Monday, July 20, 2015

श्रीकान्तबासँगका अन्तरङ्ग


प्रायजसो घिउ रँगको सफा कुर्ता पाइजामा लगाउँने श्रीकान्तबा त्यस दिन निक्कै मैलो पहिरनमा हुनुहुन्थ्यो । शिरमा टोपी थिएन । पातला, लामा केशराशि हावाले हल्लाइरहेको थियो । अनुहार मलिन र आभाशून्य थियो । मलाई हातको इसाराले आपूmतिर आउँन भन्नुभएपछि म नजिकै गएर बसें । मेरो दाहिने काँधमा आफ्नो देब्रे हत्केलो राखेर मन्त्र जस्तै छोटा दुई–चार वाक्य बोल्नुभयोे । ती वाक्य मैले बुझिनँ । अन्तिममा “ल, मलाई त हतार छ बाबु, केही सोध्नु छ भने सोध, नत्र म हिंडें है... ” भन्दै ओरालो झर्न थाल्नुभयो र हेर्दाहेर्दै ओझेल हुनुभयो । म झल्याँस्स ब्यूझिएँ । ओहो ! के हो यस्तो सपना ? चलिआएका विश्वासका आधारमा सपनाको अर्थ लगाएँ । भित्रैदेखि  डर लागेर आयो । मनले ‘श्रीकान्तबा पक्का बिरामी हुनुहुन्छ’ भन्ने ठोकुवा ग¥यो र भित्र–भित्रै हँुडलिरह्यो । नराम्रो सपना देखेपछि फेरि निदाइयो भने दोष मेटिन्छ भन्ने विश्वासमा निदाउँने प्रयास गरें तर त्यो काम लागेन । बाँकी रात तन्द्रामै बित्यो । 

भोलिपल्ट बिहान ८ बजेतिर श्रीकान्तबाको घरमा गएँ । बा, पूर्वपट्टीको आँगनमा कलिला घाम तापेर पत्रिका पढ्दै हुनुहुँदो रहेछ । उस्तै सफा कुर्ता पाइजामा, आभायुक्त अनुहार र मोटो कालो टोपीको घेराबाट बाहिर निस्केका सेता केशराशि देखेपछि मनमनै सपना र विपनालाई दाँज्न थालें । बा स्वस्थ देखिनुहुन्थ्यो । बोलीचालीमा उस्तै आत्मविश्वास र बेजोड तर्कशक्ति थियो । एक मन त ‘मैले राति यस्तो सपना देखें, त्यसैले बालाई भेटन आएको’ भनौं कि भन्ने पनि लाग्यो तर अर्को मनले भन्यो ‘होइन, यो भन्नुपर्ने विषय होइन, मेरो भनाइलाई अनावश्यक चेपारोका रूपमा पनि त लिन सक्नुहुन्छ ...।’ मैले यो विषय उप्काइन । केही बेर समसामयिक राजनीति, सामाजिक अवस्था र त्यतिबेला चलिरहेको सर्वोदयको पुनर्निर्माण अभियानको विषयमा कुराकानी भए । मलाई अफिस जानु थियो । त्यसैले ९ बजेतिर बिदा भएर हिंडें । श्रीकान्तबाको अगाडि केही नभने पनि खासमा म सपनाकै कारण उहाँलाई भेटन गएको थिएँ । उहाँलाई सरसराउँदो देखेर फर्किए पनि मनबाट त्यो दुःस्वप्नको किलो उखेलिएको थिएन । किन किन मलाई भित्रैदेखि श्रीकान्तबाको सान्निध्य अब धेरै दिन मिल्दैन कि ! भन्ने संशय लागिरह्यो ।

उहाँको बुढो शरीरमा देखिएका चाउरीका प्रत्येक पत्रहरूमा राजनीतिक, सामाजिक र शैक्षिक आन्दोलनको समग्र इतिहास लुकेर बसेको थियो । २००६ सालको हलोक्रान्ति, २००७ सालको राजनीतिक क्रान्ति, २००८ सालमा दुराडाँडाक्षेत्रमा एकै पटक १२ वटा प्राइमरी स्कुलको स्थापना, २०१५ सालको आम निर्वाचन, २०१७ सालको राजनीतिक परिवर्तन, २०२६ सालमा पाणिनि संस्कृत हाइस्कुलको स्थापना, २०३३ सालमा सम्पन्न सर्वोदय लगायत १२ प्राइमरी विद्यालयहरूको रजत जयन्तीका यावत् पक्षका अभियन्ता हुनुहुन्थ्यो श्रीकान्तबा । ऐतिहासिक सिंदुरे ढुङ्गालाई साधारण ढुङ्गाको थान्कोबाट ऐतिहासिक धरोहरका रूपमा अगाडि ल्याइदिने उहाँ नै हो । कुसुमाकर घिमिरे र खजेदुराजस्ता ऐतिहासिक पुरुष एवं द्यौबहादुर दुराजस्ता प्रतिभाशाली गायकका योगदानलाई उहाँले नै उजागर गराइदिनु भएको हो । यी र यस्तै अनगिन्ती ऐतिहासिक र सामाजिक पक्षका बारे उहाँजति जानकार दुराडाँडामा अर्को व्यक्ति थिएन । चौरासी वर्षको वय पूरा गर्दा श्रीकान्त आफैंमा ज्युँदो इतिहास बन्नुभएको थियो । श्रीकान्तबासँग रहेको यो ऐतिहासिक जानकारीलाई संरक्षण गर्नसके भावी पुस्ताका लागि एक अनमोल सम्पदा हुनसक्थो । आखिर सपनामा ‘केहि सोध्नु छ भने सोध...” भन्नुको सङ्केत यो पनि त हुनसक्छ ..! बाटोमा हिंड्दा हिंड्दै मैले मनमनै अठोट गरें कि ‘यो काम गर्नुपर्छ र म गर्छु ।’ २०६८ वैशाख महिनाको पहिलो हप्तातिरको कुरा हो यो । 

वैशाख महिनाको अन्ततिर म फेरि श्रीकान्तबालाई भेटन गएँ । भुइँतलाको बैठक कोठामा केही बेर पर्खेपछि बुबा आउँनुभयो । आदरपूर्वक म निहुरिएँ । बुबाले मेरा दुबै कुममा हात राखेर पूरै निहुरिन दिनुभएन । केही बेर सञ्चो बिसञ्चोका कुरा भएपछि उहाँले सोध्नुभयो– ‘अरू के छ त, बाबु ?’ ‘सबै राम्रै छ बुबा !’ मैले भनें– ‘म त एउटा अनुमति लिन आएको ।’ ‘के को अनुमति लिन आयौ ?’ मैले बिस्तारै प्रसङ्ग अगाडि सारें– “बुबा, हजुरसँग रहेको ऐतिहासिक जानकारी हजुरसँगै विलीन भएर जान हुँदैन; दुराडाँडा कसरी र कस–कसका कारणले दुराडाँडा हुनसक्यो भन्नेबारे पुस्ता दरपुस्ताले पनि हुबहु थाहा पाउनुपर्छ । हामीसँग प्रविधि छ । अब त श्रीकान्तलाई सयौं वर्षपछि पनि पढ्नमात्र हैन; सुन्नमात्र पनि हैन; देख्नसमेत सकिन्छ । भोलिको पुस्ताले श्रीकान्त को थियो हैन; श्रीकान्त को हो भनेर देख्न पाउँनेछन् । तसर्थ यदि अनुमति दिनुहुन्छ भने म हजुरसँगको कुराकानीलाई भिडियो छायाङ्कन गर्न चाहन्छु । यो भोलिको पुस्ताका लागि एक अमूल्य निधि हुनेछ ।”

मेरो कुराले उहाँ स्तब्ध जस्तै हुनुभयो । बोल्न खोजेर पनि करीब २० सेकेण्डजति उहाँ बोल्न सक्नु भएन । हाम्रा आँखा जुधिरहे । उहाँका आँखामा कृतज्ञताको भाव छचल्किन खोजे पनि गला खुलेको थिएन । बुबाको त्यो भाव पढ्दै गर्दा मेरा आँखामा पनि धमिलो पर्दा भरिँदै आएको थियो । यति बेलासम्म बैठक कोठामा हामी दुइजना मात्रै थियौं । बुबाले गायत्री आमालाई बोलाएर भन्नुभयो– ‘गायत्री ! देशबन्धु बाबुले एउटा माथवर कुरो लिएर आएका रहेछन् ।’ ‘के कुरा हो र ?’ आमाले जिज्ञासा राख्नुभयो । श्रीकान्त बुबाले मैले राखेको प्रस्ताव हुबहु आमालाई सुनाउँनुभयो । यतिबेला बहाँको गला अवरुद्ध थिएन बरु आँखामा थप चमक भरिएको थियो । अनुहार उज्यालो भएको थियो । आमा पनि खुसी हुनुभयो । मैले उहाँसँगको कुराकानीको भिडियो छायाङ्कन गर्ने अनुमति पाएँ ।

श्रीकान्त बासँग अनुमति पाएपछि मैले यो प्रसङ्ग केही अग्रजहरूलाई सुनाएँ । धेरै जनाले राम्रो काम गर्न लागेको भन्दै खुसी प्रकट गर्नुभयो । कसै कसैले काम राम्रो हो तर पैसा खर्च गरेर छायाङ्कन गर्न हँुदैन है भन्ने ‘किफायती सल्लाह’ पनि दिनुभयो । तर, मैले अरूसँगमात्र हैन आफैंसँग समेत अठोट गरिसकेको थिएँ– ‘म गर्छु’ भनेर । तसर्थ मलाई यो काम जसरी पनि गर्नुपर्ने थियो । म यसको तयारीमा जुटें । 

मिडिया वाचडग प्रा.लि.का विनोद खनाल(तनहुँ), त्यही संस्थामा काम गर्ने श्रीकान्त भट्टराई र प्रद्युम्न भट्टराई मेरा नातेदार हुनुहुन्छ । उहाँहरूलाई श्रीकान्त अधिकारीका योगदान र मेरो योजनाका बारेमा बताएपछि छायाङ्कनका लागि चाहिने उपकरण र प्राविधिक निःशुल्क उपलब्ध गराइदिने वचन दिनुभयो । पैसा खर्च गरेर छायाङ्कन गर्न हुँदैन भनी मलाई सल्लाह दिने शुभचिन्तकले भनेजस्तै हुने भयो । तर, अनुमति लिएको पाँच÷छ महिनासम्म पनि मैले यो छायाङ्कनको प्रबन्ध भने मिलाउँन सकिनँ । कहिले मलाई समय मिल्दैनथ्यो; कहिले बुबाको स्वास्थ्यले साथ दिंदैनथ्यो; कहिले प्राविधिक र उपकरण जुट्दैनथे । मलाई कहिलेकाहीं कस्तो डर पनि लाग्थ्यो– ‘कथं कदाचित् यो छायाङ्कन नहुँदै बुबालाई तलमाथि भयो भने म सबको नजरमा र विशेषतः श्रीकान्तबाको नजरमा ‘फटाहा’ पो हुन्छु कि के हो ?’

यही बिचमा यमबहादुर दुरा र डा.जीवन अधिकारीले पनि श्रीकान्त बुबासँगको कुराकानीको अभिलेख उहाँकै स्वरमा रेकर्ड गरेर राख्न पाए उचित हुन्थ्यो भन्नेबारे आ–आफ्नै हिसाबले कुरा गर्नुभएको रहेछ । बुबाले उहाँहरूलाई यस्तै कुरा लिएर म पनि उहाँ समक्ष गएको कुरा बताउँदै आपसमा सल्लाह गरेर तारतम्य मिलाउँन भन्नुभएछ । मैले यो कुरा थाहा पाएपछि उहाँहरू दुबै जनासँग सम्पर्क गरें । तीनजना बसेर व्यापक छलफल ग¥यौं । हामीले एक्ला एक्लै सोचेको कुरा अब तीनजनाको ‘साझा कुरा’ बन्यो । यो साझा अभियानलाई टुंगोमा पु¥याउँन हामी तीनजना जुट्यौं । 

अन्ततः २०६८ सालको पुस १६ र १७ गते श्रीकान्त बुबासँगको कुराकानीको छायाङ्कन उहाँकै निवासको भुइँतलाको बैठक–कोठामा सम्पन्न भयो । उहाँकी धर्मपत्नी गायत्री तथा छोरीहरू– सबला र प्रभाको रोहबरमा हामी तीनजनाले अन्तर्वार्ताको शैलीमा उहाँभित्र रहेको अमूल्य ज्ञानगङ्गालाई समेट्ने प्रयास गर्यौं । मिडिया वाचडग प्रा.लि.का क्यामेराम्यान अशोक भण्डारीले श्रीकान्तका अन्तरमनबाट निस्केका भावतरङ्गहरूलाई डिजिटलाइज गर्न सहयोग गरे । जब श्रीकान्तबासँगको इनडोर कुराकानीको छायाङ्कन सकियो हामीले आपूmलाई अत्यन्त हलुृका महसुस ग¥यौं  । बुबासँग गरेको प्रतिबद्धता र हामीले लिएको अठोट बल्ल आज पूरा भएको थियो । 

एनालग क्यामराबाट रिलमा खिचिएको भिडियोलाई डिजिटल फर्ममा लैजानुपर्ने थियो । यसका लागि केही समय लाग्यो । अन्ततः श्रीकान्तबासँग गरिएको कुराकानीलाई जस्ताको तस्तै राखी बिनासम्पादन १० वटा डिभिडि चक्का तयार पारिए । हामी तिनैजना गएर संयुक्त रूपमा ती चक्का बुबालाई उपलब्ध गराउँने सल्लाह भए पनि तीनै जनालाई एकै पटक समय मिलाउँन सकिएन । अन्ततः डा.जीवन र यमजीसँग सल्लाह गरी ती चक्का लिएर म नै बुबाको घरमा गएँ । केही चक्काहरूलाई ल्यापटपमा राखेर सर्सर्ती देखाएँ । फोटोग्राफी निकै सफासँग तयार भएको रहेछ । बुबा, आमाले सन्तोष प्रकट गर्दै हामी तीनै जनालाई धन्यवाद दिनुभयो । मैलै ती चक्का बुबाकै हातमा सुम्पिएर एक पटक पूरै हेर्न र केही सच्याउँनु पर्ने भए सुझाव दिन अनुरोध गरें । बुबाले ती चक्का सबै हेर्नुभयो कि भएन र त्यसमा उहाँको प्रतिक्रिया के रह्यो हामीबिच दोहोरो कुरा नहुँदै बुबा जानुभयो । मलाई लाग्छ ती १० वटा चक्का गायत्री आमासँग सुरक्षित हुनुपर्छ । सुरुमा खिचिएको प्रति– एनालग प्रविधिको रिल भने अहिले पनि वाचडग मिडिया प्रा.लि.सँग सुरक्षित छ ।

हाम्रो योजना यतिमै सीमित थिएन । दुराडाँडामा गएर श्रीकान्तबाको घर र बारीको छायाङ्कन गर्ने, उहाँकै अगुवाइमा खुलेका तत्कालीन १२ सदन प्रा.वि.हरू, सर्वोदय उ.मा.वि., सर्वोदय क्याम्पस, पाणिनि संस्कृत हाइस्कुलको छायाङ्कन गर्ने, २००६ सालमा पं. तोयनाथको अगुवाइमा बाहुनहरूले हलो जोतेको अर्चल्यानीको बाटेगरो लगायत पं. तोयनाथको पैतृक थलो, वि.सं.१९७२÷७३ तिरै पं. कोमलनाथ अधिकारीले विद्यार्थी बटुलेर पढाएको बेलचौतारी, हरिजनहरूका लागि अलग्गै स्कुल खोलिएको ठाउँ ढोकाथापे, टीकाराम गुरुले बरबोटमा पढाएको थलो र गुरुले नै राहुलेमा सुरु गरेको सामूहिक पुराणवाचन मञ्च रहेको थलो, खजेदुरा, द्यौबहादुर दुराका पैतृक थलाहरू, सिन्दुरे ढुङ्गा, रानी ओढार लगायतका दुराडाँडाका यावत् ऐतिहासिक प्रसङ्गसँग जोडिएका सम्पदा र ती सम्पदासँग जोडिएका स्थलहरूको छायाङ्कन गरेर त्यसलाई एक ऐतिहासिक डकुमेण्ट्रीका रूपमा तयार गर्ने योजना थियो तर यसका लागि चाहिने समय र स्रोत जुटाउँन नसकेका कारण यो काम अझै अधुरै छ । आशा छ यो काम पनि हामी सम्पन्न गर्नेछौं ।

हरेक समाज कुनै एक निश्चित कालखण्डमा निश्चित मान्छेहरूको योगदानका कारणले नै समुन्नत र सर्वमान्य भएको हुन्छ । दुराडाँडाका सम्बन्धमा पनि यो लागु भएजस्तो लाग्छ । वि.सं. १९७० देखि २०७० सम्मको यो एक शताब्दीमा दुराडाँडालाई दुराडाँडाका रूपमा चिनाउँन धेरै अगुवाहरूले अमूल्य योगदान गरेका छन् तर वर्तमानसम्म आइपुग्दा हामीले हाम्रा धेरै अग्रजहरू गुमाइसकेका छौं  । जस्तो कि– कठोर राणाशासनका बेलामा समेत हलो जोतेर सामाजिक क्रान्तिको बिगुल फुक्ने पं. तोयनाथ, दुराडाँडामा स्कुल खोल्न बर्मामा चन्दा उठाएर पठाउँने बुद्धीसागर न्यौपाने, सर्वोदय हाइस्कुलमा निःशुल्क हेडमास्टरको जिम्मेवारी निर्वाह गर्ने भीष्मकान्त अधिकारी, आफ्ना पैसाले कापी कलम किनिदिएर पढ्न हौस्याउँने यज्ञप्रसाद बाँस्तोला, सर्वोदयलाई विद्यालय सञ्चालनका लागि जग्गादान गर्ने मु. हरिभक्त पौडेल समेतका दानवीरहरू आदि, आदि । यस सूचीमा पर्ने सयौं पुर्खाहरू हुनुहुन्छ तर धेरैलाई हामीले गुमाइसक्यौं । हिजोका कुरा आजको पुस्तालाई सार्न सक्ने अग्रजहरू अब थोरै मात्र बाँकी हुनुहुन्छ । पुराना पिंढीका अनुभव र योगदानहरू नयाँ पिंढीका लागि प्रेरणाका पुञ्ज हुन् तसर्थ संभव हुन्छ भने हामीमाझ जीवित रहनुभएका अघिल्लो पुस्ताका बुबा, आमाहरूका अनुभव, ज्ञान र जानकारीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न उहाँहरूका अनुभवलाई यसरी नै छायाङ्कन गरेर राख्न सके ती सम्पदा भावी पुस्ताका लागि अमूल्य निधि हुने थिए भन्ने लाग्छ । यसमा सहमत हुनेहरू जुट्न सक्यौं र पाका, पुरानाका ज्ञान र अनुभवलाई नयाँ पुस्ताका लागि संरक्षण गर्न सक्यौं भने समाजका लागि यो एक पवित्र कर्म हुनेछ । 

के छ कुराकानी मा ?

मैले माथि नै उल्ल्ेख गरिसकेको छु कि कुराकानी मूलतः श्रीकान्तबाका भोगाइसँग नै सम्बन्धित छ । राजनीतिक, सामाजिक र शैक्षिक गरी उहाँको जीवनका मूल तीन आयामसँग केन्द्रित रहेर प्रश्न गरिएको छ र कुराकानीमा त्यसको सविस्तार वर्णन र व्याख्या छन् । कुराकानीमा हजारौं महत्त्वपूर्ण घटनाक्रमसँग जोडिएका मिहिन कुराहरू छन् । दुराडाँडाबाट काठमाण्डौ पढ्न आउँदा उहाँ कसको साथ लागेर आउनुभयो ? बनारसमा उहाँलाई कृष्णप्रसाद भट्टराईसँग भेटाइदिने को थियो ? बनारसबाट फर्केर आएपछि कसको प्रेरणाले विन्ध्यवासिनी आधार हाइस्कुलको शिक्षक हुनुभयो ? क्रान्तिमा कसरी लाग्नुभयो ? क्रान्तिका बेलामा जेलमा पर्दा कसको सान्न्ध्यि पाउँनुभएको थियो ? पोखरा र कुन्छा कब्जा कसरी गरिएको थियो ? नेपाली काँग्रेसका नेता कार्यकर्ताको गाउँसहरमा भएको भेलाले लमजुङ जिल्लाको पहिलो काँग्रेस सभापति कसलाई चुनेको थियो ? जस्ता मसिना जस्ता लाग्ने तर अर्थपूर्ण प्रसङ्गहरूसँगै सामाजिक र शैक्षिक आन्दोलनका सयौं अगुवाका योगदानका चर्चाहरू समेटिएका छन् । दश वटा डिभिडिमा दुराडाँडाको मात्र नभई समग्र मुलुकको राजनीतिक, आर्थिक, सामाजिक ,सांस्कृतिक विषयका विषद् चर्चा छन् । जातीय सद्भाव र महिला जागरणका प्रसङ्ग छन् । बेलचौतारीको पाठशाला र भाषापाठशालाको स्थापनामा पं. कोमलनाथको योगदान, धुवाउँने ठाँटीको निर्माण र त्यसको व्यापारिक महत्त्व, स्याङ्जा बर्साम्मीका पं. टीकाराम पौडेलको विद्वत्ता र दुराडाँडाको शैक्षिक विकासमा उहाँको योगदान, दुराडाँडाको हलोक्रान्ति, १४ वटा प्राइमरी स्कुलहरूको सञ्चालन र तिनमध्ये १२ वटाले पाएको स्वीकृति, दुराडाँडाको शैक्षिक विकासमा दीर्घराज कोइरालाको भूमिका, सर्वोदय मा.वि.को स्थापना, सञ्चालन र रजतजयन्ती समारोहको भव्यता, पाणिनि संस्कृत मा.वि.को स्थापना, माओवादी जनयुद्ध र शान्तिपदयात्रा, समसाययिक राजनीतिक, आर्थिक र सामाजिक विषयबारेका ऐतिहासिक जानकारी र विश्लेषणहरू यसमा समेटिएका छन् । 

हामीले श्रीकान्तबालाई यो कुराकानीको डिजिटल उत्पादन र बिक्री वितरणको व्यवस्थापन एवं त्यसबाट प्राप्त आयको उपयोगका क्षेत्र के हुनसक्छन् भनेर सोधेका थियौं । यसको उत्तरमा उहाँले आपूm समेत दुराडाँडावासी सबैको योगदानमा दुराडाँडाक्षेत्रको समग्र विकासका लागि एउटा साझा ट्रस्टको स्थापना होस्, उक्त ट्रस्टमा स्वदेश वा विदेशमा रहेका सम्पूर्ण दुराडाँडेले वार्षिक रूपमा कम्तीमा आफ्नो एक दिनको आम्दानी जम्मा गरोस् र प्रस्तुत कुराकानी समेटिएको सामग्री बिक्रीको आयबाट प्राप्त हुने रकम पनि त्यही ट्रस्टमा जम्मा होस् भन्ने पवित्र चाहना राख्नु भएको छ । 

श्रीकान्तबाको पार्थिव शरीर अस्ताए पनि उहाँ नेपालको राजनीति र खास गरीे शैक्षिक र सामाजिक जागरणको आकाशमा ध्रुवताराजस्तै अटल, अमर र अजेय हुनुहुन्छ । दुराडाँडालाई दुराडाँडाको पहिचान दिन उहाँले सिँचेको पसिना दुराडाँडाको गरा गरामा भिजेको छ । यतिबेला उहाँ गुण र दोषको सांसारिक रेखाभन्दा माथि पुग्नुभएको छ । उहाँका व्यक्तिगत दोष उहाँसँगै अस्ताएर गएका छन् तर गुणहरू आकाशगङ्गाजस्तै निर्मल र पवित्र भएर भावी पुस्ताका लागि प्रेरणापुञ्ज बनेका छन् । वार्षिक पुण्यतिथिको पावन अवसरमा श्रद्धेय श्रीकान्तबाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।



श्रीकान्त अधिकारी स्मृतिग्रन्थ,२०७० मा प्रकाशित ।


No comments:

Post a Comment