मानव
जातिको साझा संस्कृति: कुलदेवताको पूजा
पृष्ठभूमि
संस्कृत भाषाको “कुल ” शव्दले पिता–पुर्खादेखि एउटै थर, गोत्र धारण
गरेका घराना वा वंशलाई बुझाउँछ।तसर्थ यो शब्दले स्वभावतः एउटै थर, गोत्र धारण गरेका र मूल जरो एउटै भएका धेरै परिवारहरू सङ्गठित भएको
ठूलो समूहलाई समेटछ।आदिम युगमा मानिस पनि जङ्गली जीवजन्तु जस्तै थियो। फलफूल, कन्दमूल, जनावर एवम्
चराचुरुङ्गीको शिकार गरेर खान्थ्यो।रुखका फेद वा ओडारमा सुत्थ्यो। यायावर जिन्दगी
जिउँथ्यो। समयक्रममा मानिसले समूहमा हिडडूल गर्न र बस्न सिक्यो। फलतः मानिसका
झुण्ड झुण्डमा घुम्न र बस्न थाले। यस्ता झुण्डलाई कबिला/ गण भनिन्थ्यो।
नाइके/अभिभावकलाई गणनायक/गणपति भनिन्थ्यो।
गण
वा कविलाको रुपमा रहन थालेपछि मानिसहरूले आ-आफ्नो गण वा कविलाका सदस्यको पहिचान गर्न सजिलो होस्
र अभर परेको बेलामा मद्दत सकियोस् भन्ने उद्देश्यले शरिरमा गणको परिचय झल्काउने
विशेष चिह्न वा बाजागाजा वा हतियारहरू धारण गर्न थाले। शैवहरूले निधारमा धारण
गर्ने तेर्सो त्रिपुण्ड, वैष्णवहरूले
धारण गर्ने ठाडो त्रिपुण्ड वास्तवमा गणचिह्न नै हुन् । यसै गरी खड्ग, त्रिशुल, चक्र, भाला आदि हतियार होउन् वा
शङ्ख, घण्ट,
डमरु,
मृदङ्ग, मुरली
आदि बाजा होउन् वा छत्र, चमर, झल्लर यी सबै गणचिह्न नै हुन् ।
कुलदेवताको अवधारणा विशेषतः दक्षिण
एशियाली संस्कृतिको अभिन्न अङ्ग हो । तर युरोप, अफ्रिकालगायत
संसारका सबैजसो भूभागमा कुनै न कुनै रुपमा आफ्नो कुल वा परिवारको संरक्षक देवताको
पूजा गर्ने प्रचलन छ। प्राचीन ग्रीक/रोमनहरूले घर देवता (Lares
Familiares) हरुको पूजा गर्दथे। जापानमा उजिगामी र
याशिकीगामी भनेर कुल देवता र घर देवताको पूजा गरिन्छ।चीनमा आफ्ना पूर्वजहरूलाई
देवताको रुपमा पूजा गरिन्छ। नेपालकै सन्दर्भमा पनि ब्राम्हण, क्षेत्री, वैश्य, शुद्र सबै वर्णका जातजातिमा आ-आफ्ना
कुलदेवता पूज्ने मौलिक चलन र परम्परा छन्। तसर्थ कुल पूजा मानव जातिको साझा
संस्कृति हो।
कृषि युगमा प्रवेशः भारत
वर्षमा मानव सभ्यताको प्रस्थान विन्दु
भारतवर्षका मानिसले इशापूर्व ९००० वर्ष
अघिदेखि पशुपालन र खेतिपाति गर्न थालेको इतिहास पाइन्छ। खेतिपातिको युगमा प्रवेशसँगै
मानिसको जीवनशैलीमा आमूल परिवर्तन भयो। तसर्थ कृषि युगमा प्रवेश मानव सभ्यताको
प्रस्थान विन्दु हो भन्नुमा अत्युक्ति हुँदैन।
मानिसले खेतिपातिसँगै पशुपालन पनि गर्न
थाल्यो। खनजोत र पशुहरुलाई सधाउन विभिन्न औजार उपकरण र साधनको विकास गर्यो। उर्वर
र घाँस, दाउरा, पानीको सहजता अनुसार उपयुक्त थलोमा खोजेर बस्न थाल्यो। समूहलाई
व्यवस्थित बनाउन विबाह र परिवार पद्दतिको थालनी भयो । परिवार परिवार मिलेर समाज
बन्यो । समाजलाई व्यवस्थित बनाउन समाजका आचारण र विधि, व्यवहारहरू बने। मानिसहरू आफ्नो लागि अन्न, जल जुटाइदिने प्रकृतिप्रति अनुगृहित बन्दै आए। सूर्य, चन्द्रमा, तारा आदि ग्रह, अग्नी, जल, जङ्गल जस्ता प्राकृतिक वस्तु र आफूलाई नेतृत्व र संरक्षण दिने आफ्नो
गणका नायकहरूको स्तुति र पूजा गर्न थाले। प्रकृति र गणनायकहरूलाई दैव वा देव भने।
हिन्दु सभ्यता ज्ञान र आचरणको जगमा
उभिएको सभ्यता हो। इसापूर्व करिब २००० वर्षअघिदेखि श्रुतिका रुपमा सङ्ग्रहित 'वेद' हिन्दु सभ्यताको
प्राचीन ज्ञान भण्डार हो। यद्यपि कतिपय संस्कृति र परम्पराहरू हिन्दु सभ्यताअघिको
हडप्पा सभ्यताबाट भित्रिएका छन्। सूर्य, चन्द्र, पिपल वृक्षको पूजा यसका उदाहरण हुन्।
वेदको रचनासँगै वैदिक सनातन
धर्मावलम्बी आर्यहरूले आ–आफ्ना कुलका
देवी देवताको पूजा तथा होम गर्दा परापूर्वकालदेखि नै वैदिक मन्त्रको प्रयोग गर्दै
आएका छन्। शुक्ल यजुर्वेदको वाजसनेय शाखामा ‘ॐ
कुलायिनी घृतवती पुरन्धिः’ भनेर कुलायिनी
शब्दको प्रयोग भएको छ। अथर्व वेदमा पनि कुललाई संकेत गर्ने ‘कुलायं कृणवादिति...’ कुलायेऽधि
कुलायं’ आदि मन्त्र
उल्लेख छन्। तसर्थ आदिम कालमा प्रकृति र आफ्ना गणनायक/गणपतिहरूको स्तुतिका रुपमा सुरु भएको कुल पूजाको लौकिक विधिमा फेरबदल
देखा पर्न थाल्यो। वेदाध्यायीहरुले वेदोक्त विधि अङ्गाले। मन्त्र र होमहोमादिको
सुरुआत भयो। अरु समुदायले लौकिक विधि नै अपनाइरहे। कसैले दुवै विधि अवलम्बन गरे।
फलतः कुलपूजाका विधिमा अनेक भेद देखा परे। वेदध्यायीकै पूजामा पनि कुनै देवदेवीको
पूजा लौकिक विधिबाट र कुनैको वेदोक्त विधिबाट हुनथाले।
हिन्दु सभ्यताले परिवार प्रणालीमा रक्तको
शुद्धतालाई विशेष स्थान दिनथाल्यो। रक्त शुद्धताकै लागि गोत्रको अवधारणा आयो।
गोत्र प्रवर्तक ऋषि नामकै आधारमा मानिस कुन रक्तवंशको हो भन्ने पहिचानलाई चिन्न
सकिने बनाइयो। गोत्र प्रवर्तक ऋषिमुनिलाई कुल पुरुषका रुपमा पूजा गर्न थालियो।
सृष्टिकालको मातृसत्तात्मक समाज विस्तारै पितृसत्तात्मकमा फेरियो। यसै अनुकुल
हुनेगरी कुलचारहरु निर्धारण गरिए। विधि विधान बने। पुरुषहरूमात्रै पूजास्थलमा जाने
या महिलाहरू गए पनि कर्ताको रुपमा भने पुरुषहरू नै रहेर पूजा गर्ने प्रचलन सुरु
भयो।
कुलाचार
उत्तम आचरण, विनयशील, विद्या र प्रतिष्ठाले युक्त, तीर्थ दर्शन, निष्ठा, वृत्तिस्थिरता, तप र दान यी नौवटा लक्षणले उक्त भएको कुल उत्तम कुल मानिन्छ। सबै कुलका
खास आचार, व्यवहार र
संस्कार हुन्छन्। कुलका सबै सदस्यले यी आचार, व्यवहार
पालना गर्नुपर्ने मान्यता राखिन्छ। समय अनुसार कुलाचारका नियम, उपनियम बन्दै र परिस्कृत हुँदै जान्छन्। कुलको कुनै एकजना सदस्यको
उन्नति प्रगति वा असल आचरण सारा कुल सदस्यको गर्वको विषय बन्छ। यही रित हो।
परम्परा हो। अभ्यास हो।
संसारका सबै सभ्यताको मूलजरो कृषि हो।
सबैजसो संस्कृति, परम्परा र
चालचलन यसकै सेरोफेरोमा बनेका छन्। हाम्रो देश त अहिले पनि कृषिप्रधान नै छ ।
हाम्रा हरेक चाडपर्वहरू र दैनिक आचारहरू कृषि कर्मसँग जोडिएका छन्। यद्यपि यहाँ
पनि शहरी जीवनशैली र ग्रामीण जीवनशैलीको पातलो रेखा विद्यमान छ। नवीन शहरी पुस्ता स्वभावतः
ग्रामीण चलचलन, परम्परा र जीवनशैलीबाट
बेखबर हुदै जान थालेको छ। युरोप, अमेरिका पुगेको
र उतै रमाएको पिंढीको त कुरै भएन।
श्रीपञ्चमीमा हलसारो गरेर सियोमा गाईको
दूध चढाउँने,साउनमा मैझारो
खाने, नयाँ अन्न भित्रिदा कुलदेवता र अरु
देवदेवीलाई चढाएर मात्र ग्रहण गर्ने, मङ्सीरमा
नयाँ धान भित्र्याएपछि विधिपूर्वक होमहोमादि कर्मसहित न्वागी खाने, घरमा गाई भैंसी ब्याउँदा पहिलो छाकको विगौति मकैका खोष्टा वा खनायो, निमारोको पातमा बेरेर सातवटा पोका बनाएर कुल देवता लगायतका देवी
देवतालाई चढाउने, मोक्ष
प्राप्तिको लागि गाई र भूमिको दान गर्ने जस्ता यावत् परम्परा कृषिसँग जोडिएर
निर्माण भएका छन् । तर शहर बजारमा
बस्नेहरूले यी चलन चलाउन सम्भव हुने कुरो भएन। छैन। गाई भैंसी नपाल्ने, खेतिपाति नगर्ने हुँदा तिनका सन्ततिले कहाँ हलसारो गर्नु ? कहिले मैझारो खानु ? गाई भैंसीको
विगौतिको सातपोके के ले बनाउनु ? आफूले खेती नै
नगरेपछि नयाँ अन्न कुल देवता र देवी देवतालाई कहिले चढाउनु?
तर हाम्रा पुर्खाले आफ्नो र परिवारको रक्षा होस्, कुलको रक्षा होस्, आफ्ना पशुहरू, जमिन, खेतिबालि र सम्पूर्ण चराचर जगतको रक्षा होस् भनेर कुलदेवी देवताको पूजा आरधना
गरेका हुन्। देव देवीका पूजा गर्ने मन्त्रले यसै भन्छन्। यीनै मन्त्रको उपासनाले हामी
रक्षित छौं। यो हाम्रो विश्वास हो। संस्कार हो। चलन हो। चलनहरू परिस्कृत र
संस्कारित हुँदै गएपछि ती संस्कारमा रुपान्तरित हुन्छन् र स्थान भेद एवं कालभेद अनुसार फेरिदै जान्छन्। यो
शास्वत सत्य हो। तर हामी सबैले हाम्रो संस्कार र संस्कृतिको जरो भने थाहा पाउन
आवश्यक हुन्छ। कति सम्भव हुन्छ, कति पालना गर्न सकिन्छ सत्य र निष्ठापूर्क तिनको पालना गर्नुपर्छ। यिनको
पालनाबाट पांप्त हुने तृप्तिले हामीलाई मानसिक रुपमा बलियो र भौतिक रुपमा समृद्ध
बनाउन मद्दत गर्छ।
कुलदेवको पूजा
अपवाद बाहेक संसारका सबै धर्म, जातजातिका मानिसले आ–आफ्ना कुलदेव
देवीको आ-आफ्नै ढङ्गले पूजा
गर्दै अएको पाइन्छ। सनातनी हिन्दु धर्मावलम्वीको हकमा कुलदेवी देवताको पूजा गर्दा
आफ्नो कुलका इष्टदेव, देवीका साथै कुलले सनातनदेखि पूजा
गर्दै आएका देव, देवी, मस्ट, स्थानीय देवी, द्यौरालीको
पूजा गरिन्छ।
पूजा कहिले गर्ने? घर, गोठ, बारी कहाँ गर्ने? बलि दिने की सात्विक पूजा गर्ने? पूजामा
को को सरिक हुन हुने को को हुन नहुने? पूजाको
प्रसाद कसले खान हुने र कसले खान नहुने? भन्नेबारे
आ-आफ्ना कुल अनुसारका चलन, काइदा छन्। कसैले वेदोक्त विधि अनुसार गर्छन्, कसैले तान्त्रोक्त विधिबाट गर्छन्। कसैले पशु पंक्षीको बलि चढाउँछन्, कसैले खिर, पुवा,रोट चढाउँछन् । कसैले बिहे व्रतबन्धमा जसरी नै यज्ञमण्डप बनाउँछन् । कसैले
रुखका फेद वा बारीका कुनामा बनाइएका सामान्य थानमा पूजा गर्छन्। कसैको घरको भँडार
वा तलामा पूजा गर्छन् कसैले मन्दिर बनाएका छन् । कोही मन्दिर बनाउन हुँदैन भन्छन्
। कसैले पूजास्थलमा महिलाहरुलाई जान निषेध गरेका छन् । कसैकोमा विवाह गरेकी छोरी
जान पाउँदैनन् । कोही राती पूजा गर्छन् कोही दिउँसो गर्छन्। यी सबै आ-आफ्ना कुलमा चलि आएका चलनमा निर्भर छन्। तसर्थ कुलदेवको पूजामा जति
विविधता अरू कुनै पूजामा देखिदैन। दुराडाँडाका अधिकारीहरूकै कुलपूजामा कति विविधता
होलान्?
कुलपूजा सम्बन्धी समग्र अध्ययन, अनुसन्धानको
पाटो निकै फराकिलो र रोचक हुने देखिन्छ।
हाम्रो कुलको कथा
बाह्रौं शताब्दीको मध्यतिर सिञ्जा
राज्यका संस्थापक नागराजले भारतको सिन्ध प्रान्तको अलनापुरबाट कश्यप गोत्रीय
व्राह्मण सामु पण्डितलाई जुम्ला बोलाएर खिड्किसैन
(अहिले कालिकोट जिल्लामा पर्छ ) भन्ने ठाउँ व्रह्म बिर्ता दिई मुख्य गुरु
(पण्डित) बनाई राखेका थिए । मुख्य पण्डितलाई त्यतिबेला “भट्ट” भनिन्थ्यो
। “भट्ट” थर नभई पदवी थियो । अलनापुरबाट आएका र
भट्ट पदवी पाएकोले सामु पण्डितलाई “अलना
भट्ट” भनियो । उनका सन्तान दरसन्तान “अलना भट्ट” बाटै
परिचित हुँदै आए । सिञ्जा राज्यका राजा मलय बर्माबाट वि.सं. १४४६ मा ‘अधिकारी’ पदवी
पाएपछि “अलना अधिकारी” भनियो । भट्ट
छोडेर अधिकारी पद्वी लिए पनि 'अलनापुरको नातो' लाई छोडिएन । कालान्तरमा “अधिकारी” पदवी
थरमा रुपान्तरित भयो । “अलना भट्ट” या “अलना
अधिकारी” का
सन्तान भएकोले खाना खानुपूर्व अग्नी लगायतका देवताका लागि ‘बलि’ प्रदान
गर्दा नून मिसाएर प्रदान गर्न हुँदैन भन्ने चलन चल्यो । यसकै कारण हाम्रो कुलमा
खाना खाँदा पञ्चगाँससम्म अलिनै ग्रहण गर्ने परम्परा छ । यो हाम्रो कुलाचार हो।
हाम्रा पुर्खा खिड्किसैनबाट कास्कीको
अस्ताम आएका हुन् । अस्ताम आउने प्रथम पुर्खा हरिदास अधिकारी हुन्। शास्त्रास्त्रमा
खरो उत्रिएर कास्की दरबारमा राजगुरुको रुपमा प्रवेश पाएका हरिदास निकै मेधावी
पुरुष रहेछन्। अस्ताम विर्तामा अधिकारीहरूको रजगज राम्रै चल्दै आयो। यिनै हरिदासको
१५ औं पुस्ताका समन्त अधिकारी दुराडाँडा आउने पहिलो जिजु हुन्। दुराडाँडामै बसोबास
रहेका र यहाँबाट कुन्छा, रुपाकोट, खहरे, खत्रीठाँटी, कुसुण्डे हुँदै यी ठाउँबाट देश देशावरमा पुगेका अधिकारीहरुका साझा
बाजे समन्त हुन्।
वि.सं. १५५० को आषाढमा लमजुङेहरुले
कास्की दरबारबाट यशोब्रम्ह शाहलाई लामुङको राजगद्दीमा राख्न लिइ आउँदा राजाको
प्रमुख संरक्षक, सल्लाहकार,गुरुको जिम्मेवारीसहित दुराडाँडा आएका हुन् समन्त। राजा लिइ आउँदा
अधिकारीका साथै खत्री, तिवारी, राउत, सुयेल, भडारी, पुँवार थरका
मानिसहरू पनि आएका थिए। अधिकारीले लक्ष्मीनारायण,
खत्रीले घडी र तिवारीले खरी लिएर आएको उल्लेख छ
(लोक संस्कृतिको घेरामा लमजुङ, धर्मराज थापा, २०४१, साझा प्रकाशन, पेज नं ४२२)। कतिपय व्यक्तिले दुराडाँडा आउने पहिलो पुर्खाको नाम द्वारिकादास
उल्लेख गरेकोसमेत पाइन्छ (ठाकुरप्रसाद
छाँगा स्मृति ग्रन्थ, २०६९ पेज नं २)। द्वारिकादास समन्तका पिता हुन्। द्वारिकादास कास्की दरवारमा
राजगुरु थिए। आफ्नो छोरो राजाको गुरु र सल्लाहकारको जिम्मेवारीसहित लमजुङ जान
लागेको तर यसअघि आफ्ना युवराज कालुशाहलाई राजा बनाउन लगेका लमजुङ्गेले उनको
सुरक्षा दिन नसकेको देखे भोगेका द्वारिकादास छोराको मायाले डोहोरिएर सँगै आए होलान्।
तर उनी यहाँ बसेनन् । यहाँ आई घरजम गरी बस्ने पहिलो पुर्खा समन्त नै हुन् ।
यशोव्रह्म शाहलाई भाँगुको सिन्दूरे
ढुङ्गामा अबीर जात्रा गरी लमजुङको राजगद्दीमा बसालियो । तुर्लुङकोटमा राजा र
रानीका लागि दरबार बने। डाँडाको थुम्कोमा शाहहरुकी इष्टदेवी कालिकाको स्थापना
गरियो। दरबार वरपर ४ वटा गढी बनाइए । दरबारभन्दा दक्षिणपूर्वको मैदान भन्ने ठाउँमा
समन्तको लागि बसोबासको व्यवस्था मिलाइयो। समन्तको परिवारले चलन गरेको पँधेरोलाई आजकल
बाहुन पँधेरो भनिन्छ । श्रीकान्त अधिकारीका अनुसार उनको बसोबास रहेको घडेरी अहिले
नीलकण्ठ अधिकारी (मधुसुदन गुरुका कान्छा भाइ) को घर भएको ठाउँ हो। हरिदासदेखि गणना गर्ने हो भने समन्त
पन्ध्रौँ पुस्ताका पुर्खा हुन्। तर दुराडाँडा आउने पुर्खाका हिसाबले उनी पहिलो
हुन्। यो लेखमा सहजताको लागि उनलाई पहिलो पुर्खा मानेर उल्लेख गरिएको छ।
समन्तका सन्तति
समन्त (१) का चार छोरा भए । जोठा गोपाल (२) मैदानमै बसे । माहिला घाँगु जैसी
कन्या विवाह गरेर कुन्छा गए । साहिँला गोविन्द तनहुँको रुपाकोट सरे । कान्छा
सान्तु दुराडाँडाकै गिरेचौर सरे ।
गोपालका छोरा कल्याण (३), कल्याणका छोरा विद्याधर (४) र विद्याधरका
छोराहरु मनोहर र दिग्विजय (५) भए । श्रीकान्त
अधिकारीका अनुसार विद्याधर अधवैंशे उमेरमै विधूर भए। गाउँशहर दरबारमा कार्यरत
विद्याधर विधुर भएपछि उनी राजाबाट आयोजना हुने देवकार्य तथा पितृकार्यमा अयोग्य
भए। उता भातभान्सामा समेत आफैले हेर्नुपर्ने झण्झटमा परे। फलतः दोस्रो बिवाह नगरि
नहुने अवस्थामा पुगे विद्याधर। उनले दोस्रो बिहे गरे। उनकी दोस्री पत्नी लाटी
थिइन्।लाटी पत्नीपट्टी सन्तान पनि ढिलै जन्मिए। हाम्रा जिजु दिग्विजय यिनै लाटी
बज्यैका सन्तान हुन्।
दिग्विजयका जेठा छोरा मनोहर (उपल्ला गाउँ, चारघरे, विष्टेका अधिकारीहरूका जिजु) ले
वि.सं. १७७१ मा राजा रिपुमर्दनको पालामा राजको जग्गा जमिन बन्धकी लिएको उल्लेख छ। (१७७१
मा रजबन्धकी लिने मनोहर समन्तको पाँचौँ पुस्ताका सन्तान भएको देखिन्छ। रजबन्धकी
लिदा उनी २५ वर्ष वरपरका भएको भए पनि २०० वर्षको अवधिमा जम्मा ५ पुस्ता थपिएको
देखिन्छ। २५ वर्षलाई एक पुस्ताको समयावधि मान्ने हो भने समन्तदेखि मनोहरको बीचमा
कम्तीमा नौ दश पुस्ता फैलिनु पर्ने हो। तसर्थ १५५० देखि १७५० सम्मको २०० वर्षको
अवधिमा कम्तीमा ३ या ४ पुस्ताका पुर्खाहरू हराएको देखिन्छ। तर अहिलेसम्म जे
जानकारी उपलब्ध छ त्यसैलाई आधिकारिक मानेर अगाडि बढ्नुको विकल्प छैन। यस अनुसार
हाम्रो पिंढी समन्त (१) देखि हाम्रो पिताजीसम्म आइपुग्दा १२ औँ पुस्ता चलेको छ।)
दिग्विजय (५) का छोरा शिव
शर्मा (६) भए
। शिव शर्माका तीन छोरा भए । जेठा समन्त, माहिला शुकदेव र
कान्छा कालिदास (७)। स्वाँराका श्रीकान्त समन्तको हाँगोमा, मेरा पिताजी भानुभक्त शुकदेवको हाँगोमा र पन्थेका हरिदास कालिदासको
हाँगोमा १२ औँ पुस्ताको पुर्खा हुनुहुन्छ। समन्तका खलक, शुकदेवका खलक र कालीदासका खलक (पन्थेली) का
साझा बाजे शिव शर्मा (६) हुन्। यी तीन खलकका साझाबाजे शिव शर्मादेखि हाम्रो पिताजीको पिँढीसम्म
६ (छैठौँ)
पुस्ता चलिरहेको छ।
शुकदेव (७) को हाँगो
शुकदेवका तीन छोरा भए। जेठा गिरीधारी, माहिला
शक्तिवल्लभ र कान्छा अगन्धर (८)। देवतापानी
मूलथलो भई पछि चितवन बसोवास गर्नुहुने चिरञ्जिवी गुरु (वि.सं. १९८४ सालमा धुवाउने
ठाँटीमा खुलेको लमजुङको पहिलो भाषा पाठशालाका प्रथम शिक्षक) गिरीधारीका खनाति
अर्थात गिरीधारीका छोरा कण्ठूका पनाति हुन् । उनी पनि १२ औं पुस्ताका हुन् । धुँवाउने
ठाँटी मुनिका पूर्णचन्द्र अधिकारी, ज्ञानशाली अधिकारीका खलक, टारीका
रामभक्त अधिकारीका खलक शुकदेवका जेठा छोरा गिरिधारीका हाँगोका हुन्।
तिवारीथोकका बन्धुहरू, स्वाँराका नरनाथ अधिकारी र विष्णुप्रसाद अधिकारी माहिला शक्तिवल्लभको
हाँगोका हौं । विजुली खरदार भनेर चिनिने खरिदार मधुविलास अधिकारी, स्वाँराकै रामदत्त
अधिकारीका छोरा रमेशचन्द्र अधिकारीहरू अगन्धरको हाँगोका हुन्।
शक्तिवल्लभ (८) को हाँगो
शक्तिवल्लभका तीन छोरा भए । जेठा केशव, माहिला
शालिग्राम र कान्छा विष्णुहरि (९) शक्तिवल्लभकी पत्नीको नाम सत्यभामा (विष्णुहरिका कान्छा छोरा व्रह्मदत्तको
छोरीतर्फका नाति जगन्नाथ श्रोत्रीयले श्राद्धमा आफ्नी आमाका बुढाहजुरबा हजुरआमा
अर्थात शक्तिवल्लभ र उनकी पत्नीलाई तर्पण दिने हुँदा उहाँलाई यो नाम थाहा रहेछ ।
मैले वहाँबाटै प्राप्त गरेको हुँ ) हो।
स्वाँरा विष्णुप्रसाद काकाहरु केशवका, नरनाथ काकाहरू
शालिग्रामका र मेरा पिता भानुभक्त विष्णुहरिका पनाति हुनुहुन्छ । यी तीन खलकका
साझाबाजे शक्तिवल्लभ हुन्। शक्तिवल्लभ (८) देखि हाम्रा पिताजीको पिँढी (१२) सम्म आइपुग्दा हामी चौथो पिंढीमा छौं । विष्णुहरिकी नातिनी बुहारी
गिरिजाकुमारी अधिकारी र इन्दिरा
अधिकारी जीवित हुनुहुन्छ। तसर्थ यी तीन परिवार तीन पुस्ताभित्रै छौँ। हामीहरु सबैभन्दा
नजिकको कुलबन्धु हौं।
विष्णुहरि (९) को हाँगो
हाम्रा साझाबाजे विष्णुहरिको घर
स्वाँराको बारीको पुछार (अहिले अरुणकान्त अधिकारीको घर अगाडिको मोटर बाटोभन्दा माथिल्लो
गरोमा थियो। उनको विवाह तनहुँ जिल्लाको बर्लांचीका लम्साल परिवारकी विष्णुप्रभा (कसै
कसैले विष्णुमाया भनेका छन्। विवाहमा पत्नीलाई पतिले आफूलाई मन पर्ने नयाँ नाम
दिने प्रचलन अनुसार विष्णुसँग जोडेर यी दुईमध्ये कुनै नाम दिइएको या दुवै नामको
प्रयोग गर्ने गरेको हुनुपर्छ ) सँग भएको हो ।
कविराज तीर्थराज लम्सालकी बुढी फूपू
हुनुहुन्थ्यो हाम्री ज्यामै।
विष्णुहरि छिटै परलोक भए। उनका उक छोरी
र छ छोरा थिए। उनी परलोक हुँदा जेठा छोरा हेमलाल (सन्तु) १२ वर्षका र कान्छा छोरा ब्रम्हदत्त २ वर्षका थिए। छोरीको विवाह
भइसकेको थियो। । उनको विवाह बाँग्रेका वसन्त भण्डारी (वरिष्ठ अधिवक्ता कृष्णप्रसाद
भण्डारीका हजुरबा) सँग भएको हो।नातिहरूको अभिभावकत्व जिजु शक्तिवल्लभको काँधमा
आइपरेको थियो। हिमलाल वयस्क भएपछि गैराघरका न्यौपानेहरूसँग तिवारीथोकको बारी किनेर
स्वाँराबाट यता सरेका हुन्।
विष्णुहरिका सन्तति स्वाँराबाट तिवारीथोक
सरेपछि बनाइएको मूलघर अहिले दाजु विष्णुप्रसाद अधिकारीको घर भएको ठाउँभन्दा
पश्चिमपट्टि थियो भन्नुहुन्थ्यो हजुरआमा। उहाँले पनि देखेको होइन सुनेको कुरा।
विष्णुहरिका जेठा छोराको नाम हिमलाल हो।
उनलाई सन्तु पाध्ये पनि भनिन्छ । सन्तुका तीन छोरा र तीन छोरी भए । जेठा मेघनाथ
सन्तान नहुदै परलोक भए । माहिला रामनाथ (शेषकान्त पनि भनिन्छ) र कान्छा यदुनाथ
हुन् । रामनाथका सन्ततिलाई दुईतले माहिला बुढाका खलक र यदुनाथका सन्ततिलाई दुईतले
कान्छा बुढाका खलक भनेर चिनिन्छ।
माहिला बेणिमाधव हाम्रा बुढा हजुरबा
हुनुहुन्छ । वहाँका खेमराज र कालिप्रसाद
दुई छोरा र कालिका देवी र नन्दकुमारी दुई छोरी भए। जेठा खेमराजको पहिली
पत्नी नर्मदाबाट २ छोरा र दोस्रो पत्नी गुणकुमारीबाट ४ छोरी भए। जेठा छोरा
षडानन्दको २०१६ साल जेठमा २० वर्षको उमेरमा निधन भयो। कान्छा छोरा सोमनाथ हुनुहुन्छ।
वेणिमाधवका कान्छा छोरा कालिप्रसाद हाम्रा हजुरबा हुनुहुन्छ। उहाँका पनि दुई पत्नी
रहेछन्। हाम्री हजुरआमा जेठी र कालिम्पोङकी हजुरआमा कान्छी। हाम्री हजुरआमापट्टि
दुई छोरा (पिताजी भानुभक्त
र काका रामनाथ) र दुई छोरी भए।
काका रामनाथको २००६ साल वरपर (सानी फूपुका
अनुसार ) ७ वर्षकै
उमेरमा निधन भयो। कालिम्पोङ हजुरआमापट्टी दुई काकाहरू (दुर्गा र रामु) अनि एकजना फूपु
(जानकी)
हुनुहुन्छ। हजुरआमाबाट थाहा पाएका यी नामबाहेक हामीसँग उहाँहरूकाबारे थप जानकारी
केही पनि छैन। हामीलाई आरुबोटे खलक भन्छन्।
वेणिमाधवकी जेठी छोरी कालिका देवी
उल्याहारका तारानाथ ढुङ्गानालाई र कान्छी नन्दकुमारी कुन्छाका नित्यानन्द सोतीलाई
दिएको हो । मेरी हजुरआमाका अनुसार ठूली छोरी कालिकादेवीको विवाह विष्णुहरीका सबै
छोरा सगोलमा छँदै भएको हो।
दाजुभाइ छुट्टिभिन्न हुँदा जेठा र
ठाहिँला अहिले दुइतले कान्छाबूढाका परिवारको घर भएको ठाउँमा सरे, माहिला र काहिँलाले अहिले गल्लीमुनेको घर भएको भन्दा अगाडिको ठूलो
गरामा घर बनाए। यी दुई दाजुभाइ सँगै बसे। साहिँला र कान्छा अलग अलग बसेका थिए। यी
जीजुहरूको घर क्रमशः अहिले दाजु काशिनाथको घर भएको ठाउँमा र सोभन्दा पश्चिमको
गरामा थियो। पछि माहिला र काहिँला पनि छुट्टीभिन्न भए। काहिँला पुरानै थलोमा बसे। हाम्रा
बूढाबाजे वेणिमाधव आरुबोटको बारीमा सर्नुभयो । हाम्रो परिवारलाई त्यही बेलादेखि
आरुबोटे भन्न थालिएको हो । आरुबोटमा अहिले हाम्रो घर भएको ठीक अगाडिको बाटेगरोमा
घुमाउने घर थियो अरे । तर मैले उक्त घर देखिन । त्यहाँको बारीमा आरुको विशाल रुख
रहेको, झरेर कुहिएका आरुका बियाँ बटुल्दा पनि तीन चार पाथी बियाँ जम्मा हुने
र त्यसको गुदीको पिठो बनाई सेल पकाएर खाने गरिन्थ्यो रे ।
साहिँला बाजेको नाम षडानन्द हो। उनका
एक छोरा र तीन छोरी भए । छोराको नाम पं. जीवनाथ हो । मटिहानी र वनारसमा पढेर
पण्डित भएका। षडानन्द बर्मा जानुभएको रहेछ।
दुर्भाग्य उहाँको उतै परलोक भयो। जीवनाथकी एउटी छोरीमात्र थिइन्। उनलाई
गोरखाका श्रीनिवास देवकोटालाई दिएको हो। श्रीनिवास हाम्रो हजुरबाका मामा हुनुहुन्छ।
माहिलो दाजुको जेठानलाई साँहिलो भाइकी नातिनी दिएका रहेछन्। तर साटो गरेका भने
होइनन्।
काहिँला बाजेको नाम खेमराज हो ।
काँहिला बाजेका सन्तानलाई गल्लिमुनी परिवार भन्छन् । उनका दुई छोरा र एक छोरी भए ।
जेठा छोरा कुश्माकरका सोमनाथ, रविन्द्रनाथ र नरनाथ गरी तीन छोरा र
चार छोरी भए । कान्छा ठाकुर प्रसादले छिट्टै दुराडाँडा छोडेर काठमाडौंमा नै बसोबास
गरे । उनका तीन पत्नीमध्ये माहिलीबाट एक छोरा र कान्छीबाट चारभाइ छोरा एवम् एउटी
छोरी भए । उनका एक छोरा श्रीधरको बसोबास काठमाडौमा हाम्रो नजिकै खरिबोट भन्ने
ठाउँमा छ ।
ठाहिँला बाजेको चम्पाखर हुन। उनकी
एउटामात्र छोरी भइन। तिनलाई जीता बहुलाहा गाउँ दिएको हो। छोराहरुको नाम सर्दाखर,पूर्णाखर
घिमिरे हो। उनीहरूको बसोबास अहिले चितवनमा छ।
कान्छा बाजेको नाम व्रह्मदत्त हो ।
व्रह्मदत्तका दुईवटी पत्नीबाट छ जना छोरा र छ जना छोरी भए । यी मध्ये शुकदेव, रुद्रनाथ
(केदारनाथ पनि भनिन्छ), कृष्णविलास, रामदत्त
र हरिभक्त जेठीतिरका र हरिप्रसाद कान्छीतिरका हुन् । व्रह्मदत्त वि.सं. २००० सालतिर
जेठी पट्टिका छोरा छोरीसहित रौतहटको कटहरवन सरे । व्रह्मदत्तका भानिज पण्डित पशुपति भण्डारी (कृष्णप्रसाद भण्डारीका पिता ) तुङग शमसेर राणाको दरवारमा मुन्सी र पण्डित रहेछन् । उनले त्यहाँ
ठूलो विर्ता पनि पाएका रहेछन् । उनै भानिजको आड भरोसामा कान्छा मामा दुराडाँडाबाट
रौतहट गई कटहरवनमा बसोबास गरेका रहेछन् ।
उनी कटहरवनमा राणाको जागिरे समेत भएका थिए । व्रह्मदत्तका कान्छी पट्टिका छोरा
हरिप्रसाद (बाबुपट्टिका
माहिला) भने दुराडाँडामै
बसे । उतिबेला हरिप्रसाद छुट्टि भिन्न भई तिवारीथोकबाट छहरेपानीतिर आई नयाँ घर बनाई बसोबास गरेकोले हरिप्रसादको परिवारलाई नयाँघरे
भन्न थालियो ।
तिवारीथोकका अधिकारीहरुको
कुलदेवता पूजा
तिवारीथोकका अधिकारीका साझाबाजे
विष्णुहरिका ६ भाइ छोराका सन्तानमध्ये जो जो हालसम्म त्यहीँ बसोवास गरिरहेका छन्
तिनले कुल देवताको पूजा एकै ठाउँमा गर्नुपर्ने हो
। तर त्यसो भएको छैन । जेठा छोरा सन्तु पाध्येका छोरामध्ये कान्छा छोरा
यदुनाथ (दुईतले कान्छा) का खलक, माहिला वेणिमाधव (आरुबोटे) का खलक, काहिँला
खेमराज (गल्लिमुने) का खलक र कान्छा व्रह्मदत्तका छोरा हरिप्रसाद (नयाँघरे) का
खलकले तिवारी थोककै ठूलडिहिँमा गर्ने गरिएको छ । सन्तु पाध्येकै माहिला छोरा
रामनाथ (दुईतले माहिला) का खलकले भने स्वाँराका दाजुभाइसँगै सिम्ले खेतमा रहेको
थानमा पूजा गर्दै आएका छन् । कूल देवताको थान भएको जग्गा नै रामनाथकै काहिँला छोरा
नरनाथका सन्ततिको स्वामित्वमा छ।
यदुनाथका जेठा छोरा मणिराज र साहिँला
छोरा रेवतिरमण अधिकारीका अनुसार साविकमा विष्णुहरिका सबै सन्तानले सिम्लेमा नै
पूजा गर्दै आएका थिए । ठूलो कूल हुनाले कुल देवताको पूजामा अधिकारी भाइबन्धुहरुको
निकै ठूलो उपस्थिति हुन्थ्यो । पूजामा बोकाको बलि दिइन्थ्यो । वि.सं. २००६ या ००७
सालतिर एउटा परिवारले आफूले थान्को मान्को लगाई पूजा गर्दै आएको वीरलाई गोप्य
रुपमा कुलदेवी विन्ध्यवासिनीको पूजा गर्ने खोपासँगै पश्चिमपट्टि थान जस्तो बनाएर
पूजा गरेछन् । यो कुरा यदुनाथ लगायत केही दाजुभाइले थाहा पाइहालेछन् । नितान्त
एउटा परिवारलेमात्रै थान्को मान्को गरेको वीरलाई सारा कुलले पूजा गर्ने कुल
देवीसँगै राखेर अरु दाजुभाइलाई समेत किन मुछियो ? भनेर गाईंगुईं
चलेछ । तर प्रतिष्ठित र हुनेखाने परिवारको कुरो हुनाले सोझै प्रतिकार गर्ने वा
जुध्ने आँट कसैमा भएनछ । पहिल्यैदेखि कुलोपानी, सन्धिसर्पनमा
समेत होचो अर्घेलो सहिरहनु पर्ने, कुल पूजाकै दिनमा पनि बलि दिएका बोका
खुईल्याउने, आन्द्राभुँडी धुने, पकाएका
भाँडाकुँडा सफा गर्ने काममा एकोहोरो लोधिनु पर्ने अनि हुने खाने कहलाएका र तिनका
आसेपासेहरु ठालु पल्टेर अह्राउने पह्राउने मात्रै गर्ने, अह्राई
पह्राई गर्दा पनि हेपेर होच्याएर गर्ने, प्रसाद भाग
लगाउँदा पनि पक्षपात गर्ने जस्ता व्यवहार हुदै आएकोमा यसरी पारिवारिक वीरको
पूजासमेत सामूहिक रुपमा मिसाएर गर्न खेजेपछि मनमुटाव बढन थालेछ । २००७ या ००८
सालको चण्डि पूर्णिमाको तीन चार दिनअघि माहिला हजुरबा रामनाथ समेतको उपस्थितिमा
सबै हजुरबाहरुले छलफल गरी अबदेखि तिवारीथोकेहरुले ठूलडिहीमा यदुनाथको बारीमा
अलग्गै थान बनाइ पूजा गर्ने, सिम्ले नजाने भन्ने निर्णय गरेछन् ।
चण्डी पूर्णिमाको अघिल्लो दिन कुल
देवताको थान बनाउन ठूलडिहिमा जुटने सल्लाह पनि भएछ । दाजुभाइ जुटेछन् । तर दुईतले
माहिला हजुरबा आउनु भएनछ । हाम्रो जेठा हजुरबा खेमराजले माहिलादाइ किन आउनु भएन
भनेर निकै सोधी खोजी पनि गर्नुभएछ । आउँदै हुनुहोला वा केही परेर नआउनु भएको होला
भनेर चित्त बुझाउँदै जो जुटे तिनले थान बनाएर फर्किएछन् ।
तिवारीथोकेहरुले कुल देवताको पूजा
अलग्गै गर्दैछन् भन्ने थाहा पाएपछि विचारीबा (कालिदास अधिकारी) ले रामनाथ
हजुरबालाई “तिम्रो आफ्नै खेतमा देउता छन् तिमी किन छोडेर
जान्छौ ? अरुले छोडे छोडछन् नि” भनेर
संझाएपछि वहाँ थान बनाउन नजानु भएको रहेछ । पूजाको दिनमा पनि उतै सिम्लेमै जानु
भएछ । विचारीबाको भनाइले माहिला हजुरबालाई आफ्नै खेतमा रहेको कुल देवताको थान छोडन
नसक्ने वा नमिल्ने परिवन्द परेको र थान बनाइसकेका अरु दाजुभाइहरुलाई पनि आफैले
अलग्गै पूजा गर्ने सङ्कल्प गरी थान समेत बनाइसकेपछि अलपत्र छोडेर जान मनले नमानेको
कारण “जे निर्णय गरियो गरियो त्यसबाट पछाडि नफर्किने” भनी
मसक्क आँटेका कारण अनयासै एकै बाजेका नातिहरुले पनि अलग अलग ठाउँमा कुल देवताको
पूजा गर्न थालेका रहेछन् । अद्यापि यो चलन यथावत छ ।
“कुल” देवताको
पूजा अलग अलग गरेपनि दाजुभाइ बीच गम्भीर झैझगडा भएर त्यसो भएको देखिदैन । तर माहिलाबूढा र कान्छाबूढाबीचको
वैमनस्यले भने केही न केही प्रेरित गरेको भने देखिन्छ। तर पछिल्ला दिनहरुमा यो
तथ्यलाई अल्लि तोडमोड गरी फरक ढङ्गले
प्रस्तुत गर्ने गरेको पाइन्छ । “नैवैद्य बाँडदा आफूहरुलाई थोरै दिए
भनेर तिवारीथोकेहरुले अलग्गै पूजा गरेका रे ! ” भनेर “खानका
लोभले फूटेको ” अर्थ लाग्ने गरी व्यङ्गात्मक टिप्पणी गर्ने
गरेको पनि सुनिएको छ । हुन त यो कुरामा केही सत्यता रहेछ पनि । नैवैद्य बाँडदासमेत
आफ्नो अर्को छुट्याएर पक्षपात गरेकै कारण र हेप्न खोजेकै कारण हाम्रा हजुरबाहरु
अलग हुने परिस्थिति निर्माण भएको रहेछ । त्यो वास्तवमा एउटा भाइले अर्को भाइका
विरुद्ध गरेको स्वाभाविक द्रोह थियो। कुलदेवको पूजामासमेत अरुलाई मात्रै जोत्ने, दलाउने
र प्रसाद वितरणमा समेत पक्षपात गर्ने हेपाहा र शोषक प्रवृत्तिको मौन प्रतिकार
गर्दा यो परिस्थिति उत्पन्न भएको देखिन्छ। तर त्यतिबेलाको सामाजिक अवस्था, संस्कार
त्यस्तै थियो । कथित ठूला ठालूहरु आफ्नै बाउ–आमासँग समेत
ठूल्याईँ देखाउनमा गर्व गर्थे । द्रोह गर्थे । सायद त्यस्तै भएको होला ।
हिजोका व्यवहारप्रति अहिलेको पुस्ताको
कोही पनि दोषि छैन। हाम्रा पुर्खाले पनि त्यतिबेलाको विशिष्ट परिस्थिति अनुसार जे
निर्णय लिनुपर्ने अवस्था आयो त्यही निर्णय लिएका हुन् । तसर्थ पुर्खाहरू पनि दोषि
छैनन्। अहिलेको पढे लेखेको जाने बुझेको देश दुनिया देखे भोगेको पुस्ताले
परिस्थितिलाई बडो शान्त र संयमित भएर समिक्षा गर्न सक्नुपर्छ । आफ्नो हाँगोका
पूर्खाले गरेको व्यवहारमात्रै उत्तम हो भनेर पूर्वाग्रही हुन वा आत्मरतिमा रमाउन
आवश्यक छैन । कसैप्रति पनि गुनासो या तुष राख्नु वा अहिले पनि आँखा अल्लि ठूला
पारेर किञ्चित व्यङ्ग मिसिएको कुटिल हाँसो हाँस्नुको त झन कुनै तुकै छैन । सबैले
यही आँखाले हेर्नु वुद्धिमानी हुनेछ ।
कुल देवताको पूजामा फूटदै र जुटदै जाने
प्रसङ्गमा अघिल्लो वर्ष अर्थात २०७४ सालको कुल देवताको पूजामा तिवारीथोकका भाइ
राजु अधिकारी (यदुनाथका माहिला छोरा लेखनाथको छोरा) पनि सिम्लेमा मिसिएका छन् ।
एकै कुलका सबैले एकै थलोमा पूजा गर्नु अति राम्रो हो । सकेदेखि समन्तका सबै सन्तान
एकै ठाममा जुटन पाए हुन्थ्यो । यो बारेमा अघिल्ला अघिल्ला वर्षमा केही छलफल भएको
पनि हो । कसैलाई पनि आफूले पूज्दै आएको ठाउँ छोडेर जान सहज नहुने रहेछ । तसर्थ
यसले मूर्तता पाउन सकेको छैन । तर दाँत फूक्ले जस्तो एक्ला–एक्लै
फूक्लिदै जानु भने पटक्कै शोभनीय देखिएको छैन । जे होस झिना मसिना कुरालाई बिर्सेर
ठूलो छाती पारेर, पहिले वा अहिले दुवै कालखण्डमा ज–जसको
अर्घेल्याईं भएपनि अर्घेल्याई गर्नेलाई क्षमा दिएर हामी सबैले एकै थलोमा पूजा गर्न
पाए हुन्थ्यो भन्ने भने हामीलाई पनि लागेको छ। व्यक्तिगत कुरा गर्ने हो भने मैले त
दाजुभाइ समक्ष प्रस्ताव नै राखेको छु । तर सहमति जुटेको छैन। सबैका आआफ्नै कुरा
छन्। मेरै आमा र तल्लोघर सानाबासमेत हामीले जान्दा यहीं ठूल्डिहींमा पूजा गरेको
हो। मेरा पालामा त म अन्त जान्न भन्नु हुन्छ। कुल पूजा जस्तो कुरामा कसैले पनि
कसैप्रति जवरस्ति गर्न हुँदैन। कुलको कोही एकजनाको पनि मन कुँडियो भने हिजो र आजमा
कुनै फरक आउँदैन। तसर्थ व्यक्तिलाई के लाग्यो भन्ने कुराले ठूलो महत्व राख्दैन। तर
सबैले एकै ठाउँमा पूजा गर्न चाहेमा त्यो दिनपनि पक्कै आउला.................।
कुल देवता पूजाको पूर्वतयारी
हाम्रो पूजा विधि वेदोक्त विधि हो । २००७
सालपुर्वसम्म देवीका लागि बलि चढाउने चलन रहेछ। चण्डी देवीलाई मांसको हवन दिने
गरिन्थ्यो अरे। तर आजकल बलि दिइदैन । सिम्लेबाट फूटेर आएदेखि नै बलि दिन छोडिएको
रहेछ ।
देव देवीका पूजा मन्त्रहरु शुक्ल
यजुर्वेदबाट लिइएका छन् । प्रसादको रुपमा
खीर, रोट, फलफूल चढाइन्छ । तसर्थ हाम्रो पूजा विधिलाई “कोरी
पूजा” पनि भनिन्छ । हाम्रो कुलमा कुल
देवताको पूजा वर्षेनी गर्नुपर्छ । प्रत्येक वर्ष बैशाख पूर्णिमाको दिन पूजा
हुन्छ । जूठो सूतक वा अरु कुनै कारणले सो दिन हुन नसके जूठो सूतकबाट चोखिएको
लगत्तै भोलिपल्ट गर्न सकिन्छ। यसको लागि बार, तिथि केही
जुराइरहन पर्दैन। २०८१ सालमा गल्लिमुनि प्रकाश अधिकारीको निधनले बैशाख पूर्णिमाको
कुलपूजा रोकियो। जेठ १९ गते तेह्रौं दिनको कर्म सकिएपछि २० गते कुलपूजा गरिएको
थियो। यदी त्यसरी गर्ने अनुकुल जुरेन भने जेठ पूर्णिमाको दिन गरिन्छ ।
पूजाको अघिल्लो दिनदेखिनै स्नान, नूतन यज्ञोपवित धराण र हविष्यान्न (हवन गर्न मिल्ने अन्न, घिउ
आदि) भोजन गर्नु पर्छ। बैशाख पूर्णिमाको दिन प्रातःकालमा स्नान गरी शुद्ध भई चोखो
वस्त्र पहिरिनु पर्छ । अफूले उपनयन संस्कारमा प्राप्त गरेका गायत्री मन्त्र
लगायतका मन्त्र जप गरी आत्म शुद्धी गर्नुपर्छ । आमा, श्रीमती , छोरी
बुहारी जो छन् उनीहरुले पनि नुहाई धुवाई गरी शुद्ध भई चोखो लुगा लगाई पूजा सर्जाम
र नैवेद्य तयार गर्नुपर्छ । पूजा सर्जाम तयार गर्दा सबैभन्दा पहिले कुल देवताको
पूजाका लागि चाहिने सर्जाम तयार गरेरमात्रै आफ्नो आफ्ने परिवारले अलग्गै पूजा
गर्ने गरिएका नाग, भँयेर, गैडी, झाँक्री
अदिको पूजा सर्जाम तयार गर्नुपर्छ।
पूजा सर्जाम जुटाउने सन्दर्भामा पहिला
र अहिले धेरै अन्तर आएको छ। पहिला सबैको बसोबास दुराडाँडामै थियो। खेतिमा आधारित
जीवन पद्दति थियो। प्रायः सबै सर्जाम घर घरबाटै जुटाइन्थ्यो। तर अहिले त्यस्तो
परिस्थिति छैन। सबैजसो परिवार काठमाडौबाट दुराडाँडा गएर पूजामा सरिक हुने
परिस्थिति बनेको छ। तसर्थ सामग्री जुटाउँदा आपसी सल्लाह गरी कुनै पनि सामान खेर
नजाने हिसाबले जुटाउनु पर्ने भएको छ।
कुलदेवको पूजाको लागि सामान्यतः देहायका सामग्री आवश्यक हुन्छ,
(क)
पूजा भाँडा
देव देवीको पूजा विधिबारेको किताव र
हाम्रो पूजाविधि उल्लेख भएको पाना-१
दियो,
कलश, सप्तपाला, जलपात्र र आचमनी- ७ ( यी सामान कर्ताको सङ्ख्या अनुसार चाहिने भएकोले जतिजना कर्ता भइन्छ त्यति सेट भए पुग्छ। ७ देव देवीको लागि बढीमा ७ जना कर्ता रहने
भएकोले बढीमा ७ सेट भए हुन्छ), कर्मपात्र- ३, अर्घौतो,
शङ्ख घण्ट, तामे मानो, पञ्चामृत राख्ने पात्र, गहुँत
राख्ने पात्र, धुपौरो र सुरो- एक एक थान,पानी राख्ने जग-१
(ख) पूजा सामग्री
धान-१
केजी, चामल
-२ केजी, जौ-१ केजी, तिल-२५० ग्राम, सर्सिउँ-१ प्याकेट (२० ग्रामजति), अबीर-१ पोका, केशरी-१ पोका, चन्दन-१ प्याकेट, कातेको बत्ति-३०० जोर (बत्ती बाल्न र आरतिका लागि) अगरबत्ती-१ प्याकेट, बाटेको बत्ती-४ मूठा, रातो बस्त्र (गणेशजीलाई) आधा मिटर, पहेंलो वस्त्र (शिवजीलाई)-आधा मिटर, देवीहरूलाई
सौभाग्य सामग्री- ५ सेट, जनै-७ जोर, सुपारी-७, घीउ (हवन र
पञ्चामृतका लागि)-आधा केजी, बत्ती बाल्न तिलको तेल-आधा
लिटर, गाइको दूध, गहुँत, गोवर, हरियो दुना-२०, हरियो टपरी-२०, कुश, फलफूल (केरा उत्तम, २ दर्जन भए पुग्ने), गङ्गाजल, तुलसीपत्र, दूबो, बेलपत्र, धतुरोको
फूल लगायतका जातजातका फूल, पञ्च पल्लव (बर पिपल, आँप, पाखुरी
र डूम्री) का पात, मिश्री आदि सुख्खा प्रसाद आधा केजी,
रेषी हाल्ने पीठो, राता पहेंला र
सेता ध्वजा-१०० थान, रक्षा सूत्र-१,
(ग) पक्वान्न प्रसाद
प्रसादस्वरुप कुलदेव र अन्य देव
देवीलाई अर्पण गरिने खीर, रोट त्यहीँ तयार गरिन्छ र पूजा सम्पन्न भएपछि कर्ताहरूलेमात्र खाने चलन
छ। अरु प्रसाद उपस्थित सबै कुलबन्धुले बाँडेर खाइन्छ । प्रसाद घरघरमा लैजाने चलन
छैन। प्रसादको लागि चढाइने खीर र रोटमा चिनी राख्ने चलन छैन। यो पक्वान्नको हवन
पनि हुन्छ।
(घ) अरु खाने कुरा
साविकमा पूजास्थलमा पुरुषहरु र विवाह
नभएका कन्या, ज्वाइँ
भानिजमात्र जान्थे। हवन र भगवानको प्रसादका लागि चाहिने पक्वान्न बनाउँदा थोर थोरैमात्र
बनाइन्थ्यो। पूजा सकिएपछि आ-आफ्नै घरमा गएर
भोजन गर्ने चलन थियो।
२०७५ सालमा यो चलनमा सुधार गरियो।
मातृशक्तिहरू पनि पूजास्थलमा जान थालियो। पूजा सकिएपश्चात् कुलदेवको दर्शन र
आरतिमा सरिक गराउन थालियो। खीर, रोट पनि उपस्थित सबैलाई अघाउञ्जेल
पुग्ने गरी तयार गर्ने चलन चलाइयो। तरकारी, अचारसमेत
बनाउन थालिएको छ। तर भगवानलाई चढाएको प्रसाद (खीर
र रोट) खाँदा नून नमिसाइ खाने चलन छ।
खाने सामग्री जुटाउँदा पूजामा कतिजना
सहभागी होइन्छ त्यतिजनालाई पुग्ने तर खेर नजाने हिसावले सामग्री जुटाउन
पर्नेहुन्छ।
(ङ) अन्य सामग्री
पूजास्थलको सरसफाइको लागि आवश्यक हुने
कोदालो, हँसिया, खीर पकाउने
भाँडो, रोट पकाउने ताई र पन्यू, पानी राख्ने
गाग्री, बाल्टीन, अंखोरा, जग, दाउरा, प्रसाद
खाने दुना टपरी वा प्लेट, पानी पिउने
गिलास लगायतका सामग्री घर घरबाट या कुनै सामाजिक संस्थाको भए त्यहाँबाट जुटाउने
चलन छ।
कुल देवताको पूजा
कुल देवताको पूजा वास्तवमा कुलोत्सव हो
। तसर्थ कुल देवताको पूजास्थलमा सबै भाइबन्धु एकसाथ जुटनु पर्छ । सबैभन्दा पहिला
कुल देवताको थान वरिपरि सफा गर्नु पर्छ । गङ्गा जल, गहुँत, सर्सिउँ
छर्केर स्थान शुद्धि गर्नुपर्छ । पूजास्थलमा बस्न सजिलो हुने गरी आसनी ओछ्याउनु
पर्छ । विधिपूर्वक अग्निस्थापना गर्नुपर्छ ।
आसनीमा बसीसकेपछि सबैभन्दा पहिला गङ्गा
जल समेत राखी कर्मपात्र तयार गर्नुपर्छ । पञ्चगब्य र पञ्चामृत बनाउनुपर्छ । पूजा
गर्दा लगाउने कूशको पवित्र बनाउनु पर्छ । यदी आफूसँग व्रह्मपवित्र रहेको भए त्यही
धारण गर्न सकिन्छ । पवित्र लगाउँदा दायाँ हातको साहिँली औंलामा औलाको आँख्लो नकटाई
लगाउनु पर्छ । शौच जानु परे खोलेर राख्नुपर्छ र फर्किआएपछि पञ्चगब्य आचमन गरी पुनः
लगाउनु पर्छ । यसैगरी खिर र रोट पकाई नैवेद्य तयार गर्नुपर्छ ।
हाम्री कुल देवी विन्ध्यवासिनी हुन् ।
महादेव इष्टदेव हुन् । कुलपूजाको दिन कुलदेवी र इष्टदेवसहित गङ्गा, ठागी, चण्डी, द्यौराली, गौडीको
पूजा गरिन्छ । पूजा स्थलमा पूर्वबाट पश्चिम तर्फ (हात्तीगाडेपट्टीबाट
जाँतेपधेरोतर्फ) क्रमशः महादेव, गङ्गा, ठागी, चण्डी, द्यौराली, गौडी
(नेपाली बृहत् शब्दकोशमा गैडू उल्लेख छ तर हाम्रो पूजाविधिमा गौडी लेखेकोले सोही
उल्लेख गरिएको छ ) र कुल देवी विन्ध्यवासिनीको प्रतीकरुपका शिला राखिएका सात खोपा
छन् ।
कुल देवताको पूजामा पूजिने ठागी मस्टो
बाहेक अरु देवी देवताको नाम बारम्बार सुन्दै आइएकै नाम छन् । माथि नै उल्लेख भएको छ महादेव अर्थात शिव
हाम्रा इष्ट देवता हुन् । गङ्गा विशाल जलप्रवाह युक्त नदी र महादेवकी पत्नी पनि
हुन् । चण्डी दुर्गा देवीकै एक नाम हो । यसै गरी भञ्ज्याङ परेका ठाउँमा बटुवाहरुले
देव देवीलाई सम्झेर ढुङ्गा चढाउँदै जाँदा देवल जस्तो बन्दै जाने ठाउँलाई द्यौराली
भनिन्छ र त्यहाँकी देवीलाई द्यौराली या वनदेवी पनि भनिन्छ । विन्ध्यवासिनी हाम्री कुल देवी हुन् । भारतको
सिन्ध प्रान्तबाट विन्ध्याचल हुँदै सिञ्जा राज्यमा आउँदा पुर्खाहरुले यिनलाई सँगै
लिई आएका हुन् । ठागी भने नितान्त नौलो नाम लाग्छ ।
ठागी भनेका मस्टो हुन् । खस साम्राज्यका सबै खसानहरू मस्टोलाई आफ्ना
कुल देवताको रुपमा पूजा गर्दथे । मस्ट पूजाको संस्कृति हिन्दु धर्मभन्दा पनि प्राचीन मानिदो
रहेछ। मस्टको कुनै मन्दिर हुँदैन। थानमात्रै हुन्छ। यसलाई माण्डौँ भनिन्छ।
माण्डौँमा छानो हुँदैन। मस्टोके कुनै निश्चित आकारको मूर्ति हुँदैन। घण्ट मौलो
शीला आदिदाई नै मस्टको प्रतीकको रुपमा पूजा गरिन्छ। करिब ७००० वर्ष अघिदेखि मस्टको
पूजा हुँदै आएको मानिन्छ।
मस्टको शाब्दिक अर्थ देउता भन्ने लाग्दो रहेछ ।
मस्टोका विभिन्न बाह्र भाइ छन् । नौ बहिनी छन्। तसर्थ बाह्रभाइ मस्टो पनि भनिन्छ ।
१२ मस्ट र तिनका ८४ भेद छन् भनिन्छ। अहिले १८ मस्ट र १२४ उपभेद भेटिएको प्रकाशमा
आएको छ (देव बस्न्यात् https://khabarpunja.com/ 2024/05/04/70476)।
मस्टोका मामा, भाञ्जा, सेवक सबैलाई मस्टो नै भनेको पाइन्छ । तत्कालीन सिंजा साम्राज्यमा
पर्ने अहिलेका सुदुरपश्चिम र मध्यपश्चिमका नागरिकका जनजीवनको अध्ययन गर्ने हो भने
त्यहाँ विभिन्न नाम भएका मस्टोका मङ्गल र फाग गाउने गरेको पाइन्छ । त्यहाँ अनेकौ
विशेषताका देव देवी छन् । वैदिक शास्त्रमा उल्लिखित देवाधिदेव महादेव तुल्यरुपमा महालिङ्ग
नामका मस्टो छन् । कोही भोग नखाने सात्विक मस्ट छन् कोही भोग खाने राजसी मस्ट छन्।
हाम्रा मस्टको नाम ठागी हो र उनी सात्विक मस्ट हुन्। प्रधान देवता अर्थात हाम्रो
कुलका इष्ट देवता महादेवको जुन मन्त्रले पूजा गरिन्छ मस्टको पनि सोही मन्त्रले
पूजा गरिन्छ।
हाम्रा पूर्खा प्राचीन खस राज्य
सिञ्जाबाट कास्कीको अस्ताम हुँदै यहाँ आइपुगेकोले उनीहरुले आफ्ना कुलदेव मस्टोलाई पनि साथै लिई आएको हुनुपर्छ । हाम्रो
मस्टलाई ठागी मस्टको नामले पूजा गर्दै आइएको छ। तर यो नाम बाह्र/अठ्ठार भाइ मस्टको सूचीमा पाइदैन। १२४ भेदमा पनि यो नाम पाइदैन। नौ
बहिनी मध्ये हाम्री कुलदेवी विन्ध्यवासिनीको नाम भने छ। मस्टको एक भेदमा ठींगाल
मस्टको नाम देखिन्छ। ठींगाल मस्ट नै स्थान भेद र कालभेदका कारण ठागी मस्ट भएको हुन
सक्छ।
कुलदेवको पूजा गर्दा सबै देवदेवीको थान
अगाडि विधिपूर्वक रेषी हाल्नुपर्छ। महादेवको अगाडि १९ तेर्छा ६ ठाडा, गङ्गाको
अगाडि १८ तेर्छा ६ ठाडा, ठागीको अगाडि १२ तेर्छा ६ ठाडा, चण्डी
र द्यौरालीको अगाडि ९ तेर्छा ६ ठाडा, गौडीको अगाडी ६
तेर्छा ६ ठाडा र विन्ध्यवासिनीको अगाडि युक्त रेषी हाल्नुपर्छ। रेषी हाल्दा एउटा
रेखामात्र नभई जोर रेखा हुने गरी हाल्नुपर्छ । षटकोणको बीचमा ॐ विन्ध्यवासिन्यै
नमः लेख्नुपर्छ । यसरी रेखी हालेपछि महादेवको अगाडि ९०, कोठा गङ्गाको अगाडि ८५, ठागीको अगाडि ५५, चण्डी र द्यौरालीको अगाडि ४०, ४० गौडीको अगाडी २५ कोठा तयार हुन्छन्। वास्तवमा यी कोठा कुन देव
देवीलाई कति पटक पूजा गर्ने भन्ने गणनासँग सम्बन्धित देखिन्छन्।रेषी हालिसकेपछि
सबै देव देवीको थान अगाडि दियो र कलश स्थापना गर्पर्छ। सबै देव देवीको थानको
बीचतिर पर्ने गरी मूल कलश र मूल दीयो स्थापना गर्नु पर्छ। गणेश पनि मूल कलश नजिकै
हुने गरी स्थापना गर्नुपर्छ । दीयो राख्दा पूर्व फर्काएर राख्नु पर्छ । कुल
देवताको पूजामा होम पनि हुने भएकोले अन्य देव कार्यमा जसरी नै विधिपूर्वक
अग्निस्थापना गर्नुपर्छ । हवन कुण्डमा अष्टकोणले युक्त रेषी हाल्नुपर्छ।
सबै तयारी पूरा भएपछि पूजा प्रारम्भ
गर्नुपर्छ । सबैभन्दा पहिला दीयोको, त्यसपछि गणेशको
र गणेशको पछि कलशको पूजा गर्नुपर्छ । कतै कतै पहिला गणेशको पूजा गरेरमात्रै दीयोको
पूजा गर्ने पनि परम्परा रहेकोबारे मणिराज ठूलाबासँग जिज्ञासा राख्दा हाम्रो चलनमा
दीयोको पूजा पहिले गर्नुपर्छ भनी भन्नु भएको छ । दीयोलाई कर्म साक्षीकोरुपमा लिइने
हुनाले गणेश पूजापूर्व दीयोको पूजा गर्नु विधानसम्मत कुरा हो।
दियो गणेश र कलशको पूजापछि कुल देव
देवीको पूजा प्रारम्भ गर्नुपर्छ । पूजा गर्न कम्तीमा एकजना कर्ता र एकजना पुरोहित
आवश्यक हुन्छ । पुरोहितको रुपमा उपलब्ध भए आफ्नै बन्धुभित्रकै कोहीले काम गर्ने
पनि चलन छ । विभिन्न सातवटा देव देवीको पूजा गर्नुपर्ने हुनाले उपलब्ध भएमा
कर्ताको रुपमा ७ जनासम्म रही सबैले
सँगसँगै पूजा गर्न सकिन्छ । तर पूजा गर्दा
क्रमशः महादेव, गङ्गा, ठागी, चण्डी, द्यौराली, गैडी
र कुल देवी विन्ध्यवासिनीको गर्नुपर्छ । एकजना मात्रै कर्ता भएको अवस्थामा क्रमशः
महादेव, गङ्गा, ठागी, चण्डी, द्यौराली, गैडी
र कुल देवी विन्ध्यवासिनीको पूजा गर्नुपर्छ । यदी कर्ता २ जना छन् भने एकजनाले
महादेवको र अर्कोले गङ्गाको पूजा गर्नुपर्छ र यिनको पूजा गरी सकेपछि फेरि एकजनाले
ठागी र अर्कोले चण्डीको पूजा गर्नुपर्छ। तीनजना कर्ता छन् भने एक जनाले महादेवको, अर्कोले
गङ्गाको र अर्कोले ठागीको पूजा गरी यिनको पूजा गरिसकेपछि बाँकी चारवटा देव देवीको
पनि यही रितले क्रमशः पूजा गर्नुपर्छ । सातजना कर्ता सबैले एकै पटक पूजा प्रारम्भ गर्ने भए पनि
पहिला महादेवको पूजा सुरु गरेर क्रमशः सुरु गर्नुपर्छ। देवी देवताको पूजा गर्ने
मन्त्र यसैमा दिइएको छ । यी मन्त्र वेदबाट लिइएका हुन् । जुन देवी देवताको पूजा
गर्ने हो तदनुरुपको मन्त्रोच्चारण सहित माथि उल्लेख गरे अनुसार रेखी हाल्दा बनेका
प्रत्येक कोठामा षोडशोपचार विधिले पूजा गर्नुपर्छ ।
पूजा मन्त्र
मन्त्र, पद र नेपाली
भाषामा भावार्थ
१.१. महादेव,
ठागी र गैडू पूजा
नमः शम्भवाय च मयोभवाय च नमः शङ्कराय च
मयस्कराय च नमः शिवाय च शिवतराय च ।।१६।।४१।।
नमः । शम्भवाय । च । मयोभवाय । शङ्कराय
। मयस्कराय । शिवाय । शिवतराय ।
यस लोकमा सुख दिने रुद्रलाई नमस्कार छ
। परलौकिक कल्याण दिने र लौकिक सुख प्रदान गर्ने रुद्रलाई नमस्कार छ । मोक्ष सुख
दिने र भक्तहरुको कल्याण गर्ने रुद्रलाई नमस्कार
छ । पापलाई हटाई पवित्र गरिदिने रुद्रलाई नमस्कार छ ।
यो मन्त्र शुक्ल यजुर्वेदको सोह्रौं
अध्यायको एकचालिसौं मन्त्र हो । सोह्रौं
अध्यायमा सबै मन्त्रहरु शिव अर्थात रुद्रको स्तुतिसँग सम्बन्धित छन् । यी
मन्त्रलाई शतरुद्रीय होम मन्त्र पनि भनिन्छ । सबै रुद्र शब्द दुष्टलाई रुवाउने
अर्थमा प्रयुक्त हुन्छ । असुरको विनास गर्ने शिवजीको रौद्र रुप, सूर्यको
प्रचण्ड तेजोमय रुप, अग्नीको विकराल रुप सबैलाई रुद्र भनिएको छ ।
१.२. गङ्गा र विन्ध्यवासिनी
पूजा
इमं मे वरुण श्रुधी हवमद्या च मृडय ।
त्वामवस्युरा चके ।।२१।। १।।
इमम् । मे । वरुण । श्रुधी । हवम् ।
अद्य । च । मृडय । त्वाम । अवस्युः । आ । चके ।
हे बरुण देवता ! तिमी मेरो आह्वानलाई
सुन र हामीलाई सबै प्रकारको सुख प्रदान गर । म आफ्नो रक्षाका लागि तिम्रो आह्वान
गर्दछु ।
यो मन्त्र शुक्ल यजुर्वेदको एक्काइसौं
अध्यायको पहिलो मन्त्र हो । यो अध्यायमा पनि सौत्रामणि यज्ञसँग सम्बन्धित
मन्त्रहरु छन् । दिव्य गौ महिमा, गौबाट इन्द्रीय शक्ति, आयु
बल प्राप्ति, विराट यज्ञ स्वरुपको वयान, अश्विनीकुमार
सरस्वती र इन्द्र आहुति, मह, घिउ र गोघृतको
प्रशंसा आदिबारे उल्लेख गरिएका छन् ।
१.३. चण्डी र द्यौराली पूजा
देवीर्द्वार इन्द्र सङ्घाते वीड्वीर्यामन्नवर्धयन् । आ
वत्सेन तरुणेन कुमारेण च मीवतापार्वण रेणुककाटमं नुदन्तां वसुवने वसुधेयस्य
व्यन्तु यजः।।२८ ।।१३।।
देवीः । द्वारः । इन्द्रम् । सङ्घाते।
वीड्वी । यामन । अवर्धयन् । आ । वत्सेन । तरुणेन । कुमारेण । च । मीवता । अप ।
अर्वाणम् । रेणुककाटम् । नुदन्ताम् । वससुवने । वसुधेयस्य । व्यन्तु । यजः ।
ढोका चौकस आदिको समूहरुप बलियो द्वार
संज्ञक देवताले कर्महरुमा इन्द्रको वृद्धि गरे । यी देवता हिंसा गर्ने, चञ्चल
तरुण कुमार र अन्य आउने पशु आदिलाई रोकुन । धुलो, हावालाई रोकुन ।
उनी देवता यजमानको घरमा धनको स्थापनाका लागि घिउको पान गरुन । हे होता तिमी पनि यस्तै यज्ञ गर ।
यो मन्त्र शुक्ल यजुर्वेदको अठ्ठाइसौं
अध्यायको तेह्रौं मन्त्र हो । यो अध्यायमा सौत्रामणि यज्ञसँग सम्बन्धित मन्त्रहरु
छन् ।यसमा यज्ञ र यज्ञ फलको वर्णन गरिनुको साथै र इन्द्रको स्तुति, पुष्टि
र आहुतिका विषयहरु उल्लेख गरिएका छन् ।
द्यौरासीत्पूर्व्चित्तिरश्व आसीद्
बृहद्वयः । अविरासीत्पिलिप्पिला रात्रिरासीत्पिशङ्गिला ।।२३।।१२।।
द्यौः । आसीत् । पूर्व्चित्ति। अश्व । आसीत । बृहत् । वयः । अविः । आसीत् ।
पिलिप्पिला । रात्रि । आसीत् । पिशङ्गिला ।
ब्रह्माले जवाफ दिए – सबैभन्दा
पहिले चिन्तन गर्ने विषय द्युलोकबाट हुने वृष्टि हो । अश्व नै ठूलो पक्षी हो ।
सबैभन्दा चिप्लो बस्तु पृथ्वी हो । रुपलाई निलिदिने रात्रिको अन्धकार हो ।
यो मन्त्र शुक्ल यजुर्वेदको तेइसौं
अध्यायको बाह्रौं र सोही अध्यायको चवन्नौ मन्त्र हो । यो अध्यायमाअश्वमेध सम्बन्धी
मन्त्रहरु उल्लेख गरिएका छन् । यसमा अश्व रथको वर्णन, अश्व
स्तुति, व्रह्म र होता बीचको प्रश्नोत्तर, अग्नी
प्रधान पृथ्वी, वायु प्रधान अन्तरिक्ष र सूर्य प्रधान स्वर्लोक
विजयी कामना, गर्भाधारण प्रार्थना, गायत्री
छन्दद्वारा शान्ति सम्बन्धी मन्त्रहरु उल्लेख गरिएको छ । व्रह्माले होतालाई सोधेका
र होताले दिएका जवाफ अनि होताले ब्रह्मालाई सोधेका र ब्रह्माले दिएका जवाफ
ज्यादै मननीय र ज्ञानगुनले युक्त छन् ।
हवन
पूजा गरिसके पछि होम गर्नुपर्छ । होमको
लागि कुल देवताको थानको इशानपट्टि हवन कुण्ड बनाउनु पर्छ । हवन कुण्ड पूजा विधिमा
उल्लेख भए अनुसार अष्टकोण युक्त हुनुपर्छ । अग्नी स्थापना विधिबमोजिम अग्नी जागृत
गराउनु पर्छ । धान, चामल, तिल, जौ, पकाइएको
नैवैद्य (खीर र रोट), घिउ मोलेर चरु तयार गर्नुपर्छ । एकजना
कर्ताले सुरो लिई घिउ र अर्कोले पायस, पिपिष्टिका (खिर
र रोट) मिसाइएको चरु हवन गर्नुपर्छ । जुन देवी देवतालाई जुन जुन मन्त्रले पूजा
गरिन्छ सोही मन्त्रले पूजा विधिमा उल्लेख भएको सङ्ख्यामा होम आहुति दिनु पर्छ ।
पूजा विधिमा उल्लेख भए अनुसार महादेवलाई ९०, गङ्गालाई
५, ठागीलाई ५५, चण्डी र द्यौरालीलाई २०/२०, पूजा विधिमा गौडीलाई मांस होम दिनुपर्ने उल्लेख छ । तर अहिले बलि
नदिइने भएकोले यिनलाई पनि पायस पिपिष्टिका २५ होम दिनु पर्ने उल्लेख छ।
पूजा विधिमा अरु विभिन्न देव देवीका
नाम उल्लेख गरि दिनुपर्ने होम सङ्ख्याबारे पनि बताइएको छ। यो विधिमा उल्लेख भएका
अतिरिक्त स्थानीय देव देवी र नेपाल एवम् समग्र भारतवर्षका प्रमुख देव देवीलाई
स्मरण गरी यथासक्य सङ्ख्यामा हवन दिने चलन छ । कुल देवताको पूजामा उपस्थित
भाइबन्धु, बा आमा,
छोरी बुहारी कसैले कुनै देव देवीलाई संझेर अमुक सङ्ख्यामा होम दिन
चाहेमा दिने चलन पनि छ । हवनमा प्रत्येक देवी देवताको नाम लिई उनको लागि हवन अर्पण
गर्दा कर्ताले कर्मपात्रको जल र कूश लिई बस्नु पर्छ भने हवनकर्ताहरुले पुरोहितले
निर्देश गरे बमोजिम हवन गर्नुपर्छ । हवन कार्य सकिएपछि भूयशी कर्म पूरा गरी
पूर्णपात्र दान गर्नुपर्छ । यसपछि हवन कुण्डबाट चरुको शेष झिकी तरेखु (तिलक) तयार
गर्नुपर्छ । उपस्थित छोरीचेली, ज्वाईं भानिजलाई टीका लगाई दक्षिणा दिई सम्मान गर्नुपर्छ । यसै
गरी पूजा स्थलमा उपस्थित सबैले ज्वाईं भानिज उपस्थित रहेको भए उनीहरुबाट र नभए
उपस्थित ज्येष्ठ सदस्यबाट तिलक, रक्षा बन्धन, टीका, फूल
र प्रसाद ग्रहण गर्नुपर्छ ।
थप कुरा
कुल देवी देवताको पूजा गर्दा कुलबन्धुमध्येबाट
कसले कुन देवी देवताको पूजा गर्ने भन्नेबारे खास कुनै नियम छैन । जुन देवी देवताको
पूजा जसले गरेपनि हुन्छ । तर व्रतबन्ध नगरेको, विवाहित पुरुषको
हकमा निजको पत्नी रजश्वला भएको भए रजश्वला भएको पाँच दिन पूरा नभएको (छैठौं दिनमा
पूजा गर्न हुन्छ), कसैकी पत्नी गर्भवती भई ६ महिनाको गर्भ पुगेको
भए त्यस्तो व्यक्तिले कर्ता वा पुरोहितको रुपमा कार्य गर्न वा प्रसाद तयार गर्ने
कार्य गर्न हुँदैन । तर पूजा सामग्री छुन, पूजास्थलमा
उपस्थित भई सहभागिता जनाउन र प्रसाद ग्रहण गर्न भने बन्देज छैन ।
यसै गरी पूजा गर्दै जाँदा हावा चली कथं
दीयो निभ्न गएमा नयाँ बत्ती फेरेर बाल्नु पर्छ र क्षमा माग्दै पूनः दीयोको पूजा
गरी बाँकी पूजालाई निरन्तरता दिनुपर्छ । निभेकै ठूटो बत्ती सल्काई निरन्तरता दिन
हुँदैन ।
कुलभित्र जुठो, सूतक
परेको भए त्यस्तो अवस्थामा क्रमशः १३ दिन
र ११ दिन नपुगी कुल देवताको पूजा गर्न हुँदैन । बैशाख पूर्णिमामा चन्द्र ग्रहण
पर्ने भए सोभन्दा अघिल्लो पञ्चमी तिथिमा पूजा गर्ने चलन छ । तर बैशाख पूर्णिमामा
रोकिएको अवस्थामा त्यसपछिको पूर्णिमामा गर्ने गरिन्छ । कुनै परिवारमा कर्म चलेको
सदस्य परलोक भएको वर्षदिन नपुगेको अवसथामा त्यस्तो परिवारबाट पूजा सामग्री पठाउन र
परिवारको सदस्य पूजास्थलमा जान एवम् प्रसाद ग्रहण गर्न हुँदैन ।
२०७७ सालमा विश्वभर फैलिएको कोरोना
भाइरस महामारीको कारण मुलुक बन्दा बन्दीमा रहेको, गाउँमा जान
सम्भव नभएको र वहाँ एकजना सोमनाथ काका बाहेक पूजा गर्ने कर्ता अरु कोही नरहेकोले
बन्धुहरु बीच सल्लाह गरी कुलदेवताको पूजा क्षमापूजासहित मंसिर पूर्णिमामा गरिएको
थियो। त्यसपछि नियमित रुपमा वैशाख पूर्णिमामा नै हुँदै आएको छ।
शान्तिमन्त्र
द्यौःशान्तिरन्तरिक्ष शान्तिः पृथिवी
शान्तिरापः शान्तिरोषधयः शान्तिः ।
वनस्पतयः शान्तिर्विश्वेदेवाः
शान्तिर्ब्रह्मा शान्तिः सर्वशान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि
।।३६।।१७।।
द्यौः ।शान्ति । अन्तरिक्षम् । पृथिवी
। आपः । ओषधय । वनस्पतयः । विश्वे । देवाः । ब्रह्म । सर्वम् । एव । सा । मा । एधि
जुन स्वर्ग लोकमा स्थित शान्ति छ , जुन
अन्तरिक्ष रुप शान्ति र पृथिवि लोकमा स्थित शान्ति छ जलरुपा शान्ति छ, जुन
औषधीरुप शान्ति छ, जुन शान्ति वृक्षदि वनस्पतिमा छ, जुन
सर्वदेवरुपा शान्ति छ,जुन ब्रम्हरुप शान्ति छ , सम्पूर्ण
संसाररुप जुन शान्ति छ , जुन स्वरुपतः साक्षात् शान्ति छ त्यो
शान्ति परमात्माको कृपाले मलाई प्राप्त होस् । सम्पूर्ण शान्ति मलाई मिलोस् ।
पूजाविधिको पानो
हाम्रो कुलको पूजाविधिबारे केही
मन्त्रका आद्ध्य अक्षर, रेखी हाल्ने विधि र होम सङ्ख्याबारे
उल्लेख भएको एक पाना सामग्री २०६३ सालमा रेवतिरमण ठूलाबाबाट प्राप्त गरेर
कम्प्युटर टाइप गरिएको हो । सक्कल प्रति वहाँकै छोरा राजनसँग रहेको छ । कुलदेवताको
पूजा ठूलडिहीमा अलग्गै गर्न थालेपछि सिम्लेमा अपनाइने पूजाविधिलाई संझनाको भरमा
टिपोट गरेर तयार गरिएको भन्ने सुनियो । टाइप गर्दा पनि सकेसम्म जस्तो छ त्यस्तै
गरियो । मौलिकताका लागि शुद्धा शुद्धीमासमेत खास ख्याल गरिएन । यी दुई ठाउँमा
गरिने पूजाका विधिमा एकरुपता छ कि छैन त्यो पनि एकिन छैन । पूजा विधिमा चतुर्थ
चण्डी द्यौराली भनेर यी दुई देवीको एकैक्रममा पूजा गर्ने गरेको देखिन्छ। कैँजलेमा
खोपा पनि छ वटामात्रै छन् भन्ने बुझिन्छ। हामी भने द्यौराली देवीकोसमेत अलग्गै
खोपा बनाउछौँ। हाम्रोमा कुल सात खोपा बनाउने गरिएको छ। यसबारे ठूलाबा र
साँहिलाबाले पनि थप केही बताउन सक्नुभएन।
पूजाविधिमा होम संख्याबारे केही उल्लेख
भएको भएपनि मेरो ज्ञानको कमीले होम आहूति दिनुपर्ने देवदेवीका नाम र होम सङ्ख्या
एवम मन्त्रबारे स्पष्ट हुन नसकेकोले २०७५ सालको चैत्रतिर ठूलाबा मणिराज अधिकारी र
साँहिलाबा रेवतिरमण अधिकारीसँग जिज्ञासा राख्दा वहाँहरु पनि स्पष्ट हुन सक्नुभएन ।
त्यतिबेला साँहिलाबा बिरामी अवस्थामै भएकोले पनि वहाँलाई झिँझोलेर थप कुरा लिन
सक्ने अवस्था समेत रहेन । अब त वहाँ रहनु पनि भएन । होम गर्ने मन्त्रबारे गुरु
पुरेहितहरुलाइ सेध्दा जुन मन्त्रले पूजा गरिन्छ होम पनि सोहीमन्त्रले गर्ने
सामान्य नियम रहेको बताउनु भयो र त्यही अनुसार उल्लेख गरेको छु ।
हाम्रा पितापूर्खाले जे जसरी पूजा
गर्दै आए हामीले पनि त्यसै गर्ने हो । सनातन नियम पनि यही हो । तसर्थ साँहिलाबाबाट
प्राप्त गरी कम्प्यूटर टाइप गरिएको पूजाविधिको फोटो यसमै राखिएको छ । अगामी दिनमा
सिम्लेमा पूजा गर्दै आएका बन्धुहरुले कसलाई कति होम कसरी दिने गरेका रहेछन्
भन्नेबारे स्पष्ट भएर तदनुरुप अद्ध्यावधिक गर्न पनि सकिन्छ ।
दुराडाँडाकै ओखलेपानी, धुसेनी, देवतापानी, जलुकेनीका
अधिकारीको ठूलो बसोबास छ। हामी एकै कुलबाट छुट्टिएको हुनाले सबैको पूजाविधि उस्तै हुनुपर्ने हो। तर उहाँहरूमा पनि स्पष्ट
ज्ञान रहेको पाइएन। ओखलेपानीमा कसरी पूजा गरिन्छ भन्नेबारे प्राडा जीवन अधिकारी र
इश्वरी अधिकारीसँग बुझ्दा ठागी मस्टलाई ठागीश्वर महादेव भनेर पूज्ने गरेको जानकारी
गराउनु भएको थियो। जलुकेनी प्रख्यात पण्डितहरुको भूमि भएकोले त्यहाँको पूजाविधि र
प्रक्रिया बुझ्न आवश्यक हुने महशुस भएको छ। अझ कश्यप गेत्रीय अधिकारीहरुको कुलपूजा
विधिबारेको पुस्तक प्रकाशन हुनसके हामी सबैको पूजाविधिमा एकरुपता हुने थियो।
चण्डी
पूर्णिमाका दिन गरिने अरु देव देवीको पूजा
कुल देवताको पूजाको दिन सर्वप्रथम आ–आफ्नो
घरमा नित्य पूज्दै आईएका वास्तु देवता, पाञ्चायन
देवताको पूजा गर्नुपर्छ । यी देवताको पूजा गरिसकेपछि आफ्ना पशु चौपायाको रक्षाको कामना गर्दै गोठमा गौडी
देवको पूजा गर्नुपर्छ । त्यसपछि आफूले पूजा गरी आएका स्थानीय नाग, भँयर, झाँक्री
आदिको षोडशोपचार (आह्वान,आसन, अर्घ्य, आचमन, मधुपर्क
( जलमा घिउ, मह, सख्खर मिसाई
भगवानलाई अर्पण गर्न बनाइने पेय), स्नान, वस्त्राभरण, यज्ञोपवित, चन्दन, पुष्प, धुप, दीप, नैवेद्य, ताम्बूल, परिक्रमा
र प्रणाम) विधिले पूजा गर्नुपर्छ। पूजा गरी सकेपछि धूप,दीप, प्रसाद अर्पण
गरेपछि फेरि अफूले बोलाएको बेला आउन अग्रह गर्दै भूलचुकमा क्षमा याचना गरी कायेन
वाचा…. मन्त्रोच्चारण सहित जल घुमाइ विदा गर्नुपर्छ । यो जुनसुकै पूजा गर्दा
अपनाइने सामान्य विधि हो ।
बैशाख पूर्णिमाको दिन पाञ्चायन देवता
लगायत नाग, झाँक्रीलाई
चढाउने नैवैद्यको रुपमा चामलको पिठोको रोट (बाक्लो ढोसे रोटी) बनाउने चलन छ।
नागलाई चढाएको खीर, रोटी प्रसादको रुपमा खाने परम्परा छैन । गैडी, झाक्री लगायतलाई चढाएका प्रसाद खान हुन्छ। तर कुलदेवताको पूजा नगरी
खान नमिल्ने भएकोले कुलपूजा गरिसकेपछि बल्ल खानुपर्छ। रोटी वा खीर पकाउँदा गुलियो
(चिनी आदि) मिसाउने चलन छैन ।
पाञ्चायन देवताको पूजा
हामी शिव पाञ्चायन मार्गी हौं । तसर्थ
पाञ्चायन देवदेवी स्थापना गर्दा देवताहरु शालिग्राम स्वरुपमा भए शालिग्रामलाई
शुद्ध जल, गाईको दूध, मह, घिउ
र तीर्थको जलले स्नान गराई (फोटो भए चोखो कपडाले पुछेरमात्रै गर्नुपर्छ) बीचमा शिव
भगवानलाई विराजमान गराउनु पर्छ । त्यसपछि नैऋत्य (दक्षिण र पश्चिमको बीच) मा देवी, वायव्य
(पश्चिम र उत्तरको बीच) मा विष्णु, इशान (पूर्व र उत्तरको
बीच) मा सूर्य र आग्नेय (दक्षिण र पूर्वको बीच) मा गणेशलाई विराजमान गराई
षोडशोपचार विधिले पूजा गर्नुपर्छ ।
देवी देवताको पूजामा सर्वप्रथम स्थान
शुद्धी गर्नुपर्छ । यसको लागि शुद्ध भई कुशासनमा बसी पञ्चगव्य ग्रहण र आचमन गरी
सस्र्यौ, जल, गहुँत आदि
छर्केर स्थान शुद्धी गर्नुपर्छ । यसपछि कर्मपात्र, अर्घ्य ( तिल, जौ, अक्षता, कूश, दूवो, दही
र फल मिसाई बनाउने ), पञ्चगब्य (गाईको दूध, दही, घिउ, गोबर
र गहुँत मिसाई बनाउने ) र पञ्चामृत (गाईको दूध, दही, घिउ,मह
र सख्खर मिसाई बनाउने) बनाउनु पर्छ । यति गरिसकेपछि सर्वप्रथम देवी देवताहरुलाई
पूजा स्थलमा आइदिन आह्वान गर्नुपर्छ । अनि दीयो, गणेश र कलशको
पूजा गर्नुपर्छ । यसपछि माथि उल्लिखित षोडशोपचार विधिले क्रमशः प्रधान देवता शिवको
पूजा गरी क्रमशः देवी, विष्णु, सूर्य
र गणेश भगवानको पूजा गर्नुपर्छ । शिवजीको पूजा गर्दा सकेसम्म जलहारी प्रयोग गरी
जलधारा सहित गर्नुपर्छ । चन्दन र सेतो अक्षताले पूजा गर्नुपर्छ। पाएसम्म धतुरोको
फूल, बेलपत्र, गाईको दूध
चढाउनु पर्छ। बेलपत्र चढाउँदा घोप्ट्याएर चढाउनु पर्छ। देवीलाई रातो चन्दन अक्षता, रातै फूलले पूजा गर्नुपर्छ। विष्णुको
पूजा गर्दा पहेंलो केशरी र जौको अक्षताले पूजा गर्नुपर्छ। फूलको रुपमा तुलसी पत्र
वा सेतो, पहेंलो फूलमात्रै चढाउनु पर्छ । सूर्यको पूजा गर्दा
पनि रातै चन्दन अक्षता र फूलले पूजा गरिन्छ । अर्घ्य जल चढाउनु पर्छ । गणेशलाई १, ३, ७ वा २१ वटा दूवो चढाइन्छ। शङ्ख, घण्टको
पूजा गर्दा जल र तिलले पूजा गर्नुपर्छ। धुप, दीप, नैवैद्य, ताम्बुल, परिक्रमा
र प्रणामपश्चात भूलचुकमा क्षमा मागी कायेन वाचा...... मन्त्रोच्चारण गरी देवी
देवतालाई विदाई गरी सम्पन्न गर्नुपर्छ ।
नागको पूजा
हाम्रो कुलमा नागको पूजा नागपञ्चमीमा र
कुल देवताको पूजाको दिन गरी वर्षमा दुई पटक गरिन्छ । दही मथेको दिनमा घरमा नौनीको
धूप दिनुपर्छ । हामी आरुबोटेले नागलाई धूप दिँदा काफलडाँडाका नाग, पल्लाछेउका
नाग, छहरेपानीका नाग, अहिलेको बसोबास
रहेको ढुङ्गेधाराका नाग र नागराज वासुकीलाई दिनुपर्छ ।
सपनामा नाग देखिए वा नागको कारण परिवारमा
कसैलाई दुःख कष्ट भएको भन्ने लागेमा समान्यतः पञ्चमी तिथिमा नागको स्तुति गरी
माथिका नागहरुलाई संझिएर धूप दिने चलन छ । नागको थान वरपर सदैव सफा सुघ्घर
राख्नुपर्छ । पूजा गर्दा पनि सतर्क भई गर्नुपर्छ । नाग रिसाए भने अनिष्ट हुने र
खुशी भए भने अलख्य हुने मान्यता छ । उनको थान वरपर फोहोर भयो वा पूजा गर्दा विधि
पुगेन वा चोखोनितो भएन अनि क्षमा पनि मागिएन भने नाग खुशी हुँदैनन् । नागपञ्चमीमा
भने अरुले जस्तै घरको मूल दैलोमा नागको फोटो टाँसेर पूजा गरिन्छ । हाम्रा भाइ
दीपकको काठमाडौं एराहिटीको घर कम्पाउण्डभित्रको उत्तर पश्चिम कुना नजिकै नागको थान
थियो रे । तसर्थ काठमाडौमा पनि बैशाख पूर्णिमाको दिन एराहिटीका नाग भनी पाँचैभाइको
घर कम्पाउण्डमा रहेका आ–आफ्ना इनारमा पूजा गर्दै आइएको छ ।
तसर्थ हाम्रो घर वरपर फोहोर भयो भने नाग रिसाउने गरेको देखिएको पनि छ । खास गरी कुकुर नफापेको पाइएको छ ।
आरुबोटमा हाम्रो घरभन्दा ३०० मिटरजति
पश्चिम दिशामा “पल्लोछेउका नाग” को थान छ ।
त्यहाँ दुइवटा खोपा छन । ती नागको पूजा हाम्रो गाउँका तिवारीहरुले पनि गर्दै आएका
छन् । उत्तरपट्टिको अर्थात हाम्रो घरतर्फको खोपामा हामीले र वनपट्टिको खोपामा
तिवारीहरुले पूजा गर्ने गरिएको छ । काफलडाँडाका नागको थान भने घरभन्दा पाँच छ
कान्ला माथि धोते सुर्कोमा छ । पहिला यो थान काफलडाँडामा हाम्रो कुलामाथिको खेतको
पुछार गराभन्दा दक्षिण पट्टि डँडेसोमा चुच्चे ढुंगाको ककेरोमा थियो । त्यहाँको
खेतमा खेतिपाति गर्न छोडेपछि र हामी सबै दाजुभाइ काठमाडौं बस्न थालेपछि प्रत्येक
वर्ष जान कठिन भयो । तसर्थ त्यहाँको
शीलालाई २०७० सालतिर आरुबोटमै ल्याई प्रतिष्ठापन गरिएको छ । हाम्री हजुरआमा ती नाग
निकै कडा छन् ,नागको पूजा गर्दा विधि पुगेन भने कुलो बगुवा
चल्छ भन्नु हुन्थ्यो ।
नागको पूजा गर्दा नागस्थान वरपर सफा
सुघ्घर गर्नुपर्छ । यसपछि कर्मपात्र बनाई दीयो, गणेश र कलश
स्थापना गर्नुपर्छ । थानको दुवैतिर पातीको हाँगा सहितको लिङ्गो ठड्याई कपासको
ध्वजा बनाएर सिन्दुरले रंगाई सिंगारेर दुवैतर्फका लिङ्गोमा झूण्ड्याउनु पर्छ । यति
गरिसकेपछि चामलको पिठोको दुईवटा नाग बनाउनु पर्छ। नाग बनाएर राख्दा नागको शीर कता
छ ध्यान दिनुपर्छ। नागको शीर घडि घुम्ने दिशामा घुम्छ। भदौदेखि कार्तिकसम्म पूर्व, मंसिरदेखि
माघसम्म दक्षिण, फागुनदेखि बैशाखसम्म पश्चिम र जेठदेखि साउनसम्म
उत्तरतिर रहेको हुन्छ । तसर्थ पूर्णिमा बैशाख महिनामा परेको भए नागको शीर
पश्चिमपट्टी फर्काउनु पर्छ जेठ महिनामा परेको भए उत्तरतिर फर्काउनु पर्छ। चामल वा
गहुँको पिठोको नाग बनाएपछि मासको सग्लो दानाको आँखा बनाउनु पर्छ । जीउमा तिलका दाना
छर्केर कत्ला बनाउनु पर्छ । दुवोको जिब्रो बनाउनु पर्छ। सुरुमा दीयो, गणेश
र कलशको पूजा गर्नुपर्छ । यसपछि नागराज बासुकी सहितका अष्ट नाग र स्थानीय नागलाई
आह्वान गरी पिठोबाट बनाइएका नागलाई सिंदुरको टीका लगाईदिई जात–जातका
फूल, गाईको दूध, लावा चढाई सकल परिवार, कुल
र आफ्नो चौपाया, खेतिवाली
समेतको रक्षा र श्रीवृद्धिको कामना गर्दै एकाग्र भई पूजा गर्नुपर्छ । अन्तमा धुप, दीप, नैवैद्य
अर्पण गर्नुपर्छ । केही भूलचुक भएको भए क्षमा पाउँ भनी हृदयदेखि नै क्षमा माग्नु
पर्छ । अन्त्यमा परिक्रमा र प्रणाम गरी अर्को वर्ष आफूले स्मरण गर्दा आउनुहोला है
भन्ने अनुरोध गरी कायेनवाचा ...... मन्त्रोच्चारण सहित कर्मपात्रको जल घुमाई पूजा
सम्पन्न गरेर नागलाई विदाई गर्नुपर्छ ।
भयेंर र झाँक्रीको पूजा
पाञ्चायन देवता र नागको पूजा गरेपछि
आफ्नो परिवारले आफ्नो घर वरपर पूजा गर्दै
आएका अरु स्थानीय देवी, देवता छन् भने मूल पूजाका लागि कुल
देवताको थानमा जानु पहिले यी देवी देवताको पूजा सम्पन्न गरेरमात्रै जानुपर्छ ।
प्रत्येक परिवारले पूजा गर्ने देवी देवता र विधि फरक फरक हुन सक्छन् । हामी
आरुबोटे परिवारले 'आरुवोटका भँयेर' र 'आरुबोटकै
झाँक्री' को पूजा गर्ने
गरिएको छ । तिनको पूजाका लागि सर्जाम ल्याउन चाहने अरु परिवारले पनि हाम्रोमा
सर्जाम ल्याइदिने चलन छ । यसले ल्याउने र यसले नल्याउने भन्ने खास नियम छैन ।
स्थान विशेषका अमुक देवी देवताको पूजामा सरिक हुन चाहनेले श्रद्धापूर्वक पूजा
सामग्री लैजाने परम्परा रही आएको छ ।
हामीले पूजा गर्ने भँयेर देवताको थान
उपल्लोबारीको पाँचपातेको रुखनिरको कान्लामा थियो। २०८१ सालमा बाटो खन्ने क्रममा यो
भत्कियो। २०८२ सालदेखि चाँदे गरानिरको
दबदवेको रुख नजिकै सारिएको छ। र झाँक्रीको थान हाम्रो दैलामुनी ठूलो गरोको
पश्चिम छेउ नजिकको डिलमुनी कान्लामा छ । भँयेर र
झाँक्रीको पूजा गर्दा पनि माथि उल्लेख गरे बमोजिम नै दीयो, गणेश, कलशको
पूजा गरी मूल देवताको रुपमा भँयेर , झाँक्रीको पूजा
गर्नुपर्छ । केही भूलचुक भएको भए क्षमा पाउँ भनी हृदयदेखि नै क्षमा माग्नु पर्छ ।
अन्त्यमा कायेनवाचा ...मन्त्रोचरण सहित कर्मपात्रको जल घुमाई पूजा सम्पन्न गरी
विदा गर्नुपर्छ ।
वीर र
पल्लाबारीका भँयेरको पूजा
कूलपूजाको दिनमा अफ्नो अफ्नो परिवारले
अलग अलग पूजा गर्ने विभिन्न थानीमानी र देव देवी छन् । कुनै कुनैको पूजामा भने
मिश्रित सहभागिता देखिएको छ । हाम्रो कुलमा यस्तो मिश्रित सहभागिता तिवारी थोकमा
रहेका वीरको र साविकमा पल्लाबारी गणेश अधिकारीको घर नजिक रहेका भँयेरको पूजामा
देखिएको छ ।
पहिला पहिला वीर पूजा दुइतले माहिला
बाजेका सन्ततिले मात्र गर्थे रे । तर समय समयमा अरु परिवारमा पनि बस्तुभाउ लडने, मर्ने, दूध
नदिने आदि भएपछि चित्तशान्तिको लागि ज्येतिषलाई हेराउँदा त्यही वीरको दोष देखिएछ ।
त्यसपछि तिवारीथोकका अरु अधिकारी परिवार पनि त्यसमा सहभागी हुन थालेका रहेछन् ।
त्यहाँ प्रत्येक सात वर्षमा मङ्सीर पूर्णिमाको दिन बलि दिएर र अरुवर्ष कोरीपूजा
गरिन्छ। बली दिइएको बोकाको मासु घरभित्र लगिदैन। बाहिरै पकाएर खाने चलन छ । वीर
पूजा गरेका दिन पूजा नगर्ने अरु परिवारका घरमा जाने र बस्ने चलन पनि छैन। हाम्रो
परिवारले पनि त्यहाँ पूजा सर्जाम पठाउन थालेको पन्ध्र बीस वर्षभन्दा बढी भएको छैन
। त्यसै गरी पल्लाबारीका भँयेरको पूजामा पनि दुइतले माहिला बाजेका सन्तति अनि हामी
आरुबोटे परिवार र दुइतले कान्छा बाजेका किशोर दाजुको परिवारमात्र सामेल हुने चलन
रहेछ । अरु परिवार यसमा सरिक हुने गरेका छैनन् ।
अरु चलन र पूजा
सिमेभूमे
सिमेभूमे भनेको भूदेवता हुन । यी देवता
सिमसार भूमिमा बस्ने विश्वास गरिन्छ । किसानको जीवन भनेकै जल, जङ्गल
र जमिन हुन् । यी तीनवटै चिज समग्र प्राणी जगतका जीवनदाता हुन् । साँचो अर्थमा यी
भगवान नै हुन् । जल , जङ्गल र जमिनकै कारण अन्न फलाएर खान पाएको
एवम् आफ्ना पशुधनको पालनपोषण भएकोमा यी भगवानप्रति अनुगृहित भइ किसानहरुले जलदेवी, वनदेवी
र स्थलदेव वा देवीको पूजा गरेका हुन । हाम्रोमा सिमेभूमेको थान बनाई पूजा गरेको
थाहा छैन । तर नयाँ अन्न खानुपूर्व वा घरमा सेल रोटी,खिर
वा अरु कुनै मीठो चोखो पकाउँदा कुलदेवताको साथसाथै सिमेभूमेलाई समेत चढाएर खाने
चलन छ । दहि मथेको दिन नौनीको धूप हाल्दा पिन यिनलाइ नौनी धूप दिइन्छ ।
सिमेभूमेलाइ खानेकुरा चढाउँदा सिमेभूमे परमेश्वर बाँडीचुडी खाउ भनेर आकासतिर र
भूमितिर समेत अर्पण गर्ने अर्थात चढाउने गरिन्छ ।
मुलुकी अर्थात आइतबारे
आइतबारे भनेको गाईवस्तुको रक्षाको लागि
हरेक आइतबार गाई वस्तुको गोठमा धूप धुवाँर गर्नुपर्ने (स्तुति गर्नुपर्ने) देवता
हुन् । आइतबारेलाइ मुलुकी पनि भनिन्छ । कुनै थर वा कुल वा जाति विशेषलेमात्र नभइ
कुनै निश्चित भूक्षेत्र वरपरबस्ने इच्छुक सबैले सामूहिक रुपमा पूजा गरिने भएकोले
पनि यी देवतालाइ मुलुकी भनिएको हुनुपर्छ । हाम्रोतिर नियमित रुपमा हरेक आइतबार
गोठमा धूप हाल्ने चलन छैन । सायद यसकै कारण वार्षिक रुपमा पूजा गर्ने गरिएको हो कि भन्ने देखिन्छ । हाम्रो गाउँमा अधिकारी, नेउपाने, तिवारी, क्षेत्री
र तिमिल्सिनाहरु सरिक भइ फोस्रे खेतको मुहानभन्दा केही माथि छहरेपानीको पानी आँगे
खेततिर लैजाने कुलो मुन्तिर खोल्सोमा रहेको थानमा आइतबारेको पूजा गर्ने चलन छ ।
अधिकारी खलकमा दुइतले कान्छा बाजेका सन्तान यसमा सामेल हुँदैनन् । गल्लिमुनी
परिवार पहिला सामेल हुने गरेका थिए तर अहिले छोडेका छन् । क्षेत्री परिवारहरुमा साविकमा
दारी बुढाका सन्तति बाहेक अरु सबै सामेल हुने गरेकोमा अहिले गोबिन्दमात्र सामेल
हुने गरेका र अरु परिवारले २०७५ सालदेखि अन्यत्रै अलग्गै थान बनाएर पूजा गर्ने
गरेका छन् । नेउपानेहरुमा छहरेपानीका सबै र गैराघरका जगनाथ मास्टरका परिवार, श्रीप्रसादका
परिवार र वैद्यखलक समेत सहभागी हुन्छन्।वादेका तिमिल्सिनाहरुसमेत सोही स्थानमा
सामेल हुन्छन् । आइतबारेको पूजा चैत महिनाको कुनै आइतबार गर्ने र बोकाको बली दिने
चलन छ । बोकाको मासु प्रसाद स्वरुप घर घरमा लगेर
खाइन्छ । नयाँ अन्न खानुपूर्व वा घरमा सेल रोटी,खिर
वा अरु कुनै मीठोचोखो पकाउँदा यिनलाइ पनि चढाएर खाने चलन छ । खानेकुरा चढाउँदा घर
बाहिर ल्याएर चढाइन्छ । दहि मथेको दिन नौनीको धूप हाल्दा यिनलाइ पनि नौनी धूप
दिइन्छ । तर मुलुकीलाई नौनी धूप दिँदा अरु देव देवीलाई दिएको धूपौरो वा कोइलोमा
सँगै दिइदैन । आगोको एउटा अलग्गै कोइलो अल्लि पर राखेर धूप दिने चलन छ ।
समीक्षे पूजा
समिक्षे तुर्लुंगकोटमा रहेकी समग्र
दुराडाँडा भेगकी अराध्य देवी कालिकाको मन्दिरमा गरिने पूजा हो । कुनै व्याधि वा
खडेरीले आक्रान्त हुँदा समिक्षा पूजा गर्ने गरिन्छ । थाहा पाएका जतिले देवीपूजाको
लागि सरजाम लैजान्छन् । बली दिइएमा उक्त प्रसाद घर घरमा लगेर खाइन्छ । मैले थाहा
पाएसम्म समिक्षा पूजा पनि चैत, बैशाख
या जेठ महिनामा गरिन्छ । यो पूजालाई किन ‘समिक्षे’ पूजा
भनिएको हो भन्ने थाहा छैन । सो भेगका सबै मिलेर पूजा गरिने हुनाले ‘समुच्च’ पूजा
हो कि ? यसबाटै
अपभ्रंश भई जनबोलीमा समिक्षे भएको हुनसक्छ । यसबारे विज्ञहरुको राय पाएपछि
अध्यावधिक गर्नेछु ।
अन्त्यमा
यो सामग्री तयार गर्दा मन्त्र र टिकाका
लागि गुडविल पव्लिकेशन प्रा.लि., काठमाडौंबाट आचार्य सुदर्शन जोशीको
सम्पादनमा २०७४ सालमा प्रकाशित यजुर्वेद नामक ग्रन्थको प्रथम संस्करणबाट लिएको छु । यसैगरी हाम्रो
कुलबारे उल्लेख गर्दा अधिकारी बन्धु समाज, नेपालबाट २०७१
सालमा प्रकाशित अधिकारी वंशावली नामक पुस्तकको पृष्ठ संख्या ४३२ देखि ४५९ सम्मका
विभिन्न पृष्ठबाट लिएको छु । कतिपय विषय मणिराज ठूलाबा र रेवतिरमण ठूलाबालाई सोधेर
वहाँहरुले भने बमोजिम उल्लेख गरेको छु । यसमा उल्लेख भएका विषयबारे त्रुटि
हुनसक्छन् । हाम्रै भाइबन्धु र अन्य विद्वान जानकारहरुबाट तथ्यपूर्ण सुझावको
अपेक्षा गरेको छु । यहाँहरुबाट प्राप्त सुझाव बमोजिम अद्यावधिक गर्दै जाने
प्रतिवद्धता व्यक्त गर्दछु ।
हामी कश्यप गोत्रीय हौं । शास्त्रहरुमा
देवता, दानव लगायत सम्पूर्ण चराचर जगतका पिता नै कश्यप ऋषि हुन् भन्ने
उल्लेख भएको पाइन्छ । अमुक व्यक्तिको गोत्रबारे जानकारी भएन भने उसलाई कश्यप गोत्र
दिनु भन्ने उल्लेख भएको पाइन्छ । तसर्थ कश्यप ऋषि उनको समयमा अत्यन्त ज्ञानी, उदारमना
र आदरणीय रहेको पुष्टि हुन्छ । यस्ता ऋषिका कुलमा जन्मिनु हाम्रो अहोभाग हो । तर
कुल देवताको पूजामा गोत्र प्रवर्तक आदि कुलपुरुष कश्यपलाई स्मरण गरेको, उनको
स्तुति गरेको देखिदैन । उनी कुल देवता हैनन तर कुल पुरुष हुन् । उनी थिए र पो
हाम्रो कुल छ । तसर्थ आगामि दिनमा कुल देवताको पूजास्थलमा कश्यप ऋषिको फोटो राख्ने, उनको
स्मरण गर्ने, उनकोबारेमा
बुझ्ने बुझाउने चलन शुरु गर्न अवश्यक छ । यो मेरो नितान्त व्यक्तिगत विचार हो ।
केवल छलफलको लागि राखेको हुँ ।
कुल देवताको मन्दिर
केहि वर्षअघि कुल देवताको मन्दिर
बनाउनु पर्छ भन्नेबारे पनि छलफल भएको थियो । लेखनाथ अधिकारी माइलाबाले यसमा निकै
चासो देखाउनु भएको थियो । अहिले पूजा गर्दै आइएको स्थान आफ्नो जग्गामा परेकोले
मन्दिर बनाउने जग्गा मै दिन्छु भन्नु भएको थियो । तर काम अगाडि बढाउन सकिएन । कुल भनेको
निरन्तर वृद्धि हुँदैजाने भएकोले कुल देवताको छानोयुक्त मन्दिर बनाउन हुँदैन भन्ने
मत पनि आयो । यो काम यसै अड्कियो । तर मन्दिर नबनाए पनि हावाहुरी या झरी बतासबाट
जोगिन फलामे ट्रस र जस्ता पाता प्रयोग गरी करीब तीस चालिसजना अटने छापो (सेड) बनाउनु पर्ने देखिएको छ ।
द्रष्टव्य
कुल
दवताको पूजाको सन्दर्भमा आत्म शुद्धी, शरीर
शुद्धी , स्थान शुद्धी गर्ने, कर्मपात्र
तयार गर्ने, पञ्चामृत र पञ्चगब्य तयार गर्ने, रक्षा
सूत्र बनाउने, दीयो, गणेश, कलश
र पाञ्चायन देवताको पूजा गर्ने मन्त्र, हवन
गर्ने मन्त्र, भूयशी गर्दा र पूर्णपात्र दान गर्दा
भनिने मन्त्र र समग्र पूजा विधि र
प्रक्रियाबारे बजारमा सजिलै उपलब्ध हुने पूजा विधि पुस्तकको सहयोग लिन सकिन्छ ।
कुलदेवताको पूजा गर्ने क्रममा यो पुस्तक साथमा हुनु अनिवार्य छ ।
श्रीगणेशाय नमः श्रीगुरुभ्यो नमः
श्रीसरस्वत्यै नमः श्रीकलदेवतायै नमः अथ कस्यप गोत्रस्य कृलदेवताम् पूजानांविधि
लिख्यते आदौ कर्मपात्रंकृत्वा,दीपं प्रजाल्य अपसर्ंतीसर्संपाछीयेत् सि श्रीगणेशाय नमः
श्रीगुरुभ्यो नमः श्रीसरस्वत्यै नमः श्रीकलदेवतायै नमः अथ कस्यप गोत्रस्य
कृलदेवताम् पूजानांविधि लिख्यते
आदौ कर्मपात्रंकृत्वा,दीपं प्रजाल्य अपसर्ंतीसर्संपाछीयेत् सिरिदभैग्प्हीत्वाःअच्यवित्रो
यू तत् क्ुशादी कमादायःहरि e तसत् रीत्यादी अद्यह कस्यप
गोत्रोत्पन्नस्य मुक राशी मुक m नाम शर्मणो ' मम सपरिवारस्य सकल मनोवाञ्छतादी फल कामनार्थे पूर्वजन्मोपार्जीत पाप
क्षयेद्वारास्मी शेषक कल्मसयो तस्य रोग नीवारणार्े आदौ दीप गणेश कलश पूजनं तत
इष्टदेवता पूजनं कूलदेवता पूजनं महड्रीष्ये:।अर्घस्थापनं दीप गणेश कलश पूजन
ब्राम्हण वरणषुराय वाचन, ततपश्चात् प्रयमं महॉदेव पूजां ऊँ
नमशम्भवाएचइतीमन्त्रेण पायेसपीपीष्टकाभ्याँ होम संख्या ९० रेषीविधी तेछा १९। ठाडा
ध।नन्दन होम 9I सुभद्रा सुशीला जया रमण वाण रावण
माहाकालमध्ये शीवपूजा होम जम्मा १२l द्वीतीयं गंगा पूजा ऊँ इमम्मेइती मन्त्रेणपायेस होम सँख्या ४। रेषी
तेछा १। ठाडा द।यम्ना " ज्वालामुखी सप्तसागरे जम्मा होम १शतृतीयं ठागी पूजा
नमशम्भवाएचइतीमन्त्रेण पायेसपीपीष्टका होम संख्या रेषीविधी तेरछा १२ ठाडा ६ कृतीमु
भगिण शेषाय नम पूर्णेश्चये पृथ्यै नमः होम १२चतुर्थ चण्डी द्यौराली g देवीद्वारा द्यौरासीत् मन्त्रण होम चण्डी २० द्ौराली २० पृथक २ होम
४०। रेषी ते्छा ९। ठाडा ६।अजीता मंगला भैरवि माहाकाली होम १शपञ्चमं गौडी पूजा ऊँ
नमशम्भवाएच इतीमन्तेण मांस होम सँख्या २। रेषी ते्छा ह। ;ठाडा ध। श्रीकण्ठ श्रीराम नामेभ्यो गौडी देवी होम १ शIषष्टम विन्ध्यावासीनी देवी पूजा ऊ देवीद्वारा इतीमन्त्रेण होम १0
अजीता अपराजीता गणेश क्षेत्रपाल नरसिंह होम १२
होम
गर्नैरेषी
ऊ० वबान्न नैवेदं, यथाशक्ति जपं कृत्या दीशापाल होम गनुं धुप दीप नैवेचं काम्य दिप दान
नीराञ्जनं पूर्णपान गोदानं भूयशी असिशेष तीलक शुभम्
सरोत रेवतिरमण अधिकारी, तिवारीथोक दुराडॉडा,लमजुड A कम्युटर सेटिड़न - देशबन्धु अधिकारी, राजेन्द्र अधिकारी, आरुबोट, दुराडांडा,लमजुड २०६३ असोज १९ गते, विहिबार शभम रिदभैग्प्हीत्वाःअच्यवित्रो यू तत् क्ुशादी कमादायःहरि e तसत् रीत्यादी अद्यह कस्यप गोत्रोत्पन्नस्य मुक राशी मुक m नाम शर्मणो ' मम सपरिवारस्य सकल मनोवाञ्छतादी फल
कामनार्थे पूर्वजन्मोपार्जीत पाप क्षयेद्वारास्मी शेषक कल्मसयो तस्य रोग
नीवारणार्े आदौ दीप गणेश कलश पूजनं तत इष्टदेवता पूजनं कूलदेवता पूजनं
महड्रीष्ये:।अर्घस्थापनं दीप गणेश कलश पूजन ब्राम्हण वरणषुराय वाचन, ततपश्चात् प्रयमं महॉदेव पूजां ऊँ नमशम्भवाएचइतीमन्त्रेण पायेसपीपीष्टकाभ्याँ
होम संख्या ९० रेषीविधी तेछा १९। ठाडा ध।नन्दन होम 9I सुभद्रा सुशीला जया रमण वाण रावण माहाकालमध्ये शीवपूजा होम जम्मा १२l द्वीतीयं गंगा पूजा ऊँ इमम्मेइती मन्त्रेणपायेस होम सँख्या ४। रेषी
तेछा १। ठाडा द।इतीमन्त्रेण होम १0 अजीता अपराजीता गणेश क्षेत्रपाल नरसिंह होम १२ होम गर्नैरेषी ऊ० विन्धय वासिनीयै तम होम १६ पल्ट गर्नु नाना पकबान्न नैरेवतिरमण अधिकारीबाट प्राप्त
पूजाविधिबाट भएको टाइपको यथारुप उतार
श्रीगणेशाय नमः श्रीगुरुभ्यो नमः श्रीसरस्वत्यै नमः श्रीकुलदेवतायै नमः
अथ कस्यप गोत्रस्य कृलदेवताम् पूजानांविधि लिख्यते
आदौ कर्मपात्रंकृत्वा,दीपं
प्रजाल्य अपसर्वेतीसर्सपाछीयेत् स्रिदर्भैग्प्हीत्वाःअध्यवित्रो यू तत् कुशादी
कमादायःहरि ओम् तसत् ३ रीत्यादी अद्यह कस्यप गोत्रोत्पन्नस्य मुक राशी मुक नाम शर्मणो ' मम सपरिवारस्य सकल मनोवाञ्छितादी फल कामनार्थे पूर्वजन्मोपार्जीत पाप
क्षयेद्वारास्मी शेषक कल्मसयो तस्य रोग नीवारणार्थे आदौ दीप गणेश कलश पूजनं तत
इष्टदेवता पूजनं कूलदेवता पूजनं महङ्करिष्ये:। अर्घस्थापनं दीप गणेश कलश पूजन
ब्राम्हण वरणषुराय वाचन, ततपश्चात्
प्रथमं महादेव पूजां ओम् नमशम्भवाएच इतीमन्त्रेण पायेसपीपीष्टकाभ्याँ होम संख्या
९० रेषी विधी तेर्छा १९। ठाडा ६। नन्दन होम ५। सुभद्रा सुशीला जया रमण वाण रावण
माहाकालमध्ये शीवपूजा होम जम्मा १२। द्वीतीयं गंगा पूजा ओम् इमम्मेइती मन्त्रेण पायेस होम सङ्ख्या ५। रेषी तेर्छा
१८। ठाडा ६ । यमुना ज्वालामुखी सप्तसागरे
जम्मा होम १२। तृतीयं ठागी पूजा नमशम्भवाएचइतीमन्त्रेण पायेसपीपीष्टका होम संख्या ५५।
रेषीविधी तेर्छा १२। ठाडा ६। कृतीमु भंगिण शेषाय नम पूर्णेश्चर्यै पृथ्यै नमः होम
१२। चतुर्थ चण्डी द्यौराली ओम् देवीद्वारा ओम् द्यौरासीत् मन्त्रण होम चण्डी २०। द्यैराली २०। पृथक २
होम ४०। रेषी ते्छा ९। ठाडा ६। अजीता मंगला भैरवि माहाकाली होम १२। पञ्चमं गौडी
पूजा ओम् नमशम्भवाएच इतीमन्त्रेण मांस होम सँख्या २५। रेषी तेर्छा ६। ठाडा ६।
श्रीकण्ठ श्रीराम नामेभ्यो गौडी देवी होम १२। षष्टम विन्ध्यावासीनी देवी पूजा ओम्
देवीद्वारा इतीमन्त्रेण होम १०। अजीता अपराजीता गणेश क्षेत्रपाल नरसिंह
होम १२।
होम गर्नै रेषी
: अष्टकोण
विन्ध्यवासिनिको अगाडि षट्कोण। बीचमा ओम् विन्धयवासिनीयै नमः लेख्ने।
होम १०८
पल्ट गर्नु
नाना पक्वान्न
नैवेद्यं, यथाशक्ति जपं कृत्या दीशापाल होम गर्नु, धुप दीप
नैवेद्यं काम्य दिप दान नीराञ्जनं, पूर्णपात्र, गोदानं
भूयशी अभिशेष तीलकं शुभम् ।
स्रोतः रेवतिरमण अधिकारी, तिवारीथोक
दुराडॉडा,लमजुङ,
कम्युटर सेटिङ - देशबन्धु अधिकारी, राजेन्द्र
अधिकारी, आरुबोट, दुराडाँडा,लमजुड
२०६३ असोज १९ गते, विहिबार
शुभम्।