Tuesday, July 11, 2023

हजुरबाकाे कथा- ५

 

पल्टने र हराएको रहर

 

पढाइलाई बिट मारेको कथा भनिरहँदा हजुरबाको अनुहारमा विसादको बाक्लो बादल देखियो। निकैबेर केही नबोली बसिरहनु भयो। चौतारो अगाडिको तलाउमा तीन चार जोडी हाँस कहिले यता कहिले उता गर्दै कुँदिरहेका थिए। तिनका बच्चाहरु आ-आफ्ना माउलाई पछ्याइरहेका थिए। हामी बसेको चौतारी, कपुरको बोट र हामी हजुरबा नातिको छायाँ बाङ्गोटिङ्गो भएक हल्लिइरहेको थियो पानीमा।

हजुरबाले कथाको सिलसिला जोडनुभो -

पाठशाला जान छोडेपछि सुरुभयो गोठाले जिन्दगी। सुरु सुरुमा त पढन नगएकोमा पछुतो मान्थ्यो मन तर रन बनमा रमाउन थालेपछि यतै रत्तियो। बिहानभरी कहिले बालाई कहिले आमालाई सघायो, भात खाएपछि गाई, गोरु, बाख्रा चराउन लिएर हिँड्यो बस्। एकनासको थियो मेरो दैनिकी। विषुसक्राति नलागेसम्म बन, पाखा, खेत, खरबारी सब खुला हुन्थे। जुम्ली स्वाँराका फराकिला गरामा गीर खेल्यो, साधुको पाखो र बरालको पाखो चहारेर ऐसेलु, काफल, तिँदु, अँगेर खायो। पात बजायो। जाँगर लागे घोचा, साठा झिक्रा बनाएर ल्यायो। गाइगोरु बाख्रा पाठाको पछि लागेर हिडन थालेपछि तिनैसँग रमाइलो लाग्न थाल्यो। भरखर दश टेकेको केटौले उमेरमा न लक्का न धक्का थियो।

बिहान बेलुका बासँग ओखतिमूलो गर्न आउनेको हुल हुन्थ्यो घरमा। कहिले त भान्सा समेत कुर्नपर्ने। गानोगोला, कफ, वायु, लागोभागो सबैको ओखति थियो बासँग। दिउँसो खेतबारीको काममा गए पनि बिहान बेलुका भने बाले केही गर्न भ्याउनुहुन्थेन। दिदीको बिहे भइसकेको थियो। सान्नानी भरखर एक वर्ष पुगेकी थिइ। साँच्चै भन्ने हो भने एकलसरी थिइन आमा। बस्तुभाउको स्याहार सुसार र घरको काममा दाजुभाइ मिलेर सघाउँथ्यौं। तैपनि आमालाई भने सधैं भ्याइ नभ्याइ हुन्थ्यो।

केटाकेटी उमेर भनेको बडो निर्दोष उमेर हुँदो रहेछ। को आफ्नो को बिरानो सबै एकनास। अरुको सुखमा पनि रमाउन सक्ने एकदिन गोठालोबाट फर्किएपछि आमाले नरिवल र मिश्रीको टुकुरा खान दिइन्। मैले थाहापाइ हालें गाउँमा कोही लाहुरे आएछ।

'को आएछ आमा!'

'पल्टने।'

'तुलसेका बाउ?'

'अँ अँ तेरै तुलसेका बाउ।' आमाले झर्को मानेजसरी उत्तर दिइन्। गाउँमा अरु पनि थिए लाहुरे। कोही बर्मेली लाहुरे, कोही असमी, कोही कलकत्ते। जुन ठाउँमा तिनले काम गर्थे त्यही नामको पछाडि लाहुरे शब्द थप्ने चलन थियो। तर तुलसेका बाउलाई भने पल्टने भन्थे सबैले।

'कहिले आएका अरे नि आमा!'

'हिजो अरे।' अब फेरि कहिले जानीअरे भनेर नसोध मलाई।' आमा घरभित्र पसिन्।

 

दाइ आए। आमाले सुनाएको खबर खुसुक्क दाइका कानमा सुनाएँ। दाइका आँखा चमचम गर्दै चम्किए। आमाले दाइलाई पनि दिइन नरिबल र मिश्रीका टुक्रा। मैले पनि हात थापें। दाजुले नरिबलको टुकुरो किटिक्क टोकेर हात नलगाइकन ओठैले मेरा हातमा खसालिदिए। 'हेर हेर यो साने! अर्थोक दिँदा म कसैको जुठो खान्न भनेर भाले पल्टिन्छ, मीठो पाए उम्री पस्छ' आमा फिस्स हाँसिन्। आमाले मकै भुटेर राखिदिएकी रहिछन् खाजा। दौराको फेरमा खन्याएर दुवै दाजुभाइ उकालो लाग्यौँ तुलसेका घरतिर।

 

हामीभन्दा पहिल्यै पुगेका च्याण्टी, नरे, सन्ते, टोपे  जुठेल्नाको छेउमा टिनो लाएर उभिएका रहेछन्। त्यही हुलमा मिसियौँ हामी । तुलसे पनि त्यहीं मिसिएको रहेछ । नयाँ लुगा लगाएको थियो उसले। केही बोल्न पर्यो कि ठूल्ठूलो स्वरमा बोल्थ्यो। बाउको लाहुरेफूर्ति उसैमा सरेको छ जस्तो देखन्थ्यो। एक्कै छिनमा चामे, हर्के र गौंथली पनि थपिए हाम्रो हुलमा। आफू आइपुगेको जनाउ दिन हर्केले मेरो तिघ्रामा चिमोट्यो। जहिले पनि यसै गर्छ उ। तुलसेकी आमाले हामीलाई बस्न भनेर आँगनको डिलमा गुन्द्री हालिदिइन्।

 

पल्टनेको पिंढी गाउँका पाका मान्छेहरुले भरिभराउ थियो। पिंढीमा नअटाएकाहरु आँगनमै गुन्द्री हालेर बसेका थिए। एउटा डोको घोप्ट्याएर त्यसैमाथि बसेका थिए लाहुरे। खाकी रङको कमेज र पतलुङ लगाएका लाहुरे निकै खाइलाग्दा थिए। सुकिला। उनको गोरो अनुहारमा कर्कलाको पात जस्तो छत्रे टोपीको छड्के छायाँ परेको थियो।

 

पल्टनेकी आमा बूढीले ठूलामान्छे जति सबैलाई काँशका कटौरा भरी भरी चिया ल्याएर दिइन्। कचौराको बैठकलाई छोरामान्छेहरुले टोपीले समाते। आइमाइहरुले मजेत्रोको फेरले समाते। दुबै ओठ चुच्चो पारेर सुरुरप्प सुरुरप्प पार्दै चिया सुर्क्याए सबैले। कोही कोहीले बाहेक केटाकेटीलाई चिया दिदैनथे। तर स्वाद थाहा थियो। झट्ट हेर्दा तमाखुजस्तो देखिन्थ्यो चिया। पानी हालेर उमालेपछि सालको चोप रङको देखिन्थ्यो। त्यसमा जनापिच्छे एक चिलिम कक्कडजति चिनि राखेपछि त्यसको टर्रो र गुलियो स्वाद खाइरहुँ जस्तो हुन्थ्यो। गुलियो चियाको तिर्सनाले हामी केटाकेटीहरुको मुखभरी पानी भरिएर आयो। चियाको बटुको मुखमा लगे मुखमै र भुईंमा राखे भुईंमै सर्थे हाम्रा आँखा। तर हामीलाई कसले दिने चिया! बरु चिया खाँदै गरेकाहरुलाई सिगरेट बाँडे लाहुरेले।

 

'यी केटाकेटीले चोखा लाउनी भए, उम्काइदेउ त दिदी'  तुलसेको मामाले स्वाँठ्ठ सिगरेटको कस तान्यो अनि ख्वाङ् ख्वाङ् गरेर खोक्यो। 'यस्तो हुरुक्क हुञ्जेल खोकी लाग्दा पनि कस्तो खान पर्या हो यसलाई?' लाहुर्नी आमाले भाइको थाप्लैमा हात राखेर धारेहात लगाइन्। दिदीले धारे हात लगाउँदा कोल्टिएको टोपी सम्हालेर सोझ्याए मामाले।

 

'लौ हात थापओ'  सिलावरे कटौराभरी काल्ची मिश्री र नरिवलका स-साना टुक्रा लिएर हामीतिर आइन् तुलसेकी आँबोइ । र, सबैका हात हातमा राखिदिईन्।

'ल जाओ अब घर घर।' बूढी जुठेल्नानिर सम्ल्याङ सुम्लुङ गर्न थालिन्। हामी खुरुररर्र तगारातिर कुँदयौँ हामी। पाउन बेर न सकिन बेर जस्तो भयो मिश्री र नरिवल । कर्यामकुरुम पारियो, सकियो । घर जान के मान्थ्यो मन, फेरि उही आँगनको टुँडोमा पुगेर गाँड लागेर उभ्भियौँ हामीहरु।

'आँबोइ हामी नि चिया खानी!' तुलसेकी आँबोइ जुठेल्नोमै रहिछन्। बुहारीले पखालेका कचौरा घाममा सुकाउन घोप्ट्याइरहेकी। त्यही मौका छोपेर गोथेले मुख फोर्यो। खुब गरें भनेझैं सबैका मुखमा पालैपालो हेरेर नाक फुरायो गोथेले। तिलेले तिघ्रामा पाडो उठ्ने गरी चिमोटेछ। 'आत्था' भन्दै चिच्यायो गोथे।

 

'ए चिया खानी?,  एक्कै छिन पर्खओ है! एक एक कौटेरो खाउला।' बूढी गोठभित्र पसिन्।

', लाओ चिया!'  बूढी त बाँसको कप्टेरो पो ताक्दै आइन्। गुरुरु भागियो। बूढीले 'कौटेरो' भनेकी रहिछन् हामीले 'कटौरो' सुनिएछ। धन्न भेटिएन बूढीको कौटेरो।

 

'तँ बोक्सी बूढीलाई पख्' दाहिने कुमनिर नाक दलेर बूढीलाई सराप्दै अघि लाग्यो गोथे। उसैलाई पछ्याउँदै पछि लागियो अरु। सोझै तुलसेको बारीको पल्लो टुँडोमा पुग्यो हाम्रो हुल। भर्खर फूल मस्किएर चिचिला लागेका निबुवाका झुप्पा ताकेर ढुङ्गा खिर्याईयो। तुलसेलाई पनि झटारो हान्न लगायो गोथेले। 'हामी पनि कोही दिन भइएला नि लाहुरे। हामी छुट्टी आउँदा खालिस् बूढी चिया!' बूढी माथिको रिस खेपेको निबुवाको रुख रित्तै हुँदा पनि गोथे भुतभुताई रह्यो। त्यतैबाट लाखापाखा लाग्यो हाम्रो टोली।

 

एकदिन हाम्रो घरमै आए लाहुरे। कोसेली पात लिए भोलिपल्टै आएका उनी यसपटक भने बासँग गफ गर्न आएका अरे। घुमाउने चौकोमा बसेर तमाखु खाइरहनु भएको थियो बा। उनी पनि त्यहीँ बसे। लाहुरेको जीउबाट मगमग बास्ना आइरहेको थियो। हामी दाजुभाई उनैको दायाँ बायाँ बस्यौँ। आमा पनि चौकोमै आइन्। एकछिन क्षेम कुशलका कुरा भए। हामीलाई भने लाहुर र लाहुरेका कुरा सुन्ने खसखसले कुतकुत्याई रह्यो।

 

'अचेल त लडाईं छैन होला नि बाबु!' बाले हुक्का अल्लि पर सार्दै लाहुरका कुरा झिक्नुभो।

'तीन साल भयो बा, अहिले लडाईं छैन। अब नगर्ने भनेका छन्। तर गोराहरुको के भर छ र! कुन दिन  कसले झम्टिन्छ।' लाहुरेले बाको मुखतिर पुलुक्क हेरे।

 

'खै, मान्छेको मति किन यस्तो भएको हो कुन्नी। त्यत्रा मान्छे मरे भन्छन्। मान्छे मारेर जितेको देश त एक किसिमले भन्ने हो भने चिहानै हो नि! महाभारतकै तखित् भो।' बाले लामो सास फेर्नुभो।

'त्यही त' लाहुरेले बाका कुरामा सहीथापे।

'उति बेला त रमाएरै गइयो बा। जाने बित्तिकै ट्रेनिङमा हाल्यो। एक वर्षको काम तीन महिनामै सकेर लडाईंमा पठायो। किन आएछु जस्तो भो नि बा'  लाहुरेले आफू भर्ति हुँदाका दिन संझिए। आमाले एक कचौरा दूध र चारकोसा मालभोग केरा ल्याएर टक्रयाइन् लाहुरेलाई। एक-एक कोसा केरा हामी दुई दाजु भाइका हातमा राखिदिए। एउटा बालाई नै टक्र्याए। एक कोसो केरा र दूधमात्र खाए लाहुरेले।

 

'कति ठाउँमा पुग्यौ, कति जनासँग लडाईं गर्यौ। तर भगवान् कृपा र पितृको आशिर्वादले सञ्चै, सग्लै आयौ। यसैमा धन्य मान्न पर्च बाबु।'

'हो नि बा, लाहुरेले लडाईका दिन संझिए-

लडाईं भनेको बडो निर्दयी हुँदो रहेछ । लडन जाने त कि मर्छु कि मार्छु भनेर जान्छ। तर लडाईंमा जाँदै नगएका बिचरा निर्दोष मान्छेहरुलाई पनि निल्यो यसले। बूढो बाउकै अगाडि तन्नेरी छोरो काटियो। अवोध बालखाको अगाडि बाउआमा काटिए। लाहुरेको जिन्दगी उही कागजको फूलजस्तो त हो । हेर्दा झिलिक्क देखिन्छ तर न टिकाउ छ, न बास्ना। अलिकति तलमाथि भयो कि सबैथोक सिद्धियो। सधैँ बन्दूकको सिरानी।' लाहुरेले मलिनो मुख लगाए। एकछिनमा फेरि लडाईंकै सिलसिला जोडे-

'शत्रुका गोली छेक्न आफ्नै साथीको लासलाई आफूमाथि खप्ट्यएर सुतियो। तैरिएका लास पन्छाएर पानी खाइयो। बेल्जियमको जङ्गलमा त फ्रान्सका सेनालाई चटाचट काटियो नि। सुरुमा त डर लागेजस्तो हुन्थ्यो। तर एकदिन उताको एकजना सैनिकले मलाई नै ताकेर राइफल सोझ्यायो। आफ्नै अगाडि आफ्नै काल ठिङ्ग उभिएको देखेर अचानक कम्पन आयो जीउमा। थुत्त दापबाट खुकुरी झिकेर एक्कै निमेषमा छप्काइदिएँ। त्यसपछि त काली चढी हालिन् नि ! कति काटियो कति गनी साध्य भएन।' लाहुरेले आफ्नै जीउ तनक्क तन्काए। टाउको झड्कारेर यता उता मर्काए।

लाहुरेका कुरा सुनेर मलाई भने उल्टी होला जस्तो भो। कसरी मान्छेले मान्छेलाई मुला छप्काए जसरी छप्काउन सक्छ? आफैंले आफैंलाई सोधें, आङ् जिरिङ्ग भयो। अघिसम्मका मायालु लाहुरेमा दैत्यको छायाँ देखें मैले। दिगमिग मान्दै त्यहाँबाट उठेर हिँडें म। 

 

लाहुरे घर फर्किए।

'एकदिन बोलाएर सेल खान्छ कि लट्टे खान्छु भन्छ खुवाएर पठाउनु।' आदेशको शैलीमा आमालाई संझाउनु भो बाले।

'ख्वाम्ला नि बरा!' आमाले लाहुरेलाई टिठ्याइन्।

लाहुरेहरु खुकुरीको धारबाट उम्किएर आउँथे। तिनले भोगेका पीडा कसैले आत्मसात गर्न सक्दैनथ्यो। तिनको मनको पत्रमा जमेको विसाद कसैले देख्दैनथ्यो। देख्थ्यो त केवल सुकिलो र हृष्टपुष्ट जीउ। उसले ल्याउने चिनी, चिया पत्ती अनि जिरा मरिचको पोको। नयाँ कपडा र गहना। केटाकेटी उमेरमा यी कुरा बुझिएन तर अहिले त्यसको मर्म बुझेको छु। ती दिन संझन्छु-

 

लाहुरेको कोसेली नपुग्ने घर हुँदैनथ्यो गाउँमा। नजिकका दाजु- भाइ, नाता-सम्बन्ध, भर-अभरमा हेरिदिने छिमेकी, चिठी लेखिदिने-पढिदिने मान्छे,जिम्मल, मुखियाको घरमा लाहुरेहरु  आफैँ पुग्थे कोसेली बोकेर। मान्छे हेरी कम्मल, जर्सी, उनीको टोपी, डम्मरकुमारीको खास्टोसमेत हुन्थ्यो कोशेलीमा। देउता रिसाउँदा बरु गच्छे अनुसारको पूजाआजाले खुसी हुँदा हुन् तर जिम्मल, मुखिया रिसाउँदा उठीबास लगाइदिने डर हुन्थ्यो। अनेक जाल झेल जानेका थिए तिनले । गौडा गोश्वाराले तिनकै कुरा सुन्थ्यो, अमिनीमा तिनकै कुरा बिक्थ्यो। त्यसैले तिनलाई ल्याईदिने कोसेली पनि अरुको भन्दा भिन्दै हुन्थ्यो। लाहुरेले ल्याएका गतिला चिजबिज घुमाइ फिराइ आफ्नै हात पार्थे ठूलाठालूले।

 

लाहुरेहरुको सान, सौकात देख्दा लाहुरे हुन पाए भन्ने नलागेको हैन। तर पल्टने दाइका कुरा सुनेपछि पल्टने लाहुरे हुने मोह चाहिं टुट्यो। उसमाथि पढन जान्छु भन्दा त पिलपिल गर्ने बा आमाले पल्टने हुन जान दिने कुरै थिएन। बाहुनचरीको जीउ पल्टने हुने खालको पनि थिएन। यो यो जातकालाई मात्रै भर्ती गर्नु भन्ने सनद थियव भन्थे। भर्ती नै भए पनि क्षेत्री भनेर ढाँटेर हुनपर्थ्यो। त्यसैले पल्टनेको जागीरतिर लवभ लागेन मलाई। बरु सरकारी जागिरले भने लोभ्याएकै हो मलाई। टाउकामा सेतो पगरी गुथेका, चाँद, तोडा र कल्की लगाएका सरकारी हाकिमहरु परेवाडाँडा तहसिलबाट तिरो उठाउन भनेर घोडा चढेर आउँथे। हाम्रो गाउँमा । अघिपछि हतियार भिरेका सैनिक हुन्थे। गाउँका ठूला,ठालू भनिने जिम्मलहरु समेत तिनका अगाडि रुझेको बिरालाझैँ म्याउ म्याउ गरेर अघिपछि लाग्थे। चार पाँच दिनसम्म बसेर जिम्मलहरुले उठाएको तिरो बोकेर फर्किन्थे हाकिम। त्यस्तै हुनपाए भनेर कल्पिन्थ्यो मनले। फररररर्र भागवत् भन्न सक्ने र सबैले बुझ्ने गरी अर्थ लगाउन सक्ने पण्डित देख्दा पनि लोभिन्थ्यो मन।

 

कल्पिनु र प्राप्त हुनुमा आकास जमिनको फरक रहेछ। विवेक हुँदैन भनिने गाइबस्तु त सजिलो गोठमा बस्न रमाउँछन्। घाँस, कुँडो मीठो खोज्छन्। हामी त मान्छे। सकेसम्म मीठो खाउँ र राम्रै लाउँ भन्ने चाहना हुने नै भो। बाउ आमा र जहान केटाकेटीलाई सुख सुविस्ता दिउँ भन्ने रहर लाग्ने नै भो। तर सबै रहर पुग्दारहेनछन्, पुगेनन्। तैपनि पुग्लान कि भन्ने रहरै रहर र आसैआसमा बाङ्गो टिङ्गो गोरेटोमा हिंडिरहदो रहेछ मान्छे। जसरी अरुहरु हिँडे म पनि उसैगरी हिंडिरहें। हिंडिरहें।

Saturday, July 1, 2023

गुरुकुल आश्रमको पुनरुद्धार र पुनर्जागरणको झिल्को

 

दुराडाँडामा एक संस्कृत उच्च पाठशाला खोल्नुपर्छ भन्ने बोध यहाँका अगुवाहरूलाई वि.सं.२०१४ सालमै भएको थियो। श्रीकान्त अधिकारीको अध्यक्षतामा रहेको स्कुल सञ्चालक समिति लमजुङले जिल्लाभरमा सञ्चालनमा रहेका विभिन्न विद्यालयलाई पुनर्गठन गरी कहाँ कहाँ विस्तार गर्न आवश्यक छ भन्ने खुलाई धुवाउने ठाँटीमा संस्कृत उच्च पाठशाला स्थापनाको लागि स्कुल पुनर्गठन जाँच समितिका सदस्यलाई सुझाव दिएको थियो (अन्नपूर्णको काख,२०१५, सर्वौदय हाइस्कुल) । तर त्यतिबेला संस्कृत पाठशाला खुलेन। दुराडाँडेहरुको यो चाहना पूरा हुन १२ वर्ष लाग्यो। दुराडाँडामा संस्कृत पाठशाला स्थापनाको पृष्ठभूमि र यसलाई मूर्तरुप दिन अग्रजहरुले गरेका मेहनत बडो लोमहर्षक छन् ।

 

खुदीका बद्रीनाथ सुवेदी ख्यातानामा संस्कृतज्ञ, विद्वान हुनुहुन्थ्यो। नेपाली भाषा र संस्कृतिको मूलाधार संस्कृत नै भएकोले यो समृद्ध हुनुपर्छ भन्ने उहाँको मान्यता थियो। वि.सं. २०२४ को पूर्वार्धमा त्यहाँ सञ्चालनमा रहेको संस्कृत पाठशाला (महेन्द्रोदय नि.मा.वि.) लाई संस्कृत मा.वि. बनाउने कि नयाँ अङ्ग्रेजी माध्यमिक विद्यालय खोल्ने भन्नेबारे त्यस क्षेत्रका शिक्षित वौद्धिक वर्गबीच तीव्र विवाद भयो। गुरुले अङ्ग्रेजी विद्यालय खोल्न हुँदैन, नि.मा.वि.लाई नै मा.वि.मा स्तरोन्नति गर्नुपर्छ भन्ने अडान राख्नु भयो। तर नयाँ शिक्षाको चमक धमकका अगाडि उहाँ अल्पमतमा पर्नुभो। उहाँसँगै संस्कृत पढेर ज्ञानचक्षु उघारेकाहरुले समेत संस्कृतको घोर बिरोध गरे। उहाँलाई हतोत्साहित गरे। अङ्ग्रेजी भाषा पढाइ हुने अमर मा.वि. खुल्यो। नि.मा.वि.मा पढाइरहेका राम्रा शिक्षक र पढिरहेका राम्रा  विद्यार्थीहरु मा.वि. तिर सरे। यहाँ आएका शिक्षकहरुले विद्यार्थीहरु उतै ताने, तानिए। नयाँ शिक्षाको चमकले सबैलाई तान्यो, संस्कृत शिक्षालाई हेयभावले हेर्नथाले। आफूले पुर्याएको योगदानको अवमूल्यन भएको महसुस गर्नुभो गुरुले (कृष्णचन्द्र सुवेदी,पण्डित बद्रीनाथ सुवेदी स्मृतिग्रन्थ,२०७२)

पाठशाला जेनतेन चल्दै थियो। मानिसहरुमा जागेको नयाँ शिक्षाको भोकले संस्कृत शिक्षाप्रति चर्को वितृष्णा जन्माइदिएको थियो। तिनको बोली र व्यवहारमा संस्कृतप्रति उपेक्षाभाव प्रकट हुन्थ्यो। गुरुलाई यो अवस्था असैह्य भइरहेको थियो। बाहुनडाँडाबाट पाँच कक्षा पढेर छ कक्षामा पढन २०२६ सालमा खुदी आएका र त्यही नि.मा.वि.मा गुरुसँग पढेका कृष्णचन्द्र घिमिरेले माथि उल्लिखत स्मृति ग्रन्थमा लेख्छन्- '...उहाँले संस्कृत नि.मा.वि.लाई मा.वि.मा रुपान्तरण गर्ने घोषणा गर्नुभयो। हामीले सरस्वती पूजाकासाथ अमलाको नैवेद्य बाँडेर मा.वि. घोषणाको कार्यक्रममा सघायौँ। तर स्थानीय र अन्य समुदायको सँगसँगै सुवेदी परिवारका केही सदस्यहरुको यथेष्ट सहयोग नपाएपछि यो प्रयास सार्थक हुन सकेन।'

संस्कृत र संस्कृतिको विनाश हुन आँटेको देखेपछि उहाँले गुहार माग्ने ठाउँ खोज्नु भयो। र, यसको लागि शिक्षाको उर्वरभूमि दुराडाँडालाई रोज्नुभयो। उहाँले शैक्षिक अभियन्ता एवम् राजनीतिज्ञ श्रीकान्त अधिकारीमा यो आँट, भरोसा र क्षमता देखेकोले  चिठी नै लेखेर अनुरोध गर्नु भो। दुराडाँडाको भाषा पाठशालाका पण्डित तीर्थराज अधिकारी (जलुकेनी) मार्फत बद्री गुरुले पठाएको चिठी श्रीकान्त अधिकारीको हात पर्यो। जम्मा चार पङ्तिमा संस्कृत भाषामा लेखिएको थियो त्यो चिठी। 'त्यसमा लेखिएका प्रत्येक शब्द मर्मस्पर्शी थिए। तर, त्यो चिठी कता पर्यो कता' चिठी हराएकोमा बडो पछुतो थियो श्रीकान्तलाई (श्रीकान्त अधिकारीसँगको कुराकानी)। गुरुले लेख्नु भएको चिठीको सार भने 'तपाईं अगाडि सर्नुहोस् दुराडाँडाले यो काम गर्न सक्छ। संस्कृत माध्यमिक विद्यालय खुलोस्। म स्वयम् सेवक शिक्षक भएर त्यहीँ आउँछु' भन्ने थियो।

बद्री गुरुको अनुरोधले श्रीकान्तको हृदयलाई भित्रैसम्म छोयो । उहाँकै शब्दमा यो सामान्य चिठी थिएन 'एकजना संस्कृतज्ञ विद्वानबाट संस्कृत वाङ्मय जोगाउन दुराडाँडेहरूलाई गरिएको पुकारपत्र' थियो। त्यो पुकारपत्रलाई बृहत् जनभेलामा राखियो। भेलामा सर्वोदय मा.वि. रहेको भवनमा नै तल संस्कृत र माथि साधारण विषय पढाउने कि भन्ने प्रस्ताव पनि आयो। तर श्रीकान्तले पाठशालालाई अल्लि बृहतरुपमा र आश्रमी ढाँचामा सञ्चालन गर्न एवम् दुराडाँडाको लगभग मध्य भागमा जस्तै पर्ने, आवश्यक जग्गा पाउन सकिने अवस्था भएको र जोगीको मढी पनि रहेको कीर्तिपुरमा सञ्चालन गर्न कसो होला भनेर राय माग्नुभो। श्रीकान्तको यो प्रस्तावलाई भेलाले एकमतले  समर्थन जनायो। र, थप काम अघि बढाउन उहाँलाई नै अनुरोध गर्यो।

श्रीकान्तले सबैको सुझाव लिएर आश्रमको खाका बनाउनु भयो। सनातन धर्म सेवा संघ गुरुकुल आश्रम नामक संस्था गठन गरी आश्रमको अङ्गको रुपमा संस्कृत मा.वि., छात्रावास, यज्ञशाला, पुराण वाचन मञ्च, हवन कुण्ड वाचनालय, पुस्तकालय, औषधालय, उद्यान, गौशाला सहितको सुरम्य आश्रम। यो खाका सर्वसम्मतले अनुमोदन भयो। यसको निर्माणका लागि मन, वचन र कर्मले सबै जुटे। श्रीकान्त अधिकारीका अनुसार 'जन जनमा पुगेर आह्वान गर्न र चन्दा उठाउन (भिक्षा माग्न) ऋषितुल्य अग्रजहरू रहेको सप्तर्षि मण्डल गठन गरियो । मण्डलको अध्यक्ष लेप्टेन शेषकान्त अधिकारी   उपाध्यक्ष मुखिया हरिभक्त पौडेल हुनुहुन्थ्यो। सदस्यहरुमा टीकादत्त तिमल्सेना, यदुनाथ अधिकारी, तीर्थराज अधिकारी, काशिनाथ अधिकारी र भद्रकाली अधिकारी हुनुहुन्थ्यो। यो अभियानमा आमाहरुलाई दाताकोरुपमा बरण गरियो। सुरुमा १०८ जना आमाहरु वरण हुनुभो। सप्तर्षीहरुले दैलो दैलोमा गएर भिक्षा माग्ने र आमाहरुले रु.१०८।०० का दरले भिक्षा दिने गर्नुभो। पछि यस्ता आमाहरुको सङ्ख्या थपिदै गयो। जतिजना भए पनि यी आमाहरुलाई एकसय आठ आमा भन्न थालियो। यही पहिचान स्थापित भयो।

गुरु र विद्यार्थीहरूका लागि धमाधम पर्णकुटीहरु निर्माण गरिए। २०२६ सालको मंसिर २४ गते विश्व मानव अधिकार दिवसको दिन पारेर ऐतिहासिक थलो कीर्तिपुरगढी (धुसेनी गापं) मा गुरुकुल आश्रम खुल्यो। आश्रमकै अङ्गकोरुपमा 'पाणिनि संस्कृत माध्यमिक विद्यालय'  अर्थात 'पाठशाला' आरम्भ भयो। सभापतिको जिम्मेवारी तत्कालिन धुसेनी गाउँपञ्चायतका प्रधानपञ्च धीर बहादुर अधिकारीले सम्हाल्नुभो। देवतापानीका कृष्णप्रसाद न्यौपानेलाई सचिवको जिम्मेवारी सम्हाल्न आग्रह गर्दा आफू बिरामी रहेकोले 'सक्दिन की' भने पनि श्रीकान्त अधिकारीले 'म सहयोग गर्छु' भनेर राजी गराउनुभो। तदनुरुप सचिवकै हैसियतमा बसेर सहयोग पनि गर्नुभो। उमानाथ कोइराला, हृदयनाथ कोइराला (कोइरालाफाँट), नन्दनिधि अधिकारी, तीर्थराज अधिकारी, काशिनाथ अधिकारी, भद्रकाली अधिकारी (जलुकेनी) लाई स्वयमसेवक शिक्षक नियुक्त गरियो। पुराण वाचन, हवनको प्रबन्ध गरियो। गौशाला सञ्चालनमा आयो। नैमत्यिक पूजाआजा, यज्ञ अनुष्ठान र शङ्ख, घण्टको ध्वनीले ऐतिहासिक कीर्तिपुर गढी पुनः ब्यूँझियो।

आफ्नो आग्रह अनुरुप दुराडाँडामा संस्कृत पाठशाला खोल्न भएका सबै गतिविधिबारे पूर्ण जानकार हुनुहुन्थ्यो बद्री गुरु। '२०२६ सालतिर उहाँले एकदिन हामीलाई अगाडि राखेर भन्नु भएको थियो- ' म अब यहाँ बस्दिन। दुराडाँडा जान्छु।...तिमीहरुलाई संस्कृतको विद्वान बनाउने मेरो सपना छ। तिमीहरु मसँगै हिँड। तिमीहरुलाई म त्यहीँ पढाउने छु।'  त्यसको भोलिपल्टदेखि उहाँ स्कुल आउनु भएन। उहाँले खोल्नुभएको महेन्द्रोदय नि.मा.वि.को विधिवत अवसान भयो।' (सुदर्शन सुवेदी,पण्डित बद्रीनाथ सुवेदी स्मृति ग्रन्थ,२०७२) । आफ्नो वचन अनुरूप बद्रिनाथ गुरु दुराडाँडा आउनु भयो। खुदीको संस्कृत पाठशाला आफ्नै आँखा अगाडि उखेलिएको कारण आहत भएको गुरुको हृदयलाई दुराडाँडामा सुरु भएको संस्कृत शिक्षाको पठन पाठनले पुलकित बनायो। आश्रमप्रति बद्री गुरुको समर्पण यति गहिरो थियो कि उहाँ यसमै चुर्लुम्म डुब्नु भएको थियो। गुरुका भाञ्जीका छोरा चन्द्रमणि अधिकारीले संझिनुहुन्छ, ' हजुरबा दुराडाँडा आएर हाम्रो घरमा बस्नु भो। खुदीमा घर सम्हाल्ने भरपर्दो मान्छे भएन। मेरी आमा उता जानु भो। बद्री हजुरबाको सेवा गर्दै उहाँकै संरक्षणमा विद्यार्जन गरेको हुँ मैले। मेरी आमाको हृदयमा आफ्ना मामाप्रति यति धेरै श्रद्द्धा थियो कि उहाँले मेरो नाम नै बद्री राख्नु भएको थियो।' मामा-भाञ्जीको विद्याव्यसनप्रतिको यो समर्पणलाई कुन शब्दले व्याख्या गर्न सकिएला र ! आश्रमको सञ्चालनमा दुराडाँडाका साधारण गृहस्थहरूको समेत कति असाधारण समर्पण थियो भन्ने थाहा पाउन यो एक उदाहरण नै काफी छ।

उहाँ यहिं रमाउनुभो। फेरि फर्किएर खुदी जानु भएन। आफ्नो योगदानको अवमूल्यन भएका कारण मन दुःखेको थियो। सायद दुःखेको मन लिएर जान मन लागेन। दुराडाँडामा बसेर विद्यादान गरिरहेकै बेला बिरामी परी २०२८ साल फागुनमा उपचारार्थ काठमाडौँ जानुभो गुरु। निको भएर फर्किनुहोला र आश्रमलाई फेरि सम्हाल्नु होला भन्ने दुराडाँडेको आशामाथि दैवले तुषारापात गरिदियो। त्यही वर्षको चैत २ गते गुरु परलोक हुनुभो। दुराडाँडालाई अपूरणीय क्षति भयो। तर संस्कृत पठनपाठनको अभियान अगाडि बढनु नै थियो, बढ्यो। आफ्ना आदिगुरु पण्डित बद्रीनाथ सुवेदीको सम्मानमा पर्णकुटीकै भएपनि गुरुकुल आश्रमको छात्रावासको नामकरण गरियो 'बद्री छात्राबास'

आश्रम र विशेषतः पाठशाला सञ्चालनको लागि स्थापना कालदेखि नै दुराडाँडामा मुठी दान अभियान चलाइयो। भैलो खेलियो। टाढा टाढा पुगेर सहयोग जुटाउन 'चतुर्वाहु सेना'  परिचालन गरिए। यिनले कास्की, तनहुँ र मनाङसम्म पुगेर सहयोग जुटाएका छन् (श्रीकान्त अधिकारी)। विद्यार्थीहरुले शिवालयहरुमा गएर रुद्री पाठ गरेर सिदा बटुले। यसरी भरथेग गर्दै अगाडि बढ्यो स्कुल।

यती ठूलो संरचना सामान्य गृहस्थहरुको भकारी उभाएर कतिदिन थेग्ने?  नयाँ शिक्षाको लहरका कारण संस्कृत शिक्षाका विरोधीहरु बढेका थिए। जस्तै 'जुम्सो' लाई पनि संस्कृत शिक्षालाई गाली गरेर खोचे थाप्न पारङ्गत बनाएको थियो। सरकारी सहुलियत वा सहयोग प्राप्त हुन सकेको थिएन। दुराडाँडाबाट पाणिनिलाई 'उखेल्न' त्यतिबेलाका शिक्षा अधिकारी स्वयम् लागेका थिए। पाणिनिमा लामो समय शिक्षण गर्नुभएका इश्वरीप्रसाद अधिकारीले संझिनु भयो- 'धुसेनीमा एक निम्न माध्मिक विद्यालय स्थापना गर्ने पहलका लागि २०३० सालमा म, दामोदर अधिकारी र गौतम न्यौपाने शिक्षा कार्यालयमा जाँदा त्यति बेलाका शिक्षा अधिकारीले 'किन नि.मा.वि. मात्रै भन्नु हुन्छ तपाइहरुकै पञ्चायतको छेउमा खुलेको पाणिनि स्कुल नै आफ्नो गाउँमा लैजान पाउँ भनेर त्यताका मानिसको मागपत्र राखेर दरखास्त हाल्नुहोस् तपाईहरुकोमा मा.वि. नै खोल्नुहोस् न भनेर' संस्कृत शिक्षा र पाणिनिप्रतिको आफ्नो तुष पोखेका थिए।'

पहिला धुसेनी पञ्चायतमा पर्ने कीर्तिपुर गढी चन्द्रेश्वर पञ्चायतमा परेपछि त यसका विरोधीहरुले अर्को मसला पाएका थिए, 'एकै पञ्चायतमा दुई दुई वटा हाइस्कुल !!??' प्रशासनले बेलाबेलामा यही निहुँ झिकेर खोचे थाप्थ्यो।

संवत् २०३१ सालमा पाणिनि संस्कृत मा.वि.ले सरकारबाट स्थायी  स्वीकृति प्राप्त गर्यो। यसको पनि लामो कथा छ। त्यति बेलाका लमजुङका शिक्षा अधिकारी जो आफैं 'शास्त्री' थिए उनी संस्कृत शिक्षाप्रति निकै अनुदार रहेछन्। एकपटक पाणिनिको निरीक्षणमा आएछन् ती। र, उही 'एकै पञ्चायतमा दुई दुई वटा हाइस्कुल ?' भन्दै थर्काएछन्। विद्यालयप्रति नकारात्मक कुरा मात्रै गरेर गएछन् शिक्षा अधिकारी। उनका कुरा सुनेका शिक्षक र अगुवाहरुलाई 'अब स्कुल जाने भयो' भन्ने लागेछ। स्कुलका सभापति भद्रकाली अधिकारी श्रीकान्तलाई यो कुरो सुनाउन दिन-रात पैदलै हिँडेर काठमाडौँ पुग्नुभयो। भद्रकालीका कुराले उहालाई गम्भीर बनायो। श्रीकान्त त्यतिबेला राष्ट्रिय पञ्चायत सदस्य हुनुहुन्थ्यो। यो कुरा उहाँले तत्कालिन शिक्षामन्त्री कृष्णराज अर्याललाई राख्नु भो। संस्कृत र संस्कृति नै रहेन भने मुकुट कहाँ रहन्छ भन्ने ढङ्गले कुरा भो। 'तपाइले यो कुरा पार्लियामेण्टमा उठाउनोस् । म अवसर मिलाएर राजालाई विन्ति गर्नेछु। र, सकेसम्म तपाइहरुको अभियानलाई सहयोग गर्नेछु भनेछन् मन्त्रीले। श्रीकान्तले अरु एक-दुईजना प्रखर वक्ता पनि खोज्नुभो। डा.के.आइ. सिंह र जयतु संस्कृतम् आन्दोलनका नेता समेत रहेका गोकर्णराज शास्त्री। हाउस बस्ने दिन, हाउसको ‌औपचारिक प्रारम्भपूर्व नै संस्कृत शिक्षाको कुरा उठाइयो। सल्लाह मुताविक के. आइ. सिंह बोल्न तम्सिइ हाले। ' उनले टोपी फुकालेर हातमा लिए। श्रीपेचको प्रतीक बनाए।र, बोले, यसलाई संस्कृत र संस्कृतिले जोगाएको छ। संस्कृत नै रहेन भने यसलाई कहाँ राख्ने ? जनताले संस्कृत र संस्कृति उठाउन खोज्ने सरकार र उसका संस्था त्यसलाई फाल्न खोज्ने? खबरदार!' भनेर धुँवादार रुपमा बोलेछन् । गोकर्णराजले पनि त्यस्तै कडा बोले। संयोगबस राजासँग शिक्षामन्त्रीको त्यही दिन भेट भएछ। उनले राजालाई सदनमा उठेको कुरा जाहेर गरे। राजा वीरेन्द्रबाट 'तुरुन्त स्वीकृति दिनु र सबै सहयोग पुर्याउनु' भन्ने 'हुकुम' भएछ। यसरी विद्यालयले स्वीकृति पायो। पञ्चायत मन्त्री दामोदर शमसेर थिए। उनले पाटनको दरबारका टिन यहाँबाट ढुवानी गरेर पठाउने बन्दोबस्त मिलाइदिए। पाणिनि स्कुल तिनै टिनले छाइयो (श्रीकान्त अधिकारीसँगको कुराकानी)

स्थायी स्वीकृति पाएपछि विद्यालय सञ्चालन गर्न केही सहज त भयो तर विद्यार्थी सङ्ख्याको न्यूनताको कारण अनेक झण्झटहरू भने व्यहोरी रह्यो।राम्रा विद्यर्थी तान्ने र तानिने चक्र यहाँ पनि घुमिरह्यो। त्यतिबेलाको जल्दोबल्दो सर्वोदयको अगाडि पाणिनि 'निरिह' देखिइरह्यो। विद्यालयका पूर्वशिक्षक गणेशप्रसाद न्यौपाने भन्नुहुन्छ 'विद्यालयले सधैं अपहेलित भएको अनुभव गरिरह्यो। तर जे जस्ता सङ्कट परेपनि टार्दै गइयो। माथिल्लो स्कुलका राम्रा शिक्षकलाई दुवैतिर पढाउन लगाएर पनि धानियो। राष्ट्रिय विकास सेवा कार्यक्रम अन्तर्गत आएका गोविन्द नेपाल, रामेश्वर दाहाल जस्ता युवाको जोश जाँगरले ठूलो सघाउ पुग्यो। आफू सधैँ कृशकाय गौमाता जस्तै रहेर पनि सयौं मेधावी छात्रछात्रालाई गोरसरूपी अमृतमय विद्यादान मार्फत जीवनको विशाल राजमार्गमा पुर्याइदिएको छ पाणिनिले।'  गणेश न्यौपानेले भने जस्तै पाणिनिका उपजहरु जसले आफूलाई उच्चशिक्षा प्राप्त गर्ने बाटोमा हिँडाउनु भयो सबैजनाले आफूलाई स्वनामधन्य विद्वानको ठाउँमा उभ्याउन सफल हुनु भएको छ। पाणिनिले सिकाएको ज्ञान र देखाएको मार्गको लागि कृत्य कृत्य छौँ भन्नुहुन्छ यसै विद्यालयका उपज प्रा.डा. जीवन अधिकारी एवम् समाज कल्याण परिषदका पूर्वनिर्देशक (सहसचिव) चन्द्रमणि अधिकारी।

पाणिनिले आफ्नो स्थापना कालदेखि निरन्तर संस्कृत वाङ्मयको सेवाका साथै सनातन धर्म, परम्पराको प्रचलन र रक्षामा आफूलाई समर्पित गर्दै आइरहेको छ। मानिसहरूका हृदयमा अध्यात्मको उज्यालो ज्योति बालेको छ। यति गर्दा गर्दै पनि विद्यालयमा संस्कृत शिक्षा पढाएको आरोपमा द्वन्द्वकालको बेला आफ्नो प्रधानाध्यापक मुक्तिनाथ अधिकारीको बर्बर हत्याको पीडालाई खेपेको छ पाणिनिले।

उसै त थोरै विद्यार्थी लिएर चलिरहेको विद्यालय, पछिल्लो समयमा बढेको बसाइ सराइले गाउँहरू नराम्ररी प्रभावित भएपछि गउँका विद्यालयमा पढने छात्रछात्राको सङ्ख्या पातलिदै गइरहेको छ। यो प्रभावबाट पाणिनि अछुतो रहने कुरै भएन। विभिन्न कारणले यसको माउ संस्था  गुरुकुल आश्रम र पाणिनि दुवै निरन्तर ओरालो हिंडन थालेको धेरै भइसक्यो।

'संस्कृत वाङ्मयको संवद्र्धन र सनातन धर्म, परम्पराको रक्षार्थ अग्रजहरूले जुन सपना देखेर यो धरोहर उभ्याए त्यसलाई बचाउनु पर्ने दायित्व अहिलेको पुस्ताको काँधमा आइपुगेको छ' भन्छन् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष अमृत न्यौपाने। सबैभन्दा ठूलो चुनौती थियो विद्यार्थीको अभाव। २०७७ सालको हिउँदमा तत्कालिन प्रधानाध्यापक देवीप्रसाद सेढाईं र आश्रमका सचिव श्रीप्रसाद अधिकारी विद्यार्थी खोज्न भनेर कर्णाली अञ्चलका हुम्ला र मुगुका गाउँ चहार्दै हिँडे। उनीहरूलाई यो उपाय सुझाउनुको साथै आवश्यक सहजीकरण गरेका थिए लामो समय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्दा कर्णालीका गाउँ गाउँ चहारेका स्थानीय बलराम न्यौपानेले। यी विकट गाउँमा 'हामी तिम्रा छोराछोरी हाम्रै खर्चमा पढाइदिन्छौँ' भन्दै आउनेहरूसँग पटक पटक तर्सिएका गाउँलेहरूले यसपटक पनि शङ्का गरे। बडो गाह्रो मानेर मञ्जुरी जनाए। पहिलो पटक छ जना विद्यार्थी लिएर आए उनीहरु। विद्यार्थी सङ्ख्या न्यूनको न्यून नै रह्यो। पोहोर अर्थात २०७८ सालको हिउँदामा वडाध्यक्ष आफैँ र आश्रमका सचिव फेरि कर्णाली पसे। आफ्ना केटाकेटी लैजाने ठाउँ कहाँ हो ? आफूहरु पनि हेर्न जान्छौँ भन्ने शर्त राखे। उनीहरूको शर्त विनाशर्त मञ्जुर गरी अभिभावक मुगुको खत्याड गाउँपालिकाका हरिलाल घोडासैनीको साथमा सत्रजना केटाकेटीहरु लिएर आए न्यौपाने र अधिकारी दाजुभाइले।

पढने अवसर पाएकोमा केटाकेटी खुसी छन्। आश्रमको छात्रावासमा बसेर आफ्ना केटाकेटीले पढेको देखेर अभिभावक दङ्ग छन्। पछिल्लो पटक त अभिभावकहरु आफैँ केटाकेटी पुर्याउन आउन थालेका छन्। भर्खरै आफ्नै अभिभावकले लिएर आएका दुईजना केटाकेटी थपिएका छन् । लमजुङकै अन्य क्षेत्रबाट पनि विद्यार्थी आउने क्रम सुरु भएको छ। विद्यालयमा विद्यार्थी सङ्ख्या ह्वात्तै बढेर ४८ जना पुगेको छ। यसबाट युवाहरूलाई साथ दिदै आएका पुराना पुस्ताका समाजसेवीहरू पनि हौसिएका छन्। 'तपाईहरूले साथ दिनुहोस् हामी थाप्छौँ काँध' श्रीकान्त अधिकारीसँग सँगसँगै हिँडेका पाका पुस्ताका पूर्णभद्र न्यौपानेले हामीसँगको भेटमा बडो जोशीलो पारामा आफ्नै काँध थपथपाउनु भयो। दृढ साहसी न्यौपानेसँगै जुटनु भएको छ सहृदयी पूर्वशिक्षक हरिकृष्ण न्यौपाने लगायतका स्थानीय समाजसेवी, अगुवा एवम् राजनीतिक व्यक्तित्वहरु। युवा र पाका दुवै पुस्ताको हृदयमा यो बाङ्मय धरोहरलाई जोगाउन चाहिने समर्पणको लागि तत्परता र दृढता देखिएको छ।

२०७९ सालको मङ्सिर २४ गते पाणिनि संस्कृत मा.वि. र गुरुकुल आश्रमको वार्षिकोत्सव सम्पन्न भएको छ। त्यही दिन सुरु गरिएको श्रीमद्भागवत् सप्ताह पुराणको साङ्गे भएको छ। पुराणबाट केही स्रोत जुटेको पनि छ। नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष डा.दीपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न यो वार्षिकोत्सवले पाणिनि र आश्रमलाई फाउण्डेशनसँग जोडिने अवसर प्राप्त भएको छ। अहिले फाउण्डेशनले एकजना ध्यान शिक्षकलाई ६ महिना लामो तालिम दिएर पठाएको छ। ध्यान शिक्षकको तलब फाउण्डेशनले नै उपलब्ध गराउँछ। आश्रमलाई आत्मनिर्भर बनाउँदै लैजान सहयोग पुगोस् भन्ने उद्लेश्यले फाउण्डेशनले आफू, सुन्दरबजार नगरपालिका,  नगरपालिकाको ३ नं वडा र दुराडाँडा सेवा समाज तथा दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको सहकार्यमा आश्रम केन्द्रित वैदिक कृषि कार्यक्रमको प्रस्ताव गरेको छ।

गुरुकुल आश्रम र विद्यालयको सञ्चालनमा विभिन्न संघ सस्थहरूले आफ्नो मुठी फुकाएका छन्। यस सिलसिलामा दूरद्रष्टा श्रीकान्त अधिकारी फाउण्डेशनले प्रत्येक वर्ष ५१,१०८।सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। त्यसैगरी ब्रम्हलाल न्यौपानेको स्मृतिमा उहाँका सन्ततिहरूद्वारा सञ्चालित ब्रह्म स्मृति समाजको तर्फबाट एकलाख रुपैँया प्रदान भएको छ। दाताहरुले आफ्ना पितृको स्मरणमा वा विबाह,ब्रतबन्धादि शुभकर्म हुँदा गुरुकुल आश्रमलाई संझिन थालेका छन्। आश्रम सञ्चालनको लागि सहयोगको नयाँ नयाँ ढोका उघ्रिएका छन्।

'मानिसहरूमा देखिएको उत्साह र महर्षि वैदक फाउण्डेशनसँगको संलग्नता, दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानबाट वार्षिक रुपमा प्राप्त हुने सहयोग, अरु विभिन्न संघ संस्था र व्यक्तिहरूले देखाएको अपनत्व, स्थानीय सरकारको साथले अधमरो भइसकेका आश्रम र पाणिनि संस्कृत मा.वि.को लागि सञ्जिवनीको काम गरेको र यसले गुरुकुल बचाउ अभियानमा पुनर्जागरण ल्याएको छ' पाणिनिका उपज एवम् राजनीतिक व्यक्तित्व रामबाबु अधिकारीले बडो प्रसन्न मुद्रमा आफ्नो सन्तुष्टि प्रकट गर्नुभयो।

गुरुकुल आश्रम र पाणिनिको पुनर्जीवनका लागि भएका नवीन प्रयासहरु सह्राहनीय छन् भन्दै पूर्वशिक्षक इश्वरीप्रसाद अधिकारी सुझाउनु हुन्छ 'स्थापना कालदेखि यहाँसम्म आउँदा पाणिनिले तय गरेको यात्रा बृत्तान्तको यथार्थ अभिलेख रहनु नित्तान्त आवश्यक छ। विद्यालयको रजत जयन्तिको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई उहाँहरुको योगदान अनुसार कसैलाई ग्राम पिता, कसैलाई धर्मप्राण, कसैलाई पौराणिक गुरु भनेर सम्मान गरिएको थियो। विद्यालयको पहिलो भवन निर्माण गर्दा अनवरत ढुङ्गो-माटोमा खेलेका छहरेपानीका नन्दप्रसाद न्यौपानेलाई उतिबेलै 'श्रमदेव' को सम्मान दिइएको थियो। विद्यालय सञ्चालनको लागि खर्च जुटाउन भनेर अनेक उपाय गरिएका छन् । सप्तर्षि मण्डलका बाहरुले दैलो दैलोमा गएर झोली थापेर भिक्षा माग्ने अनि बाहरुले थापेका झोलीमा आमाहरुले सिदा र एकसय आठ रुपैयाँ दान गर्नु भएको छ। सबै ठाउँमा यसो गर्न सम्भव भएन होला तर एक सय आठ आमाको अवधारणालाई यसरी कार्यरुपमा रुपान्तरण गरिएको थियो। अहिलेको पुस्तालाई यो कुरा तिलश्मी लाग्न सक्छन् तर यो यथार्थ हो। तसर्थ यी यथार्थको यथार्थ अभिलेख राख्नु आवश्यक छ। यसको स्थापना र सञ्चालनमा भूमिका खेलेका व्यक्तित्वहरुको सोच र समर्पणकै कारण पाणिनि यहाँ आइपुगेको  कुरालाई कसैले पनि बिसर्नु हुँदैन।'

इश्वरीप्रसाद अधिकारीका यी सुझाव ज्यादै गहन र मननीय छन्। तत्कालै इतिहासको ठेली तयार गर्न त नसिकएला तर गुरुकुल आश्रम र पाणिनि संस्कृत मा.वि.को स्थापना एवम् सञ्चालनबारेका ऐतिहासिक तथ्य र यस  विद्यालयबाट एसएलसी उत्तिर्णहरुले जीवनमा प्राप्त गरेको उच्च सफलताका कथाहरुलाई समेटी आश्रमबाट बुलेटिन या ब्रोसरमात्रै प्रकाशन गर्न सकियो र सहृदयीहरुलाई सहयोगका लागि सार्वजनिक आह्वान गर्ने, दाताहरुको कामना अनुसार रुद्रीपाठ वा शान्तिपाठ गरिदिने प्रबन्ध गर्ने काम गर्नमात्रै सकियो भने पनि यसबाट इतिहासको संरक्षण त हुने नै छ साथसाथै आश्रम सञ्चालनमा पनि राम्रो सघाउ पुग्ने छ। वर्तमान नेतृत्वले पक्कै पनि यसलाई गम्भीर रुपमा मनन गर्नेछ। पूर्वजहरुको त्याग,मेहनत र समर्पणबाट चवन्न वर्षदेखि अविच्छिन्न प्रज्वलित यज्ञाग्नीले निरन्तरता पाउने छ।  कीर्तिपुरको गढी शङ्ख घण्ट र वेदमन्त्रको ध्वनीले गुञ्जयमान रहिरहने छ।