अनुभवहरू समेटेका छन्। केही यस्तै
प्रताडना अनि केही आफ्नै व्यवस्थापकीय कमजोरीको कारण यो संस्था निष्कृय हुँदै गयो
र अहिले त मृतप्रायः हुनपुग्यो । यतिमात्रै होइन चुनाव जित्ने, जिताउने वा हार्ने, हराउने खेलमा दुराडाँडाको भूगोललाई गिजोलियो ।
प्रजातन्त्रको
पुनरोदयपश्चात मुलुकभर छाएको परिवर्तनको नवीन उमङ्गले हामीलाई पनि निकै उत्साही
बनाएको हो । तर यो उत्साह आधा दशक पनि
टिक्न पाएन । मुलुक द्वन्द्वको भासमा पर्यो । यद्यपि द्वन्द्वले ग्रस्त र त्रस्त भएको
प्रजातन्त्रकाल, २०६२।६३ को जनआन्दोलन
पश्चातको लोकतन्त्र काल वा संविधानसभा निर्वाचन पश्चातको गणतन्त्रकालमा पनि यहाँको
शिक्षा,
स्वास्थ्य, सञ्चार, विद्युत, खानेपानी, सडक जस्ता पूर्वाधारहरूको निर्माणमा केही उल्लेख्य कामहरू
भएका हुन् । पाणिनि संस्कृत मा.वि.को रजत महोत्सव, पाणिनि संस्कृत मा.वि. को प्राङ्गणमा जयतु संस्कृतम्–राष्ट्रिय सम्मेलन, सर्वोदय मा.वि.को स्वर्ण जयन्ती र शैक्षिक स्वर्ण महोत्सव, सर्वोदय क्याम्पस स्थापनार्थ श्रीमद्भागवत सप्ताह यज्ञ
जस्ता शैक्षिक उन्नयनसँग सम्बन्धित विभिन्न गतिविधि द्वन्द्वकालमै सम्पन्न गरिएका
हुन् । राजनीतिक प्रतिनिधित्वको दृष्टिकोणले पनि प्रतिनिधि सभामा हरिभक्त अधिकारी
र संविधानसभामा डा.भिष्मनाथ अधिकारी मार्फत प्रतिनिधित्वको अवसर पनि पाएकै हो ।
दुराडाँडा सेवा समाजको अगुवाईमा विद्यालयका उपजहरू समेतको योगदानमा २०६९ सालमा
सर्वोदय मा.वि.को भव्य नयाँ भवनको निर्माण सम्पन्न भएको हो । केही स्थानीय एवम्
बाह्य उद्यमी व्यवशायीबाट निजी लगानी र प्रयासमा यहाँको कृषि क्षेत्रमा कतिपय आस
लाग्दा कामहरू भइरहेका छन् । दुराडाँडा सेवा समाज, दुरा सेवा समाज, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लगायतका विभिन्न
गैरसरकारी संस्था, स्थानीय संघ, संस्थाले यहाँको शैक्षिक, सामाजिक, पर्यावरण
संरक्षण,
लोक संस्कृतिको जगेर्ना लगायतका क्षेत्रमा सकारात्मक योगदान
गर्दै आएका छन् । यिनै संस्थाहरुको अगुवाईमा २०७६ सालमा दुराडाँडा महोत्सवको
आयोजना पनि सम्पन्न गरियो । तुर्लुङकालिका भगवतीको मन्दिर, तुर्लुङकोट गढी लगायत कतिपय धार्मिक, ऐतिहासिक सम्पदाहरूको जिर्णोद्धार भएको छ । सर्वोदय
क्याम्पसको स्थापना र सञ्चालनको लागि होस् वा सर्वोदय मा.वि. को नयाँ भवन निर्माण
गर्न विभिन्न दाता एवम् स्वदेश र विदेशमा बसिरहेका सर्वोदयका उपजहरूबाट उल्लेख्य
सहयोग प्राप्त भएको छ । तर कछुवा गतिमा प्राप्त यी उपलब्धिहरू हामीले खोजे जस्तो
समग्र जागरण र क्रान्तिको संवाहक बन्न सकेनन् । समय समयमा भएका राजनीतिक फेरबदल पनि
हामी सर्वसाधारणका लागि कोठाको एक कुनामा भइरहेको खाट अर्को कुनामा सारेको दिन
हुने नवीन अनुभूतिभन्दा फरक खालको हुन सकेन ।
७. अहिलेको अवस्था
‘दुराडाँडा’ को
सिन्दूरे ढुङ्गामा गरिएको सिन्दूरयात्रा अन्ततः एकीकृत नेपालको निर्माणपछि
पूर्णभएको हो । तसर्थ दुराडाँडा पहिचानको
लागि राखिएको सामान्य नाममात्र हैन, लोकमतमा आधारित शासन व्यवस्थाको सूत्रपात भएको नाभिस्थल हो
। उदात्त पुर्खाहरूका योगदानको विरासत बोकेको गौरवभूमि हो । शैक्षिक, सामाजिक, राजनीतिक
जागरणको प्रतीक हो । मोहवश जन्ममूमिको बखानमा उनिएको कोरा भाव नभई सबैले
स्वीकारेको सत्य हो । यथार्थ हो ।
साविक
दुराडाँडा मौजाको सग्लो भूगोलको साझा पहिचान र दुराजातीको ऐतिहासिक विरासतसँग
जोडिएको दुराडाँडाको सग्लो भूगोललाई वर्तमानमा भने राजनीतिक एवम् प्रशासनिक एकाईका
दृष्टिले खण्डित पारिएको छ । यस क्षेत्रका साविक छ वटा गाउँ विकास समितिहरू तीनवटा
नगरपालिकाका छ वटा वडामा बाँडिएका छन् । दुरडाँडारूपी ताउलो बसालिएका चम्के ढुङ्गा
उखेलेर तीनतिर फालिएका छन् । परम्परादेखि एकै आइपाईका गाउँपाखामा आपसी सहकार्य
गर्न पनि तीनवटा स्थानीय सरकारसँग गुहार माग्नुपर्ने अवस्था सृजना भएको छ । दुराडाँडा
लुलो भएको छ । साविकमा त कम से कम एउटा गाउँ विकास समितिको नामसम्म भएपनि
दुराडाँडा थियो, अब त त्यो पनि सिद्धिएको
छ । औपचारिक लिखतहरूमा ‘दुराडाँडा’ नाम नअटाउने भएको छ । आगामी पुस्ताले आफ्नो परिचय दिदा
गर्वसाथ दुराडाँडाको नाम लिन पाउने दिन सिद्धिएको छ । केवल हाम्रो मन र जिब्रोमा
बाँकी छ दुराडाँडा । पुर्खाको विरासतमा प्राप्त नामसमेत जोगाउन नसक्ने लाछी सन्तान
भएका छौं हामी । दुराडाँडाको नाम मेटाउने भित्रि खेलमा यहींका कतिपय पात्रहरू जानी
नजानी शिखण्डी वा विभिषण बन्न पुगेको सुनिएको छ । दुराडाँडाको अखण्डता जोगाउन
इमान्दार प्रयास गरेका भिष्मपितामहहरूको मन रोएको छ ।
गाउँ
गाउँमा आन्तरिक र वाह्य बसाइ सराइ तीव्र छ । गाउँबाट नजिकका बजार वा स्वदेशका
विभिन्न शहर वा विदेश पुगेकाहरू सकभर उतै घरजम गर्न थालेका छन् । गाउँहरू बिरानो र
खाली हुँदै गएका छन् । त्यहाँ के छ र ? भने जसरी बडो हेय दृष्टिले हेर्न थालिएको छ गाउँलाई ।
समाजमा धार्मिक बिचलन देखा परेको छ । सनातन धर्म, परम्परा विधर्मीहरूको लोभ, लालचको जालमा पर्दै गएको छ । राजनीतिक छुद्रता यति तल झरेको
छ कि सदाचार र निष्ठा लगभग सिद्धिएको छ । हामी विवेकलाई सहजै पन्छाउन सक्ने झोले
कार्यकर्तामा रूपान्तर हुँदै गएका छौं । सामान्य अवसरको बाँडफाँटमासमेत कुन मान्छे
कुन दलको हो, एकै दलको भए कुन गुटको
हो अनि एकै गुटको भए कुन नेता निकट हो भनेर छुट्याउन माहिर भएका छौं । सत्य बोल्न
नसक्ने गरी पङ्गु हुँदै गएका छौं । दुराडाँडामा जन्मे, हुर्केर त्यहीं हलो, कोदालो गर्दै बढे, पढेको पुस्ताको बाहुल्यता रहेको समयमा त यो हविगत छ भने
दुराडाँडालाई ’ड्याडको पहाड घर’ भनेर चिन्ने,जान्नेपुस्ताको बाहुल्यता भएको दिन हाम्रो थलो कस्तो होला ? स्थिति साँच्चिकै टिठलाग्दो भइसकेको छ ।
तर, यो अवस्था हामीलेमात्र भोगेका भने हैनौं । विकृत राजनीतिले
जताततै न्याकेको छ । मुलुकभरका सबैजसो ग्रामीण क्षेत्रहरू यसरी नै रित्तिएका छन् ।
मानिसहरू नित्तान्त व्यक्तिवादी हुँदै जाँदा भुई्रं मान्छेहरूका मनमा कसैले पनि
आशाको दियो बाल्न सकेको छैन । तर निराशाले गन्तव्यमा नपुगिने हुनाले यस्ता
कुराहरूलाई यत्तिमै सीमित राखौं ।
८. पुनर्जागरणको खाँचो
शताब्दियौंदेखि
पुर्खाका पसिनाले सिञ्चित हुँदै आएको यो भूमि आगामि शताब्दीहरूमा पनि पिंढी दर
पिंढीका पसिनाले हराभरा हुँदै अघि बढनेछ । तर पुर्खाको विरासतलाई कसरी थाम्ने ? र भावी पुस्तालाई कसरी अझ समृद्ध दुराडाँडा हस्तान्तरण
गर्ने ?
यो नै अहिलेको प्रमुख चिन्ता र चिन्तनको विषय हो । मीठो–मसिनो खानु, सुकिलो–मुकिलो
लगाउनु र अल्लि गतिलो घरमा बस्नुमात्र समृद्धिको सूचक हैन । यो अवस्था सामान्य
विकास त हो तर खोक्रो विकास हो । आडम्बरयुक्त । शिक्षा, साहित्य, इतिहास, कला, संस्कृति, सम्पदा संरक्षण, कृषि, व्यवशाय, उद्योग, पर्यटन, सिञ्चाई, सञ्चार, सडक, खानेपानी
लगायतका भौतिक पूर्वाधारको समुचित र सन्तुलित विकास एवम् पर्यावरणको संरक्षणबाट
मात्र वास्तविक सुख, समृद्धि
प्राप्त हुन्छ । दिगो हुन्छ । तर यसको लागि हामी सबैमा समय चेत हुनु अनिवार्य छ ।
समय चेतले मानिसलाई आफ्नो इतिहासलाई ठीकसँग संझिन, वर्तमानमा ठीक ढङ्गले उभिन र भविष्यको लागि ठीक मार्गदर्शन
गर्न अभिप्रेरित गर्छ । जुन जागरणले पुराना कुराको स्मरण, तिनको पुनरुद्धार र अगाडिको मार्गलाई आलोकित गर्छ यो नै
साँचो अर्थमा पुनर्जागरण हो र आजको मुख्य आवश्यकता हो ।
९. कसरी हुनसक्छ पुनर्जागरण
जागरण
जहिलेसुकै समाज र समय सापेक्ष हुन्छ । नेतृत्व कति दूरदर्शी र सर्वमान्य छ, समाज कति उत्साही र विवेकी छ, स्रोत साधनले कत्तिको सम्पन्न छ, उपलब्ध भौतिक पूर्वाधारहरूको अवस्था के छ, सम्भावना वा अवसरहरू के छन् भन्ने विषय सबैभन्दा महत्वपूर्ण
हुन्छन् । दुराडाँडा एकै पुस्तामा बनेको हैन । न त दश–आठजना अगुवाका पसिनालेमात्र बनेको हो । हामी सबैका
पुर्खाहरूको गच्छे अनुसारको योगदान परेको छ यहाँ । अब योगदान गर्ने पालो अहिलेको
पुस्तामा आइपुगेको छ ।
वर्तमान
पुस्ता तुलनात्मक रूपमा स्रोत, साधन
सम्पन्न छ । हाम्रो सम्पन्नताकै कारण हामी शहरबासी भयौं अनि यही कारणले हाम्रो
डाँडो झन् झन् खुइलिदै गएको हो भन्ने आत्मबोध पनि छ । त्यसैले मातृभूमिप्रति अगाध
माया छ । यसलाई हराभरा, पुष्ट र
केही दिनसक्ने सामर्थ्यवान बनाउन सक्यौं भने हाम्रा सन्तान दरसन्तानले पनि
बाउबाजेको यो थलोलाई संझिइ संझिइ फर्किने छन् भन्ने यथार्थ बुझेको छ । तसर्थ
परिस्थितिवस जहाँ रहे, बसेको भए
पनि मन,
बचन र कर्मले मातृभूमिको सेवामा यथासक्य जुटन तम्तयार छ । तर
यी सबै मनहरूलाई संयोजन गर्नसक्ने, उनीहरूमा विश्वास जगाउन सक्ने र मन, वचन, कर्मले
दुराडाँडाको श्रीवृद्धिमा समर्पित रहनसक्ने पात्र वा पात्रहरूको समूहको खाँचो छ ।
पुनर्जागरणका
बहुआयाम हुन्छन् । कुनै एउटा पाटोमा मात्र आएको जागरणले परिवर्तनलाई एकाङ्गी
बनाउँछ । तसर्थ यसलाई इतिहासको पहिचान, वर्तमानको आवश्यकता र भविष्यको सपनासँग जोडन आवश्यक हुन्छ ।
दुराडाँडाका ऐतिहासिक पात्र, स्थल, इतिहास, कला, साहित्य, संस्कृति
जस्ता सम्पदा हाम्रा साझा सम्पत्ती हुन् । यी हाम्रो पहिचान र एकताको साझा आधार
पनि हुन् । तसर्थ सर्वप्रथम भावुकता र वफादारिताभन्दा माथि उठेर हाम्रो इतिहासको
यथार्थ खोज, अध्ययन र लेखन हुन
आवश्यक छ । दुराडाँडाको निर्माणमा विभिन्न क्षेत्रबाट अगुवाई गर्ने र तिनलाई
सघाउने सबै सत्पात्रको इतिहास उजागर हुन आवश्यक छ । यसले हाम्रा पुर्खाहरुको सच्चा
सम्मानमात्र हैन हामी पछिल्ला पुस्तालाई पनि सत्कर्ममा लाग्न प्रेरित गर्छन् ।
यस्तै भाषा, संस्कृति, कला, साहित्यको
संरक्षण र संवर्धन उत्तिकै महत्वपूर्ण पक्ष हो ।
वर्तमानको
सन्दर्भमा, हाम्रै आँगनबाट गएको
मध्यपहाडी लोकमार्गको कारण एकै दिनको यात्रामा मुलुकको पूर्व या पश्चिम सीमानामा
पुग्न सकिने अवस्था बन्दैछ । दुरीको हिसावले दुईवटा प्रदेश राजधानी र केन्द्रिय
राजधानीबाट हामी निकै नजिक परेका छौं । दुराडाँडा क्षेत्रका सबै वडाहरू सडक
सञ्जालमा जोडिएका छन् । विकासका अनन्त सम्भावना छन् । यी मध्ये कृषि र पर्यटन
मुख्य हुन् भन्ने लाग्छ ।
कृषि, उद्योग, व्यवशाय
लगायतका क्षेत्रमा आर्थिक विकासको सम्भावना के के हुन सक्छन् भन्ने कुरा यही
क्षेत्रका विज्ञले जान्ने कुरा हुन् । हाम्रै कोरा बुद्धिले सोच्दा पनि उत्तर
(पात्ला) पट्टिका पाखाहरूमा कति स्वादिलो आलु फल्दो हो ? कति सुन्दर चिया बगान बनाउन सकिदो हो ? कति गुणस्तरीय अलैंची, किवि, स्ट्रबेरी
फल्दो हो ? अम्रिसो, इस्कुश मात्रै रोपे पनि किसानका हातमा कति करोड पर्दो हो ? यस्ता अनगिन्ति सम्भावनाबारे बृहत् छलफल आवश्यक छ ।
पर्यटनको
सन्दर्भमा, हाम्रो इतिहास र
पर्यटनलाई सँग सँगै जोडेर लैजान सकियो भने यसले डाँडाको कायापलट गर्न सकिन्छ भन्ने
लाग्छ । जस्तै अर्चल्यानीमा पचास–साठी रोपनी
क्षेत्रफलमा मनोरम उद्यान सहित पण्डित तोयनाथ र उनका सहयोद्धाले हलो जोत्दै गरेको
भव्य सालिक राख्ने हो र त्यस क्षेत्रमा बहुमूल्य जडीबुटी खेतीसहित आयुर्वेद
अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने हो भने कति पर्यटक आउलान् ?, खजेगाउँमा साठी–सत्तरी रोपनी क्षेत्रफलमा विशाल उद्यान निर्माण गरेर खजे
दुरासहित पञ्चपुर्खा र दुराडाँडाको विकासमा योगदान गरेका दर्जनौं पूर्वजहरूका
सालिक स्थापना गर्ने, दुरा जातिको
भाषा,
संस्कृति सहितको पहिचान झल्किने सङग्रहालय, वनभोज स्थलहरू निर्माण गर्ने, अतिथिशाला सञ्चालन गर्ने, हिमाली श्रृङ्खला देख्न सकिने गरी भ्यू टावरको निर्माण
गर्ने,
उद्यानमा काठे सुनसमेत भनिने अगर उड रोप्ने हो भने आफ्नै
आम्दानीने चलेको सार्वजनिक उद्यान घुम्न कति मानिस आउलान् यहाँ? गुरुकुल आश्रमलाई पचास–साठी रोपनी क्षेत्रफलमा विस्तार गरेर संस्कृत वाङ्मयको
अध्ययन केन्द्र र नेटा कानेस्वाँराको हेसे होइतुङ गुम्बालाई पनि कम्तीमा त्यत्ति
नै क्षेत्रफलमा फैलाएर बौद्ध दर्शनको अध्ययन केन्द्र बनाउन सके हाम्रो डाँडो कति
गुलजार होला ? यी उद्यानमा रुद्राक्ष र बोधिचित्तका
दाना फलाउन सकेमात्रै पनि कसैसँग हात नथापि चल्नेछन् यी संस्था । थानसिङका गणेश र
मालिका भगवति क्षेत्रलाई धार्मिक गन्तब्यको रूपमा विकास गर्नसके सो क्षेत्रमा
सम्भावनाका कति ढोकाहरू उघ्रिएलान ? तुर्लुङको होमस्टेमा बसेको पाहुनालाई सिन्दूरे ढुङ्गामा पुर्याएर त्यही
ढुङ्गामा बसाई अबीरको टीकाले स्वागत गर्ने अनि त्यही बाटो तुर्लुङकालिकाको दर्शन
गर्न लैजाने हो भने कति खुशी होला ? सिन्दूरे ढुङ्गामा
फूल,
माला, प्रसादसहितका
पूजा सामग्री, कुखुरा, बोका कति बिक्री होलान् ? कालिकाको दर्शन गरेर फर्केको पाहुनालाई तुर्लुङकोटको गढी
नजिकै बसाएर बिहानको खाजा अनि कुवापानीमा वनभोजझैँ बिहानको खाना खुवाउने हो भने
हाम्रो पर्यटन कति फस्टाउँदो हो ? कोसेली र मायाको चिनो
भनेर ठूलोस्वाँरा, मकैस्वाँराको
अर्गानिक मह, हरियो तरकारी, सिमी, बोडी, कालोभट्ट, गुन्द्रुक, मस्यौरा, चिटिक्क परेका साना बुट्टे खुर्पेटो, लरक्क परेका धानको बालाका पुतली, स–साना छत्री
लगायत हस्तकलाका सामग्री कति बेच्न सकिदो हो? पुरानकोटको पहरामा रक
क्लाइम्बिङ् गर्न आउने युवाको लर्को कति लामो हुँदो हो ?... । हुन त यी कुरा मेरो मनका लड्डु हुन्, तर अरू ठाउँका जाँगरिला मानिसहरूले आफ्ना सम्पदालाई यसरी नै
विकसित गरेर उच्च मूल्यमा बेचेका छन्, उन्नति प्रगति गरेका छन् भने हामीले गर्न सकिदैन होला र?
हामीसँग
कला र साहित्यको क्षेत्रमा राष्ट्रियस्तरका प्रतिभा छन्, वाङ्मय साधकहरू छन्, संवैधानिक निकाय र विभिन्न निकायमा कार्यरत उच्च प्रशासकहरू
छन्,
प्राध्यापक र शिक्षासेवीहरू छन्, कृषिविज्ञ, कानुनविद्, चिकित्सक, इञ्जिनियर, उद्यमी, व्यवशायी, सञ्चारकर्मी सबै छन् । नाम लिदा पूर्वाग्रही हुनसक्ने भयको
कारण मैले त्यस्तो धृष्टता गर्न सकिन तर हामी विविध क्षमताले युक्त छौं ।
दुराडाँडा क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले स्थापित दुराडाँडा सेवा समाज, दुरा सेवा समाज, बेसीशहर, चितवन, पोखरा लगायतका स्थानमा रहेका सम्पर्क समाजहरू सक्रिय छन् । स्थानीयरूपमा विभिन्न संघ, संस्था, क्लबहरू
सक्रिय छन् । दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान, हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठान, मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान,ठाडोभाका लोक कला प्रतिष्ठान लगायतका संस्थाहरू पनि आ–आफ्ना क्षेत्रमा लागिपर्दै आएका छन् । विदेशी भूमिमा रहे, बसेको भए पनि मातृभूमिको विकासको लागि जुनसुकै सहयोग गर्न
तत्पर दुराडाँडाका सयौं उत्साही सन्ततिहरू छन् । यी सबै शक्ति र क्षमतालाई एकीकृत
गर्न सक्ने हो भने हामी भरिपूर्ण छौं । सम्पन्न छौं । हाम्रो नाम खोसिए पनि भूगोल
त्यही हो र त्यो युगौंदेखि जहाँको तहीँ छ । हामी त्यही हौं र त्यहीं छौं । मात्रै हाम्रो मन बाँडिन र
भाँडिन हुँदैन । जे गरे पनि समग्र दुराडाँडा क्षेत्रलाई केन्द्रमा राखेर गरौँ ।
कुनै जात,
जाति, समुदाय, धर्म, भाषा, क्षेत्र, राजनीतिक
आस्थाको आधारमा विभेद वा कित्ताकाट नगरौँ। हाम्रो सन्तुलित अवधारणा, व्यवहार र साझा मेहनतले नै भोलिको भव्य दुराडाँडा निर्माणको
मार्गचित्र कोरिने छ ।
१०.अन्त्यमा
टाढाबाट
हेर्दा सुन्दर र भव्य देखिएको कुनै चिजको यथार्थ रूप थाहा पाउन त्यसलाई नजिकबाट
हेर्नुपर्छ । तसर्थ आफ्नो मातृभूमिलाई जति सकिन्छ उति नजिकबाट हेरौं । सुमसुम्याउँ
। पूर्वजहरूको विरासतमा प्राप्त परिचयको गरिमा बोध गरौँ । सानो सपनाले ठूलो
उपलब्धि हात लाग्दैन । त्यसैले ठूलो सपना देखौं । त्यो सपना पूरा गर्न आपसी सल्लाह
र विज्ञका राय, परामर्शले जे सर्वोत्तम
ठहरिन्छ त्यही गरौँ । सबैले हातेमालो गरेर गरौँ । होस्टेमा हैंसे गरौँ ।
मातृभूमिको अवस्था र भविष्यबारे चिन्ता हैन चिन्तन गरौँ । सम्भावनाहरू अनन्त छन् ।
मात्रै तिनलाई पहिल्याएर पछ्याउन सकिएको छैन । हाम्रै जागरणको पूञ्जबाट
पुनर्जागरणको बिहान उदाउने छ । दुराडाँडाको पुनरोदय हुनेछ । हाम्रा पुर्खा र
हामीले देखेको समृद्ध दुराडाँडाको सपना बिपनामा परिणत हुनेछ । हामी सबैलाई
शुभकामना ।
सन्दर्भ सामग्री
(१) अधिकारी, बम बहादुर । (२०७६) । लमजुङको सुनौलो इतिहास, दोस्रो संस्करण । काठमाडौ, स्वदेश प्रकाशन
(२) जन्मभूमिको ममता
। (२०६२) काठमाडौ: दुराडाँडा सेवा समाज
न्यौपाने, विजयरराज । (२०६८) लमजुङको साहित्यिक इतिहास । काठमाडौ: ईश्वरी देवी न्यौपाने
(४) अधिकारी, कोमलनाथ । (२०१८) कोमलगीता, तृतीयावृत्ति । वाराणसीः नारायणप्रसाद आचार्य
(५) हलो क्रान्तिका जनक पण्डित तोयनाथ अधिकारी ।
(२०६७) । काठमाडौ, सोमकान्त शर्मा
(६) देशान्तर साप्ताहिक (२०६१ जेठ ३१), काठमाडौ
(७) गोरखापत्र दैनिक (२०५६ श्रावण १२), काठमाडौ
(८) अन्नपूर्णको काख । (२०१५) लमजुङः स्कुल सञ्चालक
समिति लमजुङ सर्वोदय हाइस्कुल दुराडाँडा
(९) श्रीकान्त अधिकारी स्मृति ग्रन्थ । (२०७०) ।
काठमाडौ : स्मृति ग्रन्थ प्रकाशन
समिति
(१०) पण्डित बद्रीनाथ सुवेदी स्मृति ग्रन्थ । (२०७२) ।
काठमाडौ: स्मृति ग्रन्थ प्रकाशन समिति
दुराडाँडाको परिचय र पहिचान,प्रकाशक दुराडाँडा-बेसीशहर समाज,२०७९ मा प्रकाशित