Monday, July 20, 2015

दुराडाँडा र दुरा, एक संक्षिप्त अध्ययन


दक्षिण–पूर्व फर्किएको यो घमाइलो डाँडोलाई कहिलेदखि दुराडाँडा भन्न थालियो भन्ने तिथि मिति ठ्याक्कै त भन्न सकिदैन तर यहाँका आदिपुर्खा दुराहरुले आप्mनो पौरख र पसिनाले गुल्जार बनाएपछि नै यो ‘अनाम’ डाँडोले दुराडाँडा नाम पाएको हुनुपर्छ ।

दुराहरु को हुन ? कहिले र कहाँबाट यो ठाउँमा आइपुगे ? भन्ने बारे इतिहासमा एकमत पाईदैन । दुराजाति बारे कलम चलाएका केही विद्वानहरुले उनीहरु दैलेखको दुल्लु क्षेत्रका ‘दुलाल’ वंशका भएको र दैलेखमा उनीहरुले राजकाज समेत चलाएको उल्लेख गरेकाछन् । दुल्लुबाट बसाईं सर्दै पूर्वतिर आएपछि ‘दुलाल’ हरुलाई ‘दुरा’ भन्न थालिएको हो भनिएको छ ।

साधारणतः उनीहरु मङ्गोल जातीय रक्तवंशसंग सम्बन्धित जाति मानिन्छ (प्रा.डा.कृष्णबहादुर थापा, २०६२) । दुराहरुको शारीरिक बनोट र रितिरिवाज (जस्तै फुपू चेला र ममा चेलीबीच बिबाह गर्ने प्रचलन,साँस्कृतिक पर्व,कूलपूजा जस्ता धार्मिक अनुष्ठानमा मदिराको प्रयोग आदि )बाट पनि उनको यो भनाईमा सत्यता पाइन्छ । अतः मङ्गोल रक्तवंशका दुराहरुका आदिपुर्खा ‘दुलाल’ (यिनीहरु आर्यवंशी  हुन् ) हुन् भन्ने भनाई पत्यारिलो लाग्दैन । खस–बाहुन सम्प्रदायको एउटा ‘थर’ विशेषको रुपमा रहदै आएको ‘दुलाल’ वंशबाट नित्तान्त भिन्दै रक्तवंशको, आप्mनै भाषा, संस्कृति भएको अलग जातिको उद्भव भएको भन्नु पत्यारिलो तथ्य होइन । अतः दुराहरु दैलेख दुल्लुक्षेत्रमा बसोबास गरेका मङ्गोलवंशी मध्येकै हुनुपर्छ ।

दुराहरु दुल्लुबाट पाल्पाको छहरा, स्याङ्जाको नुवाकोट, कास्कीको अर्घौं हँुदै ती ठाउँमा केही पुस्ता विताउँदै विताउँदै दुराडाँडा आइपुगेका हुन् भनिन्छ (गोकुल दुरा,२०६२) । तर उल्लिखित कुनै पनि ठाउँमा अहिले दुराहरुको बसोबास नभेटिनुले यो भनाईलाई पुष्टि गर्ने आधार भेटिदैन । कुनै पनि जाति एक ठाउँबाट अर्को ठाउँमा वसाईं सरेर जाँदा जातिका सम्पूर्णले आप्mनो थातथलो एकै पटक छोडेर गएको पाईंदैन । यसलाई मनन गर्दा या त उनीहरु दैलेखबाट सरासर यो क्षेत्रमा आइपुगेको हुनुपर्छ या दुराडाँडा आइपुग्नु अघिसम्म उनीहरुलाई ‘दुरा’ भनिदैनथ्यो । 

मध्यकालमा दैलेख र देैलेख पश्चिमक्षेत्रमा गाउँहरुको समूह जनाउन ‘दरा’ शव्दको प्रयोग हुन्थ्यो । उक्त क्षेत्रका मठ मन्दिरको गुठी राख्दा ती मठ, मन्दिरको ठेगाना जनाउन ‘दरा’ शव्द प्रयोग भएको छ । जस्तै दैलेख डल्लु मध्ये मारु खण्ड दरा श्री मालिका गुठी, दैलेख अछाम सातसिउ (सात सय ?) दरा टोलका गाउँका सिद्ध संसारमय गुठी, डोटी पन्ध्र वीस दरा श्री वडामालिका गुठी, दैलेख छ वीस दरा पु.६ गाउँको नन्दादेवी गुठी आदि (रामप्रसाद भण्डारी संभव ः२०६३) । अहिले पनि उक्त क्षेत्रका गाउँहरुको नाममा ‘दरा’ शव्द रहेको पाइन्छ । यसलाई आधार लिँदा उनीहरु दुल्लुक्षेत्रका ्‘दरा’ मध्ये कुनै एक ‘दरा’ का वासिन्दा थिए । दैलेखबाट पूर्व सरेर नयाँ ठाउँमा आएपछि स्वभावतः उनीहरुले वरपरका छिमेकीसंगको परिचयक्रममा आफ्नो पुख्र्यौली थलोको नाम लिएर आपूmहरु कुनै ‘दरा’ बाट आएको बताए । यस क्षेत्रका मानिसका लागि ‘दरा’ शव्द नयाँ थियो । उनीहरुलाई सायद यो नयाँ शव्दले छिटो छोयो  । लमजुगेहरुले ‘दरा’ बाट आएकाहरुको गाउँलाई ‘दरागाउँ’ र त्यहाँका मानिसलाई ‘दराली’ र पछि ‘दुरा’ भनिएको हुनसक्छ । त्यसै गरी दैलेख पश्चिमदेखि डोटीसम्म भगवतीलाई ‘मालिका’ को नामबाट पुकार्ने, पूज्ने परम्परा छ । दुराडाँडा र वरपरका क्षेत्रमा थानसिंङ बाहेक अन्यत्र कतै मालिका देवीको मन्दिर रहेको पाइदैन । अतः थानसिंङकी मालिकाको स्थापना यो क्षेत्रमा दुराहरुको आगमनपछि उनीहरुले नै गरेको हुनसक्छ । इतिहासमा अन्यत्र उल्लेख नभएका यी पाटाको गहन अध्ययन हुनसके दुराहरुको पुर्खा र पुख्र्यौली थलो बारे थप तथ्य पत्तालाग्ने देखिन्छ ।

दुराहरु दुराडाँडाक्षेत्रमा अहिलेको लमजुङको दक्षिण पश्चिम क्षेत्रबाट प्रवेश गरेका हुन् । कास्कीको अर्घौबाट उत्तरपूर्व लागेका उनीहरु राम्चे र हाँडिखोलाको दोभान नजिकै आइपुगेपछि त्यसकै उत्तर–पश्चिम पाटोको पाखो (डढुवाको पुच्छार) लाई आवाद गरेर वस्ती बसाए । दुराहरुले पहिलोपटक वस्ती बसाएको यो गाँउलाई आरीकोसी भनिन्छ । कुनै समय यो क्षेत्र रहेको प्रशासनिक इकाईको नाम नै आरीकोशी गाउँ पञ्चायत थियो । नेपालको पश्चिम भेगमा काठलाई खोपेर बनाइने करीव पाँच–सात माना अन्न अट्ने भाँडोलाई आरी वा कोसी भनिन्छ । दैलेख क्षेत्रको आदिवासी राउटे जातीले काठका आरी,कोसी बनाउने सीप अहिलेसम्म पनि जोगाउँदै आएबाट यो सीपको विकास दैलेख क्षेत्रबाटै भएको अनुमान गर्न सकिन्छ । सोही क्षेत्रबाट आएको भनिएका दुराहरुसंग पनि पक्कै यो सीप भएको हुनुपर्छ । फलतः त्यहाँबाट बसाईं सरेर आउँदा उनीहरुले आरी वा कोसी बनाउने सीप पनि सँगै लिएर आए । आरी, कोसी बनाउन सिपालुहरुको गाँउ भएकैले उक्त गाँउको नाम आरीकोसी रहेको हुनुपर्छ ।

दुराहरु यो डाँडामा कहिले आइपुगे यकिन छैन । उनीहरु सोह्रौ शताव्दीमा दुराडाँडा आएको उल्लेख गरेको देखिन्छ (भुवन दुरा,२०६२) । तर ऐतिहासिक तथ्य अनुसार वि.सं.१५५० मा लमजुङ राज्यमा शाहवंशको स्थापना दुराहरुकै नेतृत्वमा भएको पाइएको छ । यो ठाउँमा कमसेकम दुई–चार पुस्ता नविताएको जाति वा नेतृत्वले राज्यभरिका मानिसलाई आप्mनो मतमा हिंडाएर नयाँ राजवंशको स्थापना गर्ने हैसियत आर्जन गर्न सक्योहोला भन्ने लाग्दैन । तसर्थ उनीहरु पन्ध्रौं शताब्दीको शुरुमै यहाँ आइसकेको हुनुपर्छ ।
लमजुङ राज्यमा शाहवंशको स्थापना कालसम्म दुराहरुको बसोबास हाँडिखोला खोला र राम्चेको दोभान वरपर थियो । आप्mनो अगुवाईमा नयाँ राजवंश स्थापना गरेपछि उनीहरुले राजालाई तुर्लुङकोट नजिक टाकुरामा दरवार बनाएर राखे । दरवार पश्चिमको समथर  टाकुरोमा कास्कीकोटबाट ल्याइएकी शाहवंशकी इष्टदेवी कालिकाको मन्दिर र भैरव थानको स्थापना गरियो । पूर्व तर्फ  गढी निर्माण गरियो । राजाकै सुरक्षाका लागि दुराहरु दरवार वरपर नै घर बनाएर बसे र सम्पूर्ण सैन्यशक्तिको समेत नेतृत्व गरे । अहिले पनि दुराहरुका कतिपय घरमा त्यतिबेला लडाईंमा प्रयोग गरिएका भरुवा बन्दुक,तरवार,सुनका टीका जडित खुँडा र खुकुरी थुप्रै भेटिन्छन् (गोकुल दुरा,२०६२) सुरक्षा व्यवस्थालाई थप मजवुत पार्न दुराडाँडा भन्दा दक्षिणपूर्वको कुन्छा र पश्चिमको तान्द्राङमा समेत उनीहरुकै नेतृत्वमा आवश्यक बन्दोवस्त मिलाइयो । केही सैनिक र तिनका परिवार कुन्छा र तान्द्राङ पठाईए । ती ठाउँमा रहेका दुराजातिका पुराना बस्तीले यो तथ्य पुष्टि गर्छन । राजाको थप सुरक्षाका लागि राजदरवार तुर्लुङबाट पुरानकोट सारियो । समयक्रममा तुर्लुङ दरवार वरपरको घना दुरावस्ती डढेलोमा पर्यो । डढेलोमा परेकै कारण उक्त क्षेत्रलाई अहिले पनि डढुवा भनिन्छ । आगलागिपछि उनीहरु उक्त ठाउँ छोडेर तुर्लुङ, नेटा, ठूलोस्वाँरा, र खजेगाउँसम्म छरिए । 

लमजुङ राज्यको भू–क्षेत्रको तुलनामा दुराहरुको आवादी क्षेत्र खासै ठूलो देखिँदैन । सानो भू–क्षेत्र आवाद गरेर बसेका अल्पसंख्यक दुराहरुले राजवंश फेर्नेसम्मको शक्ति आर्जन गर्नुले उनीहरुसँग नेतृत्व खुवी, सैन्य कौशल र कुटनीतिक क्षमता रहेको देखिन्छ । लमजुङमा दुराहरुले खेलेको राजनीतिक भूमिकालाई विश्लेषण गर्दा दुल्लुबाट बसार्इं सर्नुपूर्व उनीहरुको वंशले त्यहाँ राजकाज चलाएका थिए भन्ने भनाईलार्ई पुष्टि गर्छ ।
दुराहरु जहाँबाट जहिले आएका भए पनि उनीहरु नै यो डाँडाका आदिपुर्खा हुन् भन्नेमा कुनै द्विविधा छैन । अहिले मुलुकभित्र र बाहिर विभिन्न ठाउँमा छरिएर रहेका दुराहरुको अहिलेसम्मको खोजबाट पुष्टि भएको पुख्र्यौली थलो दुराडाँडा नै हो । करीव ६०० वर्षअघि नै लमजुङ राज्यमा नयाँ राजवंशको स्थापना गर्ने कार्यको नेतृत्व गरी गौरवमय योगदान गर्ने यो जातिको इतिहासबारे अनुसन्धाताहरुबाट थप खोजी हुन आवश्यक छ ।


२०६९ भदौ

No comments:

Post a Comment