दक्षिण–पूर्व फर्किएको यो घमाइलो डाँडोलाई कहिलेदखि दुराडाँडा भन्न थालियो भन्ने तिथि मिति ठ्याक्कै त भन्न सकिदैन तर यहाँका आदिपुर्खा दुराहरुले आप्mनो पौरख र पसिनाले गुल्जार बनाएपछि नै यो ‘अनाम’ डाँडोले दुराडाँडा नाम पाएको हुनुपर्छ । हाम्रो नामाकरण परम्परामा आफ्नो नाम आफै राखिदैन । अरुले राखिदिन्छन् । दुराडाँडा पनि दुराहरुले आफ्नो बसोबास गरेको डाँडो भएकोले दुराडाँडा राखेका होइनन् वरपरका छिमेकिले दुराहरुको बस्ती भएको कारण दुराडाँडा भनेका हुुन । तसर्थ दुराडाँडाका आदिपूर्खा दुरा नै हुन् ।
१. दुराजातिको आगमन
दुराहरु को हुन ? कहिले र कहाँबाट यो ठाउँमा आइपुगे ? भन्ने बारे इतिहासमा एकमत पाईदैन । साँच्चै भन्ने हो भने मिहिन ढंगले खोजी नै भएको छैन । हामी कसैलाई पनि आप्mनो वंशको पाँच पुस्ता अघिका बाजेको नाम ठीकसँग आउँदैन । उनको मावली कहाँ हो ? पत्तो हुँदैन । ज्यामाको त कुरै नगरौं बुढीहजुर आमालाई तर्पण दिदा यथानाम भनेर दिने धेरै छौं । अनि कसरी थाहा हुन्छ पूर्वजहरुकाबारे ? नेपालीहरुको संस्कार र विद्वत परम्परा नै त्यस्तो बसेन । राजा महाराजा र केही सामन्तहरुका वंशजको हाँगो समाउन सकिए पनि आम मान्छेको इतिहास कहिल्यै लेखिएन । दुराजाति बारे कलम चलाएका केही विद्वानहरुले उनीहरु दैलेखको दुल्लु क्षेत्रका ‘दुलाल’ वंशका भएको र दैलेखमा उनीहरुले राजकाज समेत चलाएको उल्लेख गरेकाछन् । दुल्लुबाट बसाईं सर्दै पूर्व्तिर आएपछि ‘दुलाल’ हरुलाई ‘दुरा’ भन्न थालिएको हो भनिएको छ ।
साधारणतः उनीहरु मङ्गोल जातीय रक्तवंशसंग सम्बन्धित जाति मानिन्छ (प्रा.डा.कृष्णबहादुर थापा, २०६२) । दुराहरुको शारीरिक बनोट र रितिरिवाज (जस्तै फुपू चेला र ममा चेलीबीच बिबाह गर्ने प्रचलन, साँस्कृतिक पर्व, कूलपूजा जस्ता धार्मिक अनुष्ठानमा मदिराको प्रयोग आदि) बाट पनि उनको यो भनाईमा सत्यता पाइन्छ । अतः मङ्गोल रक्तवंशका दुराहरुका आदिपुर्खा ‘दुलाल’ (यिनीहरु आर्यवंशी हुन् ) हुन् भन्ने भनाई पत्यारिलो लाग्दैन । खस–बाहुन सम्प्रदायको एउटा ‘थर’ विशेषको रुपमा रहदै आएको ‘दुलाल’ वंशबाट नित्तान्त भिन्दै रक्तवंशको, आप्mनै भाषा, संस्कृति भएको अलग जातिको उद्भव भएको भन्नु पत्यारिलो तथ्य होइन । अतः दुराहरु दैलेख दुल्लुक्षेत्रमा बसोबास गरेका मङ्गोलवंशी मध्येकै हुनुपर्छ ।
दुराहरु दुल्लुबाट पाल्पाको छहरा, स्याङ्जाको नुवाकोट, कास्कीको अर्घौं हँुदै ती ठाउँमा केही पुस्ता विताउँदै विताउँदै दुराडाँडा आइपुगेका हुन् भनिन्छ (गोकुल दुरा,२०६२) । तर उल्लिखित कुनै पनि ठाउँमा अहिले दुराहरुको बसोबास नभेटिनुले यो भनाईलाई पुष्टि गर्ने आधार भेटिदैन । कुनै पनि जाति एक ठाउँबाट अर्को ठाउँमा वसाईं सरेर जाँदा जातिका सम्पूर्णले आप्mनो थातथलो एकै पटक छोडेर गएको पाईंदैन । यसलाई मनन गर्दा या त उनीहरु दैलेखबाट सरासर यो क्षेत्रमा आइपुगेको हुनुपर्छ या दुराडाँडा आइपुग्नु अघिसम्म उनीहरुको थर ‘दुरा’ थिएन ।
मध्यकालमा दैलेख र देैलेख पश्चिमक्षेत्रमा गाउँहरुको समूह जनाउन ‘दरा’ शव्दको प्रयोग हुन्थ्यो । उक्त क्षेत्रका मठ मन्दिरको गुठी राख्दा ती मठ, मन्दिरको ठेगाना जनाउन ‘दरा’ शव्द प्रयोग भएको छ । जस्तै दैलेख डल्लु मध्ये मारु खण्ड दरा श्री मालिका गुठी, दैलेख अछाम सातसिउ (सात सय ?) दरा टोलका गाउँका सिद्ध संसारमय गुठी, डोटी पन्ध्र वीस दरा श्री वडामालिका गुठी, दैलेख छ वीस दरा पु.६ गाउँको नन्दादेवी गुठी आदि (रामप्रसाद भण्डारी संभव ः२०६३) । अहिले पनि उक्त क्षेत्रका गाउँहरुको नाममा ‘दरा’ शव्द रहेको पाइन्छ । यसलाई आधार लिँदा उनीहरु दुल्लुक्षेत्रका ्‘दरा’ मध्ये कुनै ‘दरा’ का वासिन्दा थिए । दैलेखबाट पूर्व सरेर नयाँ ठाउँमा आएपछि स्वभावतः उनीहरुले वरपरका छिमेकीसंगको परिचयक्रममा आफ्नो पुख्र्यौली थलोको नाम लिएर आपूmहरु कुनै ‘दरा’ बाट आएको बताए । यस क्षेत्रका मानिसका लागि ‘दरा’ शव्द नयाँ थियो । उनीहरुलाई सायद यो नयाँ शव्दले छिटो छोयो । नयाँ ठाउँका छिमेकीहरुले ‘दरा’ बाट आएकाहरुको गाउँलाई ‘दरागाउँ’ र त्यहाँका मानिसलाई ‘दराली’ वा ‘दरे’ हुँदै ‘दुरा’ भनिएको हुनसक्छ । त्यसै गरी दैलेख पश्चिमदेखि डोटीसम्म भगवतीलाई ‘मालिका’ को नामबाट पुकार्ने,पूज्ने परम्परा छ । दुराडाँडा र वरपरका क्षेत्रमा थानसिंङ बाहेक अन्यत्र कतै मालिका देवीको मन्दिर रहेको पाइदैन । अतः थानसिंङकी मालिकाको स्थापना यो क्षेत्रमा दुराहरुको आगमनपछि उनीहरुले नै गरेको हुनसक्छ । इतिहासमा अन्यत्र उल्लेख नभएका यी पाटाको गहन अध्ययन हुनसके दुराहरुको पुर्खा र पुख्र्यौली थलो बारे थप तथ्य पत्ता लाग्ने देखिन्छ ।
दुराहरु दुराडाँडाक्षेत्रमा अहिलेको लमजुङको दक्षिण पश्चिम क्षेत्रबाट प्रवेश गरेका हुन् । कास्कीको अर्घौबाट उत्तरपूर्व लागेका उनीहरु राम्चे र हाँडिखोलाको दोभान नजिकै आइपुगेपछि त्यसकै उत्तर–पश्चिम पाटोको पाखो (डढुवाको पुच्छार) लाई आवाद गरेर वस्ती बसाए । दुराहरुले पहिलोपटक वस्ती बसाएको यो गाँउलाई आरीकोसी भनिन्छ । नेपालको पश्चिम भेगमा काठलाई खोपेर बनाइने करीव पाँच–सात माना अन्न अट्ने भाँडोलाई आरी वा कोसी भनिन्छ । दैलेख क्षेत्रको आदिवासी राउटे जातीले काठका आरी,कोसी बनाउने सीप अहिलेसम्म पनि जोगाउँदै आएबाट यो सीपको विकास दैलेख क्षेत्रबाटै भएको अनुमान गर्न सकिन्छ । सोही क्षेत्रबाट आएको भनिएका दुराहरुसंग पनि पक्कै यो सीप भएको हुनुपर्छ । फलतः त्यहाँबाट बसाईं सरेर आउँदा उनीहरुले आरी वा कोसी बनाउने सीप पनि सँगै लिएर आए । आरी, कोसी बनाउन सिपालुहरुको गाँउ भएकैले उक्त गाँउको नाम आरीकोसी रहेको हुनुपर्छ । पञ्चायत कालको पूर्वाद्र्धमा यो गाउँपञ्चायतको नाम नै आरिकोशी गा.पं. थियो ।
दुराहरु यो डाँडामा कहिले आइपुगे यकिन छैन । केही विद्वानहरुले उनीहरु सोह्रौ शताव्दीमा दुराडाँडा आएको उल्लेख गरेको देखिन्छ (भुवन दुरा,२०६२) । तर ऐतिहासिक तथ्य अनुसार वि.सं.१५५० मा लमजुङ राज्यमा शाहवंशको स्थापना दुराहरुकै नेतृत्वमा भएको पाइएको छ । यो ठाउँमा कमसेकम दुई–चार पुस्ता नविताएको जाति वा नेतृत्वले राज्यभरिका मानिसलाई आप्mनो मतमा हिंडाएर नयाँ राजवंशको स्थापना गर्ने हैसियत आर्जन गर्न सक्योहोला भन्ने लाग्दैन । तसर्थ उनीहरु पन्ध्रौं शताब्दीको शुरुमै यहाँ आइसकेको हुनुपर्छ ।
लमजुङ राज्यमा शाहवंशको स्थापना कालसम्म दुराहरुको बसोबास हाँडिखोला खोला र राम्चेको दोभान वरपर थियो । आप्mनो अगुवाईमा नयाँ राजवंश स्थापना गरेपछि उनीहरुले राजालाई तुर्लुङकोट नजिक टाकुरामा दरवार बनाएर राखे । दरवार पश्चिमको समथर टाकुरोमा कास्कीकोटबाट ल्याइएकी शाहवंशकी इष्टदेवी कालिकाको मन्दिर र भैरव थानको स्थापना गरियो । दक्षिण तर्फ फर्काएर दर्जनौ गढी निर्माण गरियो । राजाकै सुरक्षाका लागि दुराहरु दरवार वरपर नै घर बनाएर बसे र सम्पूर्ण सैन्यशक्तिको समेत नेतृत्व गरे । अहिले पनि दुराहरुका कतिपय घरमा त्यतिबेला लडाईंमा प्रयोग गरिएका भरुवा बन्दुक,तरवार,सुनका टीका जडित खुँडा र खुकुरी थुप्रै भेटिन्छन् (गोकुल दुरा,२०६२) सुरक्षा व्यवस्थालाई थप मजवुत पार्न दुराडाँडा भन्दा दक्षिणपूर्वको कुन्छा र पश्चिमको तान्द्राङमा समेत उनीहरुकै नेतृत्वमा आवश्यक बन्दोवस्त मिलाइयो । केही सैनिक र तिनका परिवार कुन्छा र तान्द्राङ पठाईए । ती ठाउँमा रहेका दुराजातिका पुराना बस्तीले यो तथ्य पुष्टि गर्छन । राजाको थप सुरक्षका लागि राजदरवार तुर्लुङबाट पुरानकोट सारियो । समयक्रममा तुर्लुङ दरवार वरपरको घना दुरावस्ती डढेलोमा पर्यो । डढेलोमा परेकै कारण उक्त क्षेत्रलाई अहिले पनि डढुवा भनिन्छ । आगलागिपछि उनीहरु उक्त ठाउँ छोडेर तुर्लुङ, नेटा, ठूलोस्वाँरा, र खजेगाउँसम्म छरिए ।
लमजुङ राज्यको भू–क्षेत्रको तुलनामा दुराहरुको आवादी क्षेत्र खासै ठूलो देखिँदैन । सानो भू–क्षेत्र आवाद गरेर बसेका अल्पसंख्यक दुराहरुले राजवंश फेर्नेसम्मको शक्ति आर्जन गर्नुले उनीहरुसँग नेतृत्व खुवी, सैन्य कौशल र कुटनीतिक क्षमता रहेको देखिन्छ । लमजुङमा दुराहरुले खेलेको राजनीतिक भूमिकालाई विश्लेषण गर्दा दुल्लुबाट बसाईं सर्नुपूर्व उनीहरुको वंशले त्यहाँ राजकाज चलाएका थिए भन्ने भनाईलार्ई पुष्टि गर्छ । दुराहरु जहाँबाट जहिले आएका भए पनि उनीहरु नै यो डाँडाका आदिपुर्खा हुन् भन्नेमा कुनै द्विविधा छैन । अहिले मुलुकभित्र र बाहिर विभिन्न ठाउँमा छरिएर रहेका दुराहरुको अहिलेसम्मको खोजबाट पुष्टि भएको पुख्र्यौली थलो दुराडाँडा नै हो । करीव ६०० वर्षअघि नै लमजुङ राज्यमा नयाँ राजवंशको स्थापना गर्ने कार्यको नेतृत्व गरी गौरवमय योगदान गर्ने यो जातिको इतिहासबारे अनुसन्धाताहरुबाट थप खोजी हुन आवश्यक छ ।
२. लमजुङमा शााहवंशको स्थापना
सोह्रौं शताब्दीको मध्यसम्म लमजुङमा घले वंशको शासन थियो । घलेहरुसंग रैतिहरु खुशी थिएनन् । उच्च राजनैतिक चेत र सुझबुझ राख्ने दुराहरु पनि यो शासनवृत्तबाट बाहिरै थिए । फलतः उनीहरुले घलेराज विरुद्ध संगठन गरे । कुसुमाकर घिमिरेलाई आप्mनो समूहमा समेटे । मादी नदीको किनारमा आयोजित दुरापक्षीय अगुवाहरुको भेलाले कास्कीका राजा कुलमण्डन शाहसँग उनका कुनै छोरालाई मागेर ल्याई लमजुङको राजा वनाउने निर्णय गर्यो । खजेदुरा,लक्ष्मण दुरा,नारायण दुरा,कुसुमाकर घिमिरे र गजे धिंगल (तर किशोर दुराले जन्मभूमिको ममता,२०६२ मा कास्की दरवार जानेहरुमा खजेदुरा, दधिराम दुरा,माघे दुरा,चामु धिंगल, सुकराज क्याप्छा र कुसुमाकर घिमिरे भनी उल्लेख गरेका छन्) कास्की दरवारमा पुगी कुलमण्डन शाहसँग उनका कुनै एक छोरालाई लमजुङको राजगद्दीमा वसाउने मन्सुवाले छोरा माग्न आएको बताए । कुलमण्डन शाहले जेठो छोरो स्वभावतः कास्कीकै राजगद्दीका उत्तराधिकारी भएकाले त्यसपछिको रोलक्रमका माहिला छोरा कालु शाहलाई लमजुङ लैजाने अनुमति दिए । उनीहरु कालु शाहलाई लिई लमजुङ फर्के ।
कालु शाहलाई राजा बनाएपछि लमजुङमा घले र शाहवंशको समानान्तर द्वेैध शासन चल्यो । शाह पक्ष र घले पक्ष बीच दाउपेच र षडयन्त्र चल्यो । राज्य स्थिर भएन । असुरक्षा बढ्यो । राजाको लागि डढुवामा रहेको दरवार भन्दा पुरानकोटको थाप्लो बढी सुरक्षित हुने ठानी दरवार पुरानकोट सारियो । यति हुँदा हँुदै पनि घले राजाका सिपाहिहरुले कालु शाहलाई अहिलेको बाख्रेजगत र नाल्मा बीचको जंगलमा शिकार खेल्न गएका बेला हत्या गरिदिए (किशोर दुराले ऐ.मा वागलुङपानी माथिको सिसिढुंगा वनमा उल्लेख गरेका छन्) । उनीसँगै शिकारमा गएका भारदार नारायण दुरा पनि मारिए । यसले राज्यमा ठूलो खैलाबैला भयो । राजा मारिएपछि रानीले माइत जाने इच्छा गरिन् । राजा मारिए पनि राज्यमा उनको विरासतको रुपमा कोही न कोही रहोस् भन्ने अभिप्रायले भारदारहरुले रानीलाई रोके । सुरक्षाको लागि मिदिम र राम्चेको दोभान नजिकैको ओडारमा रानीलाई लुकाएर राखे । रानीलाई लुकाएर राखिएको ओडारलाई रानीओडार भनिन्छ ।
कालु शाहको हत्याले खजेदुरा लगायतका भारदारहरु बिलखबन्दमा परे । घलेहरुसँगको शत्रुता अझ बढेको थियो भने आप्mनै पहलमा ल्याईएका राजा मारिएका थिए । दरवारमै भारदार रहेका लक्षमण दुरा आप्mना पिता नारायण दुरा मारिएकोमा अझ बढी क्षुभ्द थिए । भारदारहरुमा कास्कीका राजालाई उनको छोराको हत्या भएको खवर दिनुपर्ने दायित्व सँगै कसलाई अर्को राजा बनाउने भन्ने चिन्ता थपिएको थियो । उनीहरुले पुनः कुलमण्डन शाहसंग अर्को छोरा मागेर ल्याई राजा बनाउने र घले राज अन्त्य गरेरै छोडने प्रण गरे । राजासँग अर्को राजकुमार मागी ल्याउने आँट सहित कालु शाह मारिएको दुःखद खबर लिएर खजे दुरासहितका पञ्चपुर्खा कास्की दरवार पुगे । एउटा छोरो मारिएको र पुनः अर्को छोरो माग्न आएको सुनेर रानी क्रुद्ध भइन् । राजा कुलमण्डन स्तव्ध भए । रानीले आप्mना छोरा मूला काटे जसरी काटन नदिने भन्दै उनीहरुको माग ठाडै अस्वीकार गरिदिइन् । भारदारहरुले आप्mनो निर्दो्षिता प्रकट गर्दै आगामी दिनमा राजाको गाथगादीको पूर्ण सुरक्षाको कसम खाए । जे भए पनि राजाको छोरो राजा हुने भएकोले कुलमण्डन शाह पुनः आप्mना कान्छा छोरा यशोव्रम्ह शाहलाई लमजुङ पठाउन राजी भए । तर यसपटक उनले छोराको विशेष रेखदेख र संरक्षणका लागि दरवारकै एकजना चतुर भारदार समन्त अधिकारीलाई समेत साथै पठाए । खजेदुरा र उनका सहयोगीहरु यशोव्रम्ह शाहलाई लिई फर्किए । उनलाई पनि रानीलाई लुकाएर राखिएकै ओडारमा लुकाएर राखियो । समन्तलाई गाँउको माझमा रहेको मैदान भन्ने ठाउँ (दुरा पँधेरोभन्दा माथिको फराकिलो पाटो ÷मधुसुदन अधिकारीको पुख्र्यौली घर,अहिले उनका कान्छा भाई नीलकण्ठका सन्तती बसिरहेको ठाउँ ) मा राख्ने बन्दोवस्त मिलाइयो । यसको करीव ५०० मिटर पश्चिम तर्फ उनको लागि पँधेरो समेत अलग्गै निर्माण गरियो । यसलाई अहिले बाहुन पँधेरो भनिन्छ । दुराडाँडाका अधिकारीहरुका आदिपुर्खा समन्त (तर ठाकुरप्रसाद छाँगा स्मृति ग्रन्थमा द्वारिकादास उल्लेख गरिएको छ ) ले दुराडाँडामा धुरी हालेको ठाउँ यही हो ।
कालु शाह मारिएपछि नयाँ राजाको अन्त्य भएको र शक्ति संघर्ष टुङ्गिएको ठानेर घलेहरु ढुक्क थिए । उनीहरु खजे दुरा समेतका भारदारले राजा बनाउनकै लागि पुनः कास्की दरवारबाट यशोव्रम्ह शाहलाई लिई आएको घटनाबाट वेखवर थिए । यता खजे दुरालाई पनि यशोव्रम्हलाई राजा बनाउनुपूर्व घलेहरुको शक्तिको पूर्ण अन्त्य आवश्यक थियो । तर यो सजिलो थिएन । सजिलै पराजित गर्न नसकिने ठानेर खजे दुरा र उनका साथीले कपट गरेरै भए पनि घलेहरुको अत्याचारको अन्त्य गर्ने उपाय खोजे । अहिलेसम्मका द्वेष विर्सेर मैत्रीसन्धि गर्न दुवैपक्षका प्रमुख मानिसहरु बिना हतियार बालुवाबेसीमा भेट गर्ने सल्लाह गरियो । दुराहरुले सन्धि गर्ने भनिएको दिन अगावै बालुवामुनि हातहतियार लुकाएर राखे । सन्धिका लागि दुवैपक्ष बालुवाबेसीमा आए । मदिरा सहितको भोजभतेर चल्यो । भोजखाने क्रममा दुराहरुले निमाराको टपरीमा प्वाल पारेका थिए । यो चतुर्याईबाट बेखवर र दुराहरु लत्रेर आपूmसँग सन्धि गर्न राजी भएको भ्रममा रमाएका घलेहरुले भने निर्धक्क मदिरा पिए । घलेहरु मदिराले लठ्ठिएपछि दुराहरुले पहिल्यै लुकाइराखेका हतियार झिकी घलेहरुलाई सखाप पारिदिए । लमजुङमा घले शासनको अन्त्य भयो ।
घलेराजको अन्त्यपछि खजे दुराकै नेतृत्वमा यशोव्रम्ह शाहलाई बाजागाजासहित रानीओडारबाट भाँगु ल्याई त्यहाँ रहेको ठूलो ढुंगामाथि राखेर वि.सं.१५५० आषाढ १५ गते रविवार दशमी तिथिको सिंह लग्नमा लमजुङ राज्यको सिन्दूर पहिर्याइयो । राजालाई लमजुङ राज्यको राजतिलक पहिर्याइएको यो ऐतिहासिक ढुंगा ‘सिन्दूरे ढुंगा’ को नामले प्रसिद्ध छ । यशोव्रम्ह राजा बनेपछि खजेदुरा दरवारका प्रमुख भारदार बने । अरु भारदारमा दुरा, अधिकारी, घिमिरे, खनाल, भण्डारी र सुयेंलथरका अगुवाहरु थिए । यी थर लमजुङ दरवारमा ६ थरघर भित्र पर्दथे । कालु शाहकै पालामा तुर्लुङबाट पुरानकोट सारिएको दरवार पछि गाँउशहर सारियो । खजे र समन्तका सन्ततिले दुराडाँडाबाटै दरवार धाए तर यो थलो छोडेर गाउँशहर गएनन् ।
राजा बन्ने भन्दा राजा बनाउने मान्छे सबै दृष्टिले बलियो मान्छे हो । लोकोपवादलाई त्यागेको भए खजे आफै राजा हुन्थे । तर उनले त्यसो गरेनन् । आपूm राजा भएर अस्थीर राज्य भोग्न भन्दा छिमेकीको छोरालाई राजा बनाएर आफू बलियो राज्यको भारदार बन्न उनको मन राजी भयो । तसर्थ असीम नेतृत्व क्षमताका खजे दुरा नेपालको इतिहासका प्रमुख पात्र हुन् । उनकै अगुवाईमा लमजुङको राजसिंहासनमा राखिएका यशोब्रम्हका कान्छा छोरा द्रव्यशाह गोरखाका राजा भए । उनकै द्रव्य शाहको वंशका पृथ्वीनारायण शाहले बाइसे, चौबिसे र अन्य स–साना राज्यलाई जितेर एकीकृत नेपालको निर्माण गरे । लमजुङ र गोर्खाको सम्बन्ध भने द्रव्यशाहकै पालादेखि सुमधुर रहेन । जब गोरखाले फड्को मार्यो स्वभावतः शत्रुराज्य लमजुङ र त्यसका भारदारको योगदान ओझेलमा पर्यो । इतिहासकारले पनि जरो पहिल्याउने जाँगर चलाएनन् । फलतः खजेदुरा, उनका सहयोगी र लमजुङ राज्यको इतिहास अेझेलमा पर्यो । त्यहिबेला देखि नेपालको राजनीतिमा हामी पछाडि पर्यौं ।
सुशासन र लोकसम्मतिको खोजिका लागि जीवन अर्पिने राजनेता खजे र कुसुमाकर कहिले र कहाँ जन्मे भन्ने आधिकारिक तथ्य समेत हामीसँग छैन । खजेदुरालाई सघाउने कुसुमाकर घिमिरलाई कसैले चिसंकूका हुन् (प्रा.डा.इन्द्रविलास अधिकारी, २०६९) भनेका छन् भने कसैले पुस्तुनका । दुराहरुको बसोबास रहेको आरीकोशी र चिसंकू वरपरका छिमेकि गाउँ भएको र राजा स्थापना गर्ने मोतोमा खजे र उनी सँगै भएको देखिदा उनी चिसंकूकै हुनसक्ने देखिन्छ । घिमिरेहरु जुम्लाबाट लमजुुङ प्रवेश गर्दा उत्तरतिरबाट प्रवेश गरी पुस्तुन आएको र एउटा हाँगो त्यहाँबाट सरेर बाँझाखेत आएको देखिन्छ । तसर्थ पुस्तुनबाट बसाइ सरी आउँदा केही दाजुुभाई बाँझाखेत र केही चिसंकू सरेको पनि हुनसक्छ । उनको योगदान बारे थप खोजी हुन आवश्यक छ ।
युगपुरुष खजेको स्मृति र सम्मानमा सर्वोदय मा.वि.को रजत जयन्तीको अवसरमा २०३३ कार्तिक २१ गते चिहानपाटामा खजेपार्कको स्थापना गरी उनको सालिक स्थापना गरिएको छ । (यो सालिकको निर्माण गर्ने कलाकार चिहानपाटाका मानबहादुर विश्वकर्मा हुन्) त्यसैबेलादेखि वर्षेनी कार्तिक २१ गते ‘खजे जयन्ती’ मनाउने गरिएको छ ।
करीब अढाई दशक अघि गठन भएको दुरा सेवा समाजले खजे दुराका विषयमा थप अध्ययनका साथै दुरा जातिको पहिचान, भाषा र संस्कृति लगायत सो जातीको संस्कृतिको र समग्र उत्थानको लागि खटिरहेको छ । धेरै राम्रा काम भएका छन् । दुरा सेवा समाजका संस्थापक अध्यक्ष रहेका किशोर दुरासँग उक्त संस्था गठनको प्रारम्भीक खाका तयार गर्ने, विधान बनाउने काममा संलग्न रहन पाउँदाको क्षण र संस्थाको लोगोको परिकल्पना गरी म आपूmले सुुझाए अनुरुपको लोगो प्रयोगमा आएका क्षण मेरालागि पनि स्मरणीय छन् ।
३. दुराडाँडामा पिंढी शिक्षा
पूर्वीय सभ्यतामा शिक्षा दान वा आर्जनको लागि गुरुकुल परम्परा स्थापित थियो । अनेकौ कुल थिए । १०,००० विद्यार्थीलाई आवास र भोजन सहितको शिक्षादानको प्रवन्ध मिलाउने ऋषिलाई कुलपति भनिन्थ्यो । तर यो परम्परा बीचमा हरायो । व्यवस्थित पद्दति अलमलियो । तर शिक्षा दान र आर्जनको परम्परा रोकिएन । गुरुहरुले आफ्नै घरको पिंढीमा राखेर पढाए । यसलाई पिंढी शिक्षा भनिन्छ ।
दुराडाँडामा पिंढी शिक्षाको थालनी घिमिरे गुरुहरुबाट भएको हो । पुस्तुनबाट सरेर केही घिमिरेहरु बाँझाखेत आएका थिए । घिमिरेहरु पढेलेखेका थिए । व्याकरण र ज्योतिषको समेत ज्ञान भएका उनीहरु यजमानी पनि गर्थे । उनीहरुको यो गुणका कारण शिव शर्माका सन्तति समन्त, शुकदेव लगायतले वाँझाखेतका कृष्णानन्द घिमिरे (मोक्षेश्वर घिमिरेका बाजे, मोक्षेश्वर गुरुप्रसाद घिमिरेका वाजे हुन् ) लाई दुराडाँडा ल्याई आफ्ना पुर्खाले विर्ता पाएको जग्गामा बसोबास गराएका हुन् । कृष्णनन्द घिमिरेको पिंढीबाट दुराडाँडामा शिक्षा दान र आर्जनको वपरम्परा बसेको हो ।
घिमिरेहरु दुराडाँडा आएपछि उनीहरुले आप्mनै घर पिंढीमा आप्mना छोराहरु सँगै यजमानहरुका छोरालाई पनि पढन लेख्न सिकाउन थाले । गुरुकै घरमा गई पढने र त्यसवापत गुरु र गुरुपत्निलाई घरायशी काममा सघाउने परम्परा चल्यो । जो जति चलाख र कण्ठाग्र गर्न सक्थ्यो उसले अरु भन्दा धेरै विषयको ज्ञान पाउँथ्यो । कमजोरहरु रामायण, महाभारत वाचन गर्ने, चिठीपत्र वा तमसुक, तालुकदारी रसिद लेख्न सक्ने भएपछि पढाई पूरा गरेको ठानिन्थ्यो । यो प्रथा मोक्षेश्वरका पालासम्म कायम रह्यो । मोक्षेश्वर विद्वतामा यो भेकमै प्रख्यात थिए । उनीसँग पढन तनहुँबाट पनि शिष्यहरु आउँथे । यही समयमा जलुकेनीका विष्ण्ुाप्रसाद अधिकारी (विचारी काशिनाथ अधिकारीका बाजे) ले पनि धेरै मानिसलाई आप्mनो घर–पिंढीमा राखेर पढाएका थिए । कृष्णनन्द घिमिरे र उनका नाती मोक्षेश्वर तथा विष्णुप्रसाद अधिकारीहरुले दुराडाँडामा शिक्षादानको व्यवस्थित परम्परा बसालेका हुन् ।
४. बेल चौतारीको पाठशाला
बेल चौतारीको पाठशाला कोमलनाथ अधिकारीसँग जोडिएर आउँछ । कोमलनाथको बुढामावली लिलिग हो । कोमलनाथ र उनका भाई हरिदासले वि.सं.१९५५÷५६ सालतिर लिगलिग स्थित बुढामावली मा बसेर प्रारम्भिक शिक्षा हाँसिल गरेका हुन् । उनीहरुकी हजुरआमा द्रौपदादेवीलाई भागवत कण्ठस्थ थियो। उनलाई पढाइको महत्व र यसबाट समाजमा मिल्ने मान सम्मानको राम्रो हेक्का थियो । फलतः उनले आप्mना नातीहरुलाई माइतिमा लगेर पढने बन्दोवस्त मिलाइन् । नातिनीहरु भागिरथी, पूर्णकुमारी र पार्वतीलाई आफैले घरमै पढाएर रामायण वाचन गर्नसक्ने बनाएकी थिइन् । दुराडाँडामा पहिलो पटक पढने मौका पाएका र पढन जानेका महिला यिनै तीनजना थिए ।
प्रारम्भिक शिक्षापछि वि.सं.१९६३ मा कोमलनाथ र हरिदास काठमाडौ आई रानीपोखरी संस्कृत पाठशालामा पढन थाले । दुवै जनाले यही स्कूलबाट प्रथमा परीक्षा पूरा गरे । यहीताका देवीदासले छोराहरुलाई छुट्ी–भिन्न गरिदिए । जेठा छोरा कालिदास त्यतिवेला उपरदाङ गढी चितवनमा विचारी भई सरकारी जागिरमा लागिसकेका थिए । हरिदास घर व्यवहार सम्हाल्न दुराडाँडा फर्किए । कोमलनाथ थप अध्ययनका लागि वनारस गए । उनले वि.सं.१९७० मा काशीको क्वीन्स कलेजबाट मध्यमा परीक्षा उत्तीर्ण गरे । वनारस पढदै गर्दा उनी बिरामी परे । फलतः आरामका लागि वि.सं.१९७२ को फागुनमा दुराडाँडा फर्के र वि.सं. १९७४ को वैशाखसम्म घरमै बसे ।
दुराडाँडामा बसेका बेला कोमलनाथले आफ्नै घरको आँगनमा रहेको बेलको चौतारीमा गाउँका केटाहरुलाई बटुलेर पढाउन थाले । जलुकेनीका काशिनाथ अधिकारी, नरहरि अधिकारी, देवतापानीका चिरञ्जिवी अधिकारी, तिवारीथोकका यदुनाथ अधिकारी, स्वाँराका कविनाथ अधिकारी, रामदत्त अधिकारी, देवतापानीका पुष्करनाथ बास्तोला, धरित्रीनाथ बास्तोला आदिले उनीसंग पढे । कोमलनाथले वेल चौतारीमा पढाउनु पहिले शिष्यहरु गुरुको अनुकूल समय पारेर गुरुकै घरपिंढीमा गई पढ्थे । तर वेलचौतारामा कोमलनाथले दैनिक रुपमा बिहानको खानापछि बेलुकासम्म पढाउँथे । तसर्थ बेलचौतारीकाने पाठशाला इच्छुक सबैले पढन पाउने गरी कोमलनाथले अनौपचारिक रुपमा शुरु गरेको दुराडाँडाको पहिलो पाठशाला थियो ।
कोमलनाथ प्रकाण्ड विद्वान थिए । फराकिलो मोहडामा ठूल्ठूला आँखा र िकञ्चित लामो प्रतित हुने नाक भएका कोमलनाथको कद ठीक्कको थियो । तर वौद्धिक कद भने अत्यन्त उच्च थियो । उनी दुराडाँडा बसेका बेला वि.सं.१९७३ को असारमा पिता देवीदासले “बाबु ! तैंले संस्कृत पढेको छस् गीताको प्रतिश्लोकबद्ध गरी हाम्रो भाषामा लेख मलाई श्लोक पाठ गर्नमा आनन्द लाग्छ मलाईमात्र हैनकि संस्कृत नजान्ने सबैले अर्थ जानी पाठ गर्न पाउनेछन्, उनीहरुको समेत कल्याण हुनेछ” (कोमलगीता ः पं.कोमलनाथ अधिकारी) भनेकोले उनले त्यही वर्षको चौमासभरमा गीताको १८ मध्ये ११ अध्याय अनुवाद गरी काठमाडौ फर्किनुपूर्व आप्mना पितालाई टक्याएका थिए । उनले यो ग्रन्थ वि.सं.१९८९ को विजयादशमी (असोज २४ गते) मा पूरा गरी २९ गते तत्कालिन नवमहाराज जुद्धशमसेरमा उपहार चढाएका थिए । जद्धशमसेरले उनको यो कर्मको अति उच्च मूल्याङकन गरी मोहरु.५००।– बक्सिस, धर्मप्रचारक–पण्डितको उपाधि सहित मासिक रु.१०१।–को जागीर,पल्टन,स्कूल–कलेजका छात्रलाई हप्तामा आधा घण्टाको धर्मउपदेश दिने जिम्मेवारी र सरकारी खर्चबाटै १००० प्रति कोमलगीता छपाई गरिदिने प्रवन्ध गरिदिएका थिए ।
बेलचौतारीमा अनौपचारिक स्कूल खोलेर दुराडाँडाका सर्वसाधारणका छोराहरुलाई पढाउँदा पढाउँदै गाँउ छोडेका उनमा ती सर्वसाधारण किशोरहरुलाई कसरी नियमित रुपमा पढने वातावरण मिलाउन सकिन्छ भन्ने हुटहुटी थियो । वनारस जस्तो शिक्षाको केन्द्रमा वसेर आप्mनो वौद्धिकता चुल्याएका कोमलनाथले पढाइको महत्व आफैले देखे भोगेका थिए । उनले स्वाँरा धुवाउनेठाँटीमा भाषा पाठशाला खोेल्ने स्वीकृति पाउन सरकारमा निवेदन गरे । उनकै प्रयासमा वि.सं.१९८४÷८५ सालतिर लमजुङ जिल्लामै पहिलो भाषापाठशाला स्वीकृत भयो । त्यतिबेला रानीपोखरी संस्कृत पाठशालामा पढदै गरेका उनकै चेला चिरञ्जिवी अधिकारी (देवतापानी) शिक्षक तोकिए । दुराडाँडाको भाषा पाठशालाका प्रथम शिक्षकका रुपमा कोमलनाथले वेलचौतारीमा पढाएका शिष्य देवतापानीका चिरञ्जीवी अधिकारी (उतिवेला काठमाडौमै बसेर पढदै गरेका ) लाई तोकेर पठाइएको थियो । अतः पं.चिरञ्जीवी अधिकारी लमजुङका प्रथम सरकारी शिक्षक हुन् ।
यो पाठशालामा पहिलो समूहमा पढेका विद्यार्थीमा चन्द्रकान्त तिमिल्सिना (वादे), कृष्णलाल बास्तोला (देवतापानी), शोभाकर अधिकारी (अर्चल्यानी), कृष्णकान्त पौडेल (गिरेचौर) आदि थिए । त्यस्तै कृष्णकान्त अधिकारी (स्वाँरा), भद्रकाली अधिकारी र नन्दनिधि अधिकारी (जलुकेनी) आदि दोस्रो समूहका विद्यार्थी हुन् ।
दुराडाँडामा विद्यालय शिक्षाको जग हाल्ने सत्प्रयास गरेका कोमलनाथको स्मृतिमा सर्वोदय मा.वि. को रजत जयन्तिको अवसरमा स्थानीय पाणिनि संस्कृत मा.वि.मा कोमल पुस्तकालयको स्थापना गरिएको छ । तर अहिले यो पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन हुन भने सकेको छैन ।
५.पं.टीकाराम पौडेलको दुराडाँडा आगमन र योगदान
भाषा पाठशालाको स्थापनाले दुराडाँडामा सर्वसाधारणमा समेत पढनु–पढाउनु पर्छ भन्ने चेतनाको बीजारोपण गरिदिएको थियो । पं.कोमलनाथ र उनको विद्वताको चर्चाले मानिसहरुमा आप्mना छोराहरु पनि त्यस्तै योग्य र सबैलै मान्ने गुन्ने बनाउन पाए हुन्थ्यो भन्ने चाहना पलाउन थालेको थियो । त्यो प्रकट रुपमै देखिन थालेको थियो । वि.सं.१९९१÷९२ सालतिर बरबोट दुराडाँडाका साहु भवदत्त खनिया काठमाडौं आएका बेला ठमेलमा डेरा गरी बसेका स्याङजा वरसाम्मी (पछि कास्कीको भरतपोखरी गा.वि.स.मा पथ्र्यो , अहिले कुन पालिकामा पर्छ यकिन गर्न बाँकी छ) ) का टीकाराम पौडेलसंग भेट भयो । मटीहानीमा पढेका षडशास्त्री (वेदका छ वटा अङ्ग शिक्षा, कल्प, निरुक्त, व्याकरण, छन्द र ज्योतिषमा पारङ्गत व्यीक्तलाई षडशास्त्री भनिन्छ) टीकाराम, काठमाडौमा बसेर माहिला गुरुज्यूका छोराहरुलाई पढाउँथे । अर्थात उनको परिवारका निजी शिक्षक थिए । कुराकानीको क्रममा भवदत्तले पं. कोमलनाथको ख्याति, उक्त ख्यातिका कारण दुराडाँडा मानिसमा पलाएको शिक्षाप्रतिको मोहबारे उल्लेख गरी दुराडाँडामा गई आफ्नो घरमै बसी आफ्ना छोराहरु पढाइदिन अनुरोध गरे । टीकाराम भवदत्तसँगको कुराकानीबाट प्रभावित भए । स्वाभिमानी टीकारामले दुराडाँडामा शिक्षादानको फराकिलो सम्भावना देखे र भवदत्तको आग्रहलाई खुरुक्क शिरोपर गरी दरवारका गुरुज्यूका छोरा पढाउने वृत्ति छोडेर टीकाराम दुराडाँडा आए ।
भवदत्तले गुरुका लागि अलग्गै घर लगायत आवश्यक सबै बन्दोबस्त मिलाइदिए । टीकारामले भवदत्तका छोराहरुलाई पढाउन थाले । उनको पढाउने शैली र विद्वताका कारण उनको ख्याति दुराडाँडामा मात्र सीमित रहेन । कास्की, गोर्खा र तनहुँमा समेत यसले तरङ्ग नै पैदा गरिदियो । गुरुको पिढी विस्तारै विस्तारै दुराडाँडा भरीका किशोरहरुले भरिन थाल्यो । यतिमात्र नभई यस वरपरका चिसंकू, फल्याङकोट ,हंसपुर, सल्यान (कास्की) समेतबाट विद्यार्थीहरु आएर दुराडाँडामा डेरा गरेर समेत पढन बसे ।
रुद्री,चण्डी, सिद्धान्त कौमुदि, अमरकोष, रघुवंश, किरातार्जुनीय, संस्कृत साहित्य, नैषधीयचरित्र समेतको पढाई हुने गुरुको पिंढी एउटा विशाल विद्यालयमा परिणत भयो । विहान १०ः०० बजेदेखि वेलुका ४ः०० बजेसम्म पढाई हुने यो विद्यालयमा पढ्ने विद्यार्थीको संख्या ४०० भन्दा बढी पुग्यो । सरकारी भाषा पाठशालामा प्रतिपदा र अष्टमीको दिन गरी दुई दिन बिदा हुन्थ्यो । तर बरवोटको पाठशालामा भने प्रतिपदाको दिनमा मात्र बिदा दिइन्थ्यो । विद्यार्थीसंख्या अत्यन्त धेरै भएकोले गुरुले समूह शिक्षणको विधि अपनाउनु पर्ने भयो । गुरुले दशभाई समूह, बाह्रभाई समूह, सोह्रभाई समूह गरी समूह विभाजन गरेर ती समूहका अगुवा समेत तोकिदिएका थिए । माथिल्लो तहमा पढेकाले तल्लो तहकालाई पढाउनु पथ्र्यो । सबैभन्दा माथिल्लो तह बाह्रभाई समूह थियो । दशभाई समूह दोस्रो तहको र सोह्रभाई समूह तेस्रो तहको थियो । कक्षा चढाउने परम्परा थिएन । विद्यार्थी तल्लो वा माथिल्लो कुन तह हो गुरुले निक्र्योल गर्थे । चेलाहरुको स्तर थाहा पाउन र उनीहरुको प्रतिभालाई अगाडि ल्याउन विद्यार्थीहरुलाई पुराण वाचन गर्न लगाउँथे । यसकै लागि राहुलेमा साझा पुराणवाचन मञ्च नै निर्माण गरिएको थियो । मध्यमादेखि शास्त्रीको परीक्षा समेत पास गर्नसक्ने स्तरको पढाई हुन्थ्यो । गुरुसँग पढेर विद्यार्थीहरु आफ्नो ल्याकत अनुसारको परीक्षा दिन बनारस जान्थे ।
टीकारामले बरवोटमा पढाएको बेला धुवाउनेठाँटीमा सरकारी अनुदानमा माथि उल्लिखित भाषा पाठशाला पनि चलिरहेको थियो । तर यो दिनानुदिन सुक्दै जानथाल्यो । विद्यार्थीहरु बरबोटमा मात्रै एकत्रित भए । भाषा पाठशालाले आकर्षण गुमाउदै गयो । यिनैताका स्कूल निरीक्षणका लागि काठमाडौबाट आएका जाँचकीले यी दुई स्कूलबीचको अन्तर देखेर ‘सरकारी पाठशालाको खान्की टीकाराम पौडेललाई दिनु’ भनी तोक लगाइदिएछन । बरबोटको पाठशालाले सरकारी मान्यता पायो । भवदत्त साहुको वन्दोवस्तमा निःशुल्क शिक्षादान गर्दै आएका गुरुले सरकारी खान्की पाउन थाले । जाँचकीको तोक आदेश अनुसार खान्की खोसिएपछि चिरञ्जिवीलाई नरजंग सुव्वाले आप्mना छोराहरु पढाउन घनपोखरा लगे । खगेन्द्रजंग गुरुङ ( उनी टंकप्रसाद आचार्यको मन्त्रिमण्डलमा सहायक मन्त्री भएका थिए ) ले उनै चिरञ्जिवी गुरुसंग पढेका हुन् ।
हल्का कल्साइलो वर्णका, अग्ला र मसिनो दारपातका, हंसमुख टीकाराम अत्यन्त जोशिला र तेजिला थिए । लाम्चिलो नाक, नाकका पोरा थोरै फराकिला थिए । टम्म मिलेका दाँत थिए । हात पाखुरा सर्लक्क परेका थिए । कपाल खौरिन्थे र सधैं टोपी लगाउँथे । भोटो, धोती, इष्टकोट र जुत्ता या चप्पल लगाउँथे । दुवै कञ्चटमा प्रष्ट देखिने नसा हरपल ल्बक–ल्बक गरेर बल्किरहन्थे । यस्तो लाग्थ्यो उनको विद्वता हरक्षण कञ्चटबाट विष्फोट भएर बाहिर आउन आतुर छ । कसैको अर्घेल्याई नसहने बानीका उनी विद्यार्थीलाई बीसांंै पटक अथ्र्याउन झिंझो नमान्ने भएपनि गल्ती र बोधोपन देख्दा भने झडङ्ग रिसाउँथे र गाला पड्काइदिन्थे ।
टीकाराम दुराडाँडा आउँदा करीब ३०÷३२ वर्षका थिए । उनले दुराडाँडामै हरिदास अधिकारी (जुठेसाहु) की माइली छोरी कमलासँग बिहे गरे । उनले आफ्नी पत्नी कमलालाई पनि घरमै पढाएका थिए । वि.सं.२००८ साल साउनमा दुराडाँडामा खोलिएका १४ वटा प्राइमरी स्कुलमध्ये महिलाका लागि खोलिएको शारदासदन प्राइमरी स्कुलमा पढाउने पहिलो शिक्षिका कमला नै थिइन । तसर्थ दुराडाँडामा औपचारिक रुपमा महिलालाई पनि पढाउने, पढने चलन चलाउने व्यक्ति टीकाराम गुरु नै हुन् । उनकी पत्नी कमला यस क्षेत्रकी पहिलो शिक्षिका हुन् । तर २००४ सालमै दिवंगत भएकोले आफनी पत्निीले शिक्षिकाको रुपमा शिक्षादान गरेको उनले देख्न पाएनन् । टीकाराम र कमलाका ऋषिराम नामका एक छोरा छन् । उनका सन्तति अहिले बर्दियाको भूरी गाउँमा बस्छन् ।
शिक्षादानमा आपूmलाई सम्पूर्ण रुपमा समर्पण गरेका टीकारामले दुराडाँडामा जम्मा जम्मी बाह्र वर्षजति बिताए । वि.सं.२००४ सालको कार्तिक महिनामा दोख–सन्निपातको व्यथाले उनी दुराडाँडामै दिवंगत भए । षडशास्त्री, संस्कृत, गणित र ज्योतिषका प्रकाण्ड विद्वान टिकारामले काठमाडांैमा बसेर भोग्न पाइने सुख सुविधा, गुरुज्यूका छोरा पढाउदा आर्जन हुने सम्पत्ति, शक्ति र प्रतिष्ठालाई तिलाञ्जली दिएर दुराडाँडा आएका थिए । उनले दुराडाँडाका सयौं मान्छेलाई शिक्षादान गरेर चेतना र ज्ञानले ओतप्रोत पारे । भवदत्तले आप्mना छोरा पढाउन ल्याएका गुरुले अन्ततः सम्पूर्ण दुराडाँडा र वरपरका जिल्लामा समेत शिक्षाको अजम्मरी बीज रोपिदिए । दुराडाँडाको नाम र इज्जत टाढा टाढा फैलिनुमा टीकारामको योगदानको जति बखान गरे पनि कमै हुन्छ । उनको स्मृतिमा सर्वोदय मा.वि.को रजतजयन्तिको बेला बरबोटको चौतारोलाई ‘टीकाचौतारी’ नामाकरण गरिएको छ ।
गुरुलाई आफ्नो घरमा निजी तवरले राखेर सम्पूर्ण व्यवस्था मिलाई दुराडाँडा मात्र नभै वरपरका जिल्लाका विद्यार्थीलाई समेत पढने, पढाउने व्यवस्था मिलाउने साहु भवदत्त ओडार खनिया (अहिले खनियाहरु ओडार लेख्दैनन) को योगदान विर्सिनसक्नु छ । उनी दुराडाँडाका प्रखर शिक्षाप्रेशिक्षासेवी व्यक्तित्व हुन् । उनका सामाजिक योगदानबारे उनका सन्तति र हामी सबैले थप खोजविन गरी प्रकाशमा ल्याउन आवश्यक छ ।
६. अंग्रेजी शिक्षाको परम्परा
टीकारामको विद्वताबाट प्रभावितहरुलाई आफ्ना छोरा पनि यस्तै विद्वान बनाउयन पाए हुन्थ्यो भन्ने लागेको थियो । कहाँ कसरी पढाउँदा सन्ततिले आधुनिक जमाना अनुसारको शिक्षा पाउँछन् भन्ने खोजी गर्ने क्रममा देवतापानीका यज्ञप्रसाद वास्तोलाले पं.विष्णु प्रसाद अधिकारीको सल्लाहमा आप्mना छोरा पुष्करनाथ र धरित्रिनाथलाई भारत नैनीतालमा अंग्रेजी शिक्षा पढ्न पठाएका थिए । उनी गाउँघरका युवाहरुलाई आफ्नै पैसाले कापि कलम किनिदिएर पढन हौस्याउँथे । त्यसै गरी त्यहि समयताका नरकान्त अधिकारी, गेहेन्द्रनाथ र हृदयनाथ अधिकारी (पं.कोमलनाथका छोराहरु), गजेन्द्रकेशरी वास्तोला (खरिदार कालिप्रसाद वास्तोलाका छोरा) आदिले काठमाडौं र वनारसमा बसी पढेका थिए ।
७. पं.तोयनाथ, हलोक्रान्ति र विद्यालयहरुको स्थापना
२००५ सालमा दुराडाँडामा एक वर्षे सार्वजनिक पुराणवाचन गरिएको थियो । गुरुप्रसाद घिमिरे गणेश र पं.तोयनाथ अधिकारी मूलवाचक थिए । पुराणको अर्थ लगाउदा तोयनाथ विभिन्न उपमा र प्रसंग मार्फत राजनैतिक र सामाजिक जागरणका सूत्र पनि बताउँथे । बाहुनले हलो जोत्न हुन्छ भन्ने जिकिर त्यही धार्मिक सभामा लिईएको थियो । अन्ततः २००६ साल साउन ११ गते पं.तोयनाथ अधिकारीको अगुवाईमा अर्चल्यानीस्थित उनकै बारी (बाटेगरो) मा २७ जना व्राम्हणले परम्परा विरुद्ध हुनेगरी हलो जोतेर सामाजिक आन्दोलनको बीउ रोपेका थिए । यो कार्यको आयोजना उनले अत्यन्त सावधानीपूर्वक गरेका थिए । यति सम्मकि उक्त दिन हलो जोतिदैछ भन्ने कुराको पत्तो सोही दिन विहानसम्म पनि श्रीकान्त अधिकारीलाई समेत थिएन । यो कुरा मसंगको कुराकानीमा श्रीकान्त अधिकारी आफैले वताउनुभएको छ (रेकर्ड सुरक्षित छ) । हलो क्रान्तीकाबारे हंसपुरे सुवेदीबाट लेखिएको अलग्गै पुस्तक नै प्रकाशित छ । त्यतिबेलाको समयमा यो ठूलो सामाजिक जागरणको आन्दोलन थियो । क्रान्तिमा लागेकालाई चारपाटा मुडने, फाँसी दिने र गाली ठोक्ने क्रुर राणाशाहीमा सानो हिम्मतले यो काम भएको थिएन । परम्परा विरुद्धको यो कदमले मान्छेलाई भित्रैबाट उद्वेलित गराइदिएको थियो ।
२००७ को राजनैतिक परिवर्तन लगत्तै उनकै सक्रियतामा दुराडाँडा क्षेत्रमा एकैपटक १४ विद्यालयहरु खोलिएका थिए । पाठशाला खोल्नमा उनी सहित श्रीकान्त अधिकारी, मु.हरिभक्त पौडेल, ले.शेषकान्त अधिकारी, कृष्ष्णप्रसाद नेउपाने जस्ता अगुवाको अथक मेहनत रहेको थियो । स्वयंसेवकका रुपमा पढाउन राजी युवाहरुको समूह बनाई सेवा शिविर नामको एक महिने तालिम शिविर सञ्चालन गरिएको थियो । यो शिविरका संयोजक श्रीकान्त अधिकारी र सदस्यमा माहिला गुरु टीकाराम घिमिरे, साँहिला गुरु तीर्थराज अधिकारी मध्ये एकजना ( गाउँशहरमा पढाउने र दुवैजना एकै पटक आउन नमिल्ने भएकोले) र भिष्मकान्त अधिकारी थिए । तोयनाथले नै सवै विद्यालयको नाम स बाट जुराएका थिए । तोयनाथ संस्कृत साहित्य र कविराज विद्यामा पनि पारङ्गत थिए । उनी घरमै तरह तरहका औषधी बनाउथे । परीक्षण गर्थे । जङ्गल जङ्गल चहारेर जडिबुटीको अध्ययन गरेका थिए । जडिबुटी खेती गरेका थिए । उच्च राजनतिक चेत र संस्कारले पूर्ण थिए । तर राजनैतिक परिवर्तनपछि परिवर्तित राजनीति सोझोबाटोमा हिडेन । तिकडम् शुरु भयो । यस्तो तिकड्म र रवैयाबाट असन्तुुष्ट तोयनाथले यसबाट मुक्त रहन सन्यास ग्रहण गरी तारानन्द नाम लिए । असन्तुष्टि र पारिवारिक कारणले उनले दुराडाँडा छोडे । पछि घर व्यवहार त्यागी उत्तर गयामा गई बसे र उतै समाधि लिए । दुराडाँडाको सामाजिक र शैक्षिक जागरणका प्रथम अभियन्ता उनै हुन् । सर्वोदय मा.वि. को रजतजयन्तीको बेला अर्चल्यानीमा तोयनाथको स्मृतिमा शिक्षाद्वार भनेर पक्की स्वागतद्वार निर्माण गरिएको थियो । कालक्रममा त्यो भत्कियो । दुराडाँडामा तोयनाथको नामै नसुनेका तन्नेरी थपिदै गएका छन् । गौरवपूर्ण विगत छोपिदै जान थालेको छ ।
७.१. पाठशाला खोलिएका गाउँ र त्यहाँ स्वयम्सेवक भई पढाउने शिक्षकहरु
सि.नं. विद्यालयको नाम ठेगाना पहिलो शिक्षक
१ शिक्षासदन प्राइमरी स्कूल स्वाँरा(पछि धुवाउने ठाँटी) रामदत्त÷लक्ष्मीप्रसाद अधिकारी
२ श्रीसदन पुरानागाउँ स्वामी कर्पुरानन्द(पैतृकथलो रागिनास)
३ शारदासदन(महिलाकालागि) चारघरे (पछि हाँडिखोला) कमला पौडेल(टीकाराम गुरुकी पत्नी)
४ संस्कृतिसदन अर्चल्यानी वद्रीनाथ अधिकारी
५ शक्तिसदन धारापानी नन्दनिधि अधिकारी
६ सुवोधसदन पाँचघरे वलभद्र न्यौपाने
७ सहयोगसदन देवतापानी भद्रकाली अधिकारी
८ सौभाग्यसदन धुसेनी शालिग्राम कोइराला
९ शान्तिसदन ओखलेपानी अगमप्रसाद कोइराला
१० समृद्धि(देवी)सदन तुर्लुङ मधुसुदन अधिकारी, तारानाथ ढुंगाना
११ सरस्वतीसदन ठूलोस्वाँरा तीर्थशालि अधिकारी
१२ सिद्धिसदन चिहानपाटा(पछि कोइरालाफाँट) जगन्नाथ ढुंगाना
१३ सेवासदन(हरिजनका लागि) ढोकाथापे(पछिपुरानाकोट) तपोनिधि अधिकार,कृष्ण प्र.नेउपाने)
१४ चौधौं स्कूलबारे नाम थाहा भएन ।
८.दलित र महिला शिक्षा
समाजमा छोइछिटोको कुरीतिका कारण सबै जातजातिका बच्चाहरु सँगै राखेर पढाउन सकिने परिस्थिति तयार भैसकेको थिएन । छोरी पढाउने प्रचलन शुरु भएपनि केटा र केटीमान्छे संगै पढने ‘सहशिक्षा’ शुरु भएको थिएन । सवैलाई पढने वातावरण नवानाई भएको पनि थिएन । अतः १४ सदन मध्ये दलितहरुकै केटाकेटी पढाउन भनी ढोकाथापेमा सेवा सदन स्कुल र छोरीचेलीलाई पढाउन चारघरेमा शारदासदन स्कुल सञ्चालन गरिएको थियो । सेवा सदनमा पढाउने तपोनिधि अधिकारीले स्कुल जान नमानेर घरभित्र सिकुवामा लुक्ने दलितहरुका केटाकेटीलाई घरघरमा पसेर फकाएर ,घिच्याएर स्कुल लैजान्थे । दलितका घरभित्र पसेको भनेर तपोनिधिलाई छिःछि दूर्र्दू गर्ने मान्छे पनि छँदैथिए । तर उनले त्यसको कहिल्यै परवाह गरेनन् । त्यो जमानामा दलितका घरभित्र पसेर पनि केटाकेटी बटुल्ने साहस गर्ने तपोनिधि बास्तवमै दलित विरुद्ध हुदै आएको विभेद अन्त्यका लागि लागीपरेका अविष्मरणीय नायक हुन् ।
९.दीर्घराजको गुन
तत्कालिन शिक्षा विभागका डाइरेक्टर दीर्घराज कोइराला आधार हाइृस्कूलको निरीषणका लागि गाउँशहर आउदा दुराडाँडा हुँदै आए । दुराडाँडेको यो जागरणबाट प्रभावित भै उनकै सिफारिसमा उल्लिखित १४ स्कूल मध्ये सुवोध सदन र अर्को एक विद्यालय बाहेक १२ वटा विद्यालयले सरकारी स्वीकृति सहित एक एक जना शिक्षकको दरवन्दी एवं वार्षिक ३०० वजेट समेत पाए । अतः दीर्घराज दुराडाँडाका सच्चा मित्र र भलो चिताउने आदरणीय प्रशासक हुन् । दीर्घराजको गुन तिरिनसक्नु छ ।
१०.सर्वोदय मिडिलस्कूलको स्थापना
प्राईमरीस्कूलको स्थापनापछि २००९ सालमा यिनको माउ विद्यालयको रुपमा चिहानपाटामा सर्वोदय मिडिल स्कूलको स्थापना भयो । यो भवन बनाउन गिरेचौरका मु. हरिभक्त पौडेल र वहाँका दाजुुभाईले जग्गा दान गर्नुुभयो । विद्यालय निर्माण सम्बन्धी धेरै कुरा अन्नपूर्णको काख नामक पुस्तिकामा प्रकाशित छन् । एपोलो अफसेट प्रेसका सञ्चालक सर्वोदयकै उपज कृष्णप्रसाद खनाल, किरिञ्चेले यसको पुनप्र्रकाशन गरेर ठूलो गुुन लगाउनुभएको छ । असंख्य अग्रजका पसिना र विवेक खर्चेर बनेको यो विद्यालय समग्र दुराडाँडाको साझा गौरव बन्यो । बाँस र खरले सामान्य भूmपडि बनाएर पनि स्कूल खोल्न सकिन्थ्यो तर किन अग्रजले बन्दीपुरका ढुंगा बोके ? भत्तफपुरका अवाले लगेर किन ईटा नै पारेर गारो लगाए ? यो भावना, उत्साह र स्वाभिमानको मर्म बुझ्न गहन गम्भीरता र आत्मवोधको जरुरी हुन्छ ।
११. पाणिनि संस्कृत मा.वि.को स्थापना
संस्कृत भाषा नेपाली, हिन्दी, तामिल, वंगाली आदि उपभाषा र कैयौं भाषिकाहरुको मूल समेत हो । पूर्वीय साहित्य, कला, दर्शनको अध्ययनका लागि संस्कृतको अध्ययन अपरिहार्य मानिन्छ । यो तथ्यलाई हृदयाङ्गम गरी श्रीकान्त अधिकारीको अगुवाइमा दुराडाँडाको किर्तिपुरमा २०२६ साल मंसीर २५ गते पाणिनि संस्कृत मा.वि.को स्थापना भएको हो । तत्कालिन सरकारको असहयोग रहदा रहदै पनि दुराडाँडाका प्रत्येक घर दैलोबाट मुठी दान र भैलो खेलेर संकलन गरिएको नगद र जिन्सी सहयोगबाट विद्यालयको स्थापना र सञ्चालन गरिएको हो । संस्कृत भाषालाई गाली गर्न संस्कृत भाषाकै शव्द उच्चारण गर्नुपर्ने वाध्यता हुँदा हुँदै राजनीतिक अभिष्ट पूरा गर्ने पाखण्डका कारण विद्यालयमा संस्कृत शक्षा सञ्चालन गर्यो भन्ने आरोपमा २०५८ साल माघ ३ गते तत्कालिन प्र.अ. मुक्तिनाथ अधिकारीलाई माओवादीहरुले कक्षकोठाबाटै थुतेर चिहानपाटा नजिकै खजेगाउँमा लगेर हत्या गरे । इमान्दारी साथ कर्मक्षेत्रमा खटिरहेका बेला क्रुरतापूर्वक मारिने दुराडाँडाका पहिलो शिक्षाकर्मी हुन उनी । निरन्तर घटदो विद्यार्थी संख्या र संस्कृत भाषाप्रतिको उदासिनताका कारण यो विद्यालय अहिले संकटमा परेको छ ।
१२. सर्वोदयको रजत जयन्ती र इतिहासको पुनःसंस्मरण
सर्वोदय र १२ सदन प्राइमरी स्कूलहरुको रजत महोत्सव २०३४ सालमा सप्ताहव्यापि रुपमा मनाइएको थियो । कार्यक्रमका संयोजक श्रीकान्त अधिकारी र प्रमुख अतिथि शिक्षाविद यदुनाथ खनाल हुनुहुन्थयो । विद्यालयको प्रधानाध्यापकमा ठाकुर छाँगा कार्यरत हुनुहुन्थ्यो । रजत जयन्तीमा घर घरमा शौचालय निर्माण र सरसफाइमा ध्यान दिन आह्वान गरिएको थियो । आमन्त्रित पाहुनालाई स्थानीय अभिभावकका घर घरमा खाने वस्ने व्यवस्था मिलाइएको थियो । यो महोत्सव दुराडाँडाको सामाजिक आन्दोलनको पुनर्जागरण समेत थियो । इतिहास निर्माता पुर्खाहरुको सम्मान र संझनामा विभिन्न रचनात्मक कार्य सम्पन्न गरिएका थिए ।
१२.१ केही प्रमुख कार्य
कसको सम्मानमा के गरियो
१ आदिपुर्खा खजे दुरा चिहानपाटामा खजेपार्कको निर्माण र शालिक स्थापना
२ पं.कोमलनाथ अधिकारी सर्वोदयमा कोमल पुस्तकालयको स्थापना
३ पं.टीकाराम पौडेल बरबोटमा टीका चौतारीको निर्माण
४ पं.तोयनाथ अधिकारी अर्चलयानीमा शिक्षाद्वारको निर्माण
५ पञ्चपुर्खा सिंदुरे ढुंगाको अनावरण
६ द्यौ बहादुर दुरा द्यौ बहादुर कला केन्द्रको स्थापना
७ भिष्मकान्त अधिकारी रथ यात्रा
८ कृष्णप्रसाद नेउपाने पाणिनि संस्कृत मा.वि.मा कृष्णप्रसाद नेउपाने स्मृति वाचनालयको स्थापना
१३. सर्वोदयको हीरक महोत्सव
सर्वोदय मा.वि. स्थापनाको ६० वर्ष पूरा भएको अवसरमा २०६८ कार्तिक देखि २०६९ कार्तिक सम्मको एक वर्षलाई नै हीरक वर्षको रुपमा मनाइयो । हीरक महोत्सवको मूल कार्यक्रम २०६९ कार्तिक १५ देखि २१ गतेसम्म सञ्चालन भयो । मुलुकका प्रथम राष्ट्रपति डा.रामवरण यादवको वाहुलीबाट नव र्निर्मित भवनको समुद्घाटन भयो । अन्य कार्यक्रम शिक्षा सचिव एवं विद्यालयकै उपज सुरेशमान श्रेष्ठको प्रमुख आतिथ्य र उपस्थितिमा सम्पन्न भए । कार्यक्रमलई भव्यतापूर्वक सम्पन्न गर्न दुराडाँडा सेवा समाजले ठूलो योगदान पुर्यायो । कार्यक्रमको पूर्ण विवरण र यसको भव्यतालाई पुष्टि गर्ने आलेख समेटिएको स्मारिका प्रकाशन भएको छ । आफ्नै कमजोरीको कारण स्मारिका फेलापार्न नसक्दा त्यसको अध्ययन गर्ने सुुअवसर भने जुराउन सकेको छैन ।
१४. दुराडाँडाको अहिलेको अवस्था
हामी दुराडाँडावासी भाग्यमानी छौंं । किनभने हामी दुराडाँडाको नाममा पुर्खाको व्याज खाएर रमाइरहेका थियौं । व्याजले नै अहिलेसम्म खान पुुगेको थियो । तर अहिले पुर्खाको आर्जनको रुपमा रहेको साउँ नै डुवेको छ । दुरडाँडा रुपी ताउलो बसाल्ने चम्के ढुंगा उखेलेर तीनतीर फालिएको छ । ताउलेको नामो निसान छैन । अव आउने पुस्ताले गर्वसाथ दुराडाँडाको नाम लिएर परिचय दिन पाउने अवस्था सिद्धिएको छ । हामी पाखा पारिएमा छौं । हामीलाई हेपिएको छ । हाम्रा नेतालाई हेपिएको छ । समग्रमा दुराडाँडाको पहिचान सिद्ध्याइएको छ । यही कमजोर अवस्था पारेर क्रिश्चियानिटी गाउँ गाउँमा छिरेको छ । गाउँलेहरु बीच नजानिदो गरी धार्मिक विभेदको मसिनो डोरो तानिएको छ । मान्छे कुन कित्ताको हो भनेर छुट्याउन थालिएको छ । स्थिति साँच्चिकै टिठलाग्दो भइसकेको छ । हामी कोही पनि सत्य बोल्न नसक्ने गरी पंगु हुँदै गएका छौं ।
यो अवस्था आउनुमा सबैभन्दा बढी म दोषि छु । किनभने दुराडाँडाको पहिचान जोगाउन मैले केहि पनि गर्न सकिन । गरिन । अरुहरुले कति गर्नुुभयो वहाँहरु नै भुक्तगोगी हुनुहुन्छ । तर गरेको देखिएन । त्यसको सार भएन । राजनीतिक अभिष्टको लागि हामीलाई छिन्न भिन्न पार्दा हामी भित्र भित्र रमाएर बस्यौं । समूहमा भेट हुँदा चुकचुकायौं । हाम्रो पुस्ता दुराडाँडाको सबैभन्दा नालायक पुस्ता सावित भएको छ । हामीले पुर्खाको विरासत धान्न सकेनैं । यसलाई सबैले मान्नुपर्छ ।
कसैलाई लाग्दो हो नाममा के छ ? किन बोक्ने दुराडाँडाको थाङ्नो ? हो सबै कुरो नाममा छैन । यदी कोदोलाई उहिल्यैदेखि चिनी भन्दै आएको भए अहिले हामी कोदो हालेर चिया खान्थ्योै. र चिनीको ढिंडो खान्थ्यौं । तर दुराडाँडाको नाम जोगाउन नसक्नु भनेको चिनीको ढिंडो खाएको जस्तो मात्रै हो त ? पक्कै होइन । हामीले ऐतिहासकि गाम्भीर्यता बोकेको पैतृक थलोको नाम जोगाउन नसकेकै हो ।
निरासा र आलोचनाले कहिं पुगिदैन । हामी एक्लै कोही दोषि छैनौं । हामी सबै दोषि छौं । नाम जोगाउन नसक्नुको सामुहिक जिम्मेवारी लिनुपर्छ । मेरो भागमा कति पर्छ त्यसमा अर्को एकभाग थपेर म पनि लिन्छु । कोही भाग्न पाइदैन । तर अव के गर्ने त ? अहिलेको मूल प्रश्न यो हो । के तल दिइएका विषय मनन योग्य छन् ?
(१) हामी को हौं ? आत्मपहिचान हुनुपरयो ।
(२) हाम्रो चाहना के हो ? लक्ष्य के हो ? गन्तव्य कहाँ हो ? सम्भावना के के छन् ? स्पष्ट हुनुपर्यो ।
(३) हाम्रो चाहना पूरा गर्ने उपाय के हुन् ? पहिचान हुनुपर्यो ।
(४) हामीसँग आवश्यक स्रोत साधन छ ? थाहा पाउन पर्यो । नभए कहाँबाट जुटाउने हो स्पष्ट हुुनुपर्या ।
(५) हामीसँग कस्तो इच्छाशक्ति छर त्यसको संयोजन कसले गर्ने हो ? स्पष्ट हुनुपर्यो,
(६) राजनीतिलाई अगाडि लगाउने कि विकासलाई हामी स्पष्ट हुनुपर्यो,
(७) हाम्रा सवल पक्ष, कमजोर पक्ष,अवसर र चुनौतीको विश्लेषण गर्नु पर्यो
वुद्धिविलास गर्ने हो भने यस्ता धेरै कुरा छन् । जो मलाई मात्र हैन हामी सबैलाई आउँछ । तर बुद्धि विलासले हामी विल्लिबाठ भइसकेका छौं । दुराडाँडाकौ पहिचान कायम गरी समृद्धि हाँसिल गर्ने मार्ग पहिल्याउनुनै अहिले मुख्य आवश्यकता बनेको छ । यसमा हामीलाई सफलता मिलोस । हामी सबैलाई शुुभकामना ।
अन्त्यमा
मैले यो आलेख तयार गर्दा प्रकाशित र कतिपय अप्रकाशित सामग्रीको सहयोग लिएको छु । पुराना प्रसंगहरु श्रीकान्त अधिकारीसँगको कुराकानीमा वहाँबाट प्राप्त जानकारीमा आधारित छन् । यस विषयमा सज्जनहरुका जानकारी र सुझाव मेरो लागि सदैव ग्राह्य छन् ।
No comments:
Post a Comment