पल्टने र हराएको रहर
पढाइलाई बिट
मारेको कथा भनिरहँदा हजुरबाको अनुहारमा विसादको बाक्लो बादल देखियो। निकैबेर केही
नबोली बसिरहनु भयो। चौतारो अगाडिको तलाउमा तीन चार जोडी हाँस कहिले यता कहिले उता
गर्दै कुँदिरहेका थिए। तिनका बच्चाहरु आ-आफ्ना माउलाई पछ्याइरहेका थिए। हामी बसेको चौतारी, कपुरको बोट र हामी हजुरबा नातिको छायाँ बाङ्गोटिङ्गो भएक हल्लिइरहेको थियो
पानीमा।
हजुरबाले कथाको
सिलसिला जोडनुभो -
पाठशाला जान छोडेपछि
सुरुभयो गोठाले जिन्दगी। सुरु सुरुमा त पढन नगएकोमा पछुतो मान्थ्यो मन तर रन बनमा
रमाउन थालेपछि यतै रत्तियो। बिहानभरी कहिले बालाई कहिले आमालाई सघायो, भात खाएपछि गाई, गोरु, बाख्रा चराउन लिएर हिँड्यो बस्। एकनासको थियो मेरो दैनिकी। विषुसक्राति
नलागेसम्म बन, पाखा, खेत, खरबारी सब खुला हुन्थे।
जुम्ली स्वाँराका फराकिला गरामा गीर खेल्यो, साधुको पाखो र बरालको पाखो चहारेर ऐसेलु, काफल, तिँदु, अँगेर खायो। पात बजायो। जाँगर लागे घोचा, साठा झिक्रा बनाएर ल्यायो। गाइगोरु बाख्रा पाठाको पछि लागेर हिडन थालेपछि
तिनैसँग रमाइलो लाग्न थाल्यो। भरखर दश टेकेको केटौले उमेरमा न लक्का न धक्का थियो।
बिहान बेलुका बासँग
ओखतिमूलो गर्न आउनेको हुल हुन्थ्यो घरमा। कहिले त भान्सा समेत कुर्नपर्ने। गानोगोला, कफ, वायु, लागोभागो सबैको ओखति थियो बासँग। दिउँसो खेतबारीको काममा गए पनि बिहान
बेलुका भने बाले केही गर्न भ्याउनुहुन्थेन। दिदीको बिहे भइसकेको थियो। सान्नानी भरखर
एक वर्ष पुगेकी थिइ। साँच्चै भन्ने हो भने एकलसरी थिइन आमा। बस्तुभाउको स्याहार
सुसार र घरको काममा दाजुभाइ मिलेर सघाउँथ्यौं। तैपनि आमालाई भने सधैं भ्याइ नभ्याइ
हुन्थ्यो।
केटाकेटी उमेर भनेको बडो निर्दोष उमेर हुँदो रहेछ। को आफ्नो को बिरानो सबै
एकनास। अरुको सुखमा पनि रमाउन सक्ने एकदिन गोठालोबाट फर्किएपछि आमाले नरिवल र
मिश्रीको टुकुरा खान दिइन्। मैले थाहापाइ हालें गाउँमा कोही लाहुरे आएछ।
'को आएछ आमा!'
'पल्टने।'
'तुलसेका बाउ?'
'अँ अँ तेरै तुलसेका बाउ।' आमाले झर्को मानेजसरी उत्तर दिइन्। गाउँमा अरु पनि थिए लाहुरे। कोही
बर्मेली लाहुरे, कोही असमी, कोही कलकत्ते। जुन ठाउँमा तिनले काम गर्थे त्यही नामको पछाडि लाहुरे शब्द
थप्ने चलन थियो। तर तुलसेका बाउलाई भने पल्टने भन्थे सबैले।
'कहिले आएका अरे नि आमा!'
'हिजो अरे।' अब फेरि कहिले जानीअरे
भनेर नसोध मलाई।' आमा घरभित्र पसिन्।
दाइ आए। आमाले सुनाएको खबर खुसुक्क दाइका कानमा सुनाएँ। दाइका आँखा चमचम
गर्दै चम्किए। आमाले दाइलाई पनि दिइन नरिबल र मिश्रीका टुक्रा। मैले पनि हात
थापें। दाजुले नरिबलको टुकुरो किटिक्क टोकेर हात नलगाइकन ओठैले मेरा हातमा
खसालिदिए। 'हेर हेर यो साने! अर्थोक दिँदा म कसैको जुठो खान्न भनेर भाले पल्टिन्छ, मीठो पाए उम्री पस्छ' आमा फिस्स हाँसिन्। आमाले मकै भुटेर राखिदिएकी रहिछन् खाजा। दौराको फेरमा खन्याएर
दुवै दाजुभाइ उकालो लाग्यौँ तुलसेका घरतिर।
हामीभन्दा पहिल्यै पुगेका च्याण्टी, नरे, सन्ते, टोपे जुठेल्नाको छेउमा टिनो लाएर उभिएका रहेछन्।
त्यही हुलमा मिसियौँ हामी । तुलसे पनि त्यहीं मिसिएको रहेछ । नयाँ लुगा लगाएको
थियो उसले। केही बोल्न पर्यो कि ठूल्ठूलो स्वरमा बोल्थ्यो। बाउको लाहुरेफूर्ति उसैमा
सरेको छ जस्तो देखन्थ्यो। एक्कै छिनमा चामे, हर्के र गौंथली पनि थपिए हाम्रो हुलमा। आफू आइपुगेको जनाउ दिन हर्केले मेरो
तिघ्रामा चिमोट्यो। जहिले पनि यसै गर्छ उ। तुलसेकी आमाले हामीलाई बस्न भनेर आँगनको
डिलमा गुन्द्री हालिदिइन्।
पल्टनेको पिंढी गाउँका पाका मान्छेहरुले भरिभराउ थियो। पिंढीमा नअटाएकाहरु
आँगनमै गुन्द्री हालेर बसेका थिए। एउटा डोको घोप्ट्याएर त्यसैमाथि बसेका थिए
लाहुरे। खाकी रङको कमेज र पतलुङ लगाएका लाहुरे निकै खाइलाग्दा थिए। सुकिला। उनको
गोरो अनुहारमा कर्कलाको पात जस्तो छत्रे टोपीको छड्के छायाँ परेको थियो।
पल्टनेकी आमा बूढीले ठूलामान्छे जति सबैलाई काँशका कटौरा भरी भरी चिया
ल्याएर दिइन्। कचौराको बैठकलाई छोरामान्छेहरुले टोपीले समाते। आइमाइहरुले
मजेत्रोको फेरले समाते। दुबै ओठ चुच्चो पारेर सुरुरप्प सुरुरप्प पार्दै चिया
सुर्क्याए सबैले। कोही कोहीले बाहेक केटाकेटीलाई चिया दिदैनथे। तर स्वाद थाहा
थियो। झट्ट हेर्दा तमाखुजस्तो देखिन्थ्यो चिया। पानी हालेर उमालेपछि सालको चोप
रङको देखिन्थ्यो। त्यसमा जनापिच्छे एक चिलिम कक्कडजति चिनि राखेपछि त्यसको टर्रो र
गुलियो स्वाद खाइरहुँ जस्तो हुन्थ्यो। गुलियो चियाको तिर्सनाले हामी केटाकेटीहरुको
मुखभरी पानी भरिएर आयो। चियाको बटुको मुखमा लगे मुखमै र भुईंमा राखे भुईंमै सर्थे
हाम्रा आँखा। तर हामीलाई कसले दिने चिया! बरु चिया खाँदै गरेकाहरुलाई सिगरेट बाँडे लाहुरेले।
'यी केटाकेटीले चोखा लाउनी भए, उम्काइदेउ त दिदी' तुलसेको मामाले स्वाँठ्ठ सिगरेटको
कस तान्यो अनि ख्वाङ् ख्वाङ् गरेर खोक्यो। 'यस्तो हुरुक्क हुञ्जेल खोकी लाग्दा पनि कस्तो खान पर्या हो यसलाई?' लाहुर्नी आमाले भाइको थाप्लैमा हात राखेर धारेहात लगाइन्। दिदीले धारे हात
लगाउँदा कोल्टिएको टोपी सम्हालेर सोझ्याए मामाले।
'लौ हात थापओ' सिलावरे कटौराभरी काल्ची मिश्री र नरिवलका स-साना टुक्रा लिएर हामीतिर आइन् तुलसेकी आँबोइ । र, सबैका हात हातमा राखिदिईन्।
'ल जाओ अब घर घर।' बूढी जुठेल्नानिर
सम्ल्याङ सुम्लुङ गर्न थालिन्। हामी खुरुररर्र तगारातिर कुँदयौँ हामी। पाउन बेर न सकिन बेर जस्तो भयो मिश्री र नरिवल । कर्यामकुरुम पारियो, सकियो । घर जान के मान्थ्यो मन, फेरि उही आँगनको टुँडोमा पुगेर गाँड लागेर उभ्भियौँ हामीहरु।
'आँबोइ हामी नि चिया खानी!' तुलसेकी आँबोइ जुठेल्नोमै रहिछन्। बुहारीले पखालेका कचौरा घाममा सुकाउन
घोप्ट्याइरहेकी। त्यही मौका छोपेर गोथेले मुख फोर्यो। खुब गरें भनेझैं सबैका मुखमा पालैपालो हेरेर नाक फुरायो गोथेले।
तिलेले तिघ्रामा पाडो उठ्ने गरी चिमोटेछ। 'आत्था' भन्दै चिच्यायो गोथे।
'ए चिया खानी?, एक्कै छिन पर्खओ है! एक एक कौटेरो खाउला।' बूढी गोठभित्र पसिन्।
'ल, लाओ चिया!' बूढी त बाँसको
कप्टेरो पो ताक्दै आइन्। गुरुरु भागियो। बूढीले 'कौटेरो' भनेकी रहिछन् हामीले 'कटौरो' सुनिएछ। धन्न भेटिएन बूढीको
कौटेरो।
'तँ बोक्सी बूढीलाई पख्' दाहिने कुमनिर नाक दलेर बूढीलाई सराप्दै अघि लाग्यो गोथे। उसैलाई पछ्याउँदै
पछि लागियो अरु। सोझै तुलसेको बारीको पल्लो टुँडोमा पुग्यो हाम्रो हुल। भर्खर फूल
मस्किएर चिचिला लागेका निबुवाका झुप्पा ताकेर ढुङ्गा खिर्याईयो। तुलसेलाई पनि
झटारो हान्न लगायो गोथेले। 'हामी पनि कोही दिन भइएला नि लाहुरे। हामी छुट्टी आउँदा खालिस् बूढी चिया!' बूढी माथिको रिस खेपेको निबुवाको रुख रित्तै हुँदा पनि गोथे भुतभुताई
रह्यो। त्यतैबाट लाखापाखा लाग्यो हाम्रो टोली।
एकदिन हाम्रो घरमै आए लाहुरे। कोसेली पात लिए भोलिपल्टै आएका उनी यसपटक भने
बासँग गफ गर्न आएका अरे। घुमाउने चौकोमा बसेर तमाखु खाइरहनु भएको थियो बा। उनी पनि
त्यहीँ बसे। लाहुरेको जीउबाट मगमग बास्ना आइरहेको थियो। हामी दाजुभाई उनैको दायाँ
बायाँ बस्यौँ। आमा पनि चौकोमै आइन्। एकछिन क्षेम कुशलका कुरा भए। हामीलाई भने
लाहुर र लाहुरेका कुरा सुन्ने खसखसले कुतकुत्याई रह्यो।
'अचेल त लडाईं छैन होला नि बाबु!' बाले हुक्का अल्लि पर सार्दै लाहुरका कुरा झिक्नुभो।
'तीन साल भयो बा, अहिले लडाईं छैन।
अब नगर्ने भनेका छन्। तर गोराहरुको के भर छ र! कुन दिन कसले झम्टिन्छ।' लाहुरेले बाको मुखतिर पुलुक्क हेरे।
'खै, मान्छेको मति किन यस्तो
भएको हो कुन्नी। त्यत्रा मान्छे मरे भन्छन्। मान्छे मारेर जितेको देश त एक किसिमले
भन्ने हो भने चिहानै हो नि! महाभारतकै तखित् भो।' बाले लामो सास फेर्नुभो।
'त्यही त' लाहुरेले बाका कुरामा
सहीथापे।
'उति बेला त रमाएरै गइयो बा। जाने बित्तिकै ट्रेनिङमा हाल्यो। एक वर्षको काम
तीन महिनामै सकेर लडाईंमा पठायो। किन आएछु जस्तो भो नि बा' लाहुरेले आफू
भर्ति हुँदाका दिन संझिए। आमाले एक कचौरा दूध र चारकोसा मालभोग केरा ल्याएर
टक्रयाइन् लाहुरेलाई। एक-एक कोसा केरा हामी दुई दाजु भाइका हातमा राखिदिए। एउटा बालाई नै टक्र्याए।
एक कोसो केरा र दूधमात्र खाए लाहुरेले।
'कति ठाउँमा पुग्यौ, कति जनासँग लडाईं गर्यौ। तर भगवान् कृपा र पितृको आशिर्वादले सञ्चै, सग्लै आयौ। यसैमा धन्य मान्न पर्च बाबु।'
'हो नि बा, लाहुरेले लडाईका दिन
संझिए-
लडाईं भनेको बडो निर्दयी हुँदो रहेछ । लडन जाने त कि मर्छु कि मार्छु भनेर
जान्छ। तर लडाईंमा जाँदै नगएका बिचरा निर्दोष मान्छेहरुलाई पनि निल्यो यसले। बूढो
बाउकै अगाडि तन्नेरी छोरो काटियो। अवोध बालखाको अगाडि बाउआमा काटिए। लाहुरेको
जिन्दगी उही कागजको फूलजस्तो त हो । हेर्दा झिलिक्क देखिन्छ तर न टिकाउ छ, न बास्ना। अलिकति तलमाथि भयो कि सबैथोक सिद्धियो। सधैँ बन्दूकको सिरानी।' लाहुरेले मलिनो मुख लगाए। एकछिनमा फेरि लडाईंकै सिलसिला जोडे-
'शत्रुका गोली छेक्न आफ्नै साथीको लासलाई आफूमाथि खप्ट्यएर सुतियो। तैरिएका लास पन्छाएर पानी खाइयो। बेल्जियमको जङ्गलमा त फ्रान्सका सेनालाई
चटाचट काटियो नि। सुरुमा त डर लागेजस्तो हुन्थ्यो। तर एकदिन उताको एकजना सैनिकले
मलाई नै ताकेर राइफल सोझ्यायो। आफ्नै अगाडि आफ्नै काल ठिङ्ग उभिएको देखेर अचानक
कम्पन आयो जीउमा। थुत्त दापबाट खुकुरी झिकेर एक्कै निमेषमा छप्काइदिएँ। त्यसपछि त
काली चढी हालिन् नि ! कति काटियो कति
गनी साध्य भएन।' लाहुरेले आफ्नै जीउ तनक्क तन्काए। टाउको झड्कारेर यता उता मर्काए।
लाहुरेका कुरा सुनेर मलाई भने उल्टी होला जस्तो भो। कसरी मान्छेले
मान्छेलाई मुला छप्काए जसरी छप्काउन सक्छ? आफैंले आफैंलाई सोधें, आङ् जिरिङ्ग भयो। अघिसम्मका मायालु लाहुरेमा दैत्यको छायाँ देखें मैले।
दिगमिग मान्दै त्यहाँबाट उठेर हिँडें म।
लाहुरे घर फर्किए।
'एकदिन बोलाएर सेल खान्छ कि लट्टे खान्छु भन्छ खुवाएर पठाउनु।' आदेशको शैलीमा आमालाई संझाउनु भो बाले।
'ख्वाम्ला नि बरा!' आमाले लाहुरेलाई
टिठ्याइन्।
लाहुरेहरु खुकुरीको धारबाट उम्किएर आउँथे। तिनले भोगेका पीडा कसैले आत्मसात
गर्न सक्दैनथ्यो। तिनको मनको पत्रमा जमेको विसाद कसैले देख्दैनथ्यो। देख्थ्यो त
केवल सुकिलो र हृष्टपुष्ट जीउ। उसले ल्याउने चिनी, चिया पत्ती अनि जिरा
मरिचको पोको। नयाँ कपडा र गहना। केटाकेटी उमेरमा यी कुरा बुझिएन तर अहिले त्यसको
मर्म बुझेको छु। ती दिन संझन्छु-
लाहुरेको कोसेली नपुग्ने घर हुँदैनथ्यो गाउँमा। नजिकका दाजु- भाइ, नाता-सम्बन्ध, भर-अभरमा हेरिदिने छिमेकी, चिठी लेखिदिने-पढिदिने मान्छे,जिम्मल, मुखियाको घरमा लाहुरेहरु
आफैँ पुग्थे कोसेली बोकेर। मान्छे हेरी कम्मल, जर्सी, उनीको टोपी, डम्मरकुमारीको खास्टोसमेत हुन्थ्यो कोशेलीमा। देउता रिसाउँदा बरु गच्छे अनुसारको
पूजाआजाले खुसी हुँदा हुन् तर जिम्मल, मुखिया रिसाउँदा उठीबास लगाइदिने डर हुन्थ्यो। अनेक जाल झेल जानेका थिए
तिनले । गौडा गोश्वाराले तिनकै
कुरा सुन्थ्यो, अमिनीमा तिनकै कुरा
बिक्थ्यो। त्यसैले तिनलाई ल्याईदिने कोसेली पनि अरुको भन्दा भिन्दै हुन्थ्यो।
लाहुरेले ल्याएका गतिला चिजबिज घुमाइ फिराइ आफ्नै हात पार्थे ठूलाठालूले।
लाहुरेहरुको सान, सौकात देख्दा
लाहुरे हुन पाए भन्ने नलागेको हैन। तर पल्टने दाइका कुरा सुनेपछि पल्टने लाहुरे
हुने मोह चाहिं टुट्यो। उसमाथि पढन जान्छु भन्दा त पिलपिल गर्ने बा आमाले पल्टने
हुन जान दिने कुरै थिएन। बाहुनचरीको जीउ पल्टने हुने खालको पनि थिएन। यो यो
जातकालाई मात्रै भर्ती गर्नु भन्ने सनद थियव भन्थे। भर्ती नै भए पनि क्षेत्री भनेर
ढाँटेर हुनपर्थ्यो। त्यसैले पल्टनेको जागीरतिर लवभ लागेन मलाई। बरु सरकारी जागिरले
भने लोभ्याएकै हो मलाई। टाउकामा सेतो पगरी गुथेका, चाँद, तोडा र कल्की लगाएका सरकारी हाकिमहरु परेवाडाँडा
तहसिलबाट तिरो उठाउन भनेर घोडा चढेर आउँथे। हाम्रो गाउँमा । अघिपछि हतियार भिरेका
सैनिक हुन्थे। गाउँका ठूला,ठालू भनिने जिम्मलहरु समेत तिनका अगाडि रुझेको बिरालाझैँ म्याउ म्याउ गरेर
अघिपछि लाग्थे। चार पाँच दिनसम्म बसेर जिम्मलहरुले उठाएको तिरो बोकेर फर्किन्थे
हाकिम। त्यस्तै हुनपाए… भनेर
कल्पिन्थ्यो मनले। फररररर्र भागवत् भन्न सक्ने र सबैले बुझ्ने गरी अर्थ लगाउन सक्ने पण्डित
देख्दा पनि लोभिन्थ्यो मन।
कल्पिनु र प्राप्त हुनुमा आकास जमिनको फरक रहेछ। विवेक हुँदैन भनिने
गाइबस्तु त सजिलो गोठमा बस्न रमाउँछन्। घाँस, कुँडो मीठो खोज्छन्। हामी त मान्छे। सकेसम्म मीठो खाउँ र राम्रै लाउँ
भन्ने चाहना हुने नै भो। बाउ आमा र जहान केटाकेटीलाई सुख सुविस्ता दिउँ भन्ने रहर
लाग्ने नै भो। तर सबै रहर पुग्दारहेनछन्, पुगेनन्। तैपनि पुग्लान कि भन्ने रहरै रहर र आसैआसमा बाङ्गो टिङ्गो
गोरेटोमा हिंडिरहदो रहेछ मान्छे। जसरी अरुहरु हिँडे म पनि उसैगरी हिंडिरहें।
हिंडिरहें।