महाप्रस्थान
बाले बोलाए जस्तो रन्कोले झल्याँस्स व्यूँझिएँ।
'ए ऽऽऽ छोरो ! ' साँच्चिकै बोलाइरहनु भएको रहेछ बाले । हतपत लामो लेघ्रो तानें 'हजुरऽऽऽ'।
'ल, छिट्टो उठेर तल आउ त।'
झटपट उठें। र, दुवैआँखालाई
हर्थुङ्गेले मिच्दै बा भएको ठाउँमा आएँ म।
हजुरबा बडो शान्तसँग
सुतिरहनु भएको रहेछ। हिजो अस्तिभन्दा बिलकुल फरक देखें हजुरबालाई। न खोकी, न स्याँ स्याँ न, न ऐया आत्थु।
केही थिएन। हजुरबाका दुवै गोडा आफ्नो काखमा राखेर मिचिरहनु भएको थियो बा। छेउमै जेठाहजुरबा
पनि हुनुहुन्थ्यो। चिउँडो घुँडामा अड्याएर
चुपचाप बसिरहनु भएको थियो। अरु दुइ तीनजना छिमेकीहरु पनि थिए। बिहानीपखको चिसो
सिरेटो छेक्न गम्लङ्ग बर्को ओढेर चुपचाप बसिरहेका थिए उनीहरु । कोही कसैसँग
बोलिरहेको थिएन। उच्चाट लाग्दो सन्नाटाले छोपिएको थियो पिंढी।
'गैराघर भिनाजुकोमा गएर
एकजना बाहुनदाईलाई लिएर आउनु पर्ने भो बाबु । लौ गइहाल। हजुरबाको दश दान, बैतर्नी गर्नी अरे भन्नु है!' अघिपछिको भन्दा
मसिनो थियो बाको बोली। थर्थराइरहेको थियो स्वर।
मुख धोएँ। आमाले ओढिरहेको
मजेत्रो फुकाएर कान बाँधिदिन खोज्नुभो।
'म त बाँध्दिन' तर्किन खोजें। मजेत्रोले कान गुथेर हिँडेको गजिन्द्रले देख्यो भने दिउँसो स्कुलमा गिज्याउला भन्ने भयले गाँजेको थियो मलाई।
'कामीचौरको हावाले
सेक्छ नि राजा!' आमा मायाले
पग्लिनु भो।
'सेके सेकोस्' आमाको हृदयबाट उम्लिएको स्नेहलाई आफ्नो मनबाट
उम्रिएको भयले जित्यो। आमालाई नटेरेरै कामीचौरतिर दौडिएँ म।
माघ आधाआधि गइसक्दा
पनि ठिहिरो भने पुषकै जस्तो थियो। शीतले ओस्सिएको साउनेपानीको कुइनेटोमा भरखर रिमरिमे उज्यालो आइपुगेको थियो। गोरेटो छेउछाउका झारका बुच्का लुछुप्पै भिजेर लत्रिएका थिए। तिनको टुप्पोमा
अलक्क बसेको शीत मेरा गोलीगाँठामा सरेर कुर्कुच्चातिर झरिरहेको थियो। पाइलैपिच्छे
कुर्कुच्चा एकातिर चप्पल अर्कोतिर हुन थालेपछि चप्पल हातमा उनेर खाली खुट्टै
कुँदेँ म।
गोडाभन्दा हजार गुना छिटो कुँदिरहेको थियो मन । तर हजुरबालाई सञ्चो हुँदैन कि क्या हो भन्ने डरले गाँजेको हुनाले मनको लय बिग्रिएको थियो। निमेषभरमा यताबाट उता, उताबाट यता बत्तिन्थ्यो मन । घरबाट हिडने बेलामा देखेको बाको अनुहार फूत्त अगाडि आयो-
झुस्स बढेका दारीले
छोपिएको कान्तिहीन अनुहार। सुन्निएका आँखाका कोस। पाक्न लागेको गोलभेडा जस्ता राता
आँखा।
'हिजो रोएकोले त होला बाका आँखा त्यति राता भएका!' आफ्नै मनलाई सोधें।
हिजो साँझ हजुरबाको
काखमा टाउको अड्याएर निकैबेर रुनु भयो बा। बा रोएको पहिलो पटक देखें मैले। बासँगै
हामी पनि रोयौँ। राति पनि साँझको त्यो क्षणले बिझाईरह्यो। हजुरबाको अन्त्यकाल आउँदै गरेको
आभासले केही दिनदेखि हजुरआमा,बा,आमाको बोली, व्यवहारमा परिवर्तन आएको थियो। सबैको अनुहारबाट कान्ति हराएको थियो। मन
बिथोलिएको थियो। त्यही बिथोलिएको मन लिएर
दौडिइरहेको थिएँ म।
'हातमा चप्पल उनेर
कता कुँदेको छ यो आर्बोटे, हजुरबालाई चाप्यो कि क्या हो?' करेसोमा जम्काभेट
भएका दारी जेठाबाले सोधिहाले। के भनूँ के भनूँ भएँ म।
'हैन किन बोल्दैन यो?'
'हजुरबाको दश दान
बैतर्नी गर्नी अरे, बाहुनदाईलाई बोलाउन जान लागेको!' जे हो त्यही
भन्दिएँ मैले।
'बूढा जान्छन् कि क्या हो?' आफैँसँग बोल्दै आँगनतिर लागे ठूलाबा।
ठूलाबाका कुरा सुनेर कुहिनो ठोकिदा झन्झनाएझैँ झनझनायो मन। गोडा थररर्र कामे। आँखा अगाडि हजुरबाको क्लान्त अनुहार आइपुग्यो।
चार-पाँच दिन अघि-
'कान्छा!' कस्तो छ त तिमिलाई? केही खान मन छ?' जेठा हजुरबाले हजुरबाको नजिकै गएर सोध्नुभो।हजुरबाले पुलुक्क दाजुको मुखतिर हेर्नुभो। आँखाहरु सुख्खा थिए।अनुहार उस्तै भावशून्य। केही नबोली आँखा चिम्लिनुभो हजुरबाले। आँखाका दुबै कुनाबाट आँसुको मसिनो धर्सो बगेर कनपट्टी भिजाउँदै सिरानीमा पुगेर बिलायो।
अब कान्छाको ओछ्यान भुईंमा सार। खाट बाहिर निकाल।एक्लै छोडन भएन। आमालाई पनि भन्नु। ठूली दुलही पनि टाढा नजानु।' जेठा हजुरबाले बालाई अर्थ्याउनु भयो। त्यही दिन बेलुका हजुरबाको ओछ्यान भुईंमा सारियो। हजुरबाको ओछ्यान भुईंमा सार्दा बाका आँखा डबडबाए। बर्सिन लागेको बादलजस्तो कालो निलो भयो अनुहार। भित्तातिर फर्किनु भो र निकैबेरसम्म चुपचाप बस्नुभो बा।
हजुरबाको ओछ्यान भुईंमा सारेका दिनदेखि बा स्कुल जानु भएन। बा नगएपछि म पनि गइन। जेठाहजुरबा चार गास टिप्नमात्रै जानुहुन्थ्यो आफ्नो घर नत्र जतिबेला पनि घुँडामा चिउँडो अड्भायाएर भाइकै छेउमा बसिरहनुहुन्थ्यो राति राति छिमेकीहरु पनि आलोपालो गरेर बस्न थाले। हजुरबाको स्याहार सुसार गरेर उब्रिएको समयमा गुन्द्री, थर्कटी बुन्नुहुन्थ्यो आमा। पधेरामा भिजाउन राखेको आफूभन्दा अग्लो परालको मूठो बोकेर ल्याइदिन्थें म। हजुरआमाको दैनिकी भने फेरिएन। भात खाएपछि बाख्रा फोएर चराउन हिंडिहाल्नुहुन्थ्यो। हजुरआमा गोठालो गएपछि 'वन मान्छे!' भन्दै अहहह…गरेर हाँस्नुहुन्थ्यो जेठा हजुरबा।
जतिखेरसुकै छोरो आफ्नै साथमा बसिरहोस् भनेझैँ गर्नुहुन्थ्यो हजुरबा। अझ दम बढेको बेला त निकै आत्तिनुहुन्थ्यो। सिरकलाई गुटुमुटु पारेर एकै ठाउँमा थुपारिदिएपछि त्यसैमाथि छाति अड्याएर घोप्टो परेर बस्नुहुन्थ्यो। कहिले आमा! आमा! भन्नु हुन्थ्यो। चटपटि भएको बेला कहिले 'बाबु' कहिले 'भानु' कहिले 'जानु' भनेर बोलाइरहनु हुन्थ्यो। एकपटक 'ए साना!' भनेको सुनें। हजुरबाको नजिकै गएँ र हजुर भनें। हजुरबाले मसिनो स्वरमा 'तिमीलाई बोलाएको हैन राजा' भन्नुभो।
ओखतिमूलो गरेको हो।
काठमाण्डूबाट कृष्णकान्त कविराजको ओखतिसमेत मगाउनु भएको रहेछ बाले। कविराजका
छोरासमेत डाक्टर भइसकेका रहेछन्। सूर्यकान्तको खुव नाम थियो गाउँमा। उनले पनि ओखति
दिएका हुन्। ठूलेखत्री र खत्री साँहिलाको जडिबूटी पनि खुवाएको देख्थें। तर
हजुरबाको बेथा बीसको उन्नाइस भएको थिएन।
हिजो बिहान भने हजुरबाको
बेथा एकाएक बिसेक भयो। न खोकी, न स्याँ स्याँ। न चटपटी। अनुहार पनि उज्यालो देखिएको थियो। बाले अघिपछि
जसरी नै दूध भात मिचेर खुवाइदिनु भो। हिजो अस्ति मुख उघार्न नमान्ने मान्छे हिजो
भने नाइनास्ति नगरी खानु भो। थोरै खाए पनि मीठो मानेर खानुभो। अचानक गज्जब भो। बा, आमाका अनुहारमा खुसीको मसिनो रेखा देखियो। बिरामी भेटन भनेर आएकाहरु पनि हजुरबालाई
बिसेक भएको देखेर छक्क परे।
'अब यस पटकलाई
आत्तिन पर्दैन,सानदाजै उठनु भो' सबैका मुखमा पालैपालो हेरेर फिस्स हाँसे तियारी कान्छाबूढा।
'कान्छाले त भन्यौ, तर दम हो, बेमान गर्न सक्छ।
बिरामीलाई नछोडम्' ठूलेखत्रीबूढाले आफूलाई
लागेको कुरो राखे। तर्कवितर्क भए। कोही 'अब निको हुन्छ' भन्थे। कोही 'भर छैन' भन्थे।
साँझ पर्यो। लालटिनको
सीसालाई फूल खरानीले माझेर टिलिक्क पार्नुभो आमाले। लालटिनको उज्यालोमा पिंढीको
खाँवोको लामो छायाँ देखियो आँगनमा। ठ्याक्कै मान्छे उभिए जस्तो।
'लौ अब भात खानी हो
है' भान्साबाटै
बोलाउनुभो हजुरआमाले।
'ल भात खाओ। म पनि चार गास टिपेर आउँछु' जेठाहजुरबा घरतिर
झर्नुभो।
'बा ! म भात खाम् त ? '
एकछिन पख न। अहिले अरु आएपछि बोल्न पाइदैन। तिमीसँग पेटभरी बात मार्न मन छ
मलाई' हजुरबाले हातको सानले आफू नजिकै बोलाउनुभो बालाई। हजुरबाको नजिकै बस्नुभो
बा। बाको दायाँ हातलाई आफ्नो हातले विस्तारै समातेर मसिनो स्वरमा कुरा गर्न थाल्नुभो हजुरबा-
'अब मेरो जानेबेला भो बाबु!, गए राति त आमा पनि आइन्। म लिन आएको कान्छा भनिन्' हजुरबाको गला अबरुद्ध भएझैं भयो। एकछिनसम्म नबोली बस्नुभो। र, फेरि विस्तारै कुरा गर्न थाल्नुभो-'मैले जिन्दगीमा खासै केही उपति गर्न सकिन। सम्पत्ती जोर्न त परै जाओस् धित
मरुञ्जेल मायासमेत दिन पाइन मैले। कति अभागी रहेछु म' हजुरबाले बाको नाडी बिस्तारै सुमसुम्याउनु भो।
'बा!मैले कहिल्यै केही गुनासो
गरेको छु र ?, जन्म दिनुभो, संसार देख्न पाएँ। हातगोडा सग्ला छन्। दुईचार अक्षर पढेको छु। खान लाउन पुग्ने
जेथा छ। त्यसमाथि मास्टरी जागीर छ। यति भए पुगिहाल्यो नि। म खुसी छु बा। आफ्नो
जन्मदातासँग कुनै गुनासो छैन मेरो। आफैँ बिरामी भएको बेला नानाभाँती सुर्ता लिएर
मनलाई गह्रुङ्गो नबनाउनु होस्।' बाले हजुरबाको टाउको सुस्तरी मुसार्नु भो।
'कसरी हलुङ्गो हुन्छ बाबु यो मन !, तिमी त आफैँ आर्जन गर्न सक्ने भएका छौ। बाउबाजेको थलोमा छौ। घरजम भएको छ।
काँक्राका चिरा जस्ता तीनजना छोरा जन्मिएका छन्। कहाँ बसम् के खाम् छैन। तर उता त्यस्ता
कमला भाइबहिनी छन्। तिनलाई सुटुक्क छोडेर आएँ। भाइहरु त सिलगुडीसम्म खोज्दै आए। तिनले
देख्लान् कि भनेर लुकें म। एउटा बाउको मनलाई यो भन्दा गह्रुङ्गो भारी के हुन्छ? आफ्नै सन्तानसँग लुकेर हिडनुभन्दा ठूलो लाचारी अर्को केही छ र ?, बालुवामा फूलपारेर
अलपत्र छोडेर हिडें म। न चिठी, न खबर। एकपटक फर्किउँला र तिनलाई एकझल्को देखेर आउँला, कुराले भए पनि पहाडको हाम्रो थातथलो चिनाइदिएर आउँला भन्ने मनसुवा थियो। तर
त्यो धोको पूरा भएन। मैले त न वरत्र सुधार्न सकें न परत्र सपार्न सकें। मरेपछि
पुगिने अर्को लोक छ भने त्यहाँ पनि सुख नपाउने भएँ बाबु मैले।' हजुरबाले खुइय लामो सुस्केरा फाल्नुभो र एकछिनसम्म चुपो लाग्नुभो।'
एकछिन पछि फेरि बोल्न थाल्नु भो हजुरबा- 'यी उदास आँखामा अपूरा
सपनाहरुको चाङ् छन् बाबु। यी आँखा चिम्लएका दिन ती सकिन्छन् कि सकिदैनन् थाहा छैन ।तर
ती उकुच पल्टिएका सपनाले आत्मामा खोपेको घाउ कसरी निको होला र! त्यो घाउ अरु कसैले लगाइदिएको हैन। म आफैंले हो। मैले आफ्नो र आफ्ना सन्तानका
मनमा नपुरिने नभरिने घाउ बनाएको छु। अश्वत्थामाको निधारको घाउ जस्तो।' हजुरबा निकैबेरसम्म आँखा चिम्म गरेर सुतिरहनुभो।
'अब नबोल्ने हो कि बा ! दम बढछ फेरि!'
'कतिदिन बढला र अब! आमाल नै म लिन आएको भनेपछि लिएरै जाने होलिन्। नौ महिनासम्म गर्भमा बोकिन्, दशधारा दूध चुसाइन्, गुमुत स्याहारेर हुर्काइन् । तर मैले दूधको भारा तिर्न पाइन। सकिन। सुर्ता र दुःख बाहेक केही दिन
सकिन। उनको कालसमेत भेट्टाउन पाइन। मेरै घिडघिडो साँचेर गइन् आमा। तैपनि मप्रतिको
उनको माया उस्तै रहेछ र त आफैँ लिन आइन्।' हजुरबाले पुलुक्क बाको मुखतिर
हेर्नुभो। पानी खाने सङ्केत गर्नुभो। चार-पाँच आचमनी पानी खानुभो होला। हजुरबा फेरि बोल्न थाल्नुभो-
'पढने धोको थियो, तुहियो। सानोतिनो
भए पनि जागीर खान्छु छोराछोरी पढाउँछु भन्ने मनसुवा थियो त्यो पनि भत्कियो। वन नचिनेको बाघ र
देश नचिनेको छोराको के काम भनेर देश चिन्न निस्किदा कसैलाई चिन्न नसक्ने भएँ म। प्रारब्धकै
फल होला, अरुको उपकार गर्दा पनि आफ्नो
उद्धार कहिल्यै भएन ।घरबाट भागेर नेपाल पुगें। त्यहाँबाट बर्मा गएँ। पल्टनमा भर्ती भएँ। जापानसित लडाई भो। गोला बारुदमा परें। भागेर ज्यान जोगाएर फर्किएँ।
उद्यम गरौँला भनेर घरबाट भागेको मान्छे घर फर्किदा पनि भागेरै आएँ। फेरि कालेबुङ
गएँ। उता अर्को घरजम भो। दुईतिर परिवार भए पनि म कतैको भइन। कहिले यता ढाँटें, कहिले उता ढाटेँ। कहिले यताबाट भागें कहिले यताबाट भागें। कस्तो साइतमा
हिँडेछु घरबाट कुन्नी जीवनभर भागिरहें म ।' हजुरबाका कुरा सुनेर अघिदेखि पिलपिल गरिरहनु
भएको थियो बा।
'मलाई त परान पनि सजिलै जाला जस्तो लाग्दैन छोरो। सबै चाहना मरिसकेका छन्।
यो एकमुठी प्राण रुद्रघण्टीमा अड्किएर तल न माथि हुन नपरे हुन्थ्यो भन्ने
चाहनामात्रै बाँकी छ अब। एकदिन सबै जाने हो। बाउ गयो भनेर सुर्ता नगर्नु। नरुनु। उताका
भाइ बहिनी आएछन् भने भएको जेथा बाँडेर खानु। यो संसार इमानले जित्ने हो भानु, कस्तै विपत परेपनि इमान नछोडनु। म कर्मले ठगिएँ। प्रायः सबैले ठगे मलाई। तर
मैले कसैलाई ठगिन। भोकै बसें तर इमान बेचिन। मैले गरेका पाप पूण्यको फल मैले भोगे
भन्ने लाग्छ। बाँकी छन् भने पनि मैले नै भोग्न पाउँ। पितापुर्खाले आर्जिएको पूण्यजति
सबै तिम्रो भागमा परोस्। पितृ र इश्वर दाहिना हुन्। हाम्रो कुलको नाम उजिल्याएस्। …' दाहिने हातले बाको शीर सुमसुम्याउनु भो हजुरबाले। त्यही हातले बाका निधार, आँखा, मुख छाम्दै आफ्नो ओठ
नजिक ल्याउनुभो र आफ्नै हातलाई चुप्प पारेर म्वाइ खानुभो। छोराको म्वाइ खाने
तिर्सना मेटिए जसरी उज्यालो देखियो हजुरबाको अनुहार। तर बा सुँकसुँकाउन थाल्नुभो। एक्कै छिनमा क्वाँ
क्वाँ रुन थाल्नुभो बा। आमा, हजुरआमा पनि रुनुभो।
'के भो? के भो?' भन्दै निमेषभरमै आइपुग्नुभो जेठाहजुरबा ।
दुवैघरका जहान परिवार झर्यापझुरुप जुटे।
'हा, किन रोएको,नरो।' जेठा हजुरबाले बाको काँध विस्तारै थपथपाउनुभो। दाजु बोलेको सुनेर हजुरबाले पुलुक्क
हेर्नुभो। दाजुभाइका आँखामा माया छचल्कियो। 'मेरो जाने बेलाभो दाजै!' पिलिल्ल रुनुभो
हजुरबा। जेठा हजुरबा पनि भक्कानिनुभो तर मुखले भने केही बोल्नु भएन। बोल्न सक्नु
भएन। बा भने दुवै हर्थुङ्थेले आँखा छोपेर निक्कैबेर रोइरहनु भयो। खत्री साँहिला र
काँहिला हजुरबाहरु हस्याङ फस्याङ गर्दै आइपुगे।
'बूढा जानुभएछ कि
भन्ठानेर दौडिएको, ठीकै रहेछछन् त! किन रुनुभा सानाबाबु! आऽऽऽनरुनोस्। छोराले गर्नुपर्ने सेवा गर्नुभाछ। दिन आइपुगे कसैको केही
लाग्ने हैन। तपाई हामी रोएर त्यसले टिठ्याउँदैन। साँहिला हजुरबा छेउमै टुक्रुक्क बस्नुभो र हजुरबाको नाडी छाम्न थाल्नुभो।
गाउँ छिमेकका अरु
दाजुभाइ पनि जुटे। लालटिनको उज्यालोमा बाको मुखमण्डल बादल लागेजस्तो मलिनो देखियो।
बाको माया उर्लिएर आयो। नजिकै गएर उभिएँ । 'जाउ सुत अब' बाले सुत्न जान
भनेपछि मन नलागी नलागी धनसारमा उक्लिएँ। बा सुत्ने ओछ्यानमा माहिलो भाइ निस्फिक्रीसँग
निदाइरहेको रहेछ। सुत्ने बेला भयो कि जहिल्यै बासँग सुत्छु भनेर पिरोल्छ। ममात्र
सुत्ने की उ पनि सुत्ने भन्नेमा तँछाड मछाड भइरहन्छ हाम्रो। अलक्क आमाको ओछ्यानतिर
सारिदिएँ र सुतें म। बा रोएको रन्को आइरह्यो। नरमाइलो लागिरह्यो। कतिबेला निदाएँ पत्तो पाइन।
गैराघर भिनाजुकोमा
पुग्दा दिदी आँगन बढारिरहनु भएको रहेछ। एकाबिहानै म आएको देखेर दीदीले बुझ्नुभएछ।
मैले केही नबोल्दै 'हजुरबालाई चाप्यो कि कसो? बाहुनदाजुलाई लिन
आको होस्?' भनेर सोध्नुभो दिदीले। मैले हो भन्ने बुझिने गरी टाउको
हल्लाएँ। काँहिला बाहुनदाई भर्खर उठनु भएको रहेछ। दिदीले नै 'छिटो गरेर जा मामाघर' भन्दिनुभो दाइलाई।
झटपट तयार हुनुभो दाई।
बाहुनदाईलाई लिएर
आइपुग्दा आँगनमा बाह्र पन्ध्रजना मान्छे जम्मा भइसकेका रहेछन्। घाम झुल्किने तरखरमा थिए। पूर्व
क्षितिजको उज्यालो लाली हजुरबाको विस्तरामा आइपुगेर टक्क अडिएझैँ देखिएको थियो। बाले
आफ्नै काखको आड दिएर बसाउनु भएको थियो हजुरबालाई। वैद्यकान्छा बाहुनबा पहेंलो गाता
भएको सानो किताब हातमा लिएर अल्लि अस्पष्ट आवाजमा छिटो छिटो पढिरहनु भएको थियो।
'ल यता आइज काँहिला' बाहुनदाईलाई गाइको बाच्छी नजिकै उभ्भिन भन्नुभो
बाहुनबाले।
बाच्छीको ढाडमा
सेतो कपडाको धरो राखिएको थियो। हजुरबालाई बैतरणी नदी तार्ने भनिएको कालीबाच्छी बडो
शान्तसँग उभिएको थियो। आमाले टपरीभरी पिठो ल्यएर राखिदिनुभो बाच्छीलाई। केराको पातको
मोटो सरो खोपेर बनाएको डुङ्गाको दुबै छेउमा काँचो बाँधिएको थियो। धागोको एक छेउ
बाच्छीको पुच्छरमा अर्को छेउ बाच्छीको पुच्छरमा बाँधियो। बैतरणी नदीको
प्रतीकस्वरुप तामाको खडकुलोमा राखेको पानीमा ढलपलाउँदै तैरियो डुङ्गा। बाच्छीको
पुच्छरलाई कर्मपात्रको जलमा चोपलेर हजुरबालाई छर्किदिनु भो बाहुनदाईले। अनयास
जीउमा पानीका छिटा पर्दा जुरुङ्ग गरेर दुबै कुम उचाल्नु भो हजुरबाले। तर आँखा
खोलेर भने हेर्नु भएन। 'सान्दाजै, बाच्छिको पुच्छर
नातिको हातमा राखिदिनुहोस्।' बाहुनबाले पुच्छरको छेउ हजुरबाको हातमा राखिदिनु
भयो। धमिला भइसकेका आँखा बिस्तारै उघार्नु भो अनि बाच्छीको पुच्छर बाहुनदाईको
हातमा राखिदिनु भयो हजुरबाले। चारैतिर आँखा घुमाएर हेर्नु भयो। बा र हजुरबाका
चारआँखा भए। दुबै हातले बालाई चपक्क समात्नुभो र बडो मायालाग्दो गरेर बाको मुखमा
हेरिरहनु भयो। एक्कैछिनमा बाडुली लागेजसरी तीनचोटी हिक्क हिक्क गर्नुभो । कुनै
कुराले तर्सिएको बालखा आमाको काखमा लुपुक्क टाँस्सिए झैँ बाको छातिमा टाँस्सिनुभो
हजुरबा। 'ए, लौ लौ कान्छाले छोड्न लाग्यो,…कान्छा!, कान्छा!, हजुरबाको कुमनिर
थपथपाएर दुई तीन पटक झकझक्याउनु भयो जेठाहजुरबाले। 'ए ! ठूली दुलही ,सानी दूलही!, तुलसीको मठनिर पोतिहाल, चोखो गुन्द्री
ओछ्याओ ' जेठाहजुरबा अल्लि हडबडाउनुभो। बा र उहाँ भएर तुलसीमठ नजिक सार्नुभयो
हजुरबालाई। रुवाबासी चल्यो। हजुरबा बित्नु भो। आफ्ना पिताको प्राणहीन शरीरलाई
अङ्गालो हालेर निकैबेर रोइरहनु भयो बा।
हिजो बेलुकामात्रै जीवनमा
यसो गर्न सकिन, उसो गर्न सकिन भनेर
पछुताइरहनु भएको हजुरबा आज सबेरै निस्प्राण हुनुभो। कुखुरीले कोरलेका सबै अण्डाबाट
चल्ला निस्किदैनन्। तर निस्केलान भन्ने आशा हुन्छ। कामना हुन्छ। आशा पूरा नहुँदा
सबैको दिल दुख्छ। हजुरबाको दिल पनि दुख्यो। आफ्ना सन्ततिलाई
उज्यालो र फराकिलो पथमा हिँडाउने सपना बोकेर परदेशिएको पथिकका सामु सधैं हण्डर
आइलागेपछि दिल नदुखे के दुख्नु! म ताक्छु मुढो
बञ्चरो ताक्छ घुँडो भन्ने आहान नै छ। तर समयको बञ्चरोले हजुरबालाई ताकेन मात्रै हिर्काइरह्यो।
त्यही वेदना खपेर हिँडिरहनु भयो हजुरबा। कहिले काँही भेटिएको उज्यालो पनि आकासमा
बिजुली चम्केझैं मिलिक्क चम्कियो र हरायो। बाँकी रह्यो उही घोर अँध्यारो।
महानिशालाई च्यात्ने हिम्मत बोकेर हिँडेको पथिकको यात्रा भोर नभइकन टुङ्गियो आज। मृत्युकाल
भने उहाँले रोजेजस्तै पाउनु भो, उज्यालो! घामको झुल्कोमा महाप्रस्थानमा निस्कनुभो हजुरबा।