अमर नेउपानेको आख्यान ‘सेतो धरती’ तिहारको विदाका बेला एक बसाइमै पढेर सिद्ध्याएँ । कुनै आख्यान पढन बस्दा हिउँदको सानो कुलो झैं निरन्तर कुलकुल बगेर पढन पाइएन भने म पढेर पनि तृप्त हुन सक्दिन । जव पढन थाल्छु त्यहाँका केही पात्र आफन्त र नाता– कुटुम्व जस्तै प्रिय र कुनै परचक्री जस्ता लाग्छन । पढदै जाँदा जव आख्यानको मूलपात्रसंग आफै वा आप्mना चिनजानका साथीभाई, नाता कुटुम्ब वा चरित्रसंग मिल्दो कोही वास्तविक व्यक्तित्वलाई स्थापित गर्छु तव विस्तारै मस्तिष्कमा पढाईको मात चढन थाल्छ । मदिराले लठ्ठिएको मान्छे जस्तै आपैm वरिपरि लुटपुटिन्छु र कतै उठेर जान सक्दिन म । त्यसैले कम्तीमा दुई दिनको अनुकूल समय नभई आख्यानका गतिला किताव फुकाउँदिन ।
यो वर्ष ‘सेतो धरती’ प्रकाशित भएपछि धेरै समिक्षकले कृतिले समेटेको कथावस्तु र भाषा–शैलीको तारिफ गरे । सीमान्त वालविधवाका पीडालाई सवैले रुचाएर पढेको सुनेपछि देवघाटको वृद्धाश्रममा सत्र दिनसम्म माईहरुसंगै बसेर वालविधवा माईका भोगाई र मनका पीडालाई प्राण दिएका अमर न्यौपानेलाई जतिसक्दो चाँडो पढन खोजें । तर मैले माथि भनेझैं एकान्तकमा मदिरामा लठ्ठिए झैं लठ्ठिने गरी पढने समय मिलाउन नसक्दा पढन सकिन । यही बीचमा गत कार्तिक तीन गते पोखरामा भूजेल समाज नेपालले आप्mनो जातीलाई होच्याएको भनी गम्भीर आपत्ति प्रकट गर्दै ‘सेतो धरती’ जलायो । कितावका अक्षरसंगै विगत पनि जलेर खाक हुने र आप्mनो जातीय आत्मसम्मान ह्वात्तै माथि उक्लिने सपना देखेका भूजेल बन्धुहरुले त्यो त पाए, पाएनन् उनैले जानुन तर सेतो धरती जति सक्दो छिटो पढने मेरो भोक भने तीव्र पारिदिए ।
पूर्वी कास्कीको हंसपुर,माझगाउँको एक उपाध्याय बाहुनको घरबाट शुरु भएको कथा अन्ततः देवघाटको एउटा जीर्ण कुटीमा पुगेर त्यसै वरपर घुमेको छ । आख्यानमा वालविधवाले भोगेको यथार्थलार्ई चीरा चीरा पारेर केलाएका लेखकले कहि कतै काल्पनिकताको छनक दिएका छैनन । शव्दहरु अनारका दाना जस्तै टम्म मिलेका र पाकेको आँप जस्तै स्वादिला छन् । आख्यानले वि.सं.१९९० देखि अहिलेसम्मको कालक्रमलाई सिलसिलेवार ढंगले माला उने जसरी उनेको छ ।
छोरा जन्मिने तर अकालमै मर्ने पीडाले रन्थनिएका बाहुन दम्पत्ती कन्यादानपछि जन्मिने छोरा बाँच्लान कि ? भन्ने आशामा आप्ना सात र पाँच वर्षका छोरीहरु एउटै लगनमा अन्माउन तयार हुन्छन् । ती अवोध बालाले डोलीमा अन्मिएर जाँदासम्म पनि आप्mनो विवाह भएको थाहा पाउँदैनन,वुभ्mदैनन् । दुई मध्ये जेठी छोरी तारा नौ वर्षकै उमेरमा वैधव्यको अँध्यारो खाडलमा खस्न पुग्छे । निदाएको वेला भरिदिएको उसको सिउँदो त्यसरी नै थाहै नपाई रित्तिन्छ । विहेका रंगीन सपना र वैधव्यका रंगहिन दुःस्वप्न दुवैलाई अञ्जानमै भोग्छे, ताराले ।
विधवा तारामा वैश भरिदै आयो । तर उनको वैश र रुपले उनी र उनका बाबु –आमालाई खुशी पार्न सकेन ,तर्सायो मात्र । चित्त शान्तिका लागि बाबुको सल्लाह अनुसार गीतापाठ र भगवानको आरधना, भजन किर्तनमा लागिन । यही बीचमा आमा मरिन । आमा नचिनेको कान्छो भाईलाई उ रोएका बेला अरुले नदेख्ने गरी आप्mनै दूध चुसाएर पूmल्याइन । घर,गोठ,खेत बारी,व्यवहार सवैमा बाबुलाइ सघाइन । आमा खसेको तीन वर्षमा बाबुले ताराभन्दा कान्छी सौतेनी आमा भित्र्याए । ताराले बहिनीलाई झैं घर व्यवहार बारे अह्राइन ,सिकाइन । भाईहरु हुर्काइन, बढाइन । तर समय सुल्टो घुमेन । भाई र सौतेनी आमा परिपक्व हँुदै आएपछि उनी सवैको हेलाँ भइन । एकदिन मसक्क आँटेर घर छोडिन । बाटोमा भेटिएकासंग साथ लागेर देवघाट आइपुगिन र भक्तिनिको रुपमा नयाँ जीवन शुरु गरिन ।
नयाँ जीवनमा पनि जीवनको रंग भने सेतो मात्रै थियो । सपना रंगिन थिए तर विपना रंगहिन थियो । आश्रममा सवैकि प्यारी थिइन । गुरुले पनि माया गर्थे । घरमा माया नपाएर घर छोडेकि तारा यहाँ भने मयाकै कारण मनमा राग पो पलाउने हो कि भन्ने भयले त्राहिमाम भएर बाँचिन ।
बैश रित्तिएपछि उनले सन्यास ग्रहण गरिन । कहिल्यै काममा नआएको उनको पाठेघरमा बुढ्यौलिको पोयो लागेपछि रोग लाग्यो । डाक्टरले काटेर फ्याँकिदिए । पछि नसाको व्यथा थपियो । गालामा वुढ्यौलीले पारेका चाउरी र चाउरीले पारेका खोल्सीमा कसैले नदेख्ने गरी धेरै आँसु वगाइन ताराले ।
उनीसंग केटाकेटीमा ख्यालख्यालको बिहे खेल खेल्दाका साथी–संगी गोविन्द,पवित्राहरु जीवनको उत्तरार्धमा देवघाटमै भेटहुन आइपुगे । ख्यालख्यालको विहेका उनका दुलहा गोविन्द जसलाई उनले जीवनभर मनमनै संझेर बाँचीन, पवित्रा, जो उनी जस्तै वालविधवा भए पनि जीवनका सवै रंग चाखेर अन्तमा रंगहिन भइन, अनि, यमुना जसले उनलाई गाँउमा रहँदा र गाँउ छोडेर हिडने बेलामा पनि आत्मीय माया ममता दिइरहिन सवै एकै ठाउँमा आइपुगे । अरु साथी संगी जीवनबाट तृप्त भएर आएका थिए भने तारा अतृप्त रहेरै तृप्त भएकि थिइन् ।
आख्यानको अन्तमा, ताराले गोविन्दलाई आप्mनो कुटी देखाउन लिएर गईरहेकि छन् । सधैभरी उनले मनमा सजाएका गोविन्द उनकै पछाडि लुखुर लुखुर हिडिरहेका छन् र तारा लठ्ठी टेकेर अघिअघि । कुटी नजिकैको डिलमा पुगेपछि दाहिने हातले टेकेको लठ्ठी उठाएर त्यसकै टेक्नीले देखाउँदै गोविन्दलाई भनिन, ऊ... त्यही हो मेरो कुटी.........................।
आख्यानमा जम्मा जम्मी तीन ठाउँमा डोली बोक्ने घर्ती (डोले) को प्रसंग उल्लेख भएको छ । विहेका बेला डोली बोक्न आएका डोलेले उकालो बाटोमा दुलहिलाई पिठ्ठयूँमा बोकेर हिडनु पर्दा सकभर बोक्न नपरोस र दुलहीले आफै हिड्छु भनोस भनी बोक्ने कपडाको गाँठो दुलहीको पूठोमा पर्ने गरी बोकेको र बेला बेलामा पुठोमा कमिलाले टोकेझैं चिमोटिदिएको प्रसंग छ । डोली बोक्ने डोलेको मैलो धैलो रुप र पहिरन अनि उनीहरुको शरिरबाट निस्केको मैलोको अमिलो गन्ध र डोलेको पिठ्यूँमा बाबुको पिठ्यूको जस्तो आत्मियता र भर नपाएको बाल मनोविज्ञान उल्लेख भएको छ । त्यसै गरी उनी माइतैमा रहँदा लोग्ने मरेकोले लिन आउँदा उनलाई बोक्न भनी घर्ती पनि संगै आएको तर यसपटक उसले पहिले झैं नचिमोटेको प्रसंग छ । र, एक पटक लोग्नेको किरिया बसेका बेला थलोमा ती अवोध बालालाई देख्दा ती घर्तीले मायालु आँखाले सहानुभूतिपूर्वक हेरेको प्रसंग छ । बस यत्ति हो ।
नेपालको समाज वर्ण व्यवस्थामा आधारित समाज हो । यस्तो समाजमा सामाजिक व्यवहारको सञ्चालन जात अनुसार विभाजन गरिएका काम र आचरण व्यवहारमा आधारित रहेर हुन्छ । शुरुका दिनमा पेशामा विशिष्टिकरणका लागि सायद यो अवधारणा आएको हुनुपर्छ । कालान्तरमा कैयौं जात जाति यसकै कारण अपहेलित झैं भए । यो ठीक होइन, यसलाई वदल्नु पर्छ भनेरै धेरै प्रयास हुँदै आए । पहिलेको सोच, व्यवहारमा परिवर्तन आएको पनि छ । अहिले कुनै पनि काम कुनै जाति विशेषमा सिमित छैन । जातीय विभेद र उत्पीडनको मात्रा ह्वात्तै घटेको छ । यो सुखद पक्ष हो ।
आजको यो अवस्था जति सत्य हो हिजोको अवस्था पनि त्यति नै सत्य हो । जातीयताका आधारमा गरिने पेशा वा व्यवशायको दायरा साँघुरिएको भएपनि त्यो अहिलेसम्म निर्मूल भएको छैन । गाउँ घरमा आज पनि जातीयताका आधारमा गरिने पेशाको वाहुल्यता देख्न पाइन्छ । ती भूजेल बन्धुमध्ये कतिपयका घरमा अहिले पनि बालीघरे दमाइले नै लुगा सिइरहेका होलान । तिनका भान्सामा तरकारी काटने चुलेसी र घाँस काटने हँसिया अहिले पनि भूजेलको होईन कामीकै आरनमा बन्छन र अर्जापिन्छन् । यो यथार्थ हो । त्यस्तै विहेमा डोली बोक्ने काम घर्तीहरुबाटै हुँदै आएको हो । परिश्रमपूर्ण कार्य गर्ने हुँदा तिनका जीउ गन्हाउनु र मैलोधैलो रुप हुनु अस्वाभाविक पनि होइन । सफा मयलपोश र कोटमा ठाँटिएर जीउमा अत्तर छर्केर डोला बोकिदैन पनि ।
हिजोको वास्तविकतालाई आज लेखिदियो भन्नु हिनताबोध बाहेक केही होइन । अमर नेउपानेले नेपालभरका सवै घर्तीले डोला बोकेरै खान्थे भनेर लेखेका पनि छैनन र त्यो होइन पनि । नागरिकताको प्रमाणपत्रमा बाबुको नाम डोलप्रसाद भएकोले यसले आप्mनो आत्मसम्मानमा ठेस पुगेको हुँदा मिष्टर डानियल बनाई पाउँ भनी निवेदन दिने कुनै आधुनिक युवाको बहुलठ्ठीपन भन्दा कुनै अर्थमा पनि भिन्न देख्दिन म भूजेल बन्धुहरुको आत्मसम्मान को लडाईं ।
म सवै जात, जाति र तिनका कामलाई सम्मान गर्छु । हिजोका कुरिति र कुसंस्कार मेटदै जानु पर्नेमा सहमत छु । तर कुनै पुस्तकका सुन्दर अक्षरलाई आगोले खाक पार्दैमा कसैको आत्मसम्मान सगरमाथाको चुलीमा पुग्छ भन्ने विश्वास गर्न मेरो विवेकले पटक्कै मान्दैन । विगत पोलेर खरानी वनाउने फोहोरको डंगुर होइन । यो त भविष्यलाई कसरी सुन्दर बनाउने भन्ने सूत्रहरु उल्लेख भएको किताब हो । मेरो यो आलेखबाट तपाई भूजेलहरुको आत्मसम्मानमा ठेस पुगेको भए क्षमा पाउँ । आगे भूजेलबन्धुहरुकै मर्जी ।
२०६९।८।५
काठमाडौ ।