Saturday, February 17, 2018

श्रीकान्त अधिकारीको जीवनी र व्यक्तित्व



श्रीकान्त अधिकारीको जीवनी  र व्यक्तित्वमाथि प्रकाश पार्न उभिदा म अलमलिएको छु । प्रकाशपुञ्ज माथि मधुरो प्रकाश पार्ने  धृष्टता गरेको आभाष भएको छ । यद्यपि हामी सबैका प्रिय अभिभावक, मार्गदर्शक, शैक्षिक, सामाजिक र राजनीतिक आन्दोलनका त्रिवेणी प्रातःस्मरणीय श्रीकान्त अधिकारीको जन्म दिववसको अवसर पारेर वहाँको स्मरणमा आयोजित यो पुण्यसभामा वहाँका प्रियजनका माझ उभिएर शब्द श्रद्धाञ्जली अर्पण गर्न पाउँदा आपूmलाई धन्य सम्झेको छु र यो अवसरका लागि कृत कृत छु ।
श्रीकान्त अधिकारीका पुर्खा र मेरा पुर्खा एकै आँगनमा हुर्किएका हुन् । समयक्रममा सन्तति फैैलिदै जाँदा हाम्रा आँगन पनि थपिदै गए । श्रीकान्त अधिकारी र म नाताले बाबु छोरा पर्ने भए पनि हामी फरक फरक आँगनमा हुर्कियौं । फरक आगनमा हुर्किएकै कारण सायद किशोर वयमा पुगेपछिमात्रै मैले वहाँलाई चिन्ने मौका पाएको हुँ । अझ सान्निध्य भने वहाँको जीवनको उत्तरार्धमा मात्रै बाक्लिएको हो । तर जति पटक वहाँसँग भेटें, जति समय वहांसँग विताउने मौका पाएँ सधै आत्मिय माया पाएँ । नेपालको समग्र राजनीतिक इतिहास, प्रजातान्त्रिक आन्दोलन, सामाजिक र शैक्षिक जागरणका विषयमा वहाँभित्र बगेको ज्ञान सरिताबाट सिञ्चित हुने मौका पाइरहें । तर मलाई अहिले पनि वहाँलाई राम्रोसँग चिन्न र बुझ्न पाइन भन्ने पछुतो लागिरहन्छ । र पनि मेरा यावत अग्रज बा, दाजुहरु जसले श्रीकान्तको सहचार्य मैलेभन्दा धेरै पायो वहाँहरुकै अगाडि उभिएर श्रीकान्तको जीवनी र व्यक्तित्व बारे प्रकाश पार्ने धृष्टता गर्दा ममा अलिकति संकोच लागेको छ । यहाँ उल्लेख गरेका कतिपय विषयहरु श्रीकान्त अधिकारी स्मृति ग्रन्थमा विद्वानहरुबाट व्यक्त तथ्यहरु र खास गरी आदरणीय विद्वान व्यक्तित्व नारायण प्रसाद अधिकारीबाट लिखित  मूल आलेखबाट साभार गरेको छु । म वहाँप्रति अनुगृहित छु ।
वंशावली अनुसार दुराडाँडाका अधिकारीहरुको पैतृक थलो जुम्ला हो । त्यहाँबाट कालिकोट हुदै वि.सं. १५५० मा दुराडाँडा आइपुगेका हुन् । दुराडाँडा आउने पहिलो पुर्खा समन्त अधिकारी हुन् । यिनी लमजुङ राज्यका प्रथम शाहवंशीय राजा यशोव्रम्ह शाहको अभिभावक र प्रमुख भारदार बनेर आएका थिए । यीनै समन्तको पच्चिसौं पुस्तामा पर्ने पिता मु. हरिदास अधिकारी र माता इन्दूमायाको पुत्ररत्नका रुपमा वि.सं. १९८४ सालको आजकै दिन अर्थात जेठ १३ गते लमजुङ जिल्लाको दुराडाँडास्थित स्वाँरा गाउँमा श्रीकान्त अधिकारीको जन्म भएको हो । पिता हरिदासका दुईवटी पत्नीमध्ये श्रीकान्त आफ्नी आमा तर्फका एकलपुत्र हुन् । उनी भन्दा पहिला जन्मिएका दुई दाजुहरु पद्यनाथ र लक्ष्मीकान्तलाई बाल्य अवस्थामै त्यतिबेलाको असाध्य रोग बिफरले चुडेर लग्यो । बिफरले उनलाई पनि समात्यो ।  जीवनभर यसका केही खत बोक्नु परे पनि बीफरको क्रुर पञ्जाबाट भने उनी जोगिए । उनकी आमा तर्फ दिदीहरु टीका देवी र सुरथमाया अनि बहिनीहरु गङ्गा र गोमा गरी चारजना छोरीहरु जन्मिए । कान्छी आमा चुडामायाबाट भीष्मकान्त, चन्द्रकान्त, विष्णुकान्त र अरुणकान्त गरी चारजना छोरा र प्रभा, विष्णुमाया र लक्ष्मी गरी तीनजना छोरीहरु भए । यसरी श्रीकान्त अधिकारी पिता, दुईजना आमाहरु अनि १२ जना दाजुभाई दिदी बहिनी, सहितको फराकिलो वातावरणमा जन्मे, हुर्किएका  हुन्  ।

श्रीकान्तको बाल्यजीवन स्वाभाविक रुपमा दुराडाँडा स्वाँराकै सेरोफेरोका खेत, पाखो, बन पखेरा चहारेर नै वित्यो । गृहस्थ ब्राम्हण परिवारमा जन्मेकाले स्वभावतः श्रीकान्तले पनि खेतीपाती, बस्तुभाउको स्याहार सम्भारमा परिवारलाई सघाए । त्यहीका साथी संगातिसँग रमाए । नौ वर्षको उमेरमा उनको ब्रतबन्ध भयो । एघार वर्षको उमेरमा भागीरथी घिमिरेसँग पहिलो विवाह भयो ।
शिक्षा दिक्षा
श्रीकान्तको जन्म भएकै वर्ष स्वाँराको धुवाउने ठाँटीमा यिनकै माहिला बुवा पं.कोमलनाथको सक्रियतामा भाषा पाठशाला खुलेको थियो । वि.सं. १९७२ सालमा बनारसको क्वीन्स कलेजबाट आचार्य पास गरेका कोमलनाथ अधिकारी कूलकै कूलरत्न थिए । कोमलनाथकै विद्वत प्रतिभाका प्रभावले दुराडाँडेमा शिक्षाको अपरिमित भोक जागेको थियो । श्रीकान्तको प्राथमिक शिक्षा यही भाषा पाठशालामा भयो । तर उनलाई अक्षरारम्भ गराउने व्यक्ति भने मा. रामदत्त अधिकारी हुन् । त्यतिबेला बर्मामा बस्ने रामदत्त नाताले दाजु पर्थे । रामदत्तमा केटाकेटीलाई अक्षर सिकाउने अद्भूत कला थियो  रे । दुराडाँडाको शैक्षिक उन्नयनमा पं. टीकाराम पौडेलको नाम लिइएन भने अपूर्ण हुन्छ । हामी विद्वान प्रति कृतघ्न ठहरिन्छौं । षडशास्त्री टिकाराम गुरु ततत्कालिन स्याङ्जा जिल्लाको साम्मी भन्ने ठाउँका हुन । दुराडाँडाका साहु भवदत्त खनियाले आफ्ना सन्ततिको शिक्षा दिक्षाका लागि घरमै गुरु राखेर पठाउन टीकारामलाई दुराडाँडा लगेका थिए । गुरुको विद्वता घर पिंढीमा समित भएन । बरबोटमा पाठशाला खुल्यो । श्रीकान्तले पनि अमरकोश, लघुकौमुदी, सप्तसती चण्डी यहीं पढे । यसै ताका काठमाडौमा पढिरहेका दाजु नरकान्त अधिकारी जाडो विदामा घर गएका बेला भाई श्रीकान्तलाई काठमाडौमा पढाउन भनी लिएर आए । २००२ सालमा श्रीकान्त रानीपोखरी पाठशालामा भर्ना भई पढन थाले । थप अध्ययनका लागि २००४ सालमा बनारस गए र सम्पूर्ण मध्यमा पास गरी २००५ सालमा नेपाल फर्किए ।
बनारसबाट फर्किदा श्रीकान्तसँग सम्पूर्ण मध्यमाको प्रमाणपत्रमात्र थिएन उनले राजनीतिको भर्भराउँदो अग्नीपूञ्ज पनि साथै  बोकेर फर्किएका थिए । बनारसमा कृष्णप्रसाद भट्राइको घरमा भान्से बसेकी दुराडाँडा टारीकी आफ्नै चेलीको माध्यमले श्रीकान्त कृष्ण प्रसाद भट्राईको सान्निध्यमा पुगे । चतुर श्रीकान्तका आँखा र हाउभाउ र वाचाल वुद्धि देख्ने वित्तिकै उनभिन्दा अझ चतुर कृष्णप्रसाद भट्राइले उनमा राजनीतिको चेत यति छिटै घुलिदिए कि श्रीकान्त तत्कालै छात्रसंघको सदस्य बने, नेपाली काँग्रेसको अधिवेशन सभामा सहभागी भए, बी.पी. कोइरालासँग चिनजान र सम्पर्क स्थापित भयो । लक्ष्मी प्रसाद देवकोटाका आजस्वी भाषण सुने, महात्मा गान्धीको अस्थीकलश विसर्जनमा सहभागी हुन बनारसबाट इलाहाबाद पुगे । श्रीकान्त वनारस पुगेको एक वर्षमै काँग्रेसका कार्यकर्ता बने र हृदयमा एक आदर्श प्रजातन्त्रबादी नेता, व्यवहारवादी समाज सुधारक र आदर्श र मूल्य मान्यताले ओतप्रोत शिक्षा पद्धतिको अभियन्ता बन्ने बीज बोकेर नेपाल फर्किए । 
नेपाल फर्किएपछि श्रीकान्तले ताहाचलमा सञ्चालित आधार शिक्षा तालिम लिए । यो तालिम लिएपछि आधार स्कूलमा शिक्षकको नियुक्ति पाइन्थ्यो । तालिम पश्चात उनी पोखरा गए । पोखराको बाटुलेचौरको आधार स्कूलमा पढाउन थाले । त्यही स्कूलमा पोखराका जल्दा वल्दा युवक पं. मुक्तिनाथ तिमिल्सिना पनि पढाउँथे । पं. मुक्तिनाथसँग श्रीकान्तको दोस्ती कसियो । किताव पढाउने बाहेक यी युवाले विद्यार्थीहरुमा राजनीतिक चेतपनि भर्न थाले । आफ्ना क्रान्तिकारी मित्रमण्डली थप्दै काँग्रेसको संगठन विस्तार गरे । पं. मुक्तिनाथ शर्मा, दयाशंकर पालिखे, प्रेमराज मुल्मी, अमृत प्रसाद शेरचन, ऋषिकेशव पराजुली, भोजराज सुवेदी, मथुरालाल श्रेष्ठ आदि उनका प्रमुख मित्र थिए ।
हलोक्रान्ती र श्रीकान्त
२००६ साल साउनमा दुराडाँडाका २७ जना व्रम्हणले हलो जोतेको घटनालाई नेपालको सामाजिक इतिहासमा हलोक्रान्तीका नामले चिनिन्छ । शिक्षाको दियो बलिसकेको र राजनीतिक चेतको बीजारोपण  भइसकेको दुराडाँडामा सामाजिक, साँस्कृतिक र राजनीतिक चेतलाई बुलन्द पार्न वि.सं. २००३ सालमा महाभारत लगाइयो । प्रत्यक्ष रुपमा धार्मिक अनुष्ठा देखिए पनि परोक्ष रुपमा यी अनुष्ठानमा राजनीतिक र सामाजिक परिवर्तनको आवाज बुलन्द गर्ने अभिष्ट लुकेको हुन्थ्यो । किसान किसान बीचको जातीय विभेद हटाउने, समतामूलक समाज निर्माण गर्ने र रुढीवादी परम्परा तोडिई समाजमा नयाँ बैचारिक तरङ्ग पैदा गराउने अभिप्रायले बाहुनले हलो जोत्न धर्मशास्त्रले कतै निषेध नगरेको निचोड निकालियो र २००६ साल साउन ११ गते श्रीकान्त अधिकारी सहित २७ जना व्राम्हणले पं. तोयनाथ अधिकारीको अर्चल्यानी स्थित बाटेगरोमा हलो जोते । यसको राप तनहुँ, कास्की, गोरखा, धादिङ, स्याङजा, अर्घाखाँचीसम्म पर्यो । त्यहाँका व्राम्हणहरुले पनि अनौ समाते । हलो जोत्नको भात पानी हटक गरियो, तिनका  छोरी, बुहारी, बहिनीहरुले सामाजिक अपमान व्यहोरे, राणा शासनले कारबाही गर्यो । तर ती युगपुरुषहरुले हारेनन् । समाज तिनैलाई पछ्याएर अघि बढी रह्यो । हलो जोतेको घटनाले समाज र सरकारमा बस्नेहरुलाई अर्कोवर्षसम्म पनि हल्लाइरह्यो । २००७ साल साउनमा पं. तोयनाथ अधिकरी, ले. शेषकान्त र श्रीकान्तलाई पक्राउ गरियो । कुन्छा हुँदै पोखरा पुर्याएर नालामुखमा जेल हलियो । तीनै जना बिना पूर्जी हामीलाई किन जेल हालियो भनेर अनशन बसे । फलतः तीनैजना  घण्टामै जेलमुक्त भए ।
२००७ सालको क्रान्ती
२००७ साल कार्तिकमा राजा त्रिभुवन सपरिवार दरवार छोडेर दिल्ली पुगेपछि नेपालमा राणा विरोधी क्रान्ती चर्कियो । प्रशासनको धरपकड तीव्र भयो । २००७ साल मंसिरमा श्रकिान्त अधिकारी पढाइरहेको विद्यालयबाटै गिरफ्तार भए । राजकाज मुद्दा लगाएर सर्वश्व सहित १८ वर्षको जेल सजाय तोकियो । नेल ठोकीयो । उनको गिरफ्तारीपछि समर्थकहरुले जुलुस निकाले । पुष २५ गते श्रीकान्तका भाञ्जा जगन्नाथ सिग्देलको नेतृत्वमा करीब १५ ÷१६ हजारको संख्याको जुलुस निस्क्यो र उनलाई बन्दी बनाएको पोखरा ब्यारेक कब्जा गर्यो । श्रीकान्तलाई जुलुसले नै जेलमुक्त गर्यो । १८ वर्षको लागि जेल परेका श्रीकान्त ३६ दिनमा मुक्त भए । श्रीकान्तले जुलुसलाई ओजस्वी संवोधन गरे । श्रीकान्तको भाषणपछि जुलुसले बडाहाकीम धनशम्सेरलाई घेर्न गयो र अड्डाबाट थुतेर बाहिर ल्यायो । उनले आत्म समर्पण गरे । भोलीपल्ट जनसरकार घोषणाको कार्यक्रम थियो । तर रातभरीमा अग्राख पलायो । बडाहाकिम र तिनका समर्थक जुटे । पोखरामा प्रतिक्रान्ती भयो । क्रान्तिकारीहरुको योजना अनुरुप जनसरकार गठन हुन सकेन । श्रीकान्त यो घटनापछि लमजुङ फर्किए  र लमजुङ कब्जाको योजनामा लागे । डिठ्ठा श्रीप्रसाद, नरेन्द्रजंग गुरुङ, शेर जंग, डिल्लिजंग, मुनिन्द्रजंग, गञ्जसिंह गुरुङ , पं तोगनाथ अधिकारी, भिष्मकान्त अधिकारी आदिलाई संगठित गरी कुन्छा सदरमुकाम कब्जा गरियो । 
२००७ सालको राजनीतिक क्रान्ती सफल भएसँगै श्रीकान्त शैक्षिक र सामाजिक क्रान्तिमा होमिए । लमजुङको विकास योजनाबारे छलफल गर्न गाउँशहरमा जिल्लाका २१ मौजाको भेला बोलाइयो । प्रत्येक मौजाको विकासका लागि टोली बने । सबैभन्दा पहिला शिक्षाकै विकास हुनुपर्ने निचोडमा पुगे प्रतिनिधिहरु । यसै सन्दर्भमा २००८ सालमा दुराडाँडा क्षेत्रमा १२ वटा प्राइमरी स्कूल स्थापना गरिए । पं. तोयनाथ अधिकारीले यी सबै स्कूलको नाम सबाट जुराउनु भयो । यो भन्दा माथिल्लो हिक्षाका लागि २००९ साल कार्तिक २० गते सर्वोदय मिडिल स्कूलको स्थापना गरियो । यसकालागि मु. हरिभक्त पौडेल लगायतका पौडेल परिवाट भूमिदान भयो । स्थानीय र वरपरका गाउँ गाउँबाट चन्दा संकलन गरियो ।  सर्वोदय मिडिल स्कूल हाइस्कूल बन्यो । अहिले यो विद्यालय उच्च मा.वि. भएको र यसकै नाममा स्नातक तहसम्मको पढाइ सञ्चालन हुने गरी सर्वोदय क्याम्पस समेत सञ्चालनमा छ ।यसैताका २००९ सालमा पश्चिमाञ्चल स्तरीय राजनीतिक सम्मेलन र २०१० सालमा शिक्षा सम्मेलन भयो । धेरै महत्वपूर्ण निर्णयहरु भए । सुझावहरु सरकारलाई सिफारिस गरियो । ती सिफारिस आजपर्यन्त उत्तिकै सान्दर्भिक छन् । 
श्रीकान्तले संस्कृत शिक्षा र संस्कृतिको जगेर्नाको लागि दुराडाँँडाकै किर्तिपुरमा २०२६ साल मंसिरमा पाणिनी संस्कृत मा.वि. र गुरुकुल आश्रम स्थापना गर्नुभयो । संस्कृतिको जगेनौका लागि नित्य पूराण बाचन, गोशाला सञ्चालन, उद्यान, पुस्तकालय आदिको सञ्चालन व्यवस्था मिलाउनु भयो । अपेक्षित रुपमा जिउँदो जाग्दो हुन नसकेको भएपनि पाणिनी र त्यस वरपरका विकास गतिविधिहरु उकालो लागिरहेकै छन् । मानिसहरु सुकर्ममा जुटिरहेका छन् । 
श्रीकान्तले लमजुङमात्र नभई आपूmले दिन विताएका अन्यत्र पनि शिक्षाको उज्यालो बाल्नु भएको छ । पोखरा पचभैया क्षेत्रमा केही समय बस्दा त्यहाँ पनि शिक्षाको दीप बाले । अमरसिद्ध उ.मा.वि. र लक्ष्मी आदर्श मा.वि. श्रीकान्तले त्यो क्षेत्रमा बालेका शिक्षा दीपक हुन । त्यसै गरी सुदुरपश्चिम क्षेत्रमा पनि शिक्षाको दीयो बाल्न उनले अमूल्य योगदान गरेका छन् ।
श्री कान्त र राजनीति
श्रीकान्तले २००८ देखि २०१४ सालसम्म आफ्नो जन्म थलोमा बसेर यसको चौतर्फी उन्नयनमा लागिपरे । २०१५ सालको पहिलो संसदीय निर्वाचनमा लमजुङको क्षेत्र नं. १ बाट सासदको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भई १०,१०६ मत ल्याई ४४४८ मतको अन्तरले विजयी भए । संसदमा एक प्रखर साँसदको भूमिका निर्वाह गरे । उनमा नयाँ नयाँ बिचार राखेर तरङ् पैदा गराउने क्षमता थियो । नेपालको वैकल्पिक राजधानी पोखरा बनाउनु पर्ने भनी उनले राखेको प्रस्तावले उतिवला यस्तै तरङ्ग पैदा गरेको थियो । २०१७ सालमा राजा महेन्द्रले संसद विघटन गरे । काँग्रेुका नेताहरु गिरफ्तार भए । श्रीकान्त अधिकारी पनि खुला रुपमा हिडडूल गर्न गारो हुने अवस्थामा परे । के गर्ने कसो गर्ने असमञ्जस भए । श्रीकान्तले जुन संविधान शिरमा रखेर शपथ खाएको हो त्यही संविधान अनुरुपको कदमको विरोध गर्न नैतिकताले दिएन तर शाही घोषणामा काँग्रेरा विरुद्ध जुन आरोप अंकित गरी काँग्रेसको उछित्तो काढिएको छ तयसले मुलुकको विकास हुँदैन भन्ने मध्यमार्गी बक्तव्य प्रकाशित गरे । उनी गिरफ्तारमा परेनन् । उनी लमजुङ गए । २०१७ सालको  फागुनमा सुवर्ण संसेरको पत्र आयो । यो संगै सुदुरपश्चिमको दौडाहा टोलीको हाकीम बनाइएको चिठी आयो । श्रकिान्त दोधारमा परे । उनले व्यवस्थाभित्रै बसेर संघर्षगर्ने बाटो रोजे । उनी सुदुरपश्चिम गए । उनको सोच र रगतमा शिक्षा र समाज सुधारकै बीज छदै थियो । उनले यसैलाई छर्दैै हिंडे । धेरै सुधार गरे । जाली फटाहा तह लगाए । उनलाई कतिपय सुदुर पश्चिमेलीले अहिले पनि स्मरण गर्छन भन्ने सुनेको छु ।
श्रीकान्त दौडाहाबाट फर्किए र जिल्लाको राजनीतिमा सक्रिय भए । आमाको सेवा गरेर घरमै बसे । २०१९ फागुनमा शान्ति सुरक्षाको कारण देखाइ गिरफ्तार गरियो । २०२० साउनमा उनी मुक्त भए । पछि जिल्ला विकास समितिको सभापति भए । सभापतिको कार्यकाल पूरा गरेपछि उनी पोखराको पचभैयामा बस्न थाले ।
श्रीकान्तको साहित्कि व्यक्तित्व
श्रीकान्त अधिकारी उच्च काव्य चेत भएका साहित्यिक व्यक्तित्व हुनुहुन्थ्यो  । कैयौ फूटकर कविता, असंख्य लेखहरु प्रकाशित भएका छन् । यी लेख मुलुकको समसाययिक राजनीति र सामाजिक उन्नयनसँग सम्बनिधत छन् । धर्मपत्नी गायत्री अधिकारीको प्रकाशत्वमा दुइ वटा रुपक प्रकाशित छन् । वहाँका शास्त्रिय छन्दमा लेखिएका तीनदर्जन कविता अहिले पनि अप्रकाशित रुपमै रहेका छन् ।
पारिवारिक जीवन
मैले माथि नै उल्लेख गरको छु श्रीकान्त पहिलो विबाह ११ वर्षको उमेरमा भयो । २०१७ साल मंसिरमा गायत्री अर्यालसँग अर्को विवाह भयो । त्यतिबेलाको सामाजिक परिवेश नै त्यस्तै थियो । जेठी श्रीमतीबाट जन्मेका तीन सन्तान अकालमै गुमाएपछि आमाको आग्रहमा दोस्रो विकाह भएको थियो । जेठी पत्नी भागिरथी र कान्छी पत्नी गायत्रीको समग्र बलिदान र समर्पणले श्रीकान्तको व्यक्तिव्त निर्माणमा योगदान पुर्याएका छन् । श्रीकान्त भागिरथी र गायत्रीका तीन छोरीहरु बिमला, सवला र प्रभा छन् । उनीहरु आफ्ना बाबु आमाका सुकर्म पछ्याइरहेका छन् ।
उत्तराद्र्ध
श्रीकान्त मुलुकको मूलधारको राजनीतिबाट अलग्गिए पनि राजनीति बाट कहिल्यै अल िबस्नु भएन । संझाइ रहनु भयो । घच्घच्याइ रहनु भयो । प्रजातन्त्रको सम्बद्र्धनमा लागिरहनु भयो । आफैले खोलेका विद्यालयको उन्नयनमा समर्पित भइरहनु भयो । सर्वोदय मा.वि. को हिरक जयन्तीको अवसरमा सारा दुराडाँडाबासीले वहाँप्रति उच्च सम्मान प्रकट गरी रथारोहण गराए । अभिनन्नदन गरे । आफ्ना प्रिय र आदरणीय अभिभावकका गाथा गाए । तर दैवले अन्नतः २०६९ सालको भाइ टीकाको दिन वहाँलाई हामीबाट खोस्यो । 
श्रीकान्तको पार्थिव देह हाम्रो माझमा छैन तर वहाँ हाम्रै मभफमा हुनुहुन्छ । हाम्रो संस्कारमा हुनुहुन्छ । हामीले आर्जन गरेको विद्या र विवेकमा हुनुहुन्छ । वहाँ गुण र दोषको संसारिक जञ्जालबाछ मुक्त हुनुभएको छ । वहाँका गुणमात्र छन् यहाँ । दोषहरु बिलाएर गएका छन् । हामी गुणग्राहीहरु केवल वहाँका गुणमात्र ग्रहण गरिरहेका छौं । श्रीकान्त अमर रहुन । धन्यवाद  ।

Tuesday, February 13, 2018

हाम्रो वंशवृक्ष : संक्षिप्त नालीबेली


विषय प्रवेश


कास्कीको अस्ताम नुवागाउँमा बसोबास गरिरहेका र त्यहाँबाट बसाइँ सरी देश विदेशका विभिन्न भागमा छरिएका अधिकारीहरुका आदिपुर्खा हरिदास हुन् । उनी तत्कालिन खसराज्य जुम्लाको खिडकिसैन (यो ठाउँ अहिले कालिकोट जिल्लामा पर्छ) बाट अस्ताम आएका हुन् ।

 

बाह्रौं शताब्दिको मध्य (वि.सं.११५०) तिर जुम्लाको खस राज्यका संस्थापक खसराजा नागराजले हाल भारतको सिन्ध प्रान्तमा पर्ने अलनापुर भन्ने स्थानमा बसोबास रहेका कश्यप गोत्रीय उपाध्याय ब्राम्ह्ण सामु पण्डितलाई आफ्नो  “भट्ट”  (मुख्य गुरु) को उपाधि ग्रहणको लागि आग्रह गरी जुम्ला बोलाए । राजा नागराजको आग्रहअनुरुप सामु जुम्ला आए । राजाले खिडकिसैन भन्ने ठाउँ ब्रह्म बिर्ता दिए । राजप्रतिज्ञा अनुरुप सामुलाई राज्यको मुख्य गुरु अर्थात “भट्ट” मा नियुक्त गरियो । “भट्ट”  पद्वी पाउने व्यक्ति राज्यका धर्माधिकारी (अहिलेको प्रधानन्यायाधीश) हुन्थे । यो निकै सम्मानित र जिम्मेवार पदवी थियो । न्यायको तराजु जिम्मा लिने “भट्ट” नै राजाका मुख्य गुरु समेत हुन्थे । राजगुरुको वचन र गुरुद्वारा सम्पादन गरिने राज्योचितकर्मको राजाले पनि सम्मान गर्नुपर्ने लोकपरम्परा थियो ।

 

दरबारमा सम्मानित पदवी पाएका समन्तका सन्ततिले स्वभावतः विद्वानोचित अनुकूल वातावरण र सम्मान पाए । विद्वता आर्जन गरे । विद्वताकै कारण राज्यका विभिन्न काममा संलग्न रहने अवसर पाउँदै आए । समयक्रममा उनका सन्ततिहरु कोही उनीजस्तै भट्ट अर्थात धर्माधिकारी बनेकोही राज्य कोषको प्रमुख अर्थात भण्डारे भए । कसैले करराजश्व उठाउने अधिकार अर्थात करक्याईं पदवी पाए । कोही करराजश्व आम्दानी विवरणको अनुगमन गर्ने अधिकारी भए । यसरी समन्तका सन्तति विभिन्न उच्च पदवीले विभूषित भई राज्यको सेवामा समर्पित रहदै आए । ''कार्की'' ले राज्यको करराजश्व सङ्कलन गर्थेकार्कीले सङ्कलन गरेको राजश्व उभन्दा माथिल्लो पदको "अधिकारी" लाई बुझाउनु पर्थ्यो  कार्कीबाट बुझी लिएको करराजश्व अधिकारीले ''भण्डारी'' लाई बुझाई राज्यकोषमा जम्मा हुन्थ्यो । यी सबै राज्यका पदवी थिए उतिबेला । कालान्तरमा यी पदवी नै थरको रुपमा प्रचलनमा आएका हुन् ।

 

अधिकारी पदवी थरको रुपमा सबैभन्दा पहिला मलयबर्माको वि.सं. १४४६ (कतै कतै १४३५ पनि उल्लेख भएको पाइन्छ) को ताम्रपत्रमा उल्लेख भएको छ । राजा मलयबर्माले हरिदत्त अधिकारीलाई अहिलेको जाजरकोट र दैलेखको सीमा क्षेत्रमा पर्ने भूमि बिर्ता दिदा हरिदत्तको थर अधिकारी भनी उल्लेख भएको छ । अधिकारीमा पनि खिर्सिनेकवाली र थानसिङ्गे भन्ने तीन खाल छन् । खस राज्यको खिडकिसैनबाट फैलिएका कश्यप गोत्रीय अधिकारीहरुलाई खिडकिसैने (खिर्सिने), अछाम जिल्लाको कावा लेकमा बसोबास गरी त्यहाँबाट फैलिएका अधिकारीलाई कवाली र नुवाकोटको थानसिङ्गबाट फैलिएका अधिकारीलाई थानसिङ्गे     भनिन्छ भन्ने उल्लेख गरेको पाइन्छ । कसैले योभन्दा फरक मत पनि राखेका  छन् । रामेछापको खिलसैनबाट फैलिएका अधिकारी खिलसिने अधिकारी हुन्  भन्ने उल्लेख भएको पनि पाइन्छ । तर यो भन्दा बढी  प्रामाणिक र तथ्यपूर्ण  चाहिँ कालिकोटको खिडकिसैन नै लाग्छ । आफ्नो खाल, खलकको विशिष्टता देखाउने लोभमा जे जे भनिए पनि यी सबैको मूलथलो भने खिड्किसैन नै हो । किनभने सामु पण्डित जस्तै कुनै अर्को पुर्खाले सोझै कावा लेक वा थानसिङ्ग वा रामेछापको खिलसैनमा आई बसोवास गरेको प्रमाण अहिलेसम्म पाइएको छैन ।

 

खिर्सिने अधिकारीलाई अलना अधिकारीअलना भट्ट पनि भनिन्छ । माथि नै उल्लेख भईसकेको छ कि भट्ट भनेको पदवी हो । अलना  भन्ने विशेषण भने  अलनापुरबाट आएका हुनाले थपिएको  देखिन्छ । अलनापुरबाट आएका र राजाका “भट्ट” का सन्तान भएकोले सामुका सन्ततिलाई ''अलना भट्ट'' भनिएको देखिन्छ । लामो समयसम्म हाम्रा पुर्खाको नामको पछाडि थरको रुपमा भट्ट मात्रै उल्लेख भएको पाइन्छ । राज्यका अरु जिम्मेवारी प्राप्त हुँदै आएपछि कालान्तरमा ती पदवी थरमा परिणत भएको विषय माथि नै परेको छ । तर हाम्रो कुलाचारमा अलना शब्दको राम्रै प्रभाव परेको   देखिन्छ । हामी दैनिक भोजन ग्रहणको बेला अग्नि लगायतका देव, देवीलाई बलिभाग दिँदा अलिनै र चोखो खानाकोमात्र बलि अर्पण गरेर पाँच गाँससम्म अलिनै ग्रहण गर्छौं । किन अलिनो बलि भाग दिनु परेको हो भन्नेबारेमा अरु कुनै तथ्य भेटिएको छैन । तर शदियौंदेखि चलि आएको यो  “ऋत” आजपर्यन्त चलिरहेकै  छ । यो हाम्रो सनातन परम्परा बनेको छ ।

 

२. दुराडाँडामा अधिकारीहरुको आगमन

दुराडाँडाका अधिकारीहरु जुम्लाको खिडकीसैनबाट कास्कीको अस्ताम हुँदै यहाँ आइपुगेका हुन् । खिडकीसैनबाट वि.सं. १५०० मा हरिदास अधिकारी कास्की राज्यमा आई त्यहाँको धर्माधिकारी नियुक्त भएका थिए । उनी धर्माधिकारीको निम्ति भएको प्रतिस्पर्धामा अब्बल दरिएर धेरै विद्वानहरुलाई उछिन्दै छनोट भएका थिए।उनको विद्वताबाट खुशी भएका कास्कीका राजाले सूर्योदयदेखि सूर्यास्तसम्ममा पैदल यात्रा गर्दा परिक्रमा गर्न सक्नेजति जमिन आफ्ना धर्माधिकारी हरिदासलाई बिर्ता दिए । सूर्योदयदेखि सूर्यास्तसम्म पैदल हिँडेर परिक्रमा गर्न सकेजति जमिन बिर्ता प्राप्त भएकोले त्यसलाई अस्ताम बिर्ता भनिएको हो भन्ने किंवदन्ती छ । अस्ताममा अहिले पनि अधिकारीहरुको ठूलो बस्ती छ । तिनै हरिदासका १५ औं पुस्ताका समन्त अधिकारी वि.सं.१५५० को असारमा दुराडाँडा आएका हुन् । अभिलेख अनुसार हरिदासदेखि समन्तसम्मका पुर्खामा क्रमशः हरिदास  कृष्णदासकृष्णनन्द,   वलभद्र,  सोमन हरिकेश,चन्द्रशेखरचन्द्रचुड,  हरिकेशव , कालु,  कुलानन्द , रामदासबेणिदत्तद्वारिकादास  र समन्त  रहेको पाइन्छ ।

 

समन्त लमजुङेहरुले कास्कीका राजा कुलमण्डन शाहका कान्छा छोरा यशोब्रह्म शाहलाई यहाँको राजगद्दीमा राख्न लिई आउँदा राजगुरुको जिम्मेवारी सहित दुराडाँडा आएका हुन् । यद्यपि दुराडाँडा आउने पहिलो पुर्खाको सम्बन्धमा दुईथरी मत र अभिलेख सार्वजनिक भएका छन् । कसै कसैले द्वारिकादासलाई पहिलो पुर्खा भनेर उल्लेख गरेका छन् । ठाकुर छाँगाको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थमा आदिपुर्खाको नाम द्वारिकादास उल्लेख भएको छ । वंशावली अनुसार द्वारिकादास समन्तका पिता हुन् । आफ्नो छोरो छुट्टै राज्यको राजगुरु भएर लमजुङ जान लागेको खुशियालीमा त्यो ठाउँ कस्तो रहेछ भनी हेर्न द्वारिकादास पनि सँगै आए होलान् । तर उनी यहाँ बसेनन् । यहाँ आई घरजम गरी बस्ने प्रथम पुर्खा समन्त नै  हुन् ।

 

दुराडाँडामा अधिकारीहरुको आगमन लमजुङ राज्यको राज्य सञ्चालनसँग जोडिएको छ । वि.सं. १५५० पूर्वसम्म लमजुङमा घलेहरुको राजपाट थियो । लमजुङको भन्दा तनहुँ, कास्की लगायत ठकुरीहरु राजा भएका राज्यहरुक अवस्था राम्रो थियो। ठकुरीहरु उदार पनि थिए। यो देखेका लमजुङका सामाजिक अगुवालाई घलेहरुको राजपाट मन परेन । तसर्थ घलेराज विरुद्द्ध लागे उनीहरु । घले राज फालेर ठकुरी राज स्थापना गर्न भनी खजे दुरा कुसुमाकर घिमिरे लगायतका अगुवाहरु कास्कीका राजा कुलमण्डन शाहकोमा गई उनका छोरा कालु शाहलाई मागेर ल्याई लमजुङको राजगद्दीमा राखे । लमजुङमा एकैसाथ दुइ राजाको राज चल्यो ।

 

ठकुरी राजा कालु शाहलाई जङ्गलमा शिकार खेल्न गएका बखत घले राजाप्रति वफादार शेखान्त भन्ने जातका मानिसले बाँण हानी मारिदिए । लमजुङेहरु कुलमण्डनसँग फेरि अर्को छोरा माग्न कास्की दरबार   गए । एउटा छोरो मारिएपछि फेरि अर्को छोरो माग्न आएका लमजुङेलाई छोरो दिन राजा रानी मञ्जुर भएनन् । तर लमजुङेहरुले आफ्नो निर्दोषिता प्रमाणित गरेपछि कान्छो छोरा यशोब्रह्म शाहलाई लमजुङ पठाउन राजी भए । तर उनको सुरक्षा बन्दोबस्त मिलाउन र राजकाजमा परामर्शका लागि आफ्ना विश्वासपात्र राजगुरु एवम् भारदार समन्तलाई पनि साथै पठाउने शर्त राखे । लमजुङेहरुले राजाको उक्त शर्त सहर्ष स्वीकार गरे । राजाज्ञा अनुरुप समन्त यशोब्रह्मको साथ लागी लमजुङ आए । तसर्थ अधिकारीका पुर्खा कास्कीबाट लमजुङ आउँदा यो राज्यको संरक्षणको गुरुत्तर जिम्मेवारी बोकेर आएका हुन् । त्यही बेला खड्ग देवता लिई एकजना आले मगरलक्ष्मीनारायण देवता र शाहहरुकी इष्टदेवी कालिका लिई एक जना अधिकारी ब्राम्हणघडी लिई एक जना खत्रीखरी लिई एक जना तिवारीसुयेलथापा, भण्डारी, डोले, सुसारेहरु, विरुदावली गाउन जान्ने कामीबाजागाजा बजाउने दमाई आदिको स-सानो समूह नै आएको थियो । श्रीकान्त अधिकारीका अनुसार अहिले चिहानपाटा क्षेत्रमा बसोबास रहेका तिवारीहरु,  घर्तीहरु,  दमाईभोटेकामीका पुर्खाहरु समन्तसँगै लमजुङ आएका हुन् ।

 

कास्कीबाट लमजुङ आइपुगेपछि यशोब्रह्म शाहलाई भाँगुस्थित सिन्दूरेढुङ्गामा अबीर जात्रा गरी गद्दीमा बसालियो । तुर्लुङकोटमा गढी (सैनिक ब्यारेक) र दरबार बन्यो । डाँडाको थुम्कोमा शाहहरुकी इष्टदेवी कालिकाको मन्दिर स्थापना गरियो । राजाको सुरक्षा बन्दोबस्तको लागि कर्तिपुर(अहिले पाणिनि स्कुल भएको ठाउँ), कुन्छा तान्द्राङ नेटा र ठूलोस्वाँरामा सेनाहरु तैनाथ गरियो । ती ठाउँमा खजे दुराका विश्वासपात्र  उनकै भाइ, भतिजाहरुको नेतृत्वमा सैनिकहरु खटिए । सेनालाई जीवनवृत्तिको लागि तलबको रुपमा नगद नदिई खेतबारी नै भोगचलन गर्न दिने प्रचलनको कारण ती सैनिकहरुले पनि आफूले पाएको जग्गा कमाउन आफ्ना परिवारछोराछोरी उतै लगे । त्यहींको जग्गा आवाद गरे । त्यतै बसोबास गरे । अहिले पनि ती ठाउँमा दुराहरुको बाक्लो बस्ती छ ।

 

दुराडाँडा आएपछि समन्तलाई दरबारको इशान दिशामा पर्ने मैदान भन्ने ठाउँमा बसोबासको बन्दोबस्त मिलाइयो । अहिले त्यो घडेरीमा नीलकण्ठ अधिकारी  (मधुसुदन गुरुका कान्छा भाइ) को घर छ ।  समन्त बसेको घडेरीभन्दा करीब पाँचसय मिटर उत्तरतर्फ एउटा पँधेरो छ । उनले प्रातः एवम् सायंकालमा स्नानसञ्जे गर्ने उक्त पँधेरोलाई बाहुन पँधेरो भनियो । अर्का भारदार खजेदुरा र उनका छरछिमेकीको प्रचलनमा रहेको अर्को नजिकैको पँधेरोलाई दुरा पँधेरो भनियो (श्रीकान्त अधिकारीसँगको कुराकानी अनुसार )। समन्त र खजे दुराले पानी खाएका यी दुवै पँधेरा हाम्रा आदिपुर्खा अनि लमजुङ राज्यको इतिहासका साक्षी हुन् ।

 

३. समन्त (१५) का सन्तति

समन्तका चारभाइ छोरा भए । जोठा छोरा गोपालनिधि (१६.१) बाबुकै थलो मैदानमै बसे । माहिला (१६.२) धागुराम उपाध्याय कुलकै तर अरुसँग विबाह छिनिएकी कन्यासँग विबाह गरेको कारण जैसीमा झरे/झारिए अनि यही कारण दुराडाँडा छोडेर कुन्छा  गए । साहिँला (१६.३)  गोविन्दप्रसाद तनहुँको रुपाकोट र कान्छा (१६.४) सातुराम (सान्त) दुराडाँडाकै गिरेचौरमा सरे । गोपालका छोरा कल्याण (१७)कल्याणका छोरा विद्याधर (१८)  र विद्याधरका छोरा मनोहर (१९.१) र दिग्विजय (१९.२) भए । जेठा छोरा मनोहरले वि.सं. १७७१ मा राजा रिपुमर्दनको पालामा त्यहाँको जग्गा जमिन रजबन्धकी (राजाबाट बन्धकी राखिएको) समेत लिएका थिए भनिएको पाइन्छ । (तर रिपुमर्दन शाह १७९८ तिरमात्रै राजा भएका हुन्। १७७१ ताका उनका हजुरबा केहरिनारायण शाह लमजुङका राजा थिए। उनले १७४१ वैशाख १ गते नारायणदास उपाध्यायलाई २४०० रुपैँयामा केही जमिन रजबन्धकी दिएको बताइन्छ https://www.youtube.com/watch?v=JHPHSgK6xhc&ab_channel=HistoryinNepali)। तसर्थ यो तथ्यको पुनर्पुष्टि हुनुपर्ने देखिन्छ।

पञ्चायतकालमा लमजुङको जिल्ला पञ्चायत सभापति भएका उपल्ला गाउँका हरिप्रसाद अधिकारीसर्वोदय हाइस्कूलका प्रख्यात हेडमास्टर ठाकुर प्रसाद छाँगाहरुको हाँगोलमजुङबाट २०५६ सालमा प्रतिनिधि सभामा निर्वाचित सांसद हरिभक्त अधिकारीचारघरेका हरिशरण अधिकारी जिमिरबोटे भनिने कृष्णविलास अधिकारी सर्वोदयको हेडमास्टर भएका विष्टेका इन्द्रविलास अधिकारीपुछारघरे भनिने डा.विष्णुविलास अधिकारीहरु यिनै मनोहरको हाँगोका सन्तति हुन् । हामीहरु दिग्विजयको हाँगोका हौं । हरिदास (अस्ताम आउने पहिलो पुर्खा)  बाट गणना गर्दा मनोहर र दिग्विजय १९ औं पुस्ताका पुर्खा हुन् । उहाँहरु (मनोहर) को खलक र हाम्रो (दिग्विजय) को खलकको हाँगो यही १९ औं पुस्ताबाट फाटेको हो । माथि उल्लिखित हरिप्रसादठाकुर छाँगाहरु मनोहरको हाँगोमा २९ औं पुस्ताका हुन् ।

 

४. दिग्विजय (१९) को हाँगो

दिग्विजयको छोरा शिवशर्मा (२०) भए । अधिकारी बन्धुसमाज नेपालबाट २०७१ सालमा प्रकाशित अधिकारी वंशावली नामक पुस्तकमा दिइए अनुसार शिव शर्माका चारभाइ छोरा देखिन्छन्  । जेठा छोरा नरनाथ (२१.१)माथि उल्लिखित पुस्तकको पेज नं. ४३२ मा शिव शर्माका जेठा छोराको क्रममा नरनाथ लेखी कोष्ठमा (मधुविलास) लेखिएको छ । तर अन्यत्र कतै पनि उक्त नाम भेटिदैन । तसर्थ वंशावली पुस्तकमा यो विवरण  नै गलत पो पर्न गयो कि भन्ने पनि लाग्छ । यसमा थप खोजी गर्नुपर्ने छ । माहिला छोराको नाम समन्त (२१.२) हो । समन्त स्वाँराका मुखिया खलकका साझा बाजे हुन् । साहिँला छोराको नाम शुकदेव (२१.३)  हो । हामी शुकदेवको हाँगोका हौं । कान्छा छोराको नाम कालिदास हो । उनी पन्थेली खलकका साझा बाजे हुन्। 

परम आदरणीय पूर्वजहरुका  कीर्तिहरु अनेकौं थिए होलान् । हामीले देखे भोगेका मठ,मन्दिर, धारा, कुवा, पाटीपौवा,चौतारा, बाटाघाटा सबै पुर्खाकै पौरख हुन् । यस्तै पौरखी पुर्खामध्येका एक हुन् शिव शर्मा । लमजुङ्को ऐतिहासिक धरोहरको रुपमा रहेको धुवाउने ठाँटी उनकै कीर्ति हो । यो ठाँटी कहिले बन्यो भन्ने ठ्याक्कै भन्न नसकिए पनि शिव शर्माको जन्म विसं १८१० वरपर भएको देखिएकोले १८४० देखि १८५० वरपर ठाँटीको निर्माण भइसकेको हुनुपर्छ । यसको निर्माणको बारेमा एक पङ्ति कविता पनि फेला परेको छ जुन यस प्रकार छ,

यो हो लमजुङको तख्ता, शिव शर्मा थिए जीजु

उनकै किर्ती हो ठाँटी, ठाँटीमा उनकै जीउ

देखेर नाति सन्तान, यसको सम्भार गर्दछन्

देवता अतिथि यसमा, घरझैं बास गर्दछन् ।

यो कविता कसले रचना गरेको हो थाहा छैन । दुराडाँडाकै प्रख्यात कवि यदुनाथ सरल ढुङ्गानालाई यो कण्ठ रहेछ । २०७८ कार्तिक १५ गते उहाकै मुखबाट यो उधृत भएको हो । कवि यदुनाथले वाचन गर्नुभएका यी पङ्ति दाजु चन्द्रमणि अधिकारीबाट २०७८ कार्तिक १५ मा नै मलाई भाइबरबाट प्राप्त भएको हो । कवितामा भनिए जसरी नै यो ठाँटी समय समयमा उनकै सन्ततिबाट मर्मत सम्भार हुँदै आएको हो ।

 

लमजुङ्को उत्तरी क्षेत्र खास गरी घनपोखराका सुब्बा खलक व्यापार व्यवशायमा स‌ंलग्न  थिए । उनीहरु भोट र तराइ आउजाउ गरिरहन्थे । यसरी आउजाउ गर्दा यही ठाँटीमा बास बस्थे । जाडो मौसममा  भोटबाट भोटेहरु पनि झर्थे । नून, निर्मसी, जिम्बु, काँचो सिम्रिक लगायतका सरसामान जडिबुटी लिएर आउने भोटेहरु महिनौंसम्म त्यहीं बास बसेर व्यापार गर्थे। कतिपय भोटेनीहरू ठाँटीमै सुत्केरी हुन्थे अरे। भोटेको बच्चा हेर्ने रहरले ठाँटी वरिपरि घेरा लाग्न पुग्थे अरे गाउँका केटाकेटीहरू (मेरी आमाले बताउनु भएको)। पूर्व टिस्टादेखि पश्चिम काँगडासम्म ओहोर दोहोर गर्ने मूलबाटो मानेचौका भएर जान्थ्यो । मानेचौका अल्लि औलमा पर्ने भएकोले भोटबाट आएका व्यापारीहरु त्यहाँभन्दा चिसो मौसम भएको दुराडाँडामा बस्न रुचाउँथे । स्थानीय व्यापार त्यहीँ जम्थ्यो । त्यसैले यो ठाँटी हिउँदभर प्रायः गुलजार भइरहन्थ्यो । 

 

वि.सं. १९५० ताका एकपटक घनपोखराका गर्भे सुब्बा (नरेन्द्रजङ्का बाबु) बास बस्न यो ठाँटीमा आइपुगेछन् । श्रीकान्त अधिकारीका अनुसार, ठाँटीको जीर्ण अवस्था देखेर यो ठाँटी बनाउनेको सन्तान मास्सिएछ कि क्याहो भने अरे उनले । यो कुरा कसैले मुखिया हरिदासलाई सुनाइदियो । चकचकी जमाइरहेको परिवारलाई अरुले मास्सिएछ कि क्या हो भन्दा उनको साह्रै चित्त दुखेछ । यो कुरा उल्लेख गरेर वीरगञ्जमा जागिरे काहिलो भाइलाई हरिदासले । शेषकान्तले मर्मतको बन्दोबस्त मिलाउन सल्लाह दिए। यसपछि उनै हरिदासको अगुवाईमा शिव शर्माका सन्तति सबै मिलेर यसको पुनर्निर्माण गरेका हुन् १९७२ ताकाको कुरा हाे यो। १९९० को भूकम्पमा परी यो ठाँटी फेरि भत्कियो । त्यतिबेलाको पुस्ताले पुनः यसको मर्मत सम्भार गर्यो । २०१८ सालमा पनि शेषकान्तकै अगुवाईमा मर्मत भयो। अहिले ठाँटीको अवस्था निकै जीर्ण छ । हाम्रा पुर्खाको कीर्तिलाई जोगाउने दायित्व हाम्रो काँधमा आइपुगेको छ । यस सिलसिलामा २०७८ साल कार्तिक १३ गते नवोदित कलेज काठमाडौमा शिवशर्माका सन्ततिहरुको सानो भेलाको आयोजना गरियो।भेलाले यसको पुनःनिर्माणको गर्ने निर्णय गर्यो। त्यसपछिका दिनमा भएका छलफलबाट ऋषिकान्त अधिकारीको अध्यक्षतामा एक समिति गठन गरी प्रक्रिया अगाडि बढाइएको छ।

 

५. शुकदेव (२१) को हाँगो

शुकदेवका तीनभाइ छोरा भए । जेठा गिरीधारी,  माहिला शक्तिवल्लभ र कान्छा अगन्धर । 

देवतापानीका चिरिञ्जीवीका खलकटारीका हरिभक्त (२६)टीकाराम (२७), देवनाथ (२७), ठाँटीमुनिका पूर्णचन्द्र (२८) जेठा गिरीधारीको हाँगोका हुन् (पेज नं.४५१अधिकारी वंशावलीअधिकारी बन्धुसमाज,नेपाल२०७१)। हामी तिवारीथोकका परिवारस्वाँराका  नरनाथ   अधिकारी   र लामपाटे विष्णुप्रसाद अधिकारीका खलक माहिला छोरा शक्तिवल्लभको हाँगोका  हौं । बिजुली खरदार भनेर चिनिने मधुविलास (२६)धारापानी सरेका घनश्याम (२७), रामदत्त मास्टरका छोरा रमेशचन्द्र (२७) कान्छा छोरा अगन्धरको हाँगोका हुन् (पेज नं. ४३२, ऐ. ऐ.)।


देवतापानीका चिरञ्जिवी गुरुहरु र ठाँटीमुनि पूर्णचन्द्रहरु पनि हाम्रै हाँगोका हुन् भन्नेबारे म जानकार थिइन। अघिल्लो पुस्ताका ठूलाबा,सानाबाहरुले पनि यसै हो भन्न सक्नु भएन। यस सन्दर्भमा मेरी हजुरआमा र म सोतीपसल ठूली फुपुको घर, जीता मेरो मामाघर या भलुवा कान्छी बुढीफुपुको घर गएर आउँदा देवतापानीमा सतञ्जीवीको घरभन्दा पूर्व धन्सारमा बस्ने उपाध्यायानी हजुरआमाकोमा पसेको, खाजा पानी खाएको र हजुरआमाले उहाँहरू हाम्रै दाजुभाइ हुन् भनेको संझिएको छु। यसबारे चासो राखेर चिरिञ्जीवी गुरुका नातिहरू दुर्गा र कृष्णसँग पनि कुरा गरें। उहाँहरुले आफ्ना जीजुहरूको नाम सोध्दा बाजे चिरिञ्जीवीले काशिदत्तकण्ठु भनेको संझिन्छु चाहिँ भन्नु भो तर जरो कुन हो हाँगो कुन हो विन्याउन सक्नु भएन। यसै सिलसिलामा २०८० साल बैशाख ४ गते चिरञ्जीवी अधिकारीकी बुहारी (कान्छा छोरा भेषराजकी पत्नी) मनकुमारी (९० वर्ष) काठमाडौँ आउनु भएको मौकामा उहाँका छोरा दुर्गा अधिकारीले खबर गर्नुभो र उहाँकै निवास ढुङ्गेधारा काठमाडौँमा भेटेर कुराकानी गरें। मनकुमारीका अनुसार,

आफ्ना बूढा ससुरा काशीदत्तका हजुरबाको नाम कण्ठू हो।  सात पुस्ता माथिसम्मका पितृलाई तर्पण पानी दिँदा यही नाममा दिने गरेको छ। कण्ठु बेसीको गोठमा बस्नुहुन्थ्यो अरे। र, दुवै हात कुँजा थिए अरे भन्ने ससुराबाट सुनेको हो (मनकुमारी)

२०१५ सालतिर चितवन झरेकोले पहाडको कुरा धेरै थाहा भएन। कण्ठूको हाँगो बाहेक अरु दाजुभाइ को हुन् थाहा भएन र जूठो सुतक बार्ने चलन पनि भएन। २०३४ सालमा ७३ वर्षको उमेरमा ससुरा (चिरञ्जीवी) परलोक हुनुभो। उहाँ बितेकोबेला किरिञ्चेका खोजराज खनालकी सासु (पूर्णचन्द्रको आमा) भेटीघाटी लिएर आफ्नो घरमा आएको र उनले आफूहरु एकै खलकको भएको बताए पछि उनीहरु पनि आफ्नै हाँगोका रहेछन भन्ने थाहा पाइयो (मनकुमारी)

खोजराज खनालका छोरा भूवन प्रत्येक दशैंमा मामाघर भनेर आफूहरुकोमा टीका थाप्न आउने गरेको। (दुर्गा अधिकारी)

स्वाँराका मधुविलास खरदार, नरकान्त अधिकारीहरु हजुरबालाई भेटन आउँदा आफूहरु बन्धु खलक भएको बताएको सुनेको र हजुरबालाई गोडामा ढोगेको देखेको।(दुर्गा अधिकारी)

मणिग्रामकी कान्छी हजुरआमा (कोमलनाथ अधिकारीकी पत्नी) काठमाडौँ आएको बेला स्वाँराका इन्द्रविलास आफ्ना दाजुभाइ भएकोले भेटन जानुपर्छ भनी हजुरआमासँग साथ लागेर उनको वानेश्ववरको घरमा गएको।(दुर्गा अधिकारी)

मनकुमारीसँगको भेटघाटबाट शुकदेवका तीनभाइ छोरामध्ये जेठा छोरा गिरिधारीको हाँगोबारे केही स्पष्ट त भयो। तर यसपूर्व जूठो सुत्केरो बार्ने गरेको नपाइदा अहिले पनि के हो के हो भन्ने संशय छ।  ज्ञानशाली अधिकारीका छोरा हरिप्रसादसँग पूर्णचन्द्र र उनिहरुको हाँगो जोडिन्छ कि भनेर सोधें । उनले त पूर्णचन्द्रहरुको हाँगो जलकिनी भवनाथको हाँगोको नजिक हो अरे भनेर थप संशय उत्पन्न गरिदिए। यसबारे थप बुझ्नुपर्ने देखियो। बरु उनले आफ्ना पिता पुर्खाका नाम भने क्रमशः ज्ञानशाली, उनका बा कलाधर, कलाधरका बा पशुपति र पशुपतिका बा पदमपाणि भएको बताए।

गिरिधारीको हाँगोमा चार छोरा भएको देखिन्छ। जेठा कण्ठू हुन्। कण्ठू, का छोरा गंगादत्त भए। गंगादत्तका तीन छोरा काशीदत्त, बुद्धिसागर र बालकृष्ण भए। जेठा काशीदत्तका छोरा चिरञ्जीवी गुरु भए। उनका छोराहरु सतञ्जीवी र भेषराज भए। माहिला बुद्धिसागरका छोरा कोमलनाथ लगायत चार भाइ भए। कोमलनाथका सन्तान मणिग्राम बस्छन्। कान्छा बालकृष्णका छोराहरु रामप्रसाद र बटुककृष्ण भए।

गिरिधारीका माहिला छोरा कृष्णलालबारे मनकुमारीले पनि केही बताउन सक्नु भएन। साँहिला छोरा हरिलाल टारीका दाजुभाइका साझाबाजे हुन्। उनकाका छोरा जानकीदत्त भए। जानकीदत्तका श्रीनाथ, ऋषिराम र मेघनाथ गरी ३ छोरा भए। श्रीनाथका छोरा हरिभक्त (हामी मावली तिरको नाताका कारण टारी ठूलाबा भन्थ्यौँ) भए। ऋषिरामका छोरा कृष्णविलास भए । कृष्णविलासका छोराहरु टीकाराम र देवीप्रसाद भए। जानकीदत्तका कान्छा छोरा मेघनाथका सन्ततिबारे भने केही जानकारी भएन।

गिरिधारीका कान्छा छोरा भविलाल हुन्। उनका दुई छोराहरु मार्कण्य र जीवनाथ भए। मार्कण्यका तीनभाइ छोरा भए रेशमलाल, विद्याधर र शेरबहादुर। रेशमलालका छोरा भास्कर,भास्करका छोरा टेकनिधि र टेकनिधिका छोरा पूर्णचन्द्र र किर्तिचन्द्र भए। विद्याधरको हाँगोबारे थप थाहा भएन।शेरबहादुरका कर्णबहादुर, कृष्णबहादुर, खड्ग बहादुर र सिंहबहादुर भए। उनिहरु २७औं पुस्तामा पर्छन्। उनीहरुपछि अहिले अर्को दुइ पुस्ता थपिइरकेको छ र यो हाँगोमा २९ औं पुस्ता चलिरहेको छ।

 

६. शक्तिवल्लभ (२२) को हाँगो

शुकदेवका माहिला छोरा शक्तिवल्लभ र वहाँकी पत्नीको नाम सत्यभामा हो । सत्यभामाको नाम मलाई बाहुनबा जगनाथ सोतीले बताउनु भएको हो । सोती हाम्रा कान्छा बूढाहजुरबा ब्रम्हदत्तको जेठी छोरीका छोरा (नातिहुनुहुन्छ । वहाँले श्राद्धादिकर्ममा आफ्ना मातातर्फका तीन पुस्तासम्मका पितृहरु (मातामह ब्रम्हदत्तप्रमातामह विष्णुहरि र वृद्धप्रमातामह शक्तिवल्लभ ) लाई सपत्निकः तर्पण दिने हुँदा वहाँलाई यो नाम थाहा रहेछ ।

 

शक्तिवल्लभ र सत्यभामाका तीनभाइ छोरा भए । छोरीको बारेमा भने कुनै जानकारी पाउन सकिएन । छोराहरुमा जेठा केशव, माहिला शालिग्राम र कान्छा विष्णुहरि हुन् । लामपाटे विष्णुप्रसाद अधिकारी केशवकास्वाँराका नरनाथ अधिकारी शालिग्रामका र मेरा पिता भानुभक्त अधिकारी विष्णुहरिका पनाति हुनुहुन्छ । हामी यी तीन खलकका साझाबाजे शक्तिवल्लभ हुन् । शक्तिवल्लभ २२ औं पुस्ताका र मेरा पिताजी २६ औं पुस्ताका हुनुहुन्छ । ( पेज नं. ४४८ ऐ.ऐ.) शक्तिवल्लभ लामपाटे विष्णुप्रसादका पिता रामनाथ, नरनाथका पिता कविनाथ र हाम्रा हजुरबा कालिप्रसादका बूढाहजुरबा भएकोले यी तीनै जना हजुरबाहरुले श्राद्धादि कर्ममा शक्तिवल्लभलाई पिण्ड दिनुहुन्थ्यो । यसकारण विष्णुप्रसाद काका, नरनाथ काका र हामी चौथो पुस्तामा छौं । सबैभन्दा नजिकका कुलबन्धु हामीहरु नै हौं ।

 

७. विष्णुहरि (२३) को हाँगो

तिवारीथोकका अधिकारीका साझाबाजे विष्णुहरिका एक छोरी र छ भाइ छोरा भए । उनको विवाह तनहुँ बर्लांचीकी विष्णुप्रभासँग भयो । बर्लांचीका कविराज तिर्थराज लम्सालकी बूढीफुपू हुनुहुन्थ्यो हाम्री ज्यामै । मेरा पिताजीभन्दा दश-बाह्र वर्षले कान्छा कविराजबासँग मैले पनि चिनजान गर्ने मौका पाएको हुँ र यो कुरा वहाँकै मुखबाट थाहा पाएको हुँ ।

 

विष्णुहरिको घर बारीको पुछार (अहिले अरुणकान्त अधिकारीको घरभएको सोझै अगाडिको मोटर बाटोभन्दा माथिल्लो गरामा थियो ।  त्यहाँ नजिकै अलिकति खरबारी र बाँसका झ्याङ् पनि छन् ।अहिले सो खरबारी भएको जग्गा विष्णुहरिका कान्छा छोरा ब्रह्मदत्तका नाति मुक्तिनाथका सन्ततिले चर्चिदै आएका छन् ।(रेवतिरमण अधिकारी,१९९३) का अनुसार वहाँका माहिला बा  रामनाथको जन्म स्वाँराकै घरमा र वहाँका पिता यदुनाथको जन्म तिवारीथोकको घरमा भएको हो (२०७५ मङ्सिर १५ गते म र भाइ दीपक अधिकारीसँगको कुराकानीमा

 

विष्णुहरि विसं१९४२ सालमा अल्पायुमै परलोक हुनुभएको रहेछ । वहाँको निधन हुँदा जेठो छोरा हिमलाल १२ वर्षको र कान्छा छोरा ब्रह्दत्त २ वर्षको हुनुहुँदो  रहेछ (मणिराजअधिकारी,१९८४। त्यसैले हाम्रो खलक विष्णुहरिको पालामा नभई वहाँको स्वर्गारोहणपश्चात छोराहरूको पालामा तिवारीथोकमा आउनुभएको रहेछ । हाम्रो परिवार  कति सालमा तिवारीथोक आयो ठ्याक्कै भन्न त सकिएन तर यसलाई अरु तथ्यहरुसँग जोडर हेर्दा केही अनुमान गर्न भने सकिन्छ । जस्तै, विष्णुहरिका जेठा छोरा हिमलालका तीन छोरामध्ये माहिला छोरा रामनाथ (शेषकान्त पनि भनिन्छ) को जन्म बारीको पुछारकै घरमा र कान्छा छोरा यदुनाथको जन्म वि.सं.१९६०चैत (यदुनाथका नाति शिवकान्त अधिकारीले दिएको जानकारी अनुसार)  मा तिवारीथोकको घरमा भएको रहेछ। रेवतिरमण ठूलाबाका अनुसार रामनाथ तिवारीथोक आउँदा डेढ-दुई वर्षको हुनुहुन्थ्यो रे । रामनाथ २०२३ सालमा ६३ वर्षको उमेरमा परलोक हुनुभयो (चन्द्रकान्त अधिकारी,१९९९ चैत्र) । यसर्थ वहाँको जन्म १९५८ को आखिरी वा १९५९ को शुरुतिर भएको देखिन्छ । यसरी हेर्दा हाम्रो परिवार बारीको पुछारबाट वि.सं. १९६० सालको आधा आधितिर  तिवारीथोक आएको हुनुपर्छ ।

 

हाम्रो मूल थलोको नाम तिवारीथोक भएपनि त्यो जग्गा  भने गैह्राघरका न्यौपानेहरुबाट किनिएको हो । सायद यो जग्गा न्यौपानेहरुको स्वामित्वमा आउनु अघि तिवारीहरुकै थियो । तल्लो पँधेरो भनिने मणिराज अधिकारीको घरपूर्वको पँधेरोको नाम पनि तिवारी पँधेरो हो । तिवारीहरुको घरबारी क्षेत्रमा पर्ने भएकैले यो पँधेरोको नाम तिवारी पँधेरो भएको हुनुपर्छ । धेरै दाजुभाइ भएकोले हिमलाललाई स्विवाँराको जग्ष्णुगा साँघुरो भयो। घडेरीका लागि उपयुक्त जग्गा खोजी गर्ने क्रममा तिवारीथोकको बारी पाए किन्थें भन्ने मनसुवाले न्यौपानेहरुसँग कुरा गर्न गएछन्। न्यौपानेहरुले चर्नमात्रै आउने हो कि गोठै हाल्ने हो ' (अर्थात बन्धकी किन्ने हो कि राजिनामा पास गरेरै किन्ने हो ? ) भनेर साधे अरे ।गोठै हाल्ने हो भनेपछि न्यौपानेहरुले   जग्गा बिक्री गरेका रहेछन् । स्वाँरामा सबै दाजुभाइलाई घर बनाउन पुग्ने  जमिन नभएको र  टुहुरो भएकै कारण अरू भाइबन्धुबाट  हेपिनुपर्ने हाे कि भन्ने आशङ्काले गर्दा पुरानो थलो छोडेर ३० वर्षको उमेरमा बूढी आमा र भाइहरुको परिवार लिएर हिमलाल तिवारीथोक सरेका रहेछन्। 

 

तिवारीथोकमा आएपछि पनि करिब १४/१५ वर्षसम्म सबैभाई सगोलमै बसेका रहेछन् । अहिले काशीनाथ दाजुहरुको घर भएभन्दा तल्लो गरोको पश्चिमपट्टि थियो रे मूलघर।घुमाउने। हाम्री बूढीफूपू कालिकादेवी (१९६७) को विवाह (करिब १९७४ तिर) सगोलमै छँदा भएको रहेछ । सकेसम्म धेरै जन्ती लिएर आउनेखाने कुरा फाल्नुलाई सम्पन्नताको मापक मान्ने जमाना रहेकोले अढाई-तीन सयजति जन्ती आएका र ठूल्सिं (ठूलो सिम?) खेतमा मुरी का मुरी चामल र खसीको जन्ते बाख्रो पकाएका र जन्तीले खाइनसकेको भातका डल्लाले पूरै खेत सेतै देखिएको थियो भनेर  आफ्ना सासु-ससुराले भनेको भनी हाम्री हजुरआमाले हामीलाई भन्नु भएको थियो । यसरी हाम्रा वूढाहजुरबा (विष्णुहरिका छोराहरु) हरु १९७५ वरपरसम्म पनि सगोलमै बसेको देखिन्छ । पछि छुट्टि भिन्न हुँदा त्यो घरमा कोही बसेन । बूढोघर भएको गरो भन्दा माथिल्लो गरोमा पूर्वपट्टि कान्छाबाजेले र माझतिर साँहिला बाजेले नयाँ घर बनाउनु भएको रहेछ । जेठाबाजे तिवारी पधेरोपट्बाटिको बारीमा (दुईतले कान्छाबाजे यदुनाथका परिवार बसेको बारी), हाम्रा बूढाबाजे वेणिमाधवले अहिले गल्घलीमुनेको घर भएकोभन्दा तल्लो गरामा बनाउनु भएको रहेछ । छुट्टि भिन्न हुँदा ठाहिँला भाई अल्लि रोगी भएकाेले जेठा दाजुसँग बसेछन् । माहिला दाजु र काँहिला भाइ सँगै बसेका रहेछन् । ठाहिँलाभाईको दाजुसँग बसेकै बखत परलोक भयो । माहिला र काहिला पछि अलग हुँदा पुरानो घरमा काहिँला बसे । माहिला आरुबोट गए । पछि काहिँलाले पनि पुरानो घर भत्काएर गल्लीमुनीको गरामा (अहिलेको ठाउँमा) घर बनाए । त्यसैले काहिँला बाजेका परिवारलाई गल्लीमुनी परिवार भनिन्छ । अहिले नरनाथ अधिकारीकाे घर रहेकाे ठाउँभन्दा पश्चिमपट्टि थियो यो घर । 

 

७.१. विष्णुहरिको समय र सन्तति

विष्णुहरिको जन्म कहिले भयोवहाँले कति समय भोग गर्नु भयो भन्नेबारे उल्लेख गरेपछिमात्रै अरु विषय उल्लेख गरियो भने बढी सान्दर्भिक हुने देखेर पहिला वहाँको समय आंकलन गर्ने प्रयास गरेको  छु ।

काल निर्धारणका लागि पनि कुनै लिखत वा तथ्य वा प्रमाण फेला नपरेमा अरु सहायक तथ्य र प्रमाणहरुको सहयोग लिनुपर्ने हुन्छ । कतिपय कुराहरु अनुमान गर्नुपर्ने पनि हुन्छ । यसो गर्दा शतप्रतिशत सत्य फेला नपरे पनि सत्यको निकै निकटसम्म पुग्न सकिन्छ । यहाँ पनि यसै गर्न आवश्यक भएको छ । तसर्थ वहाँ र वहाँका छोराछोरीनातिसम्मको देहायको विवरणको आधारमा देहाय बमोजिम समय निर्धारण गर्ने प्रयास गरेको छु :-

१. विष्णुहरिका जेठा छोरा हिमलालको १९९० सालमा करिब ६० वर्षको उमेरमा निधन भएको (मणिराज अधिकारी२०७७ पुस ४ को कुराकानी) । यसरी हेर्दा उनको जन्म विसं १९३० वरपर भएको देखिन्छ ।

२.  विष्णुहरिकी एकमात्र छोरी हिमलालभन्दा जेठी हुन् (गिरिजाकुमारी हजुरआमा, लैनचौर ) । हिमलाल भन्दा दुईवर्षमात्र जेठी रहेको भएपनि उनको जन्म विसं १९२८ वरपर भएको देखिन्छ ।

३. कान्छाबाजे ब्रह्मदत्त आफ्ना पिता परलोक हुँदा २ वर्षको हुनुहुन्थ्यो (गिरिजा हजुरआमा, लैनचौर ) 

४.   विष्णुहरि र पहिलो सन्तानका बीच २० वर्षको अन्तर रहेको भए पनि विष्णुहरिको जन्म विसं १९०८ वरपर भएको हुनुपर्छ ।

५. विष्णुहरि परलोक हुँदा जेठा छोरा हिमलाल १२ वर्षको हुनुभएको भनाइ (मणिराज अधिकारीअनुसार वहाँ १९४२ मा ३४ वर्षको उमेरमा परलोक हुनुभएको ।

६.    वहाँका सन्ततीहरुको समयक्रम अनुमान गर्दा प्रत्येकको जन्मान्तर दुई दुई वर्षको रहेको भएपनि छोरी (१९२८), हिमलाल (१९३०), वेणिमाधव (१९३२), षडानन्द (१९३४), खेमराज (१९३६),चम्पाकर (१९३८) र कान्छो छोरा ब्रह्मदत्त (१९४०) मा जन्मेको देखिन्छ ।

 

विष्णुहरिका छोराछोरी र तिनका सन्ततिबारे थाहा भएसम्मको विवरण देहाय बमोजिम छ ।

 

७.१.१. हिमलाल (२४) (१९३०-१९९०)

विष्णुहरिका जेठा छोरा हिमलाल हुन् । तर उनी सन्तु पाध्ये नामले बढी परिचित भए । सन्तु पाध्येको  पहिलो विवाह धारापानी कटहरेकी फुपू पार्वतीसँग भएको थियो । उनको बाल्यकालमै निधन भयो । पछि गोरखा राउतेपानीका देवकोटाकी छोरी पूण्यमायासँग बिहे गरे ।

 

हिमलाल १२ वर्षको छँदै पिता विष्णुहरिको स्वर्गारोहण भएकोले उनले आमानाबालक ५ जना भाइको  लालनपालनबिहेदानको जिम्मेवारी पूरा गरेका थिए । उनकी दिदी भने पिताको स्वर्गारोहण हुँदा कम्तीमा पनि १४ वर्षकी भइसकेकिले पक्कै विवाह भइसकेको हुनुपर्छ । उनकोबारे अलग्गै उल्लेख गरेको छु । 

 

बूढाहजुरबाहरु छुट्टि भिन्न हुने क्रममा पाँच दाजुभाइ तिवारी थोकमा र हाम्रा बूढाहजुरबा वेणिमाधव आरुबोटमा आई बस्नुभएको रहेछ । आरुबोटको जग्गा पनि गैराघरका न्यौपाने र तिवारीहरुसँग लिइएको रहेछ । काँहिला र माहिला छुट्टिभिन्न हुँदा माहिला आरुबोट गए काँहिला तिवारीथोकमै बसे । चम्पाकर अल्लि रोगी भएको कारण जेठो दाजुकै  आश्रयमा बसेका रहेछन् । एउटी छोरी (जौमाया/गोरी पनि भनिने) जन्मिएपछि चम्पाकरको पनि अल्पायुमै निधन भयो । भाइको निधन भएताका नै हिमलालका जेठा छोरा मेघनाथको पनि निधन भएछ । आफ्नो आश्रयमा बसेको भाइ र भर्खरै जस्तो विवाह भएको जेठो छोरोको अल्पायुमै भएको निधनले हिमलाल  केही दिन विक्षिप्त जस्तै भएछन् । फेरि सरेर बारीको पुछारमै गएर पनि बसेछन् । तर पछि  पुनः तिवारीथोकमै आएर बसे । विधवा बुहारीहरु (भाइबुहारी र छोरा बुहारी) पनि केही वर्षपछि अर्को घरजम गरेर गए ।

 

हिमलाललाई उनको हक्की स्वभाव र खुला हृदयको कारण दाजुभाइछरछिमेकी र वरपरका गाउँकाले समेत निकै आदरपूर्ण व्यवहार गर्थे । बिपदको बेलामा पनि परिवारको जिम्मेवारीलाई सनतुलित रुपमा अगाडि बढाएका हिमलाल अर्थात सन्तु पाध्य उतिबेला निकै नाम चलेका सामाजिक व्यक्तित्व   थिए । हिमलालका तीन छोरा मेघनाथ रामनाथ (१९५८) र यदुनाथ (१९६० चैत्र ) अनि  तीन छोरी भए ।

 

जेठा छोरा मेघनाथको विवाह भए पनि सन्तान नहुदै परलोक भए । उनको विवाह जितामा भएको थियो । माहिला रामनाथ शेषकान्त पनि भनिन्छ) को विवाह अर्चल्यानी भएको हो । उनका सातभाइ छोरा (मायानाथ, तोयनाथ(१९८१-२०१६), टीकाराम (१९८४ मङ्सिर), नरनाथ, जगन्नाथ, चन्द्रकान्त (१९९९ चैत्र) र तारानाथ (२००३) र पाँचवटी छोरी (देवकीदीव्यरुपालक्ष्मीनेउटी र टोपली भए । रामनाथका सन्तानलाई दुईतले माहिला बूढाका खलक  भनिन्छ ।

 

यदुनाथको विवाह पुस्तुन नन्दप्रसाद घिमिरेकी छोरी चन्द्रकलासँग भएको हो  (चन्द्रकला मेरी हजुरआमाको फुपूकी छोरी हुनुहुन्छ) । यदुनाथका सातभाइ छोरा र दुई छोरी भए । सातभाइ मध्ये तीनभाइ सानैमा परलोक भए । अरु चारभाइमा जेठा (मणिराज (१९८४ पुस १५ ), माहिला लेखनाथ, साँहिला रेवतिरमण (१९९३ असार र कान्छा कमलकान्त (२००१ पुस हुन् । दुई छोरीमा (चुँदीकि दिदी र पुर्कोटकि दिदी) हुन् ।

 

हिमलालका तीन छोरीहरुमध्ये जेठी छोरी मुसीमायाँ बाँग्रेका भोटु भण्डारीलाई दिएको हो । उनका सन्तान भएनन् । माहिली छोरी अर्चल्यानीका पंपशुपति पौडेललाई र कान्छी छोरी जिताका घिमिरे (छोराःशशिधर) लाई दिएको हो । विसं १९९० सालतिर झाडापखालाबाट हिमलालको परलोक  भयो ।

 

७.१.२.वेणिमाधव (१९३२-२००२)

विष्णुहरिका माहिला छोरा वेणिमाधव हाम्रो बूढाहजुरबा (पिताजीका हजुरबा)  हुनुहुन्छ । वहाँको गोरखा राउतेपानीका श्रीनिवास देवकोटाकी बहिनी द्वारकुमारीसँग विवाह भयो । श्रीनिवास चारघरे नवकुमार अधिकारीका मामाघर तर्फका हजुरबा हुनुहुन्छ । श्रीनिवासका छोराको नाम बुद्धिप्रसाद देवकोटा हो ।

 

हाम्री हजुरआमाका अनुसार हाम्रा बूढाहजुरबा रातो वर्णअग्लो र किञ्चित ठूलो दारपातको हुनुहुन्थ्यो । बूढीहजुरआमा गोरीराम्रीछरितो जीउडालकी (भागिरथी न्यौपाने दिदीका अनुसार कुन्छा सानी बूढीफूपुजस्तै अनुहार र जीउडाल भएकी ) हुनुहुन्थ्यो । बूढाहजुरबा जडीबुटी र झारफूक मार्फत बिरामीहरुको उपचार पनि गर्नुहुन्थ्यो । केही जडीबुटीविभिन्न जङ्गली जनावरका दाह्रानङ्ग्रासिङहाडपित्त (भालुको) पिसाव (गैडाको) अनेकौं पथ्थर (बाघे कौडो) जाबीको झोला दरियाँ ओखररातीगेडी (रति) आदि फलराइफलको तेलगाईको पुरानो घिउरेलको टिकट  जस्ता औषधी उपचारका चीजबिज मैले पनि देखें । सबै औषधी राखन धरन गर्ने गरेको हजुरबाको औषधी झोला हाम्रो घरमा रहेछ । हजुरआमाले पछिसम्म पनि त्यो झोला जतनसाथ राख्नुभएको थियो । हामी केटाकेटी हुँदा हाम्रो उपचार पनि तिनै घोटघाटे औषधी खाएर भएको हो । मेरो छोरा रोशनको पालासम्म पनि ती औषधी चलन चल्तिमै थिए । उसलाई रुघाखोकी लाग्दा वा स्वाँ स्वाँ हुँदा मेरी हजुरआमाले तिनै घोटघाटे औषधी खुवाउनु भएको हो । वहाँले गाउँघरका धेरै केटाकेटीलाई त्यो घोटघाटे औषधी खुवाउनु भएको हामीले देख्यौं ।

 

हाम्रा बूढाहजुरबा र बूढीहजुरआमालाई चिन्ने जान्नेका अनुसार वहाँहरु दुवैजना निकै दयालु र धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो । घरमा अन्नपातगोरसको पउल थियो । ज्वाईंभानिज वा गोडामा ढोग्नु पर्ने कोही पनि अतिथि आउँदा ''हाम्रो घरमा देउता आउनुभो,  बूढीमाउ पानी ले ले'' भनेर बूढी हजुरआमासँग पानी मागेर बूढाहजुरबा आफैले गोडा धोइदिएर राडीकाम्लो जे छ त्यसमा बसाई आफू पाहुनाको अगाडि घुँडा मारेर बस्दै क्षेम  कुशल सोध्नुहुन्थ्यो । अरु पाहुना वा बास बस्न आइपुग्ने बटुवा जो सुकैको समेत उत्तिकै आदर सत्कार र खानपिनमा ध्यान दिनुहुन्थ्यो । २०६५ साल बैशाखमा दुराडाँडास्थित हाम्रो घरमा श्रीमद्भागवत् सप्ताह पूराण लगाएको बेला उपवाचक रहनुभएका परमादरणीय गुरुप्रसाद घिमिरे (मुख्य वाचकमा मधुसुदन अधिकारी हुनुहुन्थ्यो) ले यी कुरा बताउँदै तिमीहरुको खलकको उन्नतिप्रगति बूढाहजुरबा र बूढीहजुरआमाकै प्रतापले भएको हो बाबु’ भनी हामीलाई बताउनुभएको    थियो ।

 

छुट्टिभिन्न (१९७५ तिरभएपछि माहिला दाजु वेणिमाधव र काहिला भाइ खेमराज सँगै बसेका रहेछन् । यी दुई भाइ कहिले अलग भए यकिन छैन। जे होस दुई भाइ छुट्टिभिन्न भएपछि हाम्रा बूढाबाजे आरुबोटमा आई अहिले हाम्रो घर भएकाेभन्दा अगाडिको बाटे गरोमा ठूलो घुमाउने घर बनाउनु भएको रहेछ । अग्लो पिँढी भएको जोरनाले थियो रे घर। लहरो बेरिएको रुखको नाल परेको छ त्यसैले  याे घर त्यति फापदैन भन्नुहुन्थ्यो अरे बूढा हजुरबा । उहाँ २००२ सालतिर परलोक हुनुभो। सोमनाथ काका (१९९८ चैत्र) ले बताए अनुसार पुछारगरामा थलो बनाइएको थियो। बाले पूजा गरेको अलि अलि स‌ंझना भएको बताउनुभएकोले बूढाहजुरबा बितेको बेला उहाँ चारवर्षजतिको भएको अनुमान गर्दा २००२ सालतिर  परलोक हुनुभएको अनुमान गरेको हुँ।


२००७/०८ सालतिर हजुरबाहरु छुट्टि भिन्न हुनुभो। पुरानो घरमा कोही बसेन, भत्काइयो। अहिले घर भएका ठाउँमा दुवै घर नयाँ बनाइए। हाम्रो घर २०४७ सालमा पुरानो घरको जग यथावत राखेर बार्दली निकालेर बनाइयो। घर बनाउन सोती पसलबाट, जीताबाट राती राती गरेर सालका थाम ओसारियो। काकाहरूको घर भने जगैसम्म भत्काएर नयाँ बनेको हो। 

 

हाम्रो परिवारलाई आरुबोटे भन्नुको पछाडि पनि खास कारण छ । त्यहाँको बारीमा जेठे आरुको विशाल रुख रहेछ । वेणिमाधवले ससुराली लिगलिगबाट बीउ ल्याएर जमाएर हुर्काउनु भएको अरे। लिगलिगमा पनि बद्रीनाथको दर्शन गर्न जाँदा वेणिमाधवका बूढा ससुरा (जेठान श्रीनिवासका बाजे) ले बीउ ल्याएर जगाएको । नरम र विशेष खालको गुलियो स्वाद भएको यो आरु यस वरपरमै अनुपम थियो अरे । फल्ने उस्तै । झरेका आरुका बियाँ मात्रै दुई तीन पाथी हुन्थ्यो रे । हाम्रै फुपू र बाहरुको पालामा पनि आरुको बियाँ फोरेर गुदी झिक्ने अनि त्यसको पिठो निकालेर सेल पकाएर खाने गर्नुहुन्थ्यो रे । यसै कारण त्यो बारी र हाम्रो परिवारको नाम नै आरुबोटे रहेको रहेछ । यो रुख बूढो भएर ढलेपछि अर्को उम्रिएन । हाँगो सर्थ्यो हाेला तर ढलेको रुखको हाँगो नसार्ने भनेर नसार्नु भएको अरे । यसरी याे आरुको जातै मासिएछ । अहिले पनि आरुको बोट त छ तर त्यो जातको छैन । 

 

वेणिमाधवका दुईभाइ छोरा खेमराज (१९६९-२०३९ मङ्सिर र कालीप्रसाद (१९७१-२०२९ माघ अनि दुइवटी छोरी कालिका देवी (१९६७-२००८र नन्दकुमारी (१९७९-२०६६ असोज) भए । सबैभन्दा जेठो सन्तान कालिकादेवी हुनुहुन्छ । कालिकादेवीको विवाह १९७४ मा उल्याहारका तारानाथ ढुङ्गानासँग भयो । वहाँहरुकी एकमात्र छोरी विष्णुमाया (१९९७-२०८१) हुनुहुन्छ । विष्णुमायाको विवाह २००८ सालमा ठाँटीचौरका सोमनाथ अधिकारीसँग भयो । वहाँहरुको बसोवास लामो समय वीरगञ्ञमा भएकोले हामी वीरगञ्ज दिदी भन्छौं । दिदीका एक छोरा र चार छोरी हुनुहुन्छ । अहिले बसोबास मैतिदेवीमा छ ।

 

जेठाहजुरबा खेमराजको पहिलो विवाह कलेस्ति आचार्यकी छोरी नर्मदासँग भयो। चुँदीका लोकदर्शन पण्डितकी आमा जेठी हजुरआमाकी बहिनी हुनुहुन्छ। उहाँबाट दुई छोरा षडानन्द (१९९५-२०१६) र सोमनाथ (१९९८ चैत्र तर प्रमाणपत्रमा २००० साल साउन रहेकाे) हुनुभयो । पहिलो पत्नीको निधन (२००० सालतिरपश्चात जेठा हजुरबाले २००३ सालमा खजेगाउँ दीननाथ ढुङ्गानाकि बहिनी गुणकुमारीसँग विवाह गर्नुभयो। वहाँकातर्फबाट हरिमाया(२०१०) भागिरथा(२०१३), जमुना (२०१८) र इन्दिरा (२०२३) गरी चार छोरीहरु हुनुहुन्छ । जेठो छोरा षडानन्द अविवाहित छदै २०१६ सालको जेठ/असारतिर परलोक हुनुभयो ।

 

मेरो हजुरबा कालिप्रसाद (१९७१-२०२९ माघ १८ ) बेणिमाधवका कान्छा छोरा हुनुहुन्छ । वहाँको कुसुण्डे लक्षुमण सापकोटाकी जेठी छोरी कौशिला (१९७२-२०५७ फागुन ८) सँग विवाह भयो । वहाँहरुबाट अम्बिका (१९९१ बैशाख-२०३० बैशाख १), हाम्रा पिताजी भानुभक्त (१९९६ चैत्र - २०४० कार्तिक १८), रामनाथ (सात वर्षको छँदा परलोक), र चुनादेवी (२००२ फागुन) गरी चार छोराछोरी हुनुभयो।

 

हजुरबा १९९१ को माघताका जीवनवृत्तिको खोजीमा भागेर बर्मा पुग्नुभएछ ।त्यहाँको पल्टनमा भर्ती भएर मतिना भन्ने ठाउँमा डेढ वर्षजति बस्नु भएछ। बर्मा र जापानको लडाईंमा जापानी सेनाले गोला बारुद हान्न थालेपछि त्यहाँबाट भागेर पुनःघर आउनु भयो। फेरि कालिम्पोङको नगरकट्टा नजिक भगतपुर जानु भएछ। यो ठाउँ अहिले जलपाइगुरीमा पर्छ। हजुरबाले त्यहाँको खाद्य निगममा चौकिदारी गर्नुभएछ। गाइपालन पनि गर्नुभयो अरे। रहदा बस्दा उता पनि घरजम गर्नुभएछ । उताको परिवारमा एक छोरी जानुका (२००६ वरपरदुइ छोरा रामु (२००८ वरपर दुर्गा (२०१० वरपर हुनुहुन्छ । हाम्रा हजुरआमा, पिताजी र सानीफुपू समेत २०१५ सालको सुरुमा उता जानु भएको रहेछ । हजुरआमा र दिदी तीन चार महिना बस्नुभयो अरे। हजुरआमालाई जण्डिस लागेपछि फर्किनु भएछ। बा भने करिब एक वर्ष बस्नु भएको रहेछ । त्यहीँ पढाउनु पनि भएको थियो अरे । बिचमा हजुरबाको आउजाउ चलिरहे पनि २०२४ सालमा दुराडाँडा आएपछि फेरि कालिम्पोङ फर्किनु भएन । २०२९ साल माघ १८ गते परलोक हुनुभयो । २०४० सालमा पिताजी समेत परलोक हुनुभयो । उताको थातथलोबारे हजुरआमाले खास बताउन नचाहने खाली कालेबुङ हो भन्नुहुन्थ्यो। हामी अरू कसैले केही थाहा नपाएकोले कालिम्पोङको परिवारसँग हाम्रो चिनजानसम्पर्क, सम्बन्ध नै कायम हुन सकेन । तर हामी अहिलेपनि सम्पर्कको प्रयासमै छौं।

सानि फूपुका अनुसार हजुरबा बसेको ठाउँलाई भगतपुर भनिन्थ्यो। नजिकै चिया बगान थियो। हजुरबाले गाइ पाल्नु भएको थियो। ग्वालाहरु घरमै दूध लिन आउँथे। हजुरआमा त्यहाँको अस्पतालमा नर्स हुनुहुन्थ्यो। साथै गएका प्यारेघर्तीले चियाबगानमा काम गरेर बाटोखर्च जुगाड गरेका थिए। यत्ति हो। २०७६ सालमा कोरोना महामारीका बेला कालिम्पोङको भोटर लिस्टमा खोजी गर्दा एकजना दुर्गा शर्मा, पिताको नाम कालिदास शर्मा भन्ने नाम भेटियो। पत्रकार केदार शर्मा (अधिकारी) इलाम मार्फत प्रयास गरियो तर त्यो परिवारको थर अधिकारी नभइ नेपाल रहेछ।  भगतपुर पहिला कालिम्पोङ्मै थियो अरे। त्यहाँ भारतकै पुरानो चिया बगान भगतपुर चिया बगान रहेछ। चियाबगानको आफ्नै अस्पापताल पनि रहेछ। त्यहाँको तदाता नामावलीमा नेपाली भाषिहरुको नाम पनि देखियो। कतिपय BLO (Booth Level Officer) हरु अधिकारी थरका पनि छन्। सूर्यनाथ न्यौपाने (भन्ताना सर) सँग २०८१ असोज २८ गते सौराहामा भेटहुँदा हाम्रो पिताजीबारे चर्चा चल्दा पिताजी भानुभक्त जागिर खान भनेर आफ्ना पिताजी बसेको ठाउँ नगरकट्टा गएको (नजिकै आसाममा भन्तना सरका माहिलाबा पनि बस्नुभएको), पिताजी करिब एकवर्ष त्यहाँ बसेर फर्किएको र छविलाल पौडेलको सहयोगमा जग्गा नापीमा चेनम्यानको रुपमा काम गरेको बताउनु भयो। सान दिदीले भनेको भगतपुर र भन्तनाबाले भनेको नगरकट्टा नजिकै रहेको कारण हजुरबाका उताका सन्ततीहरु भगतपुरमा पो हुनुहुन्छ कि भन्ने लागेको छ। त्यहाँको मतदाता सूची हेर्दा बङ्गला भाषामा मात्र रहेको पाइयो। कतै अङ्ग्रेजीमा पनि भेटिन्छ कि खोज्ने प्रयासमा छु। https://jalpaiguri.gov.in/election/ मा दिए अनुसार Ac no 21 Nagarkata अन्तर्गत पर्छ यो ठाउँ।


वेणिमाधवकी कान्छी छोरी नन्दमाया (१९७९-२०६६) को कुन्छा खमारीबोटका पंनित्यानन्द सोतीसँग विवाह भयो । वहाँका पाँच छोरा वेदनिधि (१९९९ बैशाख -२०२५ पुसज्ञानहरि (तालचोक) , दीपक   (कवि/  लोकाहानवलपरासी) , रामहरि (दमौली) र मनहरि (कुन्छा/चितवन) तथा तीन छोरी (जेठी जीतामाहिली खुमरुक र कान्छी पुर्कोटभए ।

 

७.१.३. षडानन्द (१९३४)

विष्णुहरिका साहिँला छोराको नाम षडानन्द हो । उनका एक छोरा र तीन छोरी  भए । छोराको नाम पं. जीवनाथ हो । मटीहानीमा बसेर पढेका । षडानन्दका तीनवटी छोरीमध्ये जेठी छोरी जीता गैरीगाउँका घिमिरेलाई (उनी बाबुराम घिमिरेकी घरतर्फकी हजुरआमाजिमीरबोटे कृष्णविलास अधिकारीकी मामाघरकी हजुरआमा हुन् ), माहिली गोरखा राउतेपानीका श्रीनिवास देवकोटा (हाम्री बूढीहजुरआमाका दाजु) लाई दिएको हो । र कान्छी ( जीउ थरथर काम्ने भएकोले उनलाई काम्ने दिदी पनि भन्ने गरेका) बाँग्रेका भण्डारीलाई दिएको हो ।

 

श्रीनिवासकी पहिली पत्नीको देहान्त भएपछि साँहिला बाजेकी माहिली छोरी दिएका रहेछन् । अर्थात माहिलो दाजुको जेठानलाई साँहिलो भाइकी छोरी दिएका रहेछन् । उनका एक छोरा बुद्धिप्रसाद र तीन छोरी भए । हाम्रो खलक वुद्धिप्रसादको मावली समेत भएकोले वहाँलाई भानिज वा भानिज दाइ/भाइकै नाता लगाउने र त्यही व्यवहार गर्ने चलन रहेछ । वहाँलाई बाहरुको पुस्ताले तमाखु बाहुनबा पनि भन्नु हुन्थ्यो ।

 

श्रीनिवासका तीन छोरीमध्ये एकजना दुराडाँडा चारघरेका नवकुमार अधिकारीकी आमाएकजना गोरखा, तान्द्राङ गोविन्द खनालकी आमा र एकजना सिमलबोटे देवराज अधिकारीकी सासु (चुँदी) हुनुहुन्छ । वुद्धिप्रसादका भने सन्तति भएनन् । २०७३ सालमा उनी परलोक भए । श्रीनिवासको श्रीसम्पत्तीऐश्वर्य वास्तवमै नाम अनुकूल नै अलख्य थियो रे । अतिव सम्पन्नशाली  (मणिराज अधिकारी,१९८४) 

 

 

साँहिला बूढाहजुरबाका छोरा जीवनाथकी एउटी छोरीमात्र भइन पार्वती । पढे लेखेका र निकै सज्जन प्रवृत्तिका जीवनाथ जीवनवृत्तिको लागि बर्मा गएका बखत उतै परलोक भएछन् । बर्मा जानको लागि साईत गर्न लागेका बेला जीवनाथले ''बा म जान्छु '' भनेछन् । जीवाले ''लौ जा '' भन्नु भो रे । यसो भनेर गएका मान्छे उतै परलोक भएफेरी फर्केर आएनन् । तसर्थ आफ्ना सन्ततिले कतै जान्छु भनेर अनुमति मागे भने "जा'' नभन्नु भन्ने चलन थियो हाम्रो परिवारमा (मणिराज अधिकारी)

 

जीवनाथको विवाह गाउँशहरका लामिछाने परिवारमा भएको हो । पाँचघरे रामचन्द्र ज्योतिका परिवार जीवनाथका ससुराली खलक हुन् (मणिराज) । जीवनाथकी पत्नीको नाम तुलसा हो । छोरीको विवाह भएपछि तुलसा एक्लै भइन । उनको पहिचान फेरिदै गयो । तुलसालाई भाइबन्धु र वरपरका छरछिमेकिले नाता अनुसार एक्ली भाउजु/बुहारी भन्न थाले । पछि बुढेसकालमा सबैले एक्ली आँबोई भने । एक्ली आँबोईलाई जाँते आँबोई पनि भन्थे।

 

एक्ली आबोईको रेखदेख हिमलालका माहिला छोरा रामनाथले गरेका रहेछन् । त्यसैले उनको श्रीसम्पत्तीको रेखदेखव्यवस्थापन पनि रामनाथले नै गरे । साहिँलाबाजेको घर अहिले काशीनाथ अधिकारी दाजुको घर भएको ठाउँको ठिक पश्चिमतर्फ थियो । यो घर पनि घुमाउने नै थियो । मैले पनि देखेको हुँ । रामनाथका छोराहरु छुट्टि भिन्न हुँदा उनका जेठा छोरा मायानाथ यो घरमा बस्नु भयो । पछि मायानाथका छोराहरु छुट्टि भिन्न हुदा वहाँका जेठा छोरा खगेश्वर पनि बस्नु भयो । खगेश्वरका जेठा छोरा दिलिपको जन्मब्रतवन्ध यही घरमा भएको हो ।

 

जीवनाथकी छोरी पार्वतीलाई लिगलिगकै एकसूर्य देवकोटालाई दिएको हो । पार्वतीका चार छोरी भए । जेठी र साँहिलीलाई लमजुङ साँहिलीटारमाहिलीलाई गोरखाको हरिभञ्ज्याङ र कान्छीलाई छोप्राक दिएको छ भन्नेसम्म थाहा भयो । जीवनाथको शेषपछि यो हाँगोको वंशवृक्ष छोरीहरुतर्फमात्र फैलियो । छोरीहरुका विषयमा थप जानकारी पाउन बाँकी छ ।

 

७.१.४. खेमराज (१९३६)

काहिँलाबाजेको नाम खेमराज हो । वहाँका सन्तानलाई गल्लिमुनी परिवार   भनिन्छ । काहिँलाबाजेको बिवाह किरिञ्चे ढुङ्गानाकी छोरी (हाम्री जेठी हजुरआमाकी बूढी फुपुसँग) भएको हो । पछि यो परिवार खजेगाउँ आयो । जेठी हजुरआमाले कुसुमाकर हजुरबालाई बाहुनबा भन्नुहुन्थ्यो । रायडाँडामाथिको एउटा पाखाको गरो ढुङ्गानाहरुले कुसुमाकरलाई भूमिदान गरेका थिए । त्यो गरो अहिले पनि कुसुमाकरका छोराहरुकै भोग चलनमा छ ।

 

काँहिला जीवाका  दुईभाइ छोरा र एक छोरी भए । मणिराज ठूलाबाका अनुसार सबैभन्दा जेठी सन्तान छोरी हुन् । उनको नाम भागिरथी हो । भागिरथीको बिवाह कास्की अर्घौं कन्दनीडाँडाका ढकालसँग भएको थियो । उनका  एकजना छोरा थिए । अल्लि सोझा सोझा खालका । लठेब्रा जस्ता । तर बर्मासम्म पनि पुगेर आएका रहेछन्  खास गरी असार र मङ्सिरमा मामाघर आएर काममा सघाउ पगाउ गर्ने गर्थे अरे । सायद उनको बिहे भएन । उनी परलोक भएपछि त्यताको हाँगो मेटियो (मणिराज)। छोराहरुको नाम कुसुमाकर र ठाकुरप्रसाद हो ।

 

जेठा छोरा कुसुमाकरको विवाह खुमरुक गरेको हो । उनका तीनभाइ छोरा (सोमनाथरविन्द्रनाथ र नरनाथअनि चार छोरी भए । जेठा सोमनाथको छोरा प्रकाशको बसोबास चितवनको भोजाडमामाहिला रविन्द्रनाथको चितवनकै पार्वतीपूरमा र कान्छा नरनाथको दुराडाँडा र काठमाडौंको वनस्थली नजिकै एकलटारमा रहेको छ ।

 

कान्छा ठाकुर प्रसादका तीनवटी पत्नी हुन् । पहिलो विवाह पुरण्डिही मेघनाथ कोइरालाकी छोरी विष्णुमायासँग गरेका रहेछन्। ठाकुर प्रसादले पहाड छोडेसँगै उनी परिवारबाट अलग्गै बसिन् । उनीबाट कुनै सन्तति छैनन् । २०३७ सालदेखि आफ्नी बहिनी खेतुमाया न्यौपाने परिवारलाई एकाघर परिवारको रुपमा ग्रहण गरी सोही परिवारमा रहिन् (उनी धारापानी हरिप्रसाद न्यौपानेकी ठूलीआामा (आमाकी दिदी) हुन् । १९८४।१०।२ मा जन्मिएकी विष्णुमायाको २०७९।७।१४ मा परलोक भयो (यस सम्बन्धी कतिपय स्रोत सामग्री हरिप्रसादका भतिजा बिराट न्यौपाने अपरिचितको फेसबुक वालबाट लिइएको)।

माहिली पत्नीतर्फबाट एक छोरा (फणिन्द्र) छन् । कान्छीपत्नी तर्फबाट चारभाइ छोरा (श्रीधर, माधव, केशवअच्युत) र एउटी छोरी (सुभद्रा) भए । उनका सन्ततिहरु अहिले काठमाडौंकै विभिन्न स्थानमा बसोबास गरिरहेका छन् । एक जना छोरा (श्रीधर) को घर वनस्थली नजिकै खरिबोटमा छ ।

 

ठाकुरप्रसाद  पढा-लेखा रहेछन् । उनलाई दाजु कुसुमाकरले मटिहानीमा राखेर पढने बन्दोबस्त मिलाएका रहेछन् । उनले पढे पनि । पढाइ पूरा गरेर गाउँफर्केपछि भाइ त्यहीँ बस्ला, परिवारमा श्रीसम्पत्ती थप्ला अनि आफूलाई पनि सघाउला भन्ने आशा राखेका कुसुमाकरलाई भाइबाट सोचेजस्तो सघाउ भएन । आफूले खाई, नखाई खर्च भरेर पढाएको भाइलेसमेत यसो गर्छ भने मैले मेरा छोरा छोरीको मुख मोसेर भाइलाई पढाएको के सार भो त भनेर साह्रै चित्त कुँड्याउनु हुन्थ्यो रे कुसुमाकर हजुरबा (मणिराज अधिकारी।  तर दाजुले जतिसुकै अनुनय विनय गरेपनि ठाकुरले त्यहाँको अंश र घर बेचेरै छोडे । उनको अंश जेठा बाजेका माहिला छोरा रामनाथले किने । यसपछि दुई भाइको सम्बन्ध सुमधुर रहेन । ठाकुर प्रसादको रसोबासो दुराडाँडाभन्दा बाहिरै भयो । पहाड सितिमिति जानु भएन । मैले पनि एक पटक पहाड जानुभएको बेला झुलुक्क देखेको हुँ । छरितो कद काँठीको गोरो अनुहारको । तर उति याद भएन । झट्ट हेर्दा कुसुमाकरका माहिला छोरा रविन्द्रनाथ जस्तै थिए (श्रीधर) । ठाकुर प्रसादले सरकारी जागिर खाए । माध्यमिक विद्यालय निरीक्षकसम्म भई सेवा निवृत्त भए (श्रीधर

 

ठाकुर प्रसादका सन्ततिहरु काठमाडौमै जन्मेका र यतै हुर्के बढेका कारण उनिहरुसँग समेत हामी पहाडतिरका दाजुभाइको खासै चिनजान र सम्पर्क स्थापित हुन सकेको थिएन । तर अहिले पछिल्लो समयमा चिनजान भई आवत, जावत शुरु भएको   छ । गल्लिमुने परिवारको अर्थात कुसुमाकर र ठाकुरप्रसादका सन्ततिको त पुनर्मिलन नै भएको   छ । यो हामी सबैको लागि बडो खुशीको कुरा भएको छ ।

 

गल्लिमुनि परिवारको मूलघर अहिले कुसुमाकरका कान्छा छोरा नरनाथ अधिकारी बसिरहेको धन्सार भएभन्दा तल्लो ठूलो गरोमा थियो रे । यो घर पनि घुमाउने नै रहेछ । पछि कुसुमाकर र ठाकुर छुट्टि भिन्न हुँदा सोभन्दा माथिल्लो गरामा सरेर पूर्वपट्टि भाइले र पश्चिमपट्टि दाइले बनाएका रहेछन् । ठाकुर प्रसादको घर जग्गा रामनाथले लिएको हुनाले उनका छोराहरु चन्द्रकान्ततारानाथनाति खगेश्वर यही घरमा बसेर पढने गर्थे रे । रामनाथका छोराहरु छुट्टिभिन्न हुँदा यो घर उनका काहिँला छोरा नरनाथको अंशमा पर्यो । नरनाथका छोराहरु (प्रदीप,दीपक समेत) दुराडाँडा छोडेर चितवनको ज्योतिनगर सरेपछि यो घर भत्कियो । अहिले त भग्नावशेषमात्र छ ।

 

७.१.५ चम्पाकर (१९३८)

ठाहिँला बाजेको नाम चम्पाकर हो । माथि उल्लेख भइसकेको छ कि चम्पाकरको अल्पायुमै स्वर्गारोहण भएको थियो । उनकी एउटामात्र छोरी भइन जौमाया । यिनलाई जीताका मनहरि घिमिरेलाई दिएको हो । मनहरिका छोराहरु चरनाथ सर्दाखर विष्णुप्रसाद र श्रीप्रसाद भए । छोरीहरु तीनवटा भए । जेठी छोरी उपल्लागाउँ हरिप्रसादका ठूलाबालाई दिएको हो । तर उनी त्यहाँ बसिनन् । माहिली विष्णुमाया रोहोटेपानी श्रीधर अधिकारीलाई दिएको  हो । उनी भाग्यशाली अधिकारीकी आमा हुन् । नाताले हाम्रा पिताजीहरुका भाञ्जी दिदीका छोरा भएकोले उनलाई मेरो पिँढीकाले भानिज दाजु भन्नुपर्छ । कान्छी पाँचघरेका नयाँघरे कान्छा (अधिकारी) लाई दिएको हो 

 

हाम्रो खलकमा साहिँला र ठाहिँला बाजेको सन्तानमा छोराहरुको हाँगो फैलिएन । साहिँला बाजेका छोरा भए नाति भएनन् । ठाहिँला बाजेको भने छोरा नै भएनन् । दाजुभाइ छुट्टि भिन्न हुँदा ठाहिँला बाजे जेठा दाजु हिमलालसँग सगोलमै बसेका र सगोलमा छदै उनको निधन भएकोले उनकी छोरी जौमायाको रेखदेख र पालनपोषण बिहे-दानको कर्म हिमलालबाटै भयो ।  जौमायाको बिहेपछि  ठाहिँला भाइको सम्पत्ति हिमलालले सबै अंशियार भाइहरुलाई बाँडिदिएका रहेछन् । त्यसैले ठाहिँला बाजेका नाति नातिना सबैका साझा भाञ्जा भाञ्जी हुन् तिनलाई त्यही अनुसारको व्यवहार गर्नुपर्छ भन्नु हुन्थ्यो हाम्री हजुरआमा । भाग्यशाली दाजुकी आमा हाम्रो घरमा आउँदा हजुरआमाले भाञ्जी भन्दै विशेष स्नेह गर्नुहुन्थ्यो । एकै गाउँ छिमेकमा भएकोले वहाँको परिवारसँग अर्म पर्मएैचो पैंचो पनि चल्थ्यो । कुनै काम परेर वहाँ हाम्रो घरमा आउनु भयो र खाजाखाना पकाउने वा खाने बेला परेको रहेछ भने ल है भाञ्जीलाई ख्वाएर पठाओ भन्दै खवरदारी गर्नुहुन्थ्यो हजुरआमा । दिदी पनि खाएरै जानुहुन्थ्यो ।

७.१.६. व्रह्मदत्त (१९४०-२०१८)

कान्छाबाजेको नाम ब्रह्मदत्त  हो । उनले दुईवटा विवाह गरेका थिए । जेठी चिसङ्कू घिमिरेकी छोरी हुन् । कान्छी देवतापानीकी हुन्वालविधवा जैसीनी (मणिराज) । दुईवटी पत्नीबाट छ भाइ छोरा र सात छोरी गरी तेह्र सन्तान भए । यी मध्ये शुकदेव,  रुद्रनाथ (केदारनाथ),  कृष्णविलास रामदत्त र हरिभक्त  अनि ६ वटी छोरीहरु जेठीतिरका र हरिप्रसाद तथा ठगी नामकी एउटी छोरी कान्छीतिरका हुन् । छोराहरुको क्रममा कान्छी पट्टिका हरिप्रसाद माहिला हुन् । तर परिवारमा केदारनाथ र हरिप्रसाद दुवैलाई माहिला भन्ने चलन थियो रे । जेठी तर्फका साँहिला छोरा कृष्णविलास आमा काफलडाँडा गोठालो गएकाबेला उधिनढुङ्गाको मान्द्रे ढुङ्गोमा जन्मिनुभएको हो रे । त्यसैले घरको पूजा कोठामा उक्त ढुङ्गोको फोटो राख्नुभएको थियो । आफू जन्मेको ढुङ्गो भनेर पूजा गर्नुहुन्थ्यो भन्ने सुनेको हुँ ।

 

कान्छा बाजेको जेठीतिरको परिवार वि.सं.२००० साल वरपर दुराडाँडाबाट रौतहटको कटहरवन गएको रहेछ । सबैभन्दा पहिला जेठा छोरा शुकदेव गएका रहेछन् । त्यसपछि कृष्णविलास । यसरी क्रमशः अरु छोराहरु उता गएका रहेछन् । तर ब्रह्मदत्तका जेठी पट्टिका जेठा र माहिला छोराको विवाह लमजुङमै भएको र छोरीहरु सबैको विवाह पहाडमै भएकोले कान्छी छोरीको विवाह हुँदासम्म पनि उनीहरुको बसोबास रौतहट र दुराडाँडा दुवैतर्फ रहेको थियो भन्ने देखिन्छ । कान्छाबाजेका खलक २००९ सालमामात्र त्यहाको श्रीसम्पत्ती सम्पूर्ण रुपमा बेचबिखन गरेर हिँडेका हुन् । ब्रह्मदत्तका कान्छा छोरा हरिभक्तले त एसएलसी पास गरेपछि दुराडाँडाकै सर्वोदय स्कुलमा एकवर्षसम्म पढाउनु भएको पनि रहेछ । सुरेशमान श्रेष्ठका पिता वुद्द्धिमानले उहाँसँग सर्वोदयमा पढनु पनि भएको रहेछ । कटहरवन गए पनि कहिले जेठा छोरा शुकदेवकहिले कान्छा जीवा आफैँ र कहिले हरिभक्त समेत पालो गरी पहाड बस्ने गर्नुभएको रहेछ ।

                               

बूढाहजुरबाहरुका चारवटा भाञ्जामध्ये माहिला भाञ्जा पशुपति भण्डारी गौरमा तुङ्ग शमसेरको दरबारमा पण्डित रहेछन् । दुराडाँडा मामाघरमा बसेर प्रारम्भीक शिक्षा प्राप्त गरेका उनले थप शिक्षा वनारसबाट लिएका रहेछन् । उनी वनारसमै छँदा राम्रो पुराण वाचकको खोजीमा रहेका  तुङ्गशमसेर राणालाई पुराण सुनाउने मौका परेछ । पशुपतिको वाचन कला र ज्ञानबाट तीव्र प्रभावित भएका  तुङ्गशमसेरले तत्काल गौरमा लगी कटहरवन भन्ने ठाउँमा प्रशस्त जग्गा जमिन भएको मौजा दिएछन् । पशुपतिलाई उक्त मौजाको रेखदेख र संरक्षण गरिदिने मान्छेको आवश्यकता थियो । अहिले त मान्छेहरुले उति नरुचाउने गौरको हावापानी त्यतिबेला पहाडका मानिसका लागि त निकै दुरुह थियो । औलोको जगजगी   थियो । यसैकारण पशुपतिका अरु दाजुभाइले पनि तत्काल रौतहट झर्ने रुची देखाएनन् । कान्छा मामाको परिवार निकै ठूलो थियो । छोराहरु धेरै थिए । परिवारको बृहत् आकारकै कारण दुराडाँडा बाहिर पनि कतै अवसर पाए खोज्नु पर्ने अवस्था थियो । त्यसैले पशुपतिले कान्छामामाका परिवारलाई रौतहट झर्न प्रस्ताव गरे । भानिजको प्रस्ताव मनासिव लाग्यो अनि यो परिवार रौतहट झरेर त्यही मौजामा बस्यो । पशुपति भण्डारीको रौतहट र काठमाडौं आउजाउ चलिरहन्थ्यो । उनले आफ्ना सन्ततिलाई काठमाडौमा राखेर अङ्ग्रेजी शिक्षा लिने वातावरण मिलाए । छोरा कृष्णप्रसादले  कानून पढे । अहिले मुलुककै प्रख्यात वरिष्ठ अधिवक्ताको ख्याति कमाएका छन् । कृष्णप्रसाद सहितका भाञ्जा खलकको सरसङ्गत र भर मद्दतमा ब्रह्मदत्तले पनि आफ्ना जेठी पट्टिका छोराहरु (खास गरी साहिँलाभन्दा मुनिका) लाई काठमाडौं राखेर पढाए । उनीहरु पनि लैनचौरमै बसोबास गर्न थाले ।

 

यो परिवार दुराडाँडाबाट पहिल्यै बसाइँ सरेर गएको कारण पढाइ-लेखाइ र सम्पत्ति आर्जनमा अरु भन्दा अगाडि रह्यो । कृष्णविलास हजुरबा कर्मचारी सञ्चय कोषमा माथिल्लै ओहोदामा हुनुहुन्थ्यो । हजुरबाको माया पाउने अवसर मलाई पनि प्राप्त भयो । वहाँका जेठा छोरा उमेश अधिकारी सेनामा मेजर (पाईलट हुनुहुन्थ्यो । २०४५ सालमा आफैले चलाएको जहाज धनगढी विमानस्थल नजिकै दूर्घटनामा परी वहाँको निधन भयो । २०४६ सालमा हजुरबा कृष्णविलास पनि परलोक हुनुभयो । माहिला छोरा डा. महेश अधिकारी नेपालकै प्रथम च्याउ विज्ञ हुनुहुन्छ । अहिले NAST मा प्राज्ञ हुनुहुन्छ । कान्छा छोरा अवधेश अमेरिका हुनुहुन्छ । दुई जना दिदीमध्ये जेठीको नाम श्यामा र कान्छीको नाम शान्ता हो । वहाँहरु दुवैजना कलेजमा प्राध्यापन गर्नुहुन्थ्यो । श्यामा दिदी २०७६ को दशैंको द्वादशीका दिन परलोक हुनुभयो । करिब ९६ वर्ष (२०७९ को दशैँमा) पुग्नु भएको हजुरआमा अहिले पनि सक्रिय नै हुनुहुन्छ ।

 

साहिँला हजुरबाको घरसँग हामी पहाडबाट आउने सबै दाजुभाइको विशेष सम्बन्ध रह्यो भन्ने लाग्छ । म त २०३९ साल माघमा काठमाडौ आएदेखि नै आवत जावत   गरें । हजुरबा, हजुरआमा, काकाहरु, काकीहरु सबैले माया गर्नु भयो । विशेषगरी हजुरआमाले पहाडबाट आएका आफ्ना खलकका सबै छोरानाति सबैलाई हृदयदेखि नै माया गर्नुभयो । त्यहाँ पुगेका सबैलाई बसखाओकेही गाह्रो साँघुरो परे भन भनिरहनु भयो । छोरा छोरीलाई यी हाम्रा आफ्नै दाजुभाइ हुन् भनेर चिनाउनु भयो । त्यो माया अहिले पनि उस्तै छ । मेरो पिताजीलाई त हजुरआमा सधैं संझिरहनुहुन्छ । त्यो भानुभक्त जस्तो असल मान्छे हाम्रो खलकमा कमै छन् तिमीहरु पनि बाउ जस्तै हुनु भनेर आशिर्वाद दिइरहनुहुन्छ । यस पटक २०७९ असोज १२ गते छोरो रोशनको शुभविबाह सम्पन्न गरियो । द्वादशीको दिन हजुरआमासँग टीका थाप्न नयाँ बुहारीलाई समेत लिएर लैनचौर गयौँ । हजुरआमा खुब खुसी हुनुभयो ।

   

काहिँला हजुरबा बत्तिसपुतलीको वैष्णव मन्दिरमा भगवद् आरधनामा बस्नुभएको थियो । २०६४ साल चैतमा परलोक हुनुभयो । वहाँका छोरा कुलशेखर पूर्वाञ्चल विश्वविद्यालयको उच्च ओहोदामा हुनुहुन्थ्यो । कान्छा हजुरबा हरिभक्त कृषि विकास बैंकमा र कान्छी हजुरआमा इन्दिरा खाद्य संस्थानमा माथिल्लै ओहोदामा पुग्नुभयो । वहाँहरु अहिले भैंसेपाटीमा बस्नुभएको छ । अमेरिकामा बसोबास गरिरहेका लेखक एवम् प्राध्यापक सम्राट उपाध्याय हरिभक्तका छोरा हुन् । यसैगरी माओवादीबाट २०५८ साल माघ ३ गते क्रुरतापूर्वक हत्या गरिएका शिक्षक मुक्तिनाथ अधिकारी कान्छाबाजेका कान्छी पत्नीपट्टिका छोरा हरिप्रसादका छोरा हुन् । हरिप्रसादको परिवारलाई दुराडाँडामा हामी नयाँघरे परिवार भन्छौं । दुईवटी पत्नीबाट कान्छाबाजेका ७ वटा छोरी भए । जेठीतर्फकी जेठी सुमित्रा (तारुका, ब्रजमोहन सोतीकी आमा) , माहिली नेउटी (पुस्तुन, भूमिनाथकी आमा), साहिली जौती (रतनपुरसन्तान नभएका) ,काहिली कुन्ती (जीता राइपाली जीवनाथकी आमा), ठाँहिली रोहिणीदेवी (गोरखाराउतेपानी) र कान्छी मुसीमाया  (वाल विधवाहुन् । कान्छी पत्नी तर्फकी छोरीलाई देवतापानी दिएको हो । उनका छोराको नाम कलाधर हो । वहाँको बसवास चितवनको जुटपानीमा छ । जागिरको सिलसिलामा चितवन बसेको बेला २०६०/६१ सालतिर वहाँलाई मैले पनि भेटेको हुँ ।

 

७.१.७. विष्णुहरिकी छोरी (१९२८)

विष्णुहरिकी जेठो सन्तान छोरी हुन् । उनको विबाह बाँग्रेका बसन्त भण्डारीसँग भएको हो । उनका चारजना छोरा भए । जेठा (नाम थाहा पाउन बाँकी), माहिला पशुपति, साहिला श्रीप्रसाद र कान्छाको नाम धनञ्जय हो । नेपालका स्वनामधन्य पत्रकार मणिराज उपाध्याय (समाज दैनिकका सम्पादक), वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी (हाल बसोबास वानेश्वर) यिनै पशुपति भण्डारीका माहिला र साहि‌ला छोरा हुन् । कृष्ण प्रसादका जेठा दाजुको मधुवनीमा पढन बसेकोबेला हैजाका कारण किशोर अवस्थामै परलोक भएको थियो । कान्छाभाइ सूर्य अमेरिका बस्छन् ।

 

वसन्त भण्डारी पढे लेखेका ब्राह्मण थिए । जजमानी वृत्ति थियो । जग्गा जमिन धेरै थिएन । अचानक वसन्तको निधन भयो । सन्तानको पालन पोषण र पढाइ लेखाइमा उनकी पत्नी पूरै माइति पक्षको आश्रयमा रहिन् । सबैकी दिदी हुनाले टुहुरा भाइहरुको अभिभावक जस्तै थिइन् उनी । उनका माहिला छोरा पशुपतिले मामाघरमै बसेर पढे । ९ वर्षको उमेरमा आमासँग दुई रुपैया खर्च लिएर घर छोडेका उनी काठमाडौँ आए । रुद्री,चण्डि,कौमुदी मामाघरमै पढेर काठमाडौ आएका उनले राणाजीका घर घरमा पूजापाठ, श्राद्द्धादि कर्म गर्दै पढाइलाई निरन्तरता दिए । शास्त्री पूरा गरेपछि छात्रवृत्ति पाएर बनारसमा बसी आचार्य पढे र सर्वोत्कृष्ट भइ पोष्टाचार्यको उपाधि प्राप्त गरे । छात्रवृत्ति पाए पनि वनारसमा पढने छात्रहरु मानिसहरुका घर घरमा हुने विभिन्न पूजा, श्राद्धादि कर्ममा स‌ंलग्न रहन्थे ।  खास गरी तिर्थालुहरुले गर्ने पितृश्राद्धमा त दैनिकजसो स‌ंलग्न भइरहन्थे । यस्तैमा पितृ श्राद्धको लागि वनारस गएका हरिशमशेरका छोरा तुङ्ग शमशेरसँग यजमान र पण्डितको रुपमा पशुपतिको भेट भयो । यो छोटो भेटमै उनको विद्वताबाट तुङ्ग शमशेर अति प्रभावित  भए । रौतहटमा रहेको आफ्नो मौजा र कारोवारको व्यवस्थापनको लागि मेनेजर भई काम गरिदिन आग्रह गरे । पशुपतिलाई यो कुरो मनासिव लाग्यो । बनारसका आचार्यहरुले पनि बनारस बस्नभन्दा आफ्नै देशमा बसेर केही गर्न उचित हुने सल्लाह दिएपछि उनी रौतहट आए र तुङ्ग शमशेरको हजमनिया दरबार (चन्द्रशसशेरले बनाएका) मा मेनेजर भए । 

 

पशुपति भण्डारीले तुङ्ग शमसेरको मेनेजर भएपछि प्रचलित व्याजदर २५ प्रतिशतलाई घटाएर १० प्रतिशत बनाइदिएछन् । यसबाट तुङ्शमसेरका ऋणिको सङ्ख्या यति विस्तार भयो कि उनको कारोबार रौतहटबाट महोत्तरी, सर्लाही, बारासम्म फैलियो । लगानी हुन नसकेको ठूलो सम्पत्ती लगानी गरेर मनग्य आर्जन गराइदिएकोले खुशी भएका तुङ्शमशेरबाट कटहरवनमा प्रशस्त जग्गा प्राप्त गरे पशुपतिले । भेडियाही भन्ने स्थानमा आफ्नै आर्जनले अर्को मौजा किने । सयौं विगाहा जग्गाका मालिक बने उनी । साहिलो र कान्छोभाईलाई झिकाएर सर्लाही र महोत्तरीका तेजारथमा डिठ्ठा पदवी दिइ तेजारथ उठाउने जिम्मा दिए । त्यसपछि कान्छा मामाका छोरा शुकदेवलाई झिकाए । अरु बन्धु बान्धव, ससुराली (सिन्धुपाल्चोक देवीदत्त पराजुलीकी छोरी बिहे गरेका) लाई पनि त्यतै राखे । पछि कान्छा मामाको सम्पूर्ण परिवार रौतहट सर्यो । पशुपतिका ठूला दाजुमात्र बाँग्रे बसे । अरु तीनैभाइ रौतहटमै बसे । पहाडतिरको आउजाउ पातलियो । यसै कारण पनि होला कान्छा मामाका परिवार बाहेक अरु मामाका परिवारसँग त्यति धेरै सम्पर्क भएन । मावलीतर्फ पनि  आउजाउसम्पर्क भएन । भान्जा भान्जीलाई झोलीका देउता भनिन्छ । तर कृष्णप्रसाद भण्डारीसँग कुराकानीको क्रममा वसन्त भण्डारीका परिवारले भने आफ्नी ज्यामाका माइति तिवारथोकका अधिकारी परिवारलाई देवता मान्ने गरेको बताउनु भयो । वसन्तको निधन पश्चात खान लाउननै धौ धौ परेका बखत आफ्ना  भान्जा भान्जीको पालन पोषण एवम् पढाइ लेखाइमा दिदीलाई गरेको सहयोग र त्यसबाट भएको परिवारको फलिफापका कारण तिवारीथोकका मावली परिवारलाई हामी देउता मान्छौं भनेर मुक्तकण्ठले प्रस‌ंशा गर्नुभयो । ( २०७८ भदौ १३ गते चन्द्रमणि, देशबन्धु र राजेश्वर अधिकारीले कृष्ण प्रसाद भण्डारीसँग गरेको कुराकानी) तर उहाँले पनि आफ्नी हजुरआमा र जेठाबाको नाम भने बताउन सक्नु भएन । जेठाका सन्तानले बताउन सक्छन् की थप बुझ्नु पर्नेछ ।

 

बाँग्रेमा विष्णुहरिका नातिनीहरु (जेठा छोरा सन्तुपाध्येकि छोरी र साहिँला छोरा षडानन्दकी छोरी) पनि दिइएको छ । सन्तु पाध्येकी छोरीपट्टि सन्तान भएनन् । साँहिला बाजेकी छोरीबाट सन्तान भए नभएकोबारे बुझ्नु पर्ने छ 

 

९‍‍. हराएका पिँढी

सामान्यतः प्रत्येक २५ वर्षमा नयाँ पिँढीको जन्म हुन्छ । पहिला पहिला त अझ यो अन्तर २० वर्ष हुनसक्छ । यसरी हेर्दा १५५० मा दुराडाँडा आएपछि जन्मिएका पिँढीहरुको मात्रै हिसावमा पनि यो ५२५ वर्षमा यहाँ जन्मिएको २१ पिँढी र त्यसमा अस्तामको १५ पिँढी थप गर्दा समन्त (१५) देखि अहिलेसम्म देहाय अनुसार ३६ पिँढी चलिरहनु पर्ने हो ।

 

पिँढी

साल(विसं)

पिँढी

साल(विसं)

पिँढी

साल(विसं)

पिँढी

साल(विसं)

पिँढी

साल(विसं)

१५

१५२५

१६

१५५०

१७

१५७५

१८

१६००

१९

१६२५

२०

१६५०

२१

१६७५

२२

१७००

२३

१७२५

२४

१७५०

२५

१७७५

२६

१८००

२७

१८२५

२८

१८५०

२९

१८७५

३०

१९००

३१

१९२५

३२

१९५०

३३

१९७५

३४

२०००

३४

२०२५

३५

२०५०

३६

२०७५

 

 

 

 

 

तर अहिले चारघरेतर्फको कुलमा ३१ औँ पिँढी चलिरहेको देखिन्छ। यसरी हेर्दा बिचमा चार या पाँच पिँढीको नाम विवरण अद्यावधिक हुन बाँकी देखिन्छ । अर्थात केही पिँढी हराइरहेको देखिन्छ । 

 

कुन पिँढी हरायो त ? यसको लागि पनि वंशावलीमा प्राप्त तथ्यकै सहायता लिनु अनिवार्य हुन्छ। वंशावली अनुसार १९ ‍औँ पिँढीका मनोहरले वि‍.सं. १७७१ मा राजा रिपुमर्दनबाट रजबन्धकी लिएको उल्लेख छ । १५ औँ पुस्ताका समन्त १५५० मा दुराडाँडा आउँदा २५ वर्षका रहेछन् भने पनि उनको जन्म १५२५ वरपर भएको हुनुपर्छ । मनोहर रजबन्धकी लिँदा ४० वर्षका रहेछन् भने पनि उनी १७३० वरपर जन्मिएको हुनुपर्छ । यसरी समन्त र मनोहर बीचको समयअन्तर २०५ वर्ष देखिन्छ तर पिँढीको अन्तर भने जम्मा ५ मात्र देखिन्छ । हो यहीँनिर करिब ३ पिँढी हराएको छ । मनोहरभन्दा पछि पनि अर्को २ पिँढी हराएको छ । किन भने २० औँ पिँढी मानिएका शिवशर्मापछिका हाम्रा सबै पिँढीको जन्म तिथि अनुमान योग्य छ । पिँढीपिच्छे २५ वर्षको अन्तर हिसाव गर्दा शिव शर्मा (२०) को जन्म वि.स.१८१० वरपर भएको देखिन्छ । मनोहर (१७२५) र उनको भाइ दिग्विजयको छोरा शिव शर्मा (१८१०) बिचको अन्तर ८० वर्षजति देखिएकोले २ पिँढी यहीँनिर हराएको हो कि भन्ने देखिन्छ ।

१०. अन्त्यमा

वि.सं. १५५० असारमा दुराडाँडा आएका समन्तका सन्तति समयक्रममा त्यहाँबाट फैलिदै गए । दुराडाँडा क्षेत्रभित्रै पनि विभिन्न गाउँमा फैलिए । हाँगाहरु फाटदै र झाङ्गिदै गए । म २७ औं पुस्तामा पर्छु । दुराडाँडामा बसिरहेका र यहाँबाट अन्यत्र फैलिएका हामी सबैको मूलजरो एउटै भएपनि रुख झाङ्गिदै जाँदा शाखा हाँगाहरुको पहिचानको लागि पनि को कुन हाँगाको हो थाहा पाउनु जरुरी हुन्छ । हाँगो थाहा भयो भने आफ्नो हाँगो कहाँबाट छुट्टिएको रहेछ वा कुन हाँगोका साझा बाजे को रहेछन् थाहा पाउन सकिन्छ । यसले आफ्नो वंशावली बढी शुद्ध हुन्छ । कहीँ न कहीँ पुगेर पक्कै जोडिन्छ ।

 

वंशबारेको खोजनिती यसको वैज्ञानिक र आध्यात्मिक पाटोसँग पनि जोडिन्छ । आध्यात्मिक पक्षको कुरा गर्दा हामी पितृ श्राद्धमा संलग्न भई पिण्डदान गर्दा तीन पुस्तालाई पिण्ड नै दान गर्छौंत्यसमाथिका तीन पुस्तालाई पिण्डको लेप मात्र दान गर्छौं । पिण्ड र सोको लेप समेत गरी ६ पुस्तालाई पिण्डदान गर्छौं । श्राद्धमा पिण्ड प्राप्त गर्ने ६ पुस्ता र कर्तासमेत सातपुस्ता संलग्न होइन्छ । तसर्थ सातपुस्तासम्मलाई सपिण्डी भनिन्छ । यसर्थ आफूमाथिका कम्तीमा ६ पुस्ताको खोजी गर्नु हाम्रो दायित्व हुन आउँछ । जसरी हामी हाम्रो सारा यश आफ्नै नामबाट पाउँछौं र खुशीले गदगद हुन्छौं यसै गरी हाम्रा पितृहरु पनि आफ्ना सन्ततिले नाम नै उच्चारण गरेर अर्पण गरेको आफ्नो भागको पिण्ड भोग गर्न पाउँदा कति तृप्त हुनुहोला ?  पितृको तृप्तिबाटमात्रै सन्ततिले समृद्धि प्राप्त गर्छन भन्ने शास्त्रीय र लोक मान्यता समेत छ ।

 

दुराडाँडा क्षेत्रका मैदान खजेगाउँ,   गिरेचौर,  तिवारीथोकउपल्लागाउँ,  चारघरे पन्थे विष्टे, स्वाँरा,  टारी, रोहोटेपानी जलुकेनीअर्चल्यानी देवतापानी ओखलेपानी धुस्यानी, धगुवा आदि ठाउँमा अधिकारीहरुको ठूलो बसोबास छ ।अन्यत्र पनि हुनुहोला । को कहाँका हुन्, कसको हाँगो कुन हो  भन्ने विषय जिज्ञासुहरुका लागि चासोका विषय हुनसक्छन् । मैले यो आलेखमा यसलाई पनि समावेश गर्ने प्रयास गरेको छु । माथि उल्लिखित पुस्तकमा समाविष्ट तथ्यका अनुसार खजेगाउँका मधुसुदन गुरु (२६)टेकनाथ अर्थात अधिकारी जेठा (२६)रोहोटेपानीका कुवेरदत्त (२७)भाग्यशाली (२६) ओखलेपानीका ईश्वरीप्रसाद अधिकारी (२६) नरहरि तोयनाथ जीवनाथ,  बाबुराम (२७) र धगुवाका लेखनाथविश्वनाथ (२७) हरु समन्तका कान्छा छोरा सान्त (गिरेचौर) को हाँगोका हुन् ।

 

संविधान सभाका सदस्य डा.भिष्मनाथ अधिकारी (देवतापानी(२७) र २००६ साल साउनमा दुराडाँडाका ब्राह्मणले सम्पन्न गरेको प्रख्यात हलो क्रान्तिका नेतृत्वकर्ता एवम् शिक्षासेवी पण्डित तोयनाथ अधिकारी (२७) अर्चल्यानी एकै हाँगोका हुन् । यो सामान्य जानकारीमात्र हो यसले पनि को कताको वा कसको हाँगोको हो पत्ता लगाएर खोज्दै खोज्दै फेदसम्म पुग्न सकिन्छ । गल्ती भएको भए सच्याउन सकिन्छ ।


वंशावली पुस्तकमा प्रकाशित समग्रीको मूल स्रोत उपल्ला गाउँ हरिभक्त अधिकारी हुनुहुन्छ। उहाँसँग  २०७९ चैत्र ५ गते भएको कुराकानी ( नरनाथ अधिकारी स्वाँरा, चन्द्रमणि अधिकारी छहरेपानी, रुद्रनाथ अधिकारी पन्थे, म र रविकान्त अधिकारी स्वाँरा धुवाउँने ठाँटीको पुनर्निर्माणको सिलसिलामा दुराडाँडा गएर फर्किदा बसमा भएको कुराकानी) अनुसार जन्मेजय (२२ औँ पुस्ता) को हाँगोमा २६ औँ पुस्ताका भानुभक्त अधिकारी जाजरकोटमा खरिदार थिए। उनले सिञ्जाको समेत भ्रमण गरेर अधिकारीहरुको वंशावली र कुलपूजा विधि सङ्कलन गरेका रहेछन्। सिञ्जा राज्यको खिडकिसैनबाट कास्की राज्यको अस्ताम र अस्तामबाट दुराडाँडा आएका अधिकारीहरुको आफ्ना छोरा पुस्तासम्मको वंशावली उनले अद्यावधिक गरेका रहेछन्। त्यो सामग्री उनको परलोकपछि जेठा छोरा पुण्यशीलको संरक्षणमा रह्यो। पुण्यशीलको परलोकपछि उनकी  पत्नीले घरको बढारकुडार सरसफाइको क्रममा १० वर्ष पुराना कपाली तमसुक (जो कानूनतः निस्कृय हुन्थे)  समेतका काम नलाग्ने ठानेका कागजात मलखादमा लगेर फालिछन्। त्यहीबेला उपल्लागाउँकै मनहर्क अधिकारी पुण्यशीलकै घरको बाटो भएर कतैबाट आउदै गर्दा मलखादमा नेपाली कागजका लेखोटहरु मिल्काएको देखेपछि के के कागज रहेछन् भनेर केलाउन थालेछन्। यसै क्रममा कुनै तमसुकमा लपेटिएको वंशावली र कुलपूजा विधि फेला परेछ। मनहर्कले ती लिखत घरमा लिएर आए। पुराना भइसकेका लेखोटलाई अर्को काजगमा उतार्न आवश्यक ठाने मनहर्कले। त्यतिबेला छोरा हरिभक्त र भतिजा ठाकुर (ठाकुरप्रसाद छाँगा)/८ कक्षामा पढदा रहेछन्। मनहर्कले ती दुई भाइलाई वंशावली उतार गर्न लगाए। हरिभक्त र ठाकुरले मेहनतपूर्क ती सामग्री उतारे। वंशावलीको लेखोटको सक्कल मनहर्कसँग भएको कुरा कालिदास बिचारीले थाहा पाएछन्। जिम्मलको घरमा हुनुपर्ने कागज रैतिको घरमा रहन दिन उनको मनले मानेन, तर माग्दा भने पछि फिर्ता गर्ने सर्तमा मागे। मनहर्कले दिए। पछि माग्न जाँदा हरायो भने। उनका छोरा निर्मलको पालामा पनि मागियो। उनले पनि छन त थियो कता पर्यो खोजौँला भने तर कहिल्यै फेला परेन। सक्कल हराए पनि त्यसको उतार सम्पन्न गरिसकेकोले त्यसकै अधारमा यो वंशावली तयार भयो। पूजाविधि भने बाक्लो नेपाली कागजमा थियो। त्यसको उतार गरिएको थिएन। हरिभक्तले त्यसको आधारमा पूजाविधि तयार गरिदिन मयुरेश घिमिरेलाई दिए। तर त्यो फिर्ता भयो कि भएन यकिन भएन। मयुरेशलाई सोध्दा आफूले फिर्ता गरेको बताए तर हरिभक्तको साथमा अहिले त्यो छैन। 

 

वंशावलीमा पुस्ता र पिँढी शब्द प्रचलनमा छन् । कोसँग कति पुस्ता टाढा वा नजिकको सम्बन्ध छ भन्ने विषय र को कतिऔं पिँढीमा पर्छ भन्ने विषय फरक हुँदो रहेछ । आफ्नो हाँगोमा सबैभन्दा ज्येष्ठ नाताको व्यक्ति जीवित रहेसम्म पुस्ता टाढा हुँदैन । जस्तै विष्णुहरिका सन्ततिमा म पाँचौं पिँढीमा पर्छु तर विष्णुहरिकी नातिनी बुहारी गिरिजा हजुरआमा (लैनचौर)विष्णुहरिका नाति (ब्रह्दत्तका छोरा) हरिभक्त उपाध्याय जीवित हुनुहुन्छ । तसर्थ हामी तेस्रो पुस्तामामात्रै छौं । तर मैले सबै  परिवारको हाँगोको बारेमा उल्लेख गर्दा को कुन पुस्ता वा पिँढीमा पर्छ खुट्याउन सक्ने ज्ञान नभएकोले यो आलेखमा सबैको लागि पुस्ता शब्द नै प्रयोग गरेको छु । माथि उल्लेख गर्दा समन्तलाई पन्ध्रौं पुस्ताका भएकोले त्यस बमोजिम गणना गर्दा जो जुन पुस्ता वा पिँढीमा पर्छ उसको नाम पछाडि कोष्ठमा सोही नम्बर उल्लेख गरेको छु । जस्तै हाम्रा जिजुहजुरबा विष्णुहरि (२३)बूढाहजुरबा वेणिमाधव (२४)हजुरबा कालिप्रसाद (२५)पिताजी भानुभक्त (२६) र म देशबन्धु (२७)  गर्दै यही रितले उल्लेख गरेको छु । माथि उल्लिखित वंशावलीको कितावमा पनि यही क्रम उल्लेख भएकोले सजिलोको लागि मैले पनि सोही क्रमलाई अवलम्बन गरेको हुँ ।

 

यो सामग्री तयार पार्ने क्रममा तिवारीथोकका साझाबाजे (हाम्रो हाँगोका साझाबाजे) विष्णुहरि भन्दा अगाडिको वंशवृक्षबारे लेख्दा अधिकारी बन्धु समाजकाठमाडौंले २०७१ सालमा प्रकाशित गरेको अधिकारी वंशावली नामक पुस्तकको सहारा लिएको छु । अरुहरुको विवरणको सहारा पनि त्यही पुस्तक हो । पुस्तकले अधिकारीकाबारे प्रशस्त जानकारी दिएको छ । केही त्रुटि पनि छन् । हाम्रै साझाबाजे विष्णुहरिको वंशवृक्षमा जेठो माहिलोको क्रम पनि मिलेको छैन भने कुसुमाकरका कान्छा छोरा नरनाथलाई कुसुमाकरका भाइ ठाकुर प्रसादको छोरो उल्लेख भएको छ । अलग अलग पानामा फरक फरक विवरण पनि छन् । गिरेचौरका अधिकारीहरुको वंशावलीको विवरणमा द्वारिकादासबाट शुरु गरिएको छ (पृष्ठ नं.४५८) उनका छोरा समन्तलाई सुवन्त उल्लेख भएको छ । घाँघुलाई पनि द्वारिकादासको छोरा भनी उल्लेख भएको छ । तर पृष्ठ नं. ४३२ मा भने समन्तका छोराहरुको नाम गोपालघाँगुगोविन्द र सान्त भनी उल्लेख भएको छ । यद्यपि दुवै विवरणमा गिरेचौरका अधिकारीहरु सान्तको हाँगोका भएको उल्लेख  छ । विवरण उपलव्ध गराउने व्यक्ति र प्रकाशक दुवैको तर्फबाट यस्तो गल्ती भएको हुनसक्छ । तर विवरण उपलव्ध गराउनेकै धेरै गल्ती भयो कि ?  जे भएपनि यी गल्ती काम गर्दा भएका स्वाभाविक गल्ती हुन् । मात्र यिनलाई सच्याउनु पर्छ । आलोचनाले कहीँ कतै पुगिदैन । जे जति भएको छ धेरै राम्रो काम भएको छ । यसमा लागिपर्ने बन्धुहरुको मेहनत विशेष प्रशंसनीय र वन्दनीय छ ।

 

यो आलेख तयार गर्दा कतिपय विषय श्रीकान्त अधिकारीसँगको कुराकानीको  आधारमा उल्लेख गरेको छु । शक्तिवल्लभ र सोभन्दा माथिको पुस्ता एवम् तिवारीथोकका साझाबाजे अर्थात हाम्रो हाँगोबारे मणिराज र रेवतिरमण ठूलाबाचन्द्रकान्त काकाचन्द्रमणि दाजुबाट विभिन्न जानकारीहरु लिएको छु र त्यसै अनुसार मिलाएर उल्लेख गरेको छु । दुईतले ठूलाबा मणिराज अधिकारी र साहिँलाबा रेवतिरमण अधिकारीसँग पटक पटक कुराकानी गरेर थपेको छु । अझ पनि विष्णुहरिकी छोरीको बारेमा केही कुरा स्पष्ट हुन बाँकी छ । यसबारेमा लैनचौर गिरिजा हजुरआमासँग प्रष्ट हुन सकिन्छकि भन्ने लागेको छ । विष्णुहरिको सन्ततिका छोरीतर्फको हाँगोको विवरण अझ विस्तृत रुपमा अद्यावधिक गर्न बाँकी नै छ ।

कतिपय स्रोतको नाम सम्बन्धित ठाउँमै उल्लेख गरेको छु । यसैगरी यसमा म र भाइ शिवकान्त अधिकारीले खोजविन गरेका विवरणहरु पनि परेका छन् । काका नरनाथ अधिकारी,दाजु चन्द्रमणि अधिकारीबाट धेरै जानकारीहरु प्राप्त भएका छन् । पन्थेतर्फको हाँगोकोबारे दाजु रुद्रनाथ अधिकारीबाट प्राप्त विवरणले पन्थेका दाजुभाइहरुका साझाबाजे कालिदास भएको तथ्य पुष्टि भइ यस अघिका कतिपय अन्योल हटेका छन् । मेरा भाइ दीपक अधिकारीले पनि धेरै पारिवारिक विवरण अद्यावधिक गरिरहेका छन् । यसले हाम्रो वंहावलीलाई अझ खँदिलो र तथ्यपरक बनाउने विश्वास लिएको छु । मैले सहयोग प्राप्त गरेका सबै अग्रज र अनुजहरुप्रति म अत्यन्त अनुगृहित छु । 

यसमा परेका कतिपय विषय मैले मेरी हजुरआमाबाट सुनेका कुराबाट लिएको छु । मेरी हजुरआमा हामी अलिना भट्टका सन्तान हौं त्यसैले खाना खाने बेलामा अग्नी लगायतलाई बली दिदा नून मिसाउन हुँदैन’ भन्नु हुन्थ्यो । खाना पस्किदा बल हाल्न’ भनेर अलिकति घिउ वा दूध  (घिउ चाहिँ पाहुना आउँदा) टक्य्राउने परम्परा थियो र छ  । हजुरआमालाई हाम्रो प्रवरबारे पनि ज्ञान थियो । कसैले तेरो प्रवर के हो भन्यो भने सतिदेवीसँगको बिहेमा महादेवले गोत्र भन्न नसके जस्तो होलानि भन्दै वहाँकै हिज्जेमा हाम्रो प्रवर काश्यपआवत्सर र नैध्रुव हो भन्नु हुन्थ्यो । यसैगरी कतिपय विषय मेरा कुलका अग्रज बाआमाहरुबाट लिएको छु ।

 

अल्पज्ञानकै भरमा अथाह भण्डारमा पसेर उधिन्न खोजेकोले यो लेखोटमा पक्कै धेरै कमी कमजोरी होलान् । तर यी कमजोरी अञ्जानमा भएका हुन् । ज्ञानका कमीले भएका हुन् । यसप्रति म क्षमा चाहन्छु । तर आउने दिनमा मेरै छोरा-छोरीले,  नाति नातिनाले हामी को हौं  ? कहाँबाट आएका रहेछौं हाम्रा नजिकका भाइ -बन्धु को रहेछन् भन्ने थाहा पाउन मन लाग्दा मसिनो गोरेटो भए पनि देख्न पाउन भनेर यो सङ्कलन गरेको हुँ ।  पितृहरुलाई समर्पण र सन्ततिलाई अर्पण गर्न अरुले फूलाइदिएका फूल बटुलेर जानी नजानी उनेको  वंशमाला मात्रै हो यो । जिज्ञासु र सिपालुहरुका हातबाट यसमा अरु सुन्दर फूल थपिउन । अहिलेलाई यो यस्तै भयो ।




प्रस्तुतकर्तादेशबन्धु अधिकारी

पछिल्लोपटक २०७९ कार्तिक २२ गते अद्यावधिक गरिएको ।