श्रद्धेय तपोनिधि अधिकारीको तेह्रौं दिनको
पूण्यतिथिमा उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामनाको साथै परिवारजनमा गहिरो
समवेदना प्रकट गर्दछु ।
आजभन्दा सत्तरी वर्षअघिको समाज कस्तो हुँदो हो ? त्यो समाजमा दलितहरुको अवस्था कस्तो हुँदो हो ? तिनका छोराछोरी पढाउन स्कूल खोलेको भए पनि
पढाइले आँत छिन्छ भनेर कतिका बाबुआमाहरुले नै छोराहरुलाई घरका भँडारमा, तलामा लुकाएर राख्थे । तलामा, भँडारमा लुकेकालाई तिनको घरभित्रै पसेर
तानेर ल्याउँथे तपोनिधि । कतिका भने बाबुआमाले त पठाउन खोज्थे, तर स्कूल जान नमानेर पालीको खाँबो
अङ्गालो हालेर र्याल, सिँगान बगाएर रुँदै बस्थे केटाकेटीहरु । तिनलाई
फकाउँदै र घिसार्दै ढोकाथापे पुर्याउँथे तपोनिधि । …लौ तपोनिधि
त दलितको घरभित्रै पस्यो अरे ! …फलानको छोरालाई त काँधैमा हालेर बोक्यो
अरे ! भनेर जिब्रो काढ्थे मानिसहरु । यस्तो हुन
थालेपछि कतिपयले …हाम्रो घरमा त नपस है बाबु ! भनेर मीठोसँग संझाए । कतिले उनीमाथि पनि दलित
सरहकै व्यवहार गरे । कतिले हतोत्साहित गर्न पनि खोजे । तर उनले हिम्मत हारेनन् । उनी
कसैको करकापले यो कर्ममा होमिएका थिएनन् । उनका बाबू पं. पूण्यशील अधिकारी नै अर्को स्कूलका स्वयं सेवक शिक्षक थिए । फराकिलो चेतनास्तर भएका पूण्यशीलको चरित्र बर्माको बसाइले थप उदात्त बनाइदिएको थियो । उनी
आफ्ना छोराहरुलाई सामाजिक काममा लाग्न प्रेरित गरिरन्थे । फलतः उनका दुवै छोराहरु
तपोनिधि र मनुराममा आफ्ना पिताको सोझो र तिब्र प्रभाव परेको थियो । आफ्ना बाबूको दह्रो आड भरोसा पाएकै कारण
दलितका केटाकेटीहरुलाई पढाउने स्कूलको शिक्षक कसलाई तोक्ने भन्नेबारे छलफल हुँदा …म पढाउँछु भन्दै स्वःस्फूर्त अघि सरेका थिए तपोनिधि
। यस्तै अघि सर्ने अर्का अगुवा थिए स्वाँराका मास्टर रामदत्त अधिकारी, देवतापानीका कृष्णप्रसाद न्यौपाने । तर सेवासदनमा
तपोनिधिले पढाए । यहाँ कृष्णप्रसादले पनि पढाएका थिए । मैले सुनेका कुरा हुन् यी । हाम्रो पुस्तालाई अचम्म लाग्ने यस्ता
घटना अहिलेको पुस्तालाई भने सामान्य जस्तो लाग्नेछन् । तर त्यतिबेलाको रुढीग्रस्त
समाजमा यो असामान्य कदम हो । अतुलनीय साहस हो । प्रदीप्त उर्जा हो । निःस्वार्थ त्याग
हो । यस्ता कर्मठ, त्यागी, उर्जाशील व्यक्तित्वको निधनले हामी
सबैलाई स्तब्ध बनाएको छ । अपुरणीय क्षति पुगेको छ ।
हाम्रो जन्मभूमि दुराडाँडाको इतिहास कम्तीमा ६०० वर्ष पुरानो छ । खजेदुरा, कुसुमाकर घिमिरेसमेतका पूर्खाहरुले
यशोब्रह्म शाहलाई लमजुङको राजगद्धिमा बसालेको समयदेखिकोमात्र कुरा गर्ने हो भने
पनि कयौं होनहार,
उर्जाशील महामनाहरुको सयौं वर्षको योगदानको जगमा उभिएको छ हाम्रो शान, मान सहितको पहिचान । १८३९ सम्म लमजुङ
अलग्गै राज्यको रुपमा थियो । गोरखाली फौजको अक्रमणमा परेपछि वीरमर्दन शाह भागे ।
मनाङको बाटो छिचोलेर बेनी पुगे उनी । हामी हार्यौं । हरुवाहरुको इतिहास छोपियो ।
वैरीसँग हार्नुपरेको ग्लानीमा पचास साठी वर्ष गुपचुपमै बित्यो राणकालको शुरुमै
कास्की र लमजुङका महाराजको रुपमा जङ्गबहादुर उदाए । एकशताब्दी सम्म नेपाली समाज
शीतकालको सर्पझैं गुडुल्कीइरह्यो । उन्नाइसौं शताब्दीको अन्त्यमा जब राणा शासन
बिरुद्ध मानिसहरु उठे तब त्यही बेलादेखि हो दुराडाँडामा जागरणको बिहान उदाएको ।
पुरानो कालखण्ड त छोपिएकै छ । यही शताब्दीको
इतिहाससमेत हामीबद्ध गर्न सकेका छैनौं । राणाकालको बर्बरताको परबाह नगरी सामाजिक
क्रान्तिको बिगुल फुकेर हलो जोतेका, प्रजातन्त्रको लागि लडेका, एकै पटक दर्जन स्कूल खोलेर चेतनाको
दियो बालेका पुर्खाका गाथासमेत ओझेल पर्दै गएकाछन् । हलो जोतेको पुस्ता त
बितिसक्यो, बाह्र
प्राइमरी स्कूलमा पढाएकाहरु पनि अब छैनन् होला भन्ने लाग्छ । यो जागरण
सामान्यखालको जागरण थिएन । तर यसको गम्भीरतालाई मनन गर्न नसक्दा हाम्रो इतिहास लेख्दै
नलेखिई खुईलिदै छ । यसलाई लिपिबद्ध गर्नेबारे चासो राख्नुपर्ने बेला बित्नै
लागिसकेको छ ।
इतिहासले प्रमाण खोज्छ । तर हामीसँग लेख्य
प्रमाण साह्रै कम छन् । जतिबेला हलो जोतियो, स्कूलहरु खोलियो त्यतिबेला अनौं
समात्ने र किताब समात्ने पुर्खाहरु बितेर गएपनि ती मान्छेलाई चिनेका, देखेका,भोगेका मान्छे प्रशस्त छन् । उनीहरुका
छोराछोरी, नातिनातिना
छन् । अब यही पुस्ताले बिना आग्रह, पूर्वाग्रह लिपिबद्ध गर्नुपर्ने भएको छ
आफ्ना पितापुर्खाका गाथाहरु । हामीले लेखेनौं भनें ती त्यसै मक्किएर जानेछन् ।
बिलाएर जानेछन् । तसर्थ म सबै आदरणीय विद्वत्तमजनसँग
सादर अनुरोध गर्दछु कि, यस विषयमा एकपटक गम्भीर भएर छलफल गरौं
। अतुलनीय, अनुकरणीय
योगदान पुर्याएका पुर्खाहरुको पहिचान गरौं, उहाँहरुबारेका तथ्य तथ्याङ्क क–कसले सङ्कलन गर्न र तिनलाई लिपिबद्ध
गर्न सकिन्छ सरसल्लाह गरौं, सबैले मिलेर जिम्मेवारी लिऔं, सबै मिलेर पूरा गरौं । यो नै हाम्रा
पुर्खाहरुको लागि सच्चा श्रद्धाञ्जली हुनेछ ।
मलाई थाहा छ, महामारीले थलिएको यो क्रुर समय यस्ता
कुरा उठाउने बेला हैन । तर एक असल मान्छेको निधनमा श्रद्धाञ्जली दिने प्रसङ्गमा यी कुराहरु पनि
स्वतःआए ।
कतै बेमौसमको राग पो भयो कि ! भन्ने पनि लागेको छ । तसर्थ बिनम्रतापूर्वक आग्रह गर्दछु कि, यो विषम अवस्थामा यी कुरा आजै
थालिहालौं भन्ने मेरो आग्रह कदापि हैन । अहिले त सबैजना सुरक्षित हुने र बाँच्ने, बचाउने बेला हो । सबै यसमै लागौं । तर
मनन गरौं,
हाम्रो इतिहास खुइलिदै गईरहेकोछ ।
२०७८ जेठ १६ गते